गड्यौला दिन नसक्दा हटाइएँ

Friday, 25 January 2013 10:39 नागरिक

एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका केशव स्थापित त्यसपछि ज्ञानेन्द्रको शासनकालमा मनोनीत मेयर बने। अहिले तिनै स्थापितलाई माओवादीले काठमाडौं उपत्यका विकास प्राधिकरणमा ५ वर्षका लागि नियुक्त गरिएको थियो, तर ९ महिनाकै अवधिमा हटाएको छ। जसविरुद्ध उनी अदालतको शरणमा पुगेका छन्। कहिले माओवादीलाई ड्रेस, हतियार र रेडियो उपलब्ध गराएको तथा कहिले लभ पार्क निर्माण अनि कहिले टुँडिखेलमुनि भूमिगत पार्किङ बनाउने जस्ता महत्वाकाङ्क्षी योजना अघि सारेर चर्चामा आइरहने स्थापितले भने- प्रधानमन्त्री पत्नी हिसिला र उनकी सेक्रेटरीलाई रिझाउन नसक्दा प्राधिकरणबाट अयोग्यको बिल्ला लगाएर मलाई हटाइयो। यी र यस्तै विविध विषयमा नागरिकका रघुनाथ लामिछानेले स्थापितसँग गरेको वार्ताको विवरण :

अदालत जानुभयो रे। किन हो?

मलाई काठमाडौं उपत्यका विकास प्राधिकरणमा ९ महिनाअघि प्रमुखका रूपमा नियुक्त गरिएको थियो। अहिले काम गर्न नसकेको भन्दै अयोग्यको बिल्ला भिराएर निकाल्ने निर्णय गरियो। म त्यसैका विरुद्ध अदालत गएको।

तपाईंलाई प्राधिकरणमा लगिएकोचाहिँ किन?
एक दिन प्रधानमन्त्री बाबुराम भट्टराईले डाक्नुभयो। म गएपछि हिसिलालाई पनि बाहिर पठाउनुभयो र तपाईंसँग सिरियस कुरा गर्नु छ भन्नुभयो। त्यसपछि उहाँले एउटा सानो भूकम्प गए पनि काठमाडौं खत्तम हुन्छ, पानीको उस्तै समस्या छ, फोहोर उस्तै छ भन्दै उपत्यका बनाउनुपर्यो् भन्नुभयो। अनि मलाई तपाईं जस्तै मानिस चाहियो भन्नुभयो। त्यो सुनिसकेपछि मैले तपाईंकै पार्टीमा त्यस्ता थुप्रै मान्छे होलान्, खोज्नुस् न भनें। प्रधानमन्त्रीले आफ्नो पार्टीमा आफ्नो आइडियाअनुसारको उपत्यका बनाउन सक्ने कोही नभएको बताउनुभयो। त्यसपछि मलाई तपाईंले नै सहयोग गर्नुपर्योइ भन्नुभयो।

त्यसपछि?
मलाई प्राधिकरण प्रमुखका रूपमा काम गर्न अनुरोध गरेपछि मैले केही सर्त राखें- प्राधिकरणमा एउटा छुट्टै कोष चाहिने, यसमा १ अर्ब रुपियाँ हुनुपर्ने, नियमित बजेट अर्को १ अर्ब चाहिने, कसैको भनसुन नमान्ने, प्रधानमन्त्रीबाहेक अरु कसैलाई रिपोर्टिङ नगर्ने आदि। उहाँले सबै मान्छु भन्नुभयो। अनि मन्त्रालय भौतिक योजना तथा निर्माण मन्त्रालय जान भन्नुभयो। त्यहाँ गएको त मन्त्री हृदयेश त्रिपाठीले प्राधिकरणमा त अर्कै मानिस सिफारिस भइसक्यो भन्नुभयो। म त छक्कै परें। भएछ के भने नियमावलीमा यसरी नियुक्त हुने व्यक्ति १० वर्षको अनुभवी तथा लब्ध प्रतिष्ठित हुनुपर्ने उल्लेख थियो तर ऐनविपरित नियमावलीबाट लब्ध प्रतिष्ठित भन्ने शब्द हटाएर मलाई नगरी अर्कैलाई नियुक्त गर्ने षडयन्त्र भएछ।

अनि प्रधानमन्त्रीकहाँ जानुभएन त?
गएँ नि। उहाँले तत्कालै मन्त्रीलाई फोन गर्नुभयो। बिहानै क्याबिनेट राख्नुभयो, नियमावलीमा संशोधन गरेर ४ बजेभित्र सोही दिन राजपत्रमा छपाउनुभयो र ५ बजे क्याबिनेट राखेर मलाई नियुक्त गर्ने निर्णय गराउनुभयो। यस अर्थमा मप्रति सुरुदेखि नै षडयन्त्र भएको हो। जुन ननिकालुन्जेल कायम रह्यो।

हटाइयोचाहिँ कसरी?

