आर्यघाटमा विद्युतीय शवदाह गृह

January 30th, 2013

पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने भएको छ । पशुपतिमा परम्पराअनुसार शव जलाउँदा दाउराको प्रयोग गरिँदै आएको छ । यसले वरपरको वातावरण प्रदूषित हुँदै आएकाले विद्युतीय शवदाह गृहबारे बहस शुरु भएको थियो । केही वर्षयता चर्चामा रहँदै आएको विद्युतीय शवदाह गृह त्यसैले आगामी वैशाख मसान्तबाट सञ्चालन गर्ने तयारी भएको छ । सञ्चालनमा आएपछि यो नेपालकै पहिलो विद्युतीय शवदाह गृह हुनेछ।

शवदाह गृहमा तत्कालका लागि २ वटा मेसिन जडान गरिने बताइएको छ । कुल १० करोडको बजेटबाट शवदाह गृह, विद्युतीय मेसिन, घाट र अन्य पूर्वाधार तयार हुने कोषका सदस्य–सचिव सुशील नहाटा बताउँछन् ।

‘शवदाह गृह सञ्चालन गर्न मेसिनको भन्सार छुट र नियमित विद्युत आपूर्तिका लागि कोषले सम्बन्धित निकायमा अवगत गराई निवेदनसमेत दिएका छौँ’, नहाटाले भने– ‘मेसिन सञ्चालनका लागि नियमित विद्युत चाहिने भएकाले विद्युत प्राधिकरणलाई निवेदनसमेत दिएका छौँ । प्राधिकरणबाट सकारात्मक प्रतिक्रिया आएको छ । आगामी वैशाख मसान्तबाट शवदाह गृह सञ्चालन गर्ने तयारीमा छौँ ।’

अन्तर्राष्ट्रिय बोलपत्र आह्वानअनुसार भारतीय कम्पनी इन्डोमेन्ट इन्जिनियरिङ वक्सले शवदाह गृहका लागि मेसिन जडान गर्ने भएको छ । मर्मतसम्भार र मेसिन सञ्चालनका लागि नेपाली प्राविधिकलाई दक्ष बनाउने कामसमेत बक्सले गर्नेछ । ‘मेसिनमा खराबी आएमा ३ वर्षसम्म इन्डोमेन्ट इन्जिनियरिङले मर्मतसम्भार गर्ने सम्झौता भएको छ’, सदस्य–सचिव नहाटाले भने– ‘तत्कालै दुई जना नेपाली प्राविधिकलाई दक्ष बनाउन एक महिनाभित्र भारत पठाउनेछौँ । अन्य जनशक्ति यहीँबाट तयार गर्नेछौँ ।’ नेपाली जनशक्ति तयार भएपछि तीन महिनाभित्र इन्जिनियरिङ बक्सले मेसिन हस्तान्तरण गर्ने उनले बताए ।

मृतकका शोकाकुल आफन्तलाई विद्युतीय मेसिनतर्फको आकषर्ण बढाउन अन्त्येष्टि शुल्क न्यून राख्ने विषयमा छलफल भइरहेको पनि नहाटाले बताए । उनले भने– ‘शुल्कको विषय टुङ्गो लागेको छैन । तर २५ सयको हाराहारीमा पर्न सक्छ ।’

आर्यघाट सेवा केन्द्रका अनुसार हाल पशुपतिमा दैनिक ३० देखि ५० शव परम्परागत विधिमा अन्त्येष्टि हुँदै आएका छन् । एउटा शव अन्त्यष्टिमा ७ देखि ८ हजार खर्च हुने बताइन्छ । आर्यघाट सेवा केन्द्रका अधिकृत सीताराम रिसाल भन्छन्– ‘आफन्त र मलामीले गर्ने शव अन्त्येष्टिको विधिमा खर्च तलमाथि पर्ने गर्छ । तर औसतमा एउटा शव अन्त्येष्टि खर्च ७ देखि ८ हजार पर्न आउँछ ।’

विद्युतीय शवदाह गृहमार्फत एउटा शव १ घन्टामा अन्त्यष्टि हुने अनुमान गरिएको छ । परम्परागत शैलीको दाहसंस्कारमा ३ घन्टाभन्दा बढी समय लाग्दै आएको छ । विद्युतीय मेसिन सञ्चालनमा आएपछि समयको बचतसँगै वातावरण प्रदूषण न्यून हुने विद्युतीय शवदाह गृह निर्माण आयोजनाका इन्जिनियर अक्रूरसिंह महत बताउँछन् । उनी भन्छन्– ‘अहिलेको प्रारम्भिक सर्वेक्षणअनुसार ५० प्रतिशत शवको अन्त्येष्टि विद्युतीय माध्यमबाट हुने अनुमान गरेका छौँ, त्यसैले वातावरण प्रदूषण न्यून गर्नेमा विश्वस्त छौँ ।’

