नारामा मात्र सीमित शहीद दिवस

विश्वमा हरेक राष्ट्रले आफ्ना वीर सपूत तथा शहीदहरूलाई उच्चकोटीमा राखी मूल्यांकन गर्दछन्। जसले आफ्नो राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताप्रति कुदृष्टि राख्नेहरूको विरुद्धमा शारीरिक तथा मानसिकरूपले संघर्ष गर्दागर्दै इहलीला समाप्त गर्छ, त्यस्तो व्यक्तिलाई नै शहीद भनिन्छ। थोरै बाँचेर पनि आफ्नो अदम्य जोश, जाँगर, सुरता, वीरता, रगत र पसिनाले आफ्नो मातृभूमिको सेवा गर्दागर्दै शहादत प्राप्त गरेका व्यक्तिहरू नै शहीद हुन् र उनीहरू नै युगयुगान्तसम्म बाँचिरहन्छन्, जस्तै– बलभद्र कुँवर, भक्ति थापा आदि। हाम्रो देशमा पनि यस्ता वीर शहीदहरू हजारौंको संख्यामा छन्। उनीहरूले नेपाली जनता र नेपाल आमाको खुशीको लागि आफ्नो खुशी छोडेर गएका छन्।

नेपालमा प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रप्रेमीहरूका लागि महत्त्वपूर्ण दिवस हो। उक्त दिवसको अवसरमा शहीदको बलिदानबाट प्रजातन्त्रको पुनस्र्थापना भएको हो भनेर फलाक्दैमा शहीदहरूप्रति राजनीतिक व्यक्तिहरूको कर्तव्य सम्पन्न भएको मान्न सकिन्न। शहीदगेट बनाउँदैमा, शहीदहरूको फोटोमा माल्यार्पण गर्दैमा, शहीदहरूको नाममा एक मिनेट मौनधारणा गर्दैमा शहीद दिवसको सार्थकता पूरा हुँदैन। तिनै शहीदका परिवारहरू बिचल्लीमा परी अत्यन्त दयनीय अवस्थामा रहनुपरेकोतर्फ हाम्रो दृष्टि नपुगेको हुन सक्छ, त्यतातिर पनि ध्यान पुर्याउनुपर्छ। एक सय चार वर्षीय जहानियाँ राणाशासन समाप्त पारी प्रजातन्त्र ल्याउन र तीस वर्षीय निरंकुश पञ्चायती कालरात्रिको व्यवस्थालाई समेत लत्याई बहुदलीय व्यवस्था ल्याउन आफ्नो बुद्धि र विवेकको भ्याएसम्म मानवीय शरीरको कुनै पर्वाह नगरी छातीमा गोली थापेर ज्यानसमेत आहुति दिने वीर शहीदहरू नै सच्चा शहीदहरू हुन्। शहीदहरूको सम्मान र संस्मरणस्वरूप सामाजिक एवम् गैरसरकारी क्षेत्रबाट भएका र हुने गरेका कामहरू सराहनीय छन्। अतः राणाशासनको विरुद्ध प्राण उत्सर्ग गर्ने चार महान् शहीद गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीलगायत ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा मनाइने शहीद सप्ताह पञ्चायती व्यवस्थाविरुद्ध लड्ने शहीदहरूप्रति पनि समानान्तररूपले समर्पित हुनु आजको आवश्यकता हो।