मेरोबारेमा छानबिन गर्न एउटा समिति बनाइएको थियो। उक्त समितिले प्रतिवेदन दिएछ। त्यसमा ‘ठोस नतिजा आउने काम नभएको’ भन्ने उल्लेख छ रे। मलाई स्पष्टीकरणको मौकासमेत नदिई निकाल्ने निर्णय भयो। म स्थापित हुँ, किन बिस्थापित हुने बित्थामा?

प्रधानमन्त्रीले त्यति माया गरेर र विशेष पहलकदमी गरेर लगेको मान्छे, निकाल्नुपर्नेसम्मको अवस्थाचाहिँ कसरी आयो?
यसका केही कारण छन्। पहिलो- मेरो छोरा फिनल्याण्डमा पढ्दैछ। ऊ अकस्मात बिरामी भएको खबर आयो। म त्यसतर्फ जानुपर्ने भयो। यो कुरा थाहा पाएपछि द्वारिकाज होटलकी साहू अम्बिकाकी छोरी सङ्गीताले बोलाउनुभयो। अनि उहाँले भन्नुभयो कि काठमाडौंको फोहोर व्यवस्थापनको ठेक्का त्यहाँको कम्पनीले पाएको छ। नेपालबाट एउटा टोली गएर उनीहरुसँग भेटेर ‘ओके’ गरेपछि मात्र उनीहरु काम गर्न आउँछन्। अहिलेसम्म कोही गएको छैन। तपाईंहरुले नै त्यसका लागि पनि पहल गरिदिए राम्रो हुन्थ्यो। खर्च सबै सोही कम्पनीले बेहोर्छ।

कुरा बुझ्दा १० लाख भए खर्च पुग्दोरहेछ। अर्को कम्पनीले आफूले ठेक्का पाउनका लागि त्यो कम्पनी नआओस् भनेर फोर्स लगाई बजेट निकाशा रोकेको रहेछ। मैले राम्रै कुरा हो, हुन्छ भनें। हिसिलाले आफ्नी सेक्रेटरी जानुकालाई पनि यो टोलीमा राख्न भनिन्। मैले राखिदिएँ। १२ जनाको टोली तयार भयो। जानु केही दिनअघि एक्कासि सङ्गीताले उक्त कम्पनी नेपालको पारा देखेर हैरान भएकाले यहाँ नआउने निर्णय गरेको सुनाइन्। ३ वर्षदेखि उक्त कम्पनीलाई यसैगरी झुलाइएको रहेछ। त्यसपछि जाने कुरै भएन। त्यही कुरा हिसिलालाई सुनाएँ।

अनि हिसिलाले मलाई झुट बोल्ने मान्छे भनेर आरोप लगाइन्। यस्तो झुट बोल्नेको क्षमतामाथि नै मलाई शंका लाग्यो भनिन्। उनकी सेक्रेटरी पनि आगो भइन्। मलाई धेरै पटक हकारिन्। हिसिलाको चिन्ता फोहोर उठाउने कम्पनी नआउने भयो भन्नेमा हैन, उनको सेक्रेटरी फिनल्याण्ड जान पाइनन् भन्नेमा रह्यो। हुन त पछि जानुकालाई ब्याङ्कक पठाइदिएँ तर पनि फिनल्याण्ड नलगेको भनेर अहिलेसम्म पनि कचकच कचकच, हैरान भइसकें।