शवदाह गृहमा तत्कालका लागि २ वटा मेसिन जडान गरिने र आवश्यकताअनुशार अन्य थपिने महतले बताए । ‘माग बढेको अवस्थामा अर्को पनि थप्न सक्ने गरी संरचना तयार भइरहेको छ’, महतले भने– ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पशुपति परिसरमा सञ्चालनमा आउने मेसिनका लागि २ सय किलोवाट विद्युत् खपत हुने देखिन्छ ।’ विद्युत आपूर्तिमा गडबड भए शवदाह गृहको कामलाई निरन्तरता दिन २ वटा जेनेरेटरलाई तयारी अवस्थामा राखिने पनि उनले बताए ।

धर्म, संस्कृति र परम्परालाई विखण्डन नगर्ने गरी शवदाह गृह सञ्चालनमा ल्याउँदा आममानिसको आकर्षण बढ्ने संस्कृतिविद् डा. गोविन्द टण्डनको धारणा छ । ‘शव अन्त्यष्टिपूर्वका परम्परा नहट्ने गरी विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउँदा यसतर्फ ढिलो–चाँडो मानिसको आकषर्ण बढ्छ’, उनी भन्छन्–‘मुलुकका अन्य स्थानमा समेत यस्ता गृह सञ्चालन हुने देखिन्छ ।’ तत्कालीन पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०४४ आसपासमै यस किसिमको शवदाह गृह निर्माणमा चासो दिएको टण्डन बताउँछन् ।

‘वन विनाश रोक्ने र प्रदूषण नियन्त्रण गर्ने भएकाले पहिलादेखि नै यसबारे चासो दिइएको थियो’, टण्डन भन्छन्– ‘युरोपेली मुलुक र छिमेकी मुलुक भारतमा समेत यो अभ्यासमा रहेकाले २०४४ देखि नै परिषद्ले चासो दिएको थियो ।’

सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा आधुनिक विद्युतीय शवदाह सञ्चालन हुने भएपछि युनेस्को, महानगरपालिका र पुरातत्त्व विभागले यसबारे चासो दिएका थिए । पशुपति क्षेत्र पुरातात्तवक महत्त्वको क्षेत्रभित्र पर्ने भएकाले पुरातत्त्व विभागले चासो देखाएको पुरातत्त्व अधिकृत शौभाग्य प्रधानाङ्ग बताउँछिन् । ‘कोषले गरेको तयारीअनुसार शवदाह गृहमा राखिने चिम्नीको उचाई ३० मिटर राख्ने तयारी भएको थियो’ प्रधानाङ्गले भनिन्– ‘सम्पदा क्षेत्रभित्र ३५ फिटको उचाई नबढ्ने गरी चिम्नी राख्न सुझाव दिएका छौँ ।’

दमकल कथा

January 30th, 2013

एक जमाना थियो जिल्लामा कतै आगलागी भएको खबर आउँनेबित्तिकै साइरन बजाउँदै फुच्चे दमकल आगो निभाउन दौडिहाल्थ्यो । तर अहिले स्थिति बद्लिएको छ । जनसंख्याको बढ्दो चाप र घना बस्तीका कारण दमकलको आवश्यकता र महत्त्व बढ्नुपर्ने हो तर पुरानो भएर थोत्रिएपछि सबै दमकल पुल्चोकस्थित जुद्ध वारूण यन्त्र कार्यालयमा विगत धेरै लामो समयदेखि थन्किएका छन् । दमकल कार्यालयले झन्डै डेढ वर्ष दमकलविहीन भएर बितायो । त्यो समयमा पनि विभिन्न स्थानबाट आगलागीको खबर वारूण यन्त्र कार्यालयमा नआएको होइन तर दमकलविहीन भएर बसेको कर्मचारीले गुनासो टिप्ने काम गर्नुबाहेक अरु केही गरेनन् । त्यसबेला जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा ढिलै भए पनि काठमाडौंको दमकल पुग्नुको विकल्प थिएन । त्यसबेला दमकल अभावमा ललितपुरमा भएका सयौं आगलागीका घटनामा स्थानीयले लाखौंको क्षति बेहोर्नुपरेको थियो ।

वारूण यन्त्र कार्यालयमा थोत्रिएका पाँच वटा दमकल हित सात वटा दमकल छन् । बेल्जियम र जर्मनीबाट ल्याइएका समेत गरी थन्किएका पाँच वटा दमकलको भने अहिले कुनै कामै छैन । कार्यालयको ढोकैमा घण्टी बजाएर कुद्ने मोडलको दमकल दायाँबायाँ राखिएका छन् । नयाँ दमकल र टोयटा दमकलले भने कार्यालयको लाज बचाइरहेको छ । भन्नै पर्दा यी दुई दमकलले नै अहिले सिंगो ललितपुरको जिम्मेवारी बोकिरहेको छ । खोलाको र पोखरीनजिकै भए मात्र प्रयोगमा आउँने टोयटा दमकल धापाखेल गाविस र स्थानीयहरूले महायज्ञ गरी प्राप्त रकमबाट किनेर दमकल कार्यालयलाई सहयोगस्वरूप दिएका हुन् ।

