आज माघे संक्रान्ति – काठमाडौंमा साढे २ करोडको तरुल भित्रियो

काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा तरुल बिक्रीका लागि चाङ मिलाउँदै व्यापारी । माघे संक्रान्तिमा बढी बिक्री हुने तरुल यसपालि अरु वर्षभन्दा कम आएको व्यापारी बताउँछन् ।  तस्बिर : दिपक गाउँले

 

आज माघे संक्रान्ति – काठमाडौंमा साढे २ करोडको तरुल भित्रियो

प्रस्तुति: किरण आचार्य

मिति: 2013-01-14

सम्बन्ध: अर्थ

गत वर्षभन्दा कम ३० प्रतिशत कम आपूर्ति, प्रतिकिलो १० रुपैयाँ महँगो

काठमाडौं, २९ पुस – माघे संक्रान्तिमा तरुल खाने नेपाली संस्कारका कारण काठमाडौंमा यसपटक २ करोड रुपैयाँबराबरको तरुल भित्रिएको छ । तर, यो परिमाण गत वर्षको भन्दा कम हो । गत वर्ष तरुल नबिकेर खेर गएपछि व्यवसायीले यसपटक ३० प्रतिशत परिमाण घटाएर करिब ७ सय टन तरुल काठमाडौं भित्र्याएको फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ । गत वर्ष करिब हजार टन विभिन्न प्रकारका तरुल तथा कन्दमूल काठमाडौं भित्रेको थियो ।
“यसपटक ६० गाडी कालिमाटी बजार र १० गाडी बल्खु फलफूल बजारमा कन्दमूल भित्रिएको छ,” महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, “यसपटक तरुलको थोक मूल्यमा केही वृद्धि भएर ३२ देखि ३६ रुपैयाँ पुगेको छ ।” घिमिरेका अनुसार प्रतिगाडी १० टनका दरले तरुल भित्रिएको छ ।
गत वर्ष भने तरुलको थोक मूल्य २२ देखि २६ रुपैयाँ थियो । कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार कालिमाटी बजारमा आइतबार ३० देखि ३५ रुपैयाँमा थोक कारोबार भएको छ ।
संक्रान्तिको अघिल्लो दिन आइतबारमात्र ६ गाडी तरुल काठमाडौं भित्रिएको छ । महासंघका अनुसार तराई क्षेत्रबाट भित्र्याइने स्थानीय जातको तरुलको थोक मूल्य ३२ देखि ३६ रुपैयाँ छ भने सखरखण्डको मूल्य ३० देखि ३५ छ ।
वनतरुलको थोक मूल्य भने प्रतिकिलो ८० देखि ९० रुपैयाँ छ । यसपटक माघेसंक्रान्ति र तरकारीको प्रयोजनका लागि करिब एक महिनाअघिदेखि नै तरुल काठमाडौं ल्याउन थालिएको थियो । गत वर्ष भने संक्रान्तिको लगत्तै अघिमात्र उल्लेख्य परिमाणमा तरुल भित्रिएको थियो ।
विशेषगरी काठमाडौंमा सखरखण्ड, हात्तीपाइले, वन तरुल र स्थानीय जातका तरुललगायतका विभिन्न जातका तरुल बर्सेनि काठमाडौं भित्रिने गरेको छ । तराईका सर्लाही, महोत्तरी, सप्तरी, चितवन, नवलपरासी र धादिङ तथा यसवरपरका पहाडी जिल्लाबाट काठमाडौंलाई लक्षित गरी तरकारी ल्याउने गरिएको छ ।
गत वर्षभन्दा कम आयात भए पनि यसपटक तरुलको अभाव नरहने महासंघले जनाएको छ । “आयातित तरुलले यहाँको माग धान्न सक्छ,” महासंघ अध्यक्ष घिमिरेले भने, “गत वर्ष संक्रान्तिको लगत्तैअघिमात्र धेरै तरुल आएकाले कृषक–व्यापारीले घाटा बेहोर्नुपरेको थियो ।”
गत वर्ष करिब १० गाडी अर्थात् सय टनबराबर तरुल संक्रान्तिको भोलिपल्टसम्म बजारमै थन्किएकाले कृषकले मूल्य नपाएको उनले बताए । यसपटक कृषक र व्यापारी दुबैले उचित मूल्य पाएको घिमिरेले जानकारी दिए ।
टुँडिखेलमा माघी
थारू समुदायले विशेष पर्व माघीको आज (सोमबार) थारू माघी महोत्सव आयोजना गर्ने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले उद्घाटन गर्ने कार्यक्रममा काठमाडौंमा बसोबास गर्दै आएका थारू समुदायको उपस्थिति रहने बताइएको छ ।

पोखरामा १ करोडको भित्रियो
माघेसंक्रान्तिको अवसरमा पोखरामा करिब १ करोडको तरुल, पिँडालुलगायतका कन्दमूल भित्रिएको छ । पोखरामा रहेका करिब १ सयजना कन्दमूल व्यापारीहरूले जनही १ लाखभन्दा बढी मूल्यको कन्दमूल ( विभिन्न जातका तरुल, सकरखण्ड र पिँडालु ) बिक्री गर्न खरिद गरेका हुन् ।
पोखराको बजारमा पन्जे, जाते, भंैसे, पताले, सिमलेलगायतका विभिन्न जातका तरुल पाइन्छन् । बुटवल, पाल्पा, तनहुँ, गोर्खा र तराई क्षेत्रबाट उक्त कन्दमूल ल्याइएको हो । कन्दमूलको जातअनुसार प्रतिकिलो ३० रुपैयाँदेखि २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारी बताउँछन् ।
पोखरा चिप्लेढुंगाको सडकमा कन्दमूल व्यापार गर्दै आएका धर्म तिमिल्सिनाले आफूहरूले प्रत्यक्ष कृषकहरूको खेतमा पुगेर कन्दमूल ल्याएको बताए । यो वर्ष १ लाखको कन्दमूल खरिद गरेको बताउने उनले गत वर्ष कन्दमूलबाट मात्र करिब डेढ लाख आम्दानी गरेको बताए ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s