अन्य कारण?
गएको तिहारमा जानुकाले तपाईंको घरमा देउसी खेल्न आउँछौं सहयोग गर्नुपर्छ नि भनेर फोन गरिन्। २०० जना आउँछौं भनिन्। मैले हुन्छ, मासुभात खुवाइदिउँला भनें। तर उनले योसँगै ६ अङ्कमा चन्दा दिनुपर्ने बताइन्। उनको पछि बस्नेले हुँदैन, ७ अङ्कमा दिनुपर्छ भनेर कराए। मैले कुनै हालतमा सक्दिन भनें। जाबो १०-२० लाख रुपियाँ पनि दिन नमान्नेलाई के राख्नु प्राधिकरणमा भन्न थाले। अनि मैले मेरो घरमा देउसी खेल्नै नआउ भनें। त्यहाँबाट पनि उनीहरु रिसाए।

यत्ति नै कारणमा निकाले त तपाईंलाई प्राधिकरणबाट? अरु केही कारण होला?
के हुनु, ठूला योजना ल्यायो भने हिसिला आफैं रिसाउने। अनि यस्ता योजना नल्याउ भन्ने। कुनै योजना लग्यो कि ‘खालि बल्छी हाल्ने, गड्यौंला नहाल्ने’ भन्थे उनीहरु। के गड्यौंला हाल्ने, खान्छ कि खाँदैन भन्यो भने गड्यौंला हालेर त हेर्नुस् भन्थे। मेरो ९ महिनाको पूरै अवधि यस्तै गड्यौंला विवादमा बित्यो। खाली अरबौंको काम भइरहेको छ, केही गर्नुपर्यो भनेर टोकसिरहने, काम भएको छ त मेरो अन्तर्गत भएको हो र? मेरै अन्तर्गत भए पनि म केही गर्न सक्दिन भनें। उनीहरु झन् रिसाउँथे।

तपाईं प्रधानमन्त्रीबाहेक अरुलाई रिपोर्टिङ गर्दिन भनेर नियुक्त भएको मान्छे। किन हिसिला र जानुकालाई रिपोर्टिङ गर्न जानुहुन्थ्यो त? यही कुरा प्रधानमन्त्रीलाई किन भन्नुभएन?
बोलाउँथे। फेरि श्रीमतीको कुरा श्रीमान्लाई के भन्नु जस्तो लाग्यो।

खाने मुखलाई जुङ्गाले छेक्दैन भन्छन्, तपाईंले पनि त ९ महिनामा केही गर्न सक्नुभएन नि?
अरे बाबा के गर्ने मैले? तलबबाहेक सुको निकासा भएन त! पैसा नलाग्ने सङ्गठन तालिका बनाएँ, बजेट प्लानिङ गरें। शहरी विकास प्राधिकरण ऐन ल्याउने र त्यसअन्तर्गत १४ वटा प्राधिकरण गठन गरेर काम गर्ने अवधारणा ल्याएँ। १४ प्राधिकरणका लागि प्रधानमन्त्रीले मानिस खोजसमेत भन्नुभयो। तर काम गर भन्ने पैसा भने दिँदै नदिने। अनि मैले काम गरेन भन्न मिल्छ? केले गर्ने? कसरी गर्ने काम?

भनेपछि प्रधानमन्त्रीकै कारण तपाईंले काम गर्न पाउनुभएन?
उहाँले सम्बन्धित कर्मचारीलाई निर्देशन दिने। नदिने हैन। तर मान्दा रहेनछन्। झपारेको पनि सुनेको छु मैले। तर कार्यान्वयन नै नहुने। शहरी विकास मन्त्रालय गठन भएपछि त्यो मन्त्रालय प्रधानमन्त्रीले नै हेर्ने हुनुभयो। म एकदम खुशी भएँ। अनि काम अघि बढाउने उद्देश्यले सङ्गठन तालिका, दरबन्दी आदि लिएर गएँ, तर त्यहाँका उच्चपदस्थ कर्मचारीले सहयोग गर्नु त कता हो कता, उल्टै यो ठीक छैन भनिदिए।
अरु के कुरा गर्ने, मेरो कार्यालयमा बस्ने फर्निचरसमेत मेरो घरबाट लानुपर्योए। टावेलसमेत आफैं किनें। साइनबोर्डसमेत नभएको अफिसको के कुरा गर्नु? अनि उल्टै मैले काम गरेन भन्न पाइन्छ? एक दिन सरोकारवालाहरुलाई बोलाएर प्रधानमन्त्रीले किन प्राधिकरणलाई सहयोग नगरेको? के म जङ्गबहादुर बनेर देखाइदिनुपर्यो भनेर झपारे पनि। उनी बेलाबेला झपार्छन् पनि, कर्मचारी जति गरे पनि सहयोग गर्दैनन्, के हो के, बुझ्नै सकिएन।