नेपालको इतिहास अध्ययन गरेर शहीदहरूलाई सम्झन खोज्दा थाहा हुन्छ, १९९७ साल माघको जाडोमा शुक्रराज र धर्मभक्तलाई रुखमा झुन्डयाइएको, दशरथ चन्द र गंगालाललाई बाँसमा बाँधेर ठाउँ–ठाउँमा गोली हानिएको, हुन त त्यसभन्दा अगाडि पनि राणाशासनको विरोध गरेबापत जेलमै वा बन्दीरूपमै कृष्णलाल अधिकारी, खड्गमान सिंह, मैनाबहादुर खत्री आदि थिए तर सर्वप्रथम राजनीतिक दल गठन गरी क्रान्तिकारी गतिविधि चलाएको कारणले शहीद भएका थिए उपर्युक्त चार जना मात्र। त्यसपछि पनि जनसंघर्षले समयको साथसाथै व्यापहता प्राप्त गर्दै लगेकोले देशव्यापी संघर्षकै सिलसिलामा सयौं कार्यकर्ताले जेलजीवनको यातना भोगिरहेकाले २००७ सालसम्म राजबन्दीहरूले जेल टनाटन भरिएका थिए। वि.सं. २००७ को संघर्षको फलस्वरूप राणा सरकारको पतन भई प्रजातन्त्रको उदय भयो। यही क्रममा वि.सं. २०१७ पुसदेखि २०४६ सालसम्म देशका विभिन्न भागमा शहादत प्राप्त गर्ने देशभक्तहरूको संख्या बढ्दै रह्यो। सरकारी तथ्याङ्कअनुसार नै यिनीहरूको संख्या झापादेखि बैतडीसम्मका ४८ जिल्लाका जम्मा २६८ जना पुगेको भए पनि पक्रिएका, थुनिएका, जेलभित्र वा बाहिर पिटिएर घाइते भएका मानिसहरूको लेखाजोखा नै थिएन। देशमा पञ्चायती व्यवस्थाको विरोध तीव्ररूपमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको पहलमा देशभरि नै जनसंघर्ष शुरु भयो। वि.सं. २०४६ चैत्र २७ गते रातिदेखि २०४७ वैशाख १० सम्म शहीदहरूको संख्या ८१ र घाइतेहरूको संख्या १ हजार नाघेको भन्ने तथ्यांक एउटा मानवअधिकार संगठनले दिएको भए पनि यसबारे सरकारी तथ्यांक हालसम्म प्रकाशित भएको छैन। यी वीर आत्माहरूको नामसम्म पनि संकलन गर्न नसक्नु दुःख लाग्दो कुरा भएको छ। यस्ता वीर सपूत अज्ञात शहीदहरूको खोजी गर्नु जरुरी छ।

शहीदहरू नभएका भए आज पनि नेपालीहरूले जनअधिकार र स्वतन्त्रता पाउने थिएनन्। ती सपूतहरूले ज्यानको बाजी लगाएर तानाशाही प्रवृत्तिसँग सिँगौरी नखेलेको भए यो मुलुक यत्तिको पनि हुने थिएन। त्यसैले शहीदहरूको स्मृति मात्रले पनि हामीलाई कर्तव्यपथतिर डोर्याउन मद्दत मिल्छ। देशमा व्याप्त अराजकता, स्वार्थीपना, भ्रष्टाचार, अनियमितता, जनउपेक्षाजस्ता अनुत्तरदायी व्यवहारले शहीदले देखाएको बाटो हामीले भुलेको छ, होइन र ? भन्ने आशंका गर्न बाध्य पारेको छ। शहीदहरू जसले आफ्नो देशको स्वतन्त्रता र देशको रक्षाको लागि आफ्नो जीवनको बलिदान दिए, त्यस्ता व्यक्तिहरूको भावना र आकांक्षालाई बुझ्नु आवश्यक छ। शहीदको योगदानको चर्चा–परिचर्चा शहीद दिवसको दिनमा मात्र गर्नाले यिनीहरूको योगदानको बयान सबैको मानसपटलमा रहँदैन। त्यसको गहिरो सम्झनाको लागि शहीद स्मारक, शहीद पुरस्कार, शहीद आवासगृह, शहीद स्मारिका, पुस्तिका प्रकाशित गर्नु, शहीदहरूको नाममा पार्कको स्थापना गर्नुपर्दछ। उनीहरूको योगदानलाई वर्षमा एक पटक मात्र सम्झना गर्दैमा पुग्दैन, त्यसको लागि हामीले पल–पलमा आदर–सम्मान गरी उनीहरूका इच्छा र आकांक्षाका अधुरा सपनाहरूलाई जीवन्त रूप दिनुपर्छ। आजको हाम्रो प्रमुख दायित्व भनेको नै शहीदहरूको सपना साकार पार्नु हो। देश र समाजमा भएका राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रका विकृति र विसंगतिलाई निर्मूल पार्नु हो। शहीदहरूको रातो रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई अवलोकन गरी अज्ञान र अशिक्षाले तड्पिरहेका शहीदका परिवारहरूलाई शिक्षाको उज्यालो घामले सिञ्चित गर्न रोजगारका अवसर दिलाउनुपर्छ। उनीहरूका सन्ततिहरूको उचित शिक्षाको संवद्र्धन र विकासको लागि अक्षयकोष स्थापना गर्नुपर्छ। जसले गर्दा शहीदका सन्तानहरूलाई पढ्नमा प्रेरणा प्राप्त होस्। उनीहरूको मर्म, भावना र उद्देश्यलाई बुझ्नको लागि विभिन्न सञ्चारमाध्यमहरू जस्तै– रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्रपत्रिका आदिमार्फत सबैमा बोध हुनु आवश्यक छ।

