सैनिक दिवस

March 10th, 2013

आज सैनिक दिवस । नेपालको परम् रक्षक र स्थायी संस्था नेपाली सेनाको स्थापना दिवस आम नेपालीका लागि गौरवको सन्दर्भ हो । यस घडीमा देशभक्त नागरिकले नेपाली सेनाको प्रारम्भिक स्वरूप, विकास र विस्तार, सेनाले लडेका युद्ध र अन्तर्राष्ट्रिय जगत्मा नेपाली सेनाले खेलेको भूमिका स्मरण गर्नु स्वाभाविक हुन आउँछ । नेपाली सेनाको पुनर्निर्माण र आधुनिकीकरण, सैनिक नीति र नियमलगायतका विषयमा बहस चलाउने दिनका रूपमा पनि यस दिवसलाई लिइनु सान्दर्भिक हुन्छ । नेपाली सेनाले राज्यका विभिन्न क्षेत्रमा दिएको योगदान, विकट लोकमार्ग तयार पारेर मुलुकको विकासमा खेलेको भूमिकालगायतका विषय स्मरण गर्नु पनि सान्दर्भिक हुन आउँछ । नेपाली सेनाको इतिहासका बारेमा नेपालीले जसरी चासो राख्ने गरेका छन्, त्यसरी नै यसको वर्तमानका बारेमा पनि उनीहरू चनाखो देखिन्छन् ।

मुलुकको इतिहास निर्माणको एक अध्यायका रूपमा नेपाली सेनाको इतिहास रहेको अवस्थामा जसरी नेपाली सेनालाई चिन्नु आवश्यक छ, त्यसरी नै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि पनि यसको सामयिक पुनरवलोकन हुनु आवश्यक छ । यसलाई सबै नेपालीले श्रद्धाले हेर्नु जति अपेक्षित छ, उति नै यसलाई मायाले धाप दिनु पनि अनिवार्य छ, साथमा वस्तुवादी बनेर यसको समीक्षा गर्नु र कमजोरीमा औंला ठड्याउन पनि पछि पर्नुहुन्न । नेपाली सेना स्वाभाविक रूपमा हतियारधारी शक्ति हो, त्यसैले यसका बारेमा आलोचनात्मक टिप्पणी गर्न प्रायः समीक्षकहरू हच्किन्छन् । तर उचित सम्मानका साथ यसप्रति कसैले आलोचना गर्छ भने उही नै यस संगठनको असल मित्र कहलिन्छ । प्रस्ट छ, मुलुकमा देखिएका राजनीतिक, सामाजिक र आर्थिक विचलनले यस संगठनलाई पनि अछुतो राख्न सक्तैन । पूरै पोखरी धमिलो भएका बेला निकै खरानी घोटेर उझिल्याएको तामाको अंखोरामा उघाइएको पानी पनि सङ्लो हुन सक्दैन । समाजमा कायम रहेको सामन्ती सोच, परिवारवाद, राजनीतिक गुटबन्दी, अलोकतान्त्रिक चरित्र, अपारदर्शी व्यवहार र संकीर्णताले यस संस्थालाई छुन सक्तैन भन्ने होइन । यदि कसैले यस प्रकारको आँकलन गरेर नेपाली सेनालाई विशेषणका थुँगा चढाउँछ भने ऊ वस्तुवादी चिन्तक हुन सक्तैन । तर, चिन्तनमा सुधार ल्याउनु र आलोचना सहन सक्ने मानसिकता बनाउनु सहज छैन । विरासतका रूपमा आएका सोच र पद्दतिमा रहेका खोट एक दिनमा रूपान्तरित हुन सक्तैनन् । यद्यपि, अभियानका साथ लागिपर्ने हो भने कठिन युद्ध जित्ने नेपाली सेनाका लागि मनभित्रको शत्रुलाई परास्त्र गर्न लामो समय लाग्दैन ।

मुलुकमा तरल अवस्थामा रहेको राजनीतिक स्थितिले नेपाली सेनालाई पनि प्रत्यक्ष वा परोक्ष असर पारेको छ । मुलुकका सम्पूर्ण अंगलाई निर्देश गर्ने नीति राजनीति नै धमिलो भएका बेला नेपाली सेनाको सांगठनिक सुदृढीकरण वा जनअपेक्षाअनुसारको परिमार्जन नहुनु अस्वाभाविक हुँदैन । पछिल्लो समय मुलुक कसको नेतृत्वमा सरकार बनाउने भनेर टाउको दुखाइरहेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय भएको त छ, तर कार्यान्वयन हुन सकिरहेको छैन । ‘निर्वाचनका लागि गरिएको बाध्यकारी सम्झौता’ भनेर प्रमुख दलका नेताले जनतालाई सम्झाउने प्रयास गरिरहेका छन्, नागरिकहरू यस मुद्दामा सहमत पनि देखिन्छन् । नेपाली राजनीतिका चार शक्ति जसमा प्रजातन्त्रकै लागि जेलनेल खाएका नेताहरू पनि छन्, लोकतन्त्रको विपक्षमा निर्णय गर्न सक्तैनन् भन्ने चिन्तनका साथ निकासका लागि राजनीतिक शक्तिहरूबाट भएको सहमतिलाई समर्थन गर्नु आवश्यक देखिन्छ । चुनावी सरकारका लागि दलहरूबीच एक–आपसमा विश्वासको वातावरण बन्न नसकेको तर निर्वाचनमा नजाँदा लोकतन्त्र नै कमजोर हुने, जनता सार्वभौमसत्ता नहुने अवस्था आएका कारण निर्वाचन र जनताको मतको कदर हुने प्रयोजनका लागि कम क्षतिको विकल्प रोजिएको जुन तर्क नेताहरूको छ, त्यसलाई आजको अवस्थामा स्वीकार गर्नुको विकल्प देखिन्न । शक्ति पृथकीकरणप्रति कुनै आँच नआउने गरी प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न सकिन्छ, बाधाअड्काउ फुकाउ धारा प्रयोग गर्दै प्रधानन्यायाधीशको पूर्ण अधिकार कार्यवाहक प्रधानन्यायाधीशलाई दिन सकिन्छ, निर्वाचन सम्पन्न भएपछि यी प्रावधान स्वतः समाप्त हुने अवस्था बनाउन सकिन्छ । २००७ सालदेखि संविधानका लागि मुलुक प्रयोगशाला मात्र बन्दै आएको अवस्थामा विदेशी शक्तिलाई चलखेल गर्न नदिन र नेपाली सेनाजस्ता मुलुकका स्थायी रक्षक शक्तिलाई सघाउन पनि लामो समयसम्म राजनीतिक अस्थिरता कायम राख्नु बुद्धिमानी हुनेछैन । सैनिक दिवसका अवसरमा राजनीतिक स्थायित्वका पक्षमा चिन्तन गर्नु यसलाई दिइएको सुन्दर शुभकामना सावित हुनेछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s