भनेपछि काम नभएकै कारण हटाइएको रहेछ?
पख्नुस्, म हटाइनुका अरु पनि केही कारण भन्नैपर्छ। मसँग पुरातत्व विभागका पदाधिकारीले तीलगङ्गाबाट गुह्येश्वरी जाने बाटो बन्द नगरे युनेस्कोले उक्त क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने भएकाले त्यो बाटो रद्द गर्न आग्रह गरे। मैले सबैतिर बुझें। सेनासँग पनि कुरा गरें। कुरा ठीकै लाग्यो। अनि उक्त बाटो रद्द गर्नुपर्छ भनें। तर उक्त बाटो हिसिलाको सांसद विकास कोषको पैसाबाट खोलिएको रहेछ। मलाई के थाहा? त्यसबाट पनि उनी फायर!

अर्को सार्वजनिक गर्नैपर्ने कुरा पनि छ- ‘मिडिल इष्ट’तिर काम गर्ने जन्मजय ढकाल भन्ने एक जना छन्। उनका श्रीमतीमध्ये एउटी हाल काभ्रेकी एसपी गीता उप्रेती पनि हुन। जन्मजय र गीताबीच सम्पत्ति झगडा छ। एकदिन कुरैकुरामा मेरो साथीले ब्यापारका क्रममा जन्मजयलाई ७० लाख दिन बाँकी रहेको प्रसङ्ग आयो। गीता, हिसिला र जानुका राम्रो हिमचिम भएका मानिस रहेछन्। त्यसपछि हिसिलाले जन्मजयलाई तिर्नुपर्ने ७० लाख गीतालाई दिलाइदिन भनिन्। मैले यो मेरो वसको कुरा होइन भनेपछि जसरी पनि दिलाइदिनुपर्छ भनेर जबर्जस्ती कुरा गरिन्। त्यो मैले सक्ने कुरा थिएन, यसबाट पनि उनी मसँग एकदमै रिसाइन्। अदालतले समेत उनीहरुको झगडामा एकले अर्कोलाई केही दिनु नपर्ने फैसला गरिसक्यो, तर पनि हिसिला मलाई जसरी पनि दिलाइदेउ भनेर दबाब दिएको दियै। मलाई निकाल्ने वातावरण यसरी तयार हुँदै गयो र अन्ततः निकालियो पनि।

भनेपछि प्रधानमन्त्री पत्नी र उनकी पनि सेक्रेटरी रिजाउन नसक्दा पदबाटै हात धुनुपर्यो?
कस्तो गजब भने नि मलाई निकाल्ने निर्णय भएर म अदालत गइसकें, त्यही पनि जानुकाले फोन गरेर १० गते (अस्ति) २० लाख र केही दिनपछि २० लाख दिने भए ३ महिनाका लागि म्याद थप्ने रे! भन्दैथिइन्। त्यसपछिचाहिँ यही सरकारकै ठेगान छैन, ३ महिनाचाहिँ थपिदिन्छौं भन्छ बा! मलाई पैसा दिई दिई किन थपाउनुपर्योत म्याद? फेरि म त अदालतै पुगिसकें त यो निर्णयविरुद्ध। त्यति पनि थाहा छैन तिनीहरुलाई, कस्ता मान्छे रैछन्!

