साझामा जे देखियो

मकर श्रेष्ठ

काठमाडौ, वैशाख ४ –
राजधानीमा साझा यातायात सञ्चालन भएको बुधबार चार दिन भयो । अन्य यातायातको तुलनामा स्तरीय सेवा पाएपछि सेवाग्राहीले सहज यात्रा गर्न पाएका छन् । भाडाको सवारी त्रिभुवन विमानस्थलभित्रैबाट लाइन लगाएर यात्रु चढाउने साझा यातायात पहिलो सवारी बनेको छ । विमानस्थलबाट कलंकीका लागि छुटेको बा३ख २२२६ नम्बरको ५४ सिटे बसको यात्रा पौने १२ बजे सुरु भयो । कलंकी पुग्दा साढे १२ भइसकेको थियो । विमानस्थलभित्रैबाट यात्रा गर्ने सातजना मात्रै थिए । विदेशबाट फर्केकालाई लक्षित गरेर भित्रैबाट सेवा सुरु गरे पनि वायु सेवा भवन अगाडिबाटै गाडी मोडिने भए पनि धेरैलाई थाहा छैन । विमानस्थलको गेट छेउको बस स्टपमा साझा कुरेर बस्नेमध्येमा दुबईबाट फर्केका भक्तनारायण श्रेष्ठ पनि थिए । उनलाई लिन पुगेका तीनजना आफन्त पनि त्यही गाडीमा चढे । सोल्टीमोडसम्मको भाडा एकजनाको २० रुपैयाँका दरले दिए । भक्तमानले भने, ‘कति सस्तो भाडा, विमानस्थलभित्रैबाट भाडाको गाडी पाउन थालेछ ।’ दुई वर्षपछि फर्केका उनले विमानस्थल छिर्नेबित्तिकै नेपालमा परिवर्तन भएको महसुस गरे । विदेशबाट ल्याएको लगेजको भाडा पनि तिर्नु परेन । ट्याक्सीमा गएको भए कम्तीमा ५ सय रुपैयाँ तिर्नु पथ्र्यो । बसको पछिल्लो ढोकाबाट चढ्ने र ड्राइभरसँगैको अघिल्लो ढोकाबाट ओर्लने व्यवस्था छ । अझ ढोका खोल्नु नपर्ने । चालकले स्विच थिचेपछि खुल्ने र बन्द हुने । बसका परिचालकले ठाउँको नाम बोलाउँदै जाने हो भनेर चिच्याउनु नपर्ने । बसको अघिल्लो भाग र पछिल्लो ढोकामा टाँसेको रुट हेरेर यात्रु चढ्ने गर्छन् । परिचालक लेखेको टल्कने ज्याकेट र परिचयपत्र लगाएकी ३० वषर्ीया कृष्णमाया पौडेलको काम ढोका खोल्ने र ठाउँको नाम भनेर चिच्याउने नभई गाडी चढ्नेबित्तिकै कुन ठाउँ जाने हो भनेर सोध्ने हो । अनि ठाउँअनुसार तय गरेको टिकट दिन्छिन् । साझाले माग गरेको विज्ञापनमा दरखास्त दिएर उनी पनि छनोटमा परेकी हुन् । महोत्तरीबाट कामको खोजी गर्न राजधानी आएकी उनलाई कतिपय ठाउँको नामसमेत थाहा छैन । कुन ठाउँ झर्ने हो ? चालकले स्टपपिच्छे ठाउँको नाम भन्ने गर्छन् । स्टपबाहेक बीचमा झर्ने यात्रु पनि स्टपमा मात्रै झरे । जहाँ पायो त्यही ओर्लने बानी परेका यात्रुहरू भन्दै थिए,’नियम त मान्नै पर्‍यो ।’ ड्राइभर पछाडि अपांग र अगाडि ढोकाछेउमा महिला सिटको व्यवस्था गरिएको छ । उक्त सिटमा पुरुष बस्नेबित्तिकै चालक सत्तलसिंह तामाङले भने,’इस्क्युज मि त्यो सिट महिलाको हो, पछाडि बस्दिनुस् न है ।’ यात्रु पनि ‘सरी’ भन्दै त्यस्ता सिट छाड्ने गरेका छन् । तर, अरू गाडीमा भए चालक र परिचालकले यस्तो भन्दैनन् । साझाको टिकटमा विद्यार्थी सहुलियत, पूरा भाडा तिर्ने र ट्रान्सफर टिकटको व्यवस्था छ । उपत्यकामा भाडाका गाडी चालकले जहाँ पायो त्यही गाडी रोकेर यात्रुको बानी बिगारेका छन् । साझा यातायातका चालकले भने बस स्टपभन्दा अन्यत्र रोक्दैनन् । साझाको बस चढ्न खोज्ने धेरैजसो यात्रुले पनि स्टपबाहेक बीच बाटोमा हात उठाउँथे । तर चालक अगाडि स्टपमा आउन इशारा गर्थे । कतिपय यात्रु बस स्टपमा साझाको गाडी कुरेर बसेका पनि थिए । स्टपबाट बस चढ्न हानाथाप नगरी लाइन लागेर चढ्थे । चालकले गाडी रोक्दा पनि बस स्टपको ट्रयाकभित्र हाल्थे । सडकमै रोक्ने चालकहरू साझाका चालकलाई जिस्क्याउँदै भन्थे,’गुरु यसरी कति दिन चल्ला त ?’ साझाको बस यात्रुको पर्खाइमा रोकेर बसेन । स्टपमा जति यात्रु भेटिन्छन्, त्यति चढाउने र झार्ने मात्रै गथ्र्यो । साझाको सेवा सुनेको तर उपयोग नगरेका यात्रु कुरेर भए पनि चढेका पनि थिए । ‘साझा चढ्ने इच्छा तीन दिनपछि पूरा भयो,’ कालिमाटीबाट सिनामंगल जान लागेका एक यात्रुले भने । एउटा गाडी छुटेपछि करिब आधा घन्टापछि मात्रै अर्को गाडी आइपुग्छ । लामो समयसम्म कुरेर बस्नुभन्दा अन्य गाडी उपयोग गर्ने पनि छन् । साझाका गाडी चलाउने चालकले दिएको प्रशिक्षणलाई व्यावहारिक रूपमा लागू पनि गरेका छन् । सवारी चलाउँदा धूमपान, मद्यपान गर्न पाउँदैनन् । कम्पनीले दिएको परिचयपत्र र टल्किने ज्याकेट लगाउनुपर्ने हुन्छ । चप्पल, ट्रयाकसुट, जिन्सको पाइन्ट लगाउन पाउँदैनन् । चालकको सिटमा बसेपछि पछाडि फर्केर गफ गर्न पाउँदैनन् । यसअघि काठमाडौं उपत्यकाभित्र लोकल र लामो रुटमा गाडी चलाउने चालक पनि साझाका सवारी चलाउँछन् । साझामा आउनुअघि ट्राफिक नियम नमानी जथाभावी रोकेर यात्रु चढाउने, आरक्षित सिट लक्षित समूहलाई नराखे पनि अहिले नियममा बाँधिएका छन् । ‘व्यक्तिले सञ्चालन गर्दाजस्तो यति नै कमाउनु पर्छ भन्ने हुँदैन,’ बा३ख २२२६ का चालक लामाले भने, ‘संस्थाको नियममा बाँधिएकाले जिम्मेवारी पालना नगर्दा इज्जतको कुरा हुन्छ ।’
प्रकाशित मिति: २०७० वैशाख ५ ०८:५८

Source:http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=294142

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s