महिला दिवस

March 08th, 2013

अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आज मानवअधिकारका क्षेत्रमा सक्रिय विश्वका संस्था तथा अधिकारकर्मीहरू विभिन्न कार्यक्रमका साथ न्यायिक समाजको स्थापना, विकास र प्रवद्र्धनका पक्षमा आवाज उठाइरहेका छन् । नेपालमा पनि ८ मार्चलाई विभिन्न कार्यक्रमका साथ मनाउने अभ्यास भइरहेको छ । राजनीतिक विचार, क्षेत्र, जाति र वर्गभन्दा माथि उठेर आम महिलाको पक्षमा एकै ठाउँमा उभिनुपर्ने आजको दिनमा विभाजित भएर प्रकट हुने कार्यले संकीर्णताको परिचय दिएको छ, जसलाई सुधार्नुपर्ने विषयको सूचीमा राख्नु आवश्यक छ । यसै गरी सुधार्नुपर्ने अर्को पक्ष हो, आजको दिनलाई महिलाको सरोकारका रूपमा मात्र लिने र पुरुषले बेवास्ता गर्ने मानसिक अपांगताको अवस्था, त्यसलाई पनि सुधार गर्नुपर्छ । जसरी शरीरको एक अंगमा भएको रोग सिंगो व्यक्तिको रोग कहलिन्छ, अनि अमूक अंगको उपलब्धिले सम्पूर्ण व्यक्तिको उचाइ बढाउँछ, त्यसरी नै यस समाजमा महिलाको सरोकार सम्पूर्ण समाजको सरोकार मानिनुपर्छ ।

पछिल्लो समयमा नेपाल र यसको भौगोलिक प्रतिनिधित्व रहेको क्षेत्र दक्षिण एसिया नै महिला हिंसाको शिकार भएको छ । घर–परिवारका पुरुष सदस्यबाट नै महिलामाथि हिंसा भएका घटना बाहिर आएका छन् । शिक्षकबाट छात्राहरू यौन शोषणको शिकार बनेका छन्, अभिभावक नै हिंस्रक आवरणमा प्रकट भएका छन् । सार्वजनिक यातायातका साधन र पार्कहरूमै चेलीहरूमाथि बलात्कार भएको छ भने न्यायका लागि महिलाबाट गरिएका प्रयासमा पुरुषबाट भएका असहयोगका उदाहरण पनि धेरै छन् । तर पनि महिलामा विगत वर्षहरूको दाँजोमा सशक्तीकरण बढेको छ । विद्यालय र विश्वविद्यालय जाने नयाँ पुस्तामा केटा र केटीको संख्या समान देखिन थालेको छ– खास गरी शहरी क्षेत्रमा । सभा–समारोहमा पनि महिलाको संख्या बढेको छ । महिलाले नेतृत्व गरेका सरकारी वा निजी क्षेत्रका निकायहरूले सफलता हासिल गरेका दृष्टान्तहरू बढेका छन् । ट्राफिक प्रहरी हुन् वा गैससका सञ्चालक, विद्यालयका प्रिन्सिपल हुन् वा कलेजका प्राचार्य– जहाँ महिला छन् त्यहाँ सफलताका अनुभव पनि सँगालिएका छन् ।

महिला जगत्का लागि अन्तर्राष्ट्रिय महिला दिवसकै अघिल्लो दिन सर्वोच्च अदालतले प्रशंसायोग्य आदेश गरेको छ । यसलाई महिलालगायत सम्पूर्ण मानवअधिकारकर्मीका लागि उपलब्धिको विषयका रूपमा हेरिनु आवश्यक छ । नागरिक समाजको लामो संघर्षले स्थापना गरेको राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने निर्णय सबै नागरिकका लागि उपहार सावित भएको छ । पीडितले ६ महिनाभित्रै उजुरी हाल्नुपर्ने अन्यथा त्यसको सुवाइ नहुने जो व्यवस्था थियो, त्यलाई खारेज गरिएको छ । मानव अधिकारको उल्लंघन भएका विषयमा मुद्दा चलाउन राष्ट्रिय मानवअधिकार आयोगबाट सिफारिस भएपछि महान्यायाधिवक्ताले सिफारिसविपरीत गर्न सक्ने कानुनी अधिकारलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि महिला–पुरुष सबै अधिकारकर्मीमा प्रसन्नताको लहर छाएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी तथा न्यायाधीशहरू रामकुमारप्रसाद साह र गिरिशचन्द्र लालको विशेष इजलासले महान्यायाधिवक्ताको सो कानुनी अधिकार खारेज गरेपछि आयोगबाट सिफारिस भएबमोजिम सरकारले मुद्दा चलाउनुपर्ने बाध्यता भएको छ । उक्त कानुनी व्यवस्था पनि खारेज भएपछि मानवअधिकारको उल्लंघनबाट पीडित भएकाले जहिलेसुकै पनि अब आयोगमा गई उजुरी दिन पाउने भएका छन् । सर्वोच्च अदालतले ती व्यवस्थाहरू नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३१ र १३२ विपरीत भएको उल्लेख गरी बुधबारको मितिबाट लागू हुने गरी खारेज गरेको हो । राष्ट्रिय मानवअधिकार ऐन, २०६८ को दफा १७ (१०) मा आयोगबाट सिफारिस भइआएका विषयका सम्बन्धमा महान्यायाधिवक्ताले मुद्दा चलाउन नमिल्ने भनी निर्णय गरेकोमा सोको कारण खुलाई तीन महिनाभित्र महान्यायाधिवक्ताको कार्यालयले आयोगमा जानकारी दिनुपर्ने व्यवस्था थियो । यसै गरी सोही ऐनको दफा १० (५) मा मानवअधिकार उल्लंघन भएको मितिले ६ महिनाभित्र आयोगमा पीडित पक्षले उजुरी दिइसक्नुपर्ने व्यवस्था रहेको पाइन्छ । सर्वोच्च अदालतले ती दुवै प्रावधानहरू खारेज गरिदिएको छ । ती दुई प्रावधानलगायत अन्य केही प्रावधानले मानवअधिकार उल्लंघन भएका पीडितहरूले पूर्ण न्याय प्राप्त गर्न नसक्ने त्यस्ता प्रावधान संविधानविपरीत भएको उल्लेख गरी अधिवक्ता ओमप्रकाश अर्याललगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्च अदालतले ती दुई प्रावधानहरू खारेज गरेपछि मानवअधिकार आयोगलाई केही मात्रामा भए पनि बलियो हुन सहयोग पुगेको मानवअधिकारकर्मीहरूको विश्लेषण छ । सर्वोच्च अदालतको यसै आदेशका साथ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आमा, दिदी, बहिनीहरूमा नेपाल समाचारपत्रको हार्दिक शुभकामना !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s