तपाईं त प्रचण्डको मित पनि। आफूलाई यसरी निकालेको कुरा प्रचण्डलाई भन्नुभएन?
हेर्नूस्, यो मितको प्रसङ्ग पनि बडो गजवको छ। माओवादी सार्वजनिक भएको १५-२० दिनमै प्रचण्ड र बाबुराम मेरो घरमा आए। मैले खाना खाने प्रस्ताव राखें। तर बाबुरामले नखाउँ भन्दाभन्दै प्रचण्डले चाहिँ मान्नुभयो। त्यही बेला मैले उहाँहरुलाई काठमाडौं विकासबारे आफ्ना धारणा राखें। काठमाडौंको जाम, फोहोरमैला समस्या, सुकुम्बासी, पानी आदि समस्या समाधानको उपाय सुझाएँ। मेलम्चीको सेयर सर्वसाधारणलाई बेचौं, यसबाट उनीहरुको सोझो चासो र संलग्नता हुन्छ, अनि काम पनि अघि बढ्छ भनें। यी सबै कुरा सुनेपछि प्रचण्डले भने- गुलेलीबाट आन्दोलन सुरु गरियो। तर विकासचाहिँ गर्न सकिन्छ जस्तो लागेको थिएन तर अब तपाईंको कुरा सुनेपछि भने म विकास गर्न सकिने निष्कर्षमा पुगें। हाम्रो कुरा फ्युजन भयो, हामी मित भयौं। त्यसपछि बाबुरामले बाहिर रहेका सबैलाई पनि भित्र बोलाउनुभयो र मित लगाएको घोषणा भयो। ताली बज्यो।

अनि प्रचण्डकी श्रीमती र तपाईंकी श्रीमती पनि मितिनी…?
त्यसको एक सातापछि फेरि प्रचण्ड र सीताजी आउनुभयो। अनि प्रचण्डले भन्नुभयो- विकास कसरी गर्न सकिन्छ भन्नेबारे तपाईंले बताएका सबै कुरा यिनलाई भनें। मैले तपाईंले भनेजसरी व्याख्या गर्न सकिन। अनि यिनी एकदम उत्सुक भएर तपाईंकै मुखबाट सुन्छु भनेर आएकी हुन। त्यही बेला उहाँले नै सीताजी र मेरी श्रीमतीबीच मित लगाउने प्रस्ताव राख्नुभएको हो। तर मेरी श्रीमती अलि फरकखालकी छिन्, उनले मानिनन्।

त्यही त, त्यति राम्रो सम्बन्ध भएर पनि अहिलेको कुरा किन प्रचण्डलाई नभनेको भन्या?
हेर्नूस्, हिसिला भौतिक योजना मन्त्री भएका बेला बाबुरामले फोन गरेर तिनलाई मन्त्रालयको काममा सघाइदिनुपर्योन भन्नुभयो। ल न त जानेको सघाइदिउँ भनेर गएँ पनि। एक दिन वाइसिएलको नेता सागर आएर …हाम्री दिदीसँग किन आएको, यहाँ के काम छ, गइहाल’ भनेर थर्काए। कुटौंलाझैं गरे। यो सबै दृश्य देख्दा पनि हिसिलाले खासै केही भनिनन् सागरलाई। यो कुरा बाबुरामलाई भनें। उहाँले बालाजुमा हाम्रो विस्तारित बैठक हुँदैछ, त्यसपछि पार्टीमा मेरो पकड बलियो हुन्छ, अनि म तपाईंलाई पूरा प्रोटेक्सन गरौंला भन्नुभयो। अब यस्तो अवस्था छ, त्यही भएर कसलाई के भन्ने। कहिले को बलियो भएर सुरक्षित हुनुअघि नै मारिएँ भने के गर्ने भनेर उनीहरुको सङ्गत नै छाडिदिएँ। त्यहाँमाथि पनि मेरो झन् धेरै समय भयो मितसँगै भेटघाट नभएको।

तपाईं त माओवादीलाई सशस्त्र युद्धकालमै रेडियो, आर्मी ड्रेस व्यवस्था गरिदिने मान्छे, उल्टै वाइसिएल नेताले तपाईंलाई नै थर्काए त?
हो, मैले उनीहरुलाई यस्तो सहयोग उपलब्ध गराएको हो। माओवादीसँग पहिलो पटक वार्ता हुने भएपछि टोली काठमाडौं आयो। वार्ता विफल भएपछि उनीहरुलाई कसैले पनि होटलमा राख्न मानेनछन्। कृष्ण केसीले मेरो घरमा राखिदिनुपर्योल भने। मैले हुन्छ भनें। त्यही क्रममा कुराकानी हुँदा मैले रेडियो ल्याउनूस्, टिभी खोल्नूस् भन्ने सल्लाह दिएँ। ड्रेस तयार पार्नूस् भन्ने सल्लाह दिएँ। बादल र महराले सहयोग गर्नूस् न त भन्नुभयो। मैले गर्दिन्छु भनें। भोलिपल्ट उनीहरु मेरो घरबाट बाटो लागे। भागे भनौं। त्यसको भोलिपल्ट त दाङ हानिहाले। त्यसपछि त उनीहरुलाई राखेको भनेर सबै मप्रति फायर? परेन विपत्?
तिनै कृष्ण केसीले एफएमबारे सोधे। मैले सबै बताइदिएपछि उनैमार्फत् ३५ लाख रुपियाँ ल्याएर दिए। मैले अमेरिका पुगेर ६ वटा स्टेशनका लागि पुग्ने सामान ल्याइदिएँ आफैं। चाइना गएर कपडा र जुत्ता बन्दोबस्त गरिदिएँ। हतियारको कुरा गरिदिएँ। तर दुर्भाग्यवश, यो कुरा राजाकहाँ पुर्याइदिएछन्।