भर्खरै गोटीखेलमा भएको आगलागीको खबर दमकल कार्यालयमा पुगेन । लामो दूरीका कारण खबर नदिएको प्रहरीले जनाएको छ । यसबाट ललितपुरको अन्य एक स्थानमा पनि दमकल स्टेसन हुनुपर्ने आवश्यकता देखिएको छ । कार्यालयका सहायक अग्नि नियन्त्रक राजकुमार ठकुरी भन्छन्– ‘त्यसो हुन सके धेरै सजिलो हुनेछ ।’ आगलागी पर्दा दमकलका लागि काठमाडौं गुहार्नुपर्ने अवस्थाप्रति कार्यालयका कर्मचारी पनि बेखुसी छन् । ‘यो संवेदनशील विषय हो । त्यसैले सम्बन्धित निकायले यसलाई महत्त्वका साथ लिन आवश्यक छ’ –अष्टसिद्धि टोल सुधार समितिका अध्यक्ष रत्न महर्जनले बताए ।

जिल्लामा सम्भावित आगलागी हुँदा गुहार्ने निकाय वारूण यन्त्र कार्यालय ललितपुरसँग अहिले एउटा नयाँ दमकल आएको छ । यो वर्षको तिहार प्रारम्भ हुन चार दिनअघि दमकल आएको हो । अहिले आएको दमकल जेबीम्याप इन्टरनेसनलले उपलब्ध गराएको हो । २०६८ साल चैत २३ मा गरिएको टेन्डर पाएपछि जेबीले ५२ लाख रूपियाँमा नयाँ दमकल दिएको हो । हाल कार्यकारी प्रमुख रहेका नरहरि भण्डारीको कार्यकाल प्रारम्भसँगै नयाँ दमकल आएको हो ।

बढ्दो शहरीकरणबाट ललितपुर पनि अछुतो छैन । राजधानीसँगैको जिल्ला भए पनि ललितपुरको दक्षिण भेग ४० गाविसहरू भौगोलिक रूपमा निकै विकट र दुर्गम छन् । त्यसैले यतिखेर कार्यालयमा भएको एउटा दमकलले सिंगो जिल्लालाई धान्न नसकिने एक कर्मचारीले बताए । नयाँ दमकल भित्रिएको मितिदेखि अहिलेसम्म ५३ वटा आगलागीका घटना भएका छन् । तर ती सबै आगलागीमा दमकल कार्यालयले काठमाडौं नगुहारी सुखै पाएन । यसकारण पनि जगेडा दमकलको आवश्यकता रहेकोमा कर्मचारीहरूको जोड छ । दमकल नभएर बेकामे अवस्थामा बसिरहेका कर्मचारी नयाँ दमकल ल्याएपछि भने जोशिएका छन् ।

कार्यालयका अनुसार थप दुई वटा दमकल ल्याउने तयारी भैरहेको छ । ललितपुर उपमहानगरपालिकामा तीन कार्यकारी प्रमुख फेरिसक्दा पनि दमकल अभाव झेलिरहेको कार्यालयमा अबको केही महिनाभित्रै थप दुई दमकल आउने बताइएको छ । केही समयअघि भारतले दिने भनिएको दमकलको टुंगो नलागेपछि जापानबाट ल्याउन लागिएको हो ।

विगतमा ललितपुर वारूण यन्त्र कार्यालयले आफूसँग रहेका थोत्रा दमकललाई नै दर्जनौं पटक मर्मत गरेरै भए पनि काम चलाउँदै आएको थियो । तर अहिले ती दमकलको इञ्जिन काम नै नलाग्ने गरी बिग्रिएको छ । ‘ती दमकल अब बन्दैनन्’–एक कर्मचारीले बताए ।

गृह मन्त्रालय र ललितपुर उपमहानगरपालिकाबीच दमकल खरिदसम्बन्धी सम्झौता केही वर्ष हिले नै भैसकेको छ । सम्झौतामा दुई वटा नयाँ दमकल दिइने उल्लेख छ । तर चौबीसै घण्टा एलर्टमा राख्नुपर्ने संवेदनशील दमकल चाँडै उपलब्ध गराउने त्यो सम्झौता हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भएको एक कर्मचारीले नेपाल समाचारपत्रलाई बताए ।

गृह मन्त्रालयले वारूण यन्त्र कार्यालय नगरपालिकाको मातहतमा सुम्पेको दुई वर्ष बितेको छ । मन्त्रालयले दुई वटा दमकल उपलब्ध गराउने शर्तमा सम्झौता गरेको भए पनि हालसम्म सम्झौताबमोजिम कार्य भएको छैन । मन्त्रालयले नगरपालिकालाई वारूण यन्त्र कार्यालय हस्तान्तरण गर्नुपूर्व सम्झौतामा दुई दमकल दिने उल्लेख छ । ‘चौबीसै घण्टा हाई एलर्टमा राख्नुपर्ने संवेदनशील दमकलप्रतिको बेवास्ताले स्थानीय आक्रोशित बनेका छन् । ललितपुरमा प्रयोग हुने गरेका दुवै दमकल वि.स २०३२ मा जर्मन सरकारबाट उपहारस्वरूप प्राप्त भएका थिए।

दमकल कथा
January 30th, 2013
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s