गएको नारी दिवस र बढेको महिला हिंसा

March 10th, 2013

(हेमराज भुसाल) सदाझैं ८ मार्च महिलाअधिकारका पक्षमा केही थान भाषण र जुलुसका साथ मनाइयो। अमेरिकाको न्युयोर्क शहरको कपडा मिलका महिलाहरूले सन् १९९७ मार्च ८ का दिन महिला हक र अधिकारसम्बन्धी विभिन्न मागहरू राखी पहिलोपटक र्याली र सभा गरेर आमहड्ताल गरेका थिए। सन् १९०७ मार्च ८ कै दिन पारेर जर्मनीको स्टुगार्डमा क्लारा जेट्किनको नेतृत्वमा अन्तर्राष्ट्रिय समाजवादी महिलाहरूको पहिलो सम्मेलन भयो। जसमा १५ देशका ५६ जना प्रतिनिधिहरूले भाग लिएका थिए। यो सम्मेलनबाट ऊर्जा थपिएको महिलामाथिको शोषण दमनविरुद्धको आन्दोनले सन् १९०८ पछि विशेष तीव्रता हासिल गर्दै गयो र सन् १९०९ मार्च ८ मा उत्कर्ष रूप लिन पुग्यो। फलस्वरूप श्रमिक महिलाहरूका सीमित भए पनि सीप र अधिकारहरू प्राप्त भए। यसरी संघर्षको शुरुआत भएको र सीमित भए पनि अधिकार प्राप्त भएको ऐतिहासिक दिनलाई स्मरण गरिरहने उद्देश्यले सन् १९१० मा भएको डेनमार्क कोपेनहेगनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन दिवसका रूपमा मनाउने निर्णय गर्यो। यसरी सन् १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन दिवसका रूपमा मनाइयो।

एक शताब्दी पार गरेर आइपुग्दा यो दिवस समाजवादी महिलाहरूको आन्दोलन भए पनि सम्पूर्ण महिला श्रमिकहरूको आन्दोलन दिवसको रूपमा स्थापित हुँदै आजभोलि श्रमिक महिलाहरूको मात्र नभई सम्पूर्ण महिलाहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा चिनिएको छ। मात्र अन्तर्राष्ट्रिय नारी दिवसका रूपले चर्चित भएको छ। यो आफैंमा गौरवको कुरा हो। तर विडम्बना लोकप्रिय बनेको यो दिवस हाम्रो देशमा पछिल्ला वर्षमा आएर नारीहिंसाको समस्यासँग गाँसिदै आउँदा पुरुषहरूलाई गाली गर्ने र महिला–पुरुषबीच द्वन्द्व, टकराव र बेमेल सिर्जना गराउने, महिला सचेतनाका नाममा पारिवारिक कलह सिर्जना गराउने र महिलाहरूलाई स्वतन्त्रताको नाममा परिवारबाट अलग तथा श्रीमान्सँग छोडपत्र गराउन उन्मुख गराउने दिनका रूपमा विकास हुँदै आएको छ। यसको ज्वलन्त उदाहरणका रूपमा गत वर्ष सन् २०१२ मा प्रम डा. बाबुराम भट्टराईज्यूको प्रमुख आतिथ्यमा भएको १०२औं अन्तर्राष्ट्रिय नारी दिवसको स्मरण गर्नु सान्दर्भिक हुन्छ।

महिलाहिंसाले बढ्दो रूप लिइरहेको अवस्थामा महिलाहरूले पुरुष र पितृसत्ताको पुतला जलाएर पुरुषलाई जिम्मेवार व्यक्तिहरूले महिलाहरूबाट आफ्नै श्रीमान्लाई ‘किक’ हान्न लगाएर र तँ भन्न लगाएर महिला र पुरुष अर्थात् श्रीमान्श्रीमतीबीच द्वन्द्व र झगडा मच्चाएर यसलाई कम गर्न र रोक्न सकिँदैन। किनकि महिला र पुरुषको मिलनबिना सृष्टि र समाज विकास नै सम्भव छैन। त्यसैले पनि यहाँ महिला र पुरुषबीच द्वन्द्व होइन सद्भाव र मेलमिलापको खाँचो छ।