अनि राजाले बोलाए कि कसैमार्फत् केही सन्देश आयो त्यसपछि?
दशैंको बेला थियो, सेनाको एउटा ठूलै मान्छेले टीका लगाउन आउ भन्यो। मैले कहिल्यै नबोलाउने मान्छेले किन टीका लगाउन बोलायो भनेर आउन्न भनें। तर उसले दुवैले दुवैको हातबाट टीका लाउनु राम्रो हुन्छ भन्दै करै गर्योा। त्यसपछि गएँ। अनि उसले रक्सी निकाल्यो र माओवादीका लागि हतियारको कुरा गरेको कुरा राजाकहाँ पुगेको जानकारी गरायो। सँगै भन्यो कि तँलाई मार्न एउटा टीम नै गठन भएको छ भागिहाल्। नभन्दै भोलिपल्टै भागें अमेरिका। माओवादीलाई सहयोग गरेवापत झण्डै यसरी ज्यानै गएको मान्छेलाई उल्टै माओवादीले दुःख दिइरहेको छ हेर्नूस् न। के भन्ने अब?

कहिले एमाले, कहिले माओवादी, कहिले प्रजा परिषद्, के हो तपाईं त बुझ्नै नसकिने मान्छे पो हुनुहुँदोरहेछ त?
हेर्नूस्, म प्रजा परिषद्को अध्यक्ष हुनुको पनि कारण छ- जब म सेनाको सल्लाहअनुसार भागेर अमेरिका गएँ, कि उतै बस्नुपर्यो कि त नेपालमा आउन राजाको आँखामा छारो हाल्न सक्नुपर्थ्यो। मैले यसो सोचें, प्रजा परिषद्का रामहरि शर्माका छोरा मेरा साथी थिए। अनि उनीमार्फत् प्रजा परिषद् युवा नेतृत्वको हातमा जानुपर्ने प्रस्ताव अघि बढाएँ। र, प्रस्ताव आए आफैं यो जिम्मेवारी सम्हाल्ने पनि बताएँ। नभन्दै प्रस्ताव आयो र अध्यक्ष बनें। राजालाई जोगाउने पार्टीको अध्यक्ष भएपछि ममाथि राजाले शंका गर्ने अवस्था भएन। यसरी नेपालमै बस्नका लागि राजाले शंका नगरुन् भनेर मात्र म प्रजा परिषद्मा गएको हुँ। त्यसमार्फत् गर्न त के नै सकिन्थ्यो र? मैले आफूले कमाएको १५-२० लाख रुपियाँ भने प्रजा परिषद्मा लागेर सिध्याएँ। अर्को कुरा म माओवादी त हुँदै होइन।

तपाईं के त?
म एमालेको साधारण सदस्य तर बल्खु नजाने।

आफ्नै कार्यालय नजाने पनि सदस्य हुन्छ?
बोलाउँदैनन्, किन जाने?

