राजधानीमै बर्डफ्लुको बिगबिगी

प्रस्तुति: विश्वनाथ खरेल

मिति: 2013-01-06

सम्बन्ध: विचार

Nameकेही दिन यतादेखि काठमाडौंको विभिन्न स्थानमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । यस क्रममा सुरुमा काठमाडौं जिल्लाको सीतापाइला–१ स्थित सूर्यमोहन पोखरेलको लेयर्स उत्पादन गर्ने फार्ममा बर्डफ्लुको नयाँ संक्रमण देखिएकोमा अहिले सीतापाइला –१ स्थित प्रेम मानन्धर र राजेन्द्र बुढाथोकीको लेयर्स फार्ममा संक्रमण देखिएको हो । राजधानीमा सर्वप्रथम गत पुस ९ गते पहिलो संक्रमण काठमाडौं जिल्लाको रामकोट–६ स्थित एक ह्याचरीमा बर्डफ्लु देखिएको थियो भने त्यस्तै गरी काठमाडौंको मञ्जुश्री पोल्ट्री फार्ममा पनि बर्डफ्लु भएको सम्बन्धित निकायबाट पुष्टि भएको थियो । उक्त पोल्ट्री फार्ममा गत पुस १० गते सरकारी विज्ञ टोली जाँदा सञ्चालकले कुखुरा देखाउन सकेनन् । सो फार्ममा झन्डै २ हजार १ सय ३५ कुखुरा थिए । उक्त टोलीले साढे १९ हजार अन्डा भने नष्ट गरेको छ र सरकारी चिकित्सकहरूको प्रतिवेदन अनुसार अघिल्ला दुई दिनमा क्रमशः पाँच सय र डेढ सय कुखुरा मात्र मरेको देखिन्छ भने अरू बाँकी बर्डफ्लु लागेका कुखुराहरू मरेर असुरक्षित तबरले स्थानीयले गाडेको पुष्टि भएको छ, जसमध्ये पाँच सय कुखुरा भने फेला नपरेकाले बजारमा पठाइएको आशंका छ । यसअघि भक्तपुर र ललितपुरमा बर्डफ्लु भेटिएको थियो भने काठमाडौंमा यो पहिलो हो । उपत्यकामा गत वर्ष जंगली कागमा बर्डफ्लु देखिएको थियो । भक्तपुरमा बर्डफ्लु भेटिएको दुई महिनापछि धादिङको धार्केमा प्रारम्भिक परिक्षणका क्रममा फार्मका कुखुरा एच फाइभ एन वान भाइरसको संक्रमणबाट मरेको पुष्टि भयोे । हाल धार्के क्षेत्रमा १ सय ५० भन्दा बढी कुखुराका फार्म छन् । ती फार्महरूबाट मासु उत्पादन हुने र अण्डा उत्पादन हुने गरी ५ लाखभन्दा बढी कुखुरा छन् । एक वर्षअधि पनि धार्के क्षेत्रमा ५० हजारभन्दा बढी कुखुरा मरेपछि बर्डफ्लुको आशंका गरिएकोमा एच नाइन भएको पुष्टि भएको थियो । धादिङमा दुईमहिने अवधिमा बर्डफ्लु देखिएको दोस्रो पटक हो । गत मंसिरदेखि सो फार्मका कुखुरा मर्ने क्रम सुरु भएको थियो । २८ मंसिरमा फार्ममा २५ कुखुरा मरेका थिए । त्यसपछि दैनिक कुखुरा मर्ने क्रम बढ्दै गएको थियो ।
केही वर्षअघि विश्वको एक कुनामा देखिएको बर्डफ्लुले संसारमा नै हंगामा हुन्थ्यो । यसको प्रभावमा नेपालमा पनि कुखुराको मासु र अन्डा खानेहरूको संख्यामा समेत कमी आएको थियो । त्यही बर्डफ्लु अहिले नेपालको कुखुरामा लाग्ने आमरोग बनिसकेको छ । एक वर्षमै कैयांै पटक बर्डफ्लु आएको र गएको समाचारले प्राथमिकता पाउँदै आएको छ । यस हिसाबले यो रोग अहिले नेपालका लागि अन्य रोगसरह नै सामान्य बनिरहेको छ ।