महिला हिंसाको समस्या त यसको मूल कारणको निवारण गरेपछि मात्र निदान हुन सक्छ। जुन पुरुष प्रधान समाज व्यवस्था हो। यो व्यवस्थाको अन्त्य गर्न पुतला जलाएर र पुरुषहरूलाई गाली गरेर सम्भव छैन। जबसम्म दुलाहाको घरमा दुलही भित्त्याउने परम्परा रहिरहन्छ तबसम्म नारी हिंसा पनि भइरहन्छ। दुलही भित्त्याउने प्रचलन कसरी अन्त्य हुन्छ ? यसबारेमा अरू अंकहरूमा चर्चा गरौंला। त्यसैले बरु अब महिला चेतना मात्र होइन पुरुष चेतना कार्यक्रम चलाउनुपर्छ जसले साँच्चै अन्यायमा परेका र पीडित महिलाप्रति न्याय, सद्भाव र मर्यादा गर्न सिकाओस्। यसो गर्नका लागि धैरै महिला अन्याय र मर्कामा परेका भनेर कतिपय महिलाले गरेका गल्ती र कमीकमजोरीहरूलाई छायामा पार्न खोज्दै पुरुषहरूका मात्र कमजोरीलाई प्रहार गरियो भने कार्यक्रम सफल हुन सक्दैन। महिला चेतनाका होऊन् वा पुरुष चेतनाका अभियान होऊन् सबै कार्यक्रम अनिवार्य रूपमा महिला–पुरुष दुवै जनाको उपस्थितिमा हुनु र दुवै पक्षका लागि सुपाच्य व्यवहारबाट हुनु नितान्त जरुरी छ।

त्यसै गरी श्रीमतीले पतिलाई तँ भन्न सिक्नु र सिकाइनु भन्दा आफूभन्दा कम आर्थिक अवस्था, कम शिक्षादीक्षा र कमजोर अवस्था भएका दुःखी पुरुषहरूलाई पति बनाउँने आँट गर्ने र म पतिबाट पालिने हो पतिबाट अंश पाउने अधिकार छ र पाउनुपर्छ भन्ने भावनाको सट्टा मैले पनि पतिलाई पाल्न हुन्छ भन्ने भावनाको विकास गर्ने गराउने हो र ‘तँ’ दिनेभन्दा ‘तपाईं’ पाउने अवस्था सिर्जना गर्ने र गराउने हो भने सबैले सबैलाई तपाईं नै भन्ने अवस्था सिर्जना हुन सक्ला। तँ र म को ठाउँमा तपाईं र हामीको विकास होला। परिवारिक झगडा र छोडपत्रको ठाउँमा शान्ति मेलमिलाप र मिलापत्र होलान्। पक्कै पनि कुनै परिवारमा शान्ति र मेलमिलापले सद्भाव र माया ममता जगाउँछ। जहाँ एकआपसमा सद्भाव र माया ममता हुन्छ त्यहाँ नारी हिंसा कम हुन्छ। ‘महिला पुरुषबीच सद्भाव र माया ममता जगाउने महिलाले अधिकार खोस्ने अवस्था नभई पुरुषले दिने र महिलाले पाउने अवस्था सिर्जना गराउनेतर्फ सबैको ध्यान जानुपर्छ। अरू कार्यक्रम पुरुषले मात्र गरेजस्तै नारी दिवसमा नारीको मात्र उपस्थिति र जिम्मेवार व्यक्तित्वबाटै पुरुषको खोइरो खन्न नारीलाई उक्साउने किसिमका कार्यक्रम हुने परिस्थिति बन्नुहुन्न। यसले हामीलाई विभाजित गर्नेछ।

Source : http://www.newsofnepal.com/newsdetail.php?id=70140

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s