सबै साधारण सदस्यलाई आउ भनेर सम्भव होला र त्यत्रो पार्टीमा?
त्यो त हो, जिम्मेवारी पनि खासै छैन।

जिम्मेवारी पार्टीले दिने कि, आफूले खोज्ने?
चुनाव लडेको केन्द्रीय सदस्यमा, हारियो। त्यसपछि जिम्मेवारी हुने कुरै भएन। कस्तो भयो भने मलाई महाधिवेशनका बेला केपी ओली र बामदेव गौतम दुवैले हाम्रो तर्फबाट उठ्नुपर्छ भने। मैले यसो कुरा सोच्दा बामदेवतर्फबाट उठ्नुपर्ला भन्ने सोच बनाएँ। उम्मेद्वारी दिने दिन बामदेव बिरामी पर्नुभयो, उहाँको मुखै बाङ्ग्यो, उता केपीसँग पनि टाढा भइहालियो। त्यही भएर मलाई साथ दिने कोही पनि भएन। ५ सय चानचुन भोट ल्याएर पनि हारें। बामदेवको मुख बाङ्गिनु नै मेरो भाग्य बाङ्गिनु भयो। अहिले जिम्मेवारीबिहीन भएको त्यही भएर हो।

तपाईंलाई ज्ञानेन्द्रको मान्छे पनि भन्छन्, उनको शासनकालमा तपाईं काठमाडौंको मेयरमा मनोनीत पनि हुनुभयो। ज्ञानेन्द्रसँग पनि राम्रै हिमचिम छ जस्तो छ त?
हेर्नुस्, म निर्वाचित मेयर भएकै बेला ज्ञानेन्द्रले निर्मल निवासमा बोलाए। आफूले गरेका काम, भावी योजना आदि लिएर गएँ। मलाई काठको सामान्य कुर्सीमा बस्न भने। मैले बसाई कम्फर्टेबल भएन भनें। अर्को कुर्सी मगाइदिए। कुरा सुरु गर्दा उनी टाढा बसे, मैले कानमा समस्या भएकाले वरै बसौं भनें। उनी वरै आए। मैले बोल्न लागेपछि काठको ठूलो कलम लिएर टिप्न थाले, मैले टिप्ने भए कुरा नगर्ने भनें। त्यो पनि माने। उनले सोधेका सबै कुराको उत्तर दिएँ। उनका सचिव पशुपतिभक्त महर्जनले बेलाबेला आँखा सन्काउँथे, उनले भयो भनेको रहेछ, मैले त ठीकै छ भन्ठानेको बुझें र झन् कुरा गरिरहें।
कुराकानीकै क्रममा राजाले राजतन्त्रको भविष्य के हुन्छ भनेर सोधे। मैले ठीक छैन भनिदिएँ। अनि उनले के गर्ने त भने। मैले नागार्जुनलाई लभ पार्क बनाइदिएमा केही लम्बिने सुझाव दिएँ। लभ पार्क बनाइदिए त्यहाँ दैनिक हजारौं युवायुवतीले रमाइलो गर्न पाउने भएकाले त्यो पुस्ता राजतन्त्रको पक्षमा हुने सक्ने बताएँ। यो सुनेपछि पहिलेदेखि नै रिसाएका ज्ञानेन्द्र आगो भए। उनको घोक्रो फुलेको बाहिरैबाट देखिन्थ्यो। उनी रिसाएपछि यसैगरी घोक्रो फुलाउँदा रहेछन्। अनि बढी कुरा नगर्न चेतावनी दिए। राजा, पानी र आगोसँग नजिक नहुनु भन्थे हो रहेछ सरकार भन्दै म निस्कें।
बाहिर निस्केको मात्र के थिएँ, राजाका मान्छे विवेक शाह, पशुपतिभक्तलगायत्ले थर्काए। ४० मिनेट भनेको डेढ घन्टा कुरा गर्ने, जथाभावी बोल्ने भनेर पिटौंलाझैं गरे। यो गलफती सुनेर राजासमेत बाहिर निस्के, म बाहिरिएँ। यसरी निस्केको मान्छेलाई फेरि कमल थापाले बोलाएर ज्ञानेन्द्रकै पालामा मेयरमा बसिदिन प्रस्ताव गरे बा! मैले पनि विकास गर्न यो वा ऊ पार्टीको हुनुपर्छ भन्ने ठानिन र मेयरमा गएँ। जसले जसरी बुझे पनि हाम्रो सम्बन्ध भनेको यस्तै हो।

तपाईं खेलकुद परिषद्को सदस्यसचिव पनि हुनुभयो। खेल नेताका रूपमा केशव स्थापित सफल मान्छे कि असफल?
खेलकुद क्षेत्रमा जम्मा दुई जनाको नाम आउँछ- शरदचन्द्र शाह र केशव स्थापित। यी दुई मात्र सफल भएकाले नै नाम आएको हो।