विश्वका प्रत्येक राष्ट्रले आफ्ना वीर सपूत तथा शहीदहरूलाई उच्चकोटीमा राखी मूल्यांकन गर्दै आएका छन्। त्यस्ता हिमायती, कर्मठ देशभक्तहरू जसले आफ्नो राष्ट्रिय अखण्डतालाई जोगाउन ज्यानको पर्वाह नगरी शत्रुको गोलीसँग लडी अमरत्व प्राप्त गर्दछन्। सुनौलो इतिहासको पानाहरूमा हराएका विश्वमा नै अनगिन्ती यस्ता व्यक्तिहरू छन्, जसलाई मरणोपूर्वार्धमा लाञ्छना लगाइन्छ, देशद्रोही, राष्ट्रघाती आदि भनिने गरिन्छ। तर तिनै देशद्रोहीले मरणोपरान्त दिएको प्रेरणाको मार्ग पहिल्याइएपछि तिनलाई शहीद शब्दले पुजिन्छ। यसरी ती वीर शहीदहरू धेरै इतिहासका पानाहरूका सुनौला अक्षरले कुँदिएका छन्। इतिहासकारहरूले यस्ता महान् व्यक्तिहरूको अनुसन्धान तथा खोजखबर गर्दै आएका छन्। यसको तात्पर्य के हो, भोलिका भावी सन्ततिहरूले यही मार्ग अवलम्बन गर्नुपर्ने हुन जान्छ। शहीदहरू पूजनीय एवम् सबैका साझा सम्पत्ति हुन्। यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु, कदर गर्नु सबै क्षेत्रका जनता तथा राजनीतिज्ञहरूको संयुक्त जिम्मेवारी हुन आउँछ। वास्तविक भावनालाई बुझेर यदाकदा रुमल्लिएका शहीदहरूको युद्धस्तरमा खोजतलास गरी सक्दो सम्मान गर्नु सबैको कर्तव्य हुन आउँछ। त्यसैले आजको प्रजातान्त्रिक वातावरणमा हामी सबैले प्रजातान्त्रिक चरित्र निर्वाह गरी हाम्रा मुटुका ढुकढुकीलाई यथार्थरूपमा कदर गरी उनीहरूले पहिल्याएको बाटोमा अग्रसर हुन र भनाइअनुसार गराइमा परिणत गर्न सकेमा मात्र शहीदप्रति वास्तविक सम्मान गरेको ठहरिन सक्छ।

Source :http://www.newsofnepal.com/newsdetail.php?id=69389

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s