मेलम्चीको प्रतीक्षामा बाँचिरहेकाहरू

विश्वनाथ खरेल

विश्वमा स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि हरेक वर्ष २२ मार्चका दिन विश्व पानी दिवस मनाउने गरिएको छ । ‘पानी पानी त्यहाँ-त्यहाँ, साझेदारी जहाँ-जहाँ’ भन्ने मूल नारासाथ मनाउन लागिएको यस वर्षको २१औँ विश्व पानी दिवसका अवसरमा जल सप्ताह कार्यक्रमअन्तर्गत नेपालमा पनि पानीको स्रोतको संरक्षण, गुणस्तरीय पानीको सहज एवं सर्वसुलभ वितरण र व्यवस्थापनमा जनचेतना जगाउने कार्यक्रम आयोजना गरिएका छन् । सो अवधिमा पानीसम्बन्धी गोष्ठी, अध्ययन र जनचेतनामूलक कार्यक्रम देशभरि गरिने आयोजकले जनाएका छन् । स्वस्थ रहनका लागि एक व्यक्तिले दिनमा चारदेखि ६ लिटरसम्म सफा पानी पिउनुपर्छ । जीवनको हरेक पक्षमा आवश्यक पर्ने स्वच्छ तथा सक्षम जनशक्तिको विकास र अन्ततः गरिबी निवारणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने न्यूनतम आधारभूत आवश्यकताको रूपमा रहेको पिउने पानी क्षेत्रको विकासका लागि विगत योजनादेखि नै प्राथमिकताक्रमका आधारमा कार्यक्रम सञ्चालन हँुदै आइरहेका छन् । सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार एक लाख ८० हजार निजी र एक हजार एक सय ९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले पिउने पानी उपभोग गरिरहेका छन् । यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयुकेएल) ले ३५ वटा सतह स्रोत, ५९ वटा डिप ट्युबवेलबाट पानी ल्याई २१ वटा खानेपानी प्रशोधन केन्द्रमार्फत हाल उपत्यकाभर वितरण गर्दै आएको छ । सन् ०१७ सम्म उपत्यकामा पिउने पानीको माग दैनिक ४० करोड लिटर पुग्नेछ भने मेलम्चीसमेत गरी आपूर्ति भने हिउँदयाममा ३० करोड लिटर मात्रै हुनेछ । त्यसैले मेलम्चीअन्तर्गत दोस्रो चरणमा यांग्री र तेस्रो चरणमा लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी आएपछि मात्रै उपत्यकामा पिउने पानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने सम्बन्धित क्षेत्रको दाबी छ । सन् ०१७ को मध्य अवधिसम्ममा मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आइपुग्ने लक्ष्य रहेको सम्बन्धित क्षेत्रले जनाएको छ । यसका लागि ४२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसका लागि २७ किलोमिटर लामो सुरुङमध्ये हालसम्म सात किलोमिटर सुरुङ मात्र निर्माण भएको बताइएको छ । हालसम्म उक्त योजनामा साढे आठ अर्ब खर्च भइसकेको छ । यसबाहेक व्यक्तिगत कुवा, इनार, ट्युबवेल, परम्परागत ढंुगेधारालगायत क्षेत्रबाट आपूर्ति हुँदै आएको छ । केयुकेएलबाहेक विभिन्न संघसंस्थाको २८ वटा, होटेलका २८ वटा, निजी ट्यांकर कम्पनीका ५६ वटा, उद्योग व्यवसायीका २६ वटा, अस्पतालका १२ वटा, अपार्टमेन्ट तथा हाउजिङका ५३ वटा र अन्य ३१ वटा गरी दुई सय तीन अनुमतिप्राप्त डिप ट्युबेलबाट दैनिक पाँच करोड लिटर पानी आपूर्ति भइरहेको छ । करिब ६ सयवटा निजी ट्यांकरबाट करिब एक करोड लिटर पिउने पानी प्रतिदिन उपलब्ध हुँदै आएको छ ।
सन् ०१५ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपभोग गर्नुपर्ने दाबी सम्बन्धित क्षेत्रका विशेषज्ञको रहेको छ । यसै क्रममा वासिंटनस्थित प्राकृतिक स्रोत सञ्चयसम्बन्धी अनुसन्धान निकाय ‘औडुवन’ले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिए विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको छ । मुलुकको कुरा गर्ने हो भने पनि अपार जलस्रोतको भण्डारले भरिभराउ भए पनि सिँचाइ र पिउने पानीकै समेत अभाव दिन प्रतिदिन बढ्दो छ । देशमा बग्ने ६ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष दुई सय ७० अर्ब क्युसेक पानी बगेर बिदेसिने गरे पनि जनतालाई दैनिक पिउने पानीदेखि ६०-८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सकिएको छैन । अतः देशमा विद्यमान साधनस्रोतलाई सही रूपमा परिचालन तथा संवर्द्धन गर्न सके सबै पानीका उपभोक्ताको मागमा सुधार हुने आशा राख्न सकिन्छ । हाल पिउने पानीको समुचित वितरण अभाव, बढ्दो जनसंख्या र तीव्र सहरीकरणका कारण पानी आपूर्तिमा समस्या बढिरहेको थाहै छ । यसर्थ काठमाडौं उपत्यकामा पिउने पानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी केयुकेएलले दिएको छ । केयुकेएलको तथ्यांकअनुसार ५० प्रतिशतभन्दा बढी पानी भूमिगत स्रोतबाट आपूर्ति भइरहेको छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबेलको स्रोत पनि भूमिगत पानी नै हो । भूमिगत पानी सुकेमा उपत्यकामा पिउने पानीको ठूलो समस्या हुने निश्चित छ । जाइकाले तयार गरेको प्रतिवेदनअनुसार प्रत्येक वर्ष दुई दशमलव पाँच मिटर जमिनमुनिको पानी घट्दै गएको छ । अर्को एक सरकारी तथ्यांकअनुसार जमिनमुनिको पानी नौदेखि ६८ मिटर तल झरेको छ । काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ । यही हिसाबमा घर बनिरहे आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाकिनेछ । केन्द्रीय तथ्यांक विभागका अनुसार, काठमाडौं जिल्लाको क्षेत्रफल तीन सय ९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) छ ।
राजधानीको मुख्य सहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक पिउने पानीको माग ३५ करोड लिटरभन्दा बढी छ । यसरी प्रत्येक वर्ष मागमा दश प्रतिशतका हिसाबले वृद्धि हुने केयुकेएलले दाबी गरेको छ । यहाँ वषर्ायाममा १५ करोड लिटर पानी आपूर्ति भइरहेको दाबी सम्बन्धित निकायले गरे पनि यथार्थमा १० करोड लिटर मात्र पानी आपूर्ति हुने गरेको बताइन्छ । यसरी उपलब्ध गराइएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र चार करोड लिटर जमिनमुनिबाट निकालिएको पानी हुने गरेको छ । जसमध्ये लगभग ४० प्रतिशत चुहावटबाटै खेर गइरहेको पनि बताइन्छ । काठमाडौंमा रहेका रिजभ्र्वायरमध्ये चाबहिलको ८५ लाख लिटर, बालाजुको ३६ लाख लिटर, बाँसबारीको २० लाख लिटर, सुन्दरीघाटको आठ लाख लिटर छ । काठमाडौंमा प्रत्येक वर्ष चार/पाँच हजार नयाँ धारा थपिने गरेका छन् । यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाको प्रतीक्षामा दिन गनेर काकाकुल नियति बाँचिरहेका छन् ।
बढ्दो जनसंख्याको भारले गर्दा हराभरा वनजंगल विनाश एकातिर हुँदै छ भने अर्कातिर कृषियोग्य भूमिको ह्रास पनि बढ्दै छ । विकसित देशमा पनि पानीको दुरुपयोग एवं चुहावट नहुने होइन । त्यस्ता देशमा पनि लगभग २० देखि ३० प्रतिशतसम्म चुहावट हुने गरेको पाइन्छ । तर, नेपालमा यस किसिमको चुहावट ४० प्रतिशतसम्म भइरहेको अनुमान छ । संसारभर ४० देखि ६० प्रतिशतसम्म पिउने पानी चुहावट र दुरूपयोग भइरहेको राष्ट्रसंघले नै जनाएको छ । यी समस्या समाधानका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने हुन्छ । विश्वको जनसंख्या सात अर्बलाई २५ लिटर प्रतिव्यक्तिका हिसाबले एक खर्ब ७५ अर्ब लिटर दैनिक पानी आपूर्ति गर्नुपर्ने अनुमान गरिएको छ । अर्कोतिर हाम्रो देशको दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार जनसंख्यालाई प्रतिव्यक्ति २५ लिटर पानीको हिसाब गर्दा दैनिक ६६ करोड २३ लाख ६२ हजार ६ सय लिटर पानी आवश्यक पर्ने अनुमान गर्न सकिन्छ ।
काठमाडौंमा प्रत्येक वर्ष वषर्ामा तीन खर्ब ५० अर्ब लिटर पानी बागमती नदीबाट मात्र बगेर खेर गइरहेको सरकारी तथ्यांकमा देखाइएको छ । त्यसबाट २५ प्रतिशत मात्र बचत गर्न सके हालको काठमाडौंको मागअनुसार दैनिक २२ करोड लिटरका दरले पनि एक वर्षभन्दा बढी समयसम्मका लागि पुग्न सक्ने अनुमान सम्बन्धित क्षेत्रका विशेषज्ञको रहेको छ । यदि दैनिक २२ करोड लिटरको हिसाबले प्रतिव्यक्ति प्रतिदिन ८८ लिटर पानी भागमा पर्न आउँछ । यसबाट के पुष्टि हुन्छ भने वषर्ाको पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा राजधानीवासीको दैनिक पानीको माग सहजै पूरा हुनेछ । यसका लागि सम्बन्धित निकायले वेलैमा विचार पुर्‍याई कार्य गरे अवश्य पनि उपत्यकावासी पानीको समस्याबाट मुक्त हुनेमा कसैको पनि दुईमत हुन सक्दैन । यसलाई मध्यनजर राखेर सम्बन्धित निकायले वेलैमा ठोस कदम चाल्न ढिला भइसकेको छ । अतः वेलैमा सचेत भई यसको स्रोत संरक्षण र संवर्द्धनमा उचित ध्यान पुर्‍याउन नसके भोलिका आमजनतालाई स्वच्छ, स्वस्थ र पर्याप्त पिउने पानी आपूर्ति नहुने निश्चित छ ।

Source : http://www.nayapatrika.com/691208

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s