कसरी?
मैले चार रुपियाँको चना र चिउरा खानेलाई टन्न खाजा खान सक्ने बनाएँ। विचरा, आम्दानी नै थिएन, कहाँबाट राम्रो खाजा पाऊन्? मैले एक लट १९३, अर्को लट १४३, फेरि २२ गरी धेरै जनालाई रोजगार दिलाएँ। यसरी मानिस राख्दा पार्टी हेरिन, विचार हेरिन। यही कारण धेरै मानिस निर्धक्करूपमा खेलकुद क्षेत्रमा लाग्न सके।

प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको नेता पनि हुनुभयो। कस्तो रह्यो युवा सङ्घमा बस्दाको अनुभव?
युवा सङ्घ गठनको अवधारणा नै मेरो हो। झण्डादेखि सबै मेरै सोचको उपज हो। पार्टी अध्यक्ष मनमोहन अधिकारीले आफ्नो पार्टी धेरै ठूलो भइसकेकाले चुनावमा २८ देखि ३२ सिट ल्याउँछ भनेर भाषण गरे। त्यो पनि उनलाई लागेको भन्दा अझै बढाएर भनेका थिए तर युवा सङ्घले ड्राइभ गरेकाले यो चुनावमा एमालेले ६९ सिट जित्यो। त्यहीँबाट पनि मेरो नेतृत्व कस्तो थियो भन्ने प्रष्टिन्छ। त्यसमा पनि २५ सिट त एकदम कम अन्तरको मतले मात्र हारिएको थियो।

मान्छेहरु केशव स्थापित हावादारी हो भन्छन् नि? कहिले च्छो-रोल्पाको पानी मिनरल वाटर बनाएर सिङ्गापुर लैजाने कुरा गर्छ, कहिले टुँडिखेलमुनि भूमिगत पार्किङ बनाउने कुरा गर्छ, यस्तै गफमात्र दिन्छ भन्छन् त?
हो, यसबारेमा ममाथि धेरै नै प्रहार हुने गरेका छन्। तर मैले भनेका सबै कुरा साँचो हुन् र गर्न पनि सकिन्छ। यो नबुझ्नेले मात्र मलाई गफाडी भनेका हुन।

कसरी सम्भव हुन्थ्यो यस्ता काम? तपाईंले भनेजस्ता काम त एउटा पनि भएका छैनन् त?
मसँग डोनर छन्। कम्तिमा उनीहरुलाई रोक्नुभएन। वैदेशिक सहयोग लिनसमेत रोक्ने, आफू पनि पैसा नदिने, अनि कसरी काम हुन्छ? काम गर्न नदिने अनि स्थापित हावादारी हो भन्न पाइन्छ? फुटबल खेल्न त टीम चाहिन्छ, रेफ्री चाहियो, खेलाडी चाहियो, गोलकिपर चाहियो। गोलपोष्ट नै नभई कहाँ गोल गर्ने? सरकारले टिम त बनाइदेओस्, अनि म हावादारी हो कि होइन देखाइदिन्छु। तर खोइ सहयोग राज्यबाट?

अदालतले जिताइदिए त फेरि प्राधिकरण गइहाल्नुहुन्छ, हराइदियो भने के गर्नुहुन्छ?
उही योगा, उही ध्यान, उही व्यापार। अर्थात् पुरानै दिनचर्यामा गइहाल्छु।

राजनीतिचाहिँ नगर्ने?
यी सबै कामलाई प्राथमिकता दिएर पनि राजनीति सँगै लैजान सकिहालिन्छ नि। एउटा गर्ने भनेको अर्को छाड्ने भन्या हैन।

मुलुकमा अहिले जारी राजनीतिक गतिरोधको निकाश के हो?
मलाई यस्ता कुरामा खासै मतलव छैन अचेल।

राजनीति गर्छु भन्ने, अनि यस्ता कुरामा मतलव गर्दिन भन्न मिल्यो र?
हुन त म गएपछि के गर्छु भन्ने प्रष्टता भएन तर पनि सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर अघि बढ्दा मुलुकमा जारी राजनीतिक गतिरोधले निकास पाउने सम्भावना बढी देख्छु।

अन्तर्वार्ता भिडियोमा हेर्नुस्-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s