गत असोज २९ गते भक्तपुरको बोडेस्थित एक कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण रहेको पुष्टि भएको थियो । ९ महिनाअघि काठमाडौंको फर्पिङस्थित एक फार्म र ललितपुरको बुङमतीनजिकै बर्डफ्लु संक्रमण देखिएको थियो । अहिले कुखुरा व्यवसायीहरूले आफ्नो व्यवसाय घट्ने डरमा मरेको कुखुराको सत्यतथ्य दिन हिचकिचाइरहेका छन् । नेपाल सरकारको बर्डफ्लु नियन्त्रण आदेश २०६४ अनुसार बर्डफ्लु देखिएपछि सरकारले देशलाई बर्डफ्लु संकटग्रस्त घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ । बर्डफ्लु देखिएपछि त्यस क्षेत्रको तीन किलोमिटर वरपरलाई संकटग्रस्त र १० किलोमिटर क्षेत्रलाई निगरानी क्षेत्र किटान गर्नुपर्ने कानुनी व्यवस्था छ, तर सरकारले भने अझैसम्म बर्डफ्लु लागेको खोरबाहेकका अन्य खोरलाई सामान्य परीक्षणसमेत गरेको छैन ।
कुखुरामा लाग्ने यो महामारी रोग मानवशरीरमा पनि प्रवेश गर्न सक्ने भएकाले यसलाई खतराका रूपमा लिने गरिएको छ । नेपालजस्ता अव्यवस्थित कुखुरापालन गर्ने स्थानका लागि यो अझ बढी हानिकारक रोग हो । अन्य उद्योग र व्यवसायजस्तै कुखुरापालन पनि मानवबस्तीनजिक र पालकहरूसमेत त्यति सचेत हुन नसकिरहेको अवस्थामा बर्डफ्लुलाई हेलचक्र्याइँ गर्नु उचित हुँदैन । अहिले नेपालमा महिना–महिनामा कुनै न कुनै स्थानमा बर्डफ्लु देखिएको समाचार आइरहेको छ । तत्कालका लागि रोगी कुखुरालाई नष्ट पार्नेबाहेक अन्य उपचार गरेको देखिँदैन । के रोगी कुखुरा नष्ट पार्नु मात्र समस्या समाधान हो त ? यसले केही क्षणका लागि मात्र निकास दिने भएकाले कुखुरा पालकहरूलाई रोग र यसले मानव शरीरमा पार्ने प्रभावका बारेमा पर्याप्त जानकारी दिएर यो व्यवसायलाई बस्तीवरपरबाट हटाउनु जरुरी भएको छ र यो व्यवसायलाई अझै व्यवस्थित गर्नु आवश्यक छ । आममानिसमा पर्ने प्रभावको न्यूनीकरणका लागि सरकारले बेलैमा उचित कदम चल्नुपर्ने देखिन्छ ।
समग्रमा हाम्रो देशको कुरा गर्ने हो भने २०६५ साल माघ ३ गते झापाबाट पठाइएको नमुना परीक्षण बेलायती प्रयोगशालाले गर्दा बर्डफ्लु भएको प्रमाणित गरेपछि नेपाल पनि यसबाट अछुतो रहन सकेन र विश्वमा बर्डफ्लुको सूचीमा नेपालको नाम पनि ६६ औं स्थानमा लेखिन पुगेको छ । देशको कुखुरा व्यवसायमा करिब ६ अर्बभन्दा बढी रुपैयाँ लगानी भएको छ । यो व्यवसायमा ६५ हजारभन्दा बढी परिवारले प्रत्यक्ष रूपमा रोजगारीको अवसर पाएको अनुमान छ । उपत्यकामा मात्रै दैनिक २ लाख किलो कुखुराको मासु खपत हुँदै आएको तथ्यांक छ । भारतबाट अवैधानिक रूपमा चेक–जाँच नभईकन कुखुरा आउन थालेपछि त्यसको प्रभावबाटै कुखुरामा बर्डफ्लु देखिएको सम्बन्धित क्षेत्रका अधिकारीहरू बताउँछन् । किसानहरूले कुखुरा पालन व्यवसायमा अर्बौं लगानी गरेका छन् । तीन वर्षअगाडिदेखि लगातार बर्डफ्लु देखा परिरहेको छ । बर्डफ्लूजस्तो घातक रोगको समस्या बारम्बार आइपर्दा पनि सरकार मौन बसिरहेको देखिन्छ । यस्तो किसिमको परिस्थिति सिर्जना भइरहने हो भने किसानको लगानी डुब्ने खतरा छ । यस किसिमको समस्या निराकरणका लागि सरकारले के–कस्तो नीति–नियम निर्माण गर्नुपर्ने हो, सोच्ने बेला ढल्किसकेको छ । यसबाट के कुराको अवगत हुन्छ भने हाम्रा छिमेकी देशसँग जोडिएका चेक पोस्टहरूलाई बढी कडाइका साथ आयतित वस्तुहरूको चेक–जाँच हुनु एकातिर आवश्यक छ भने अर्कातिर कुखुरा व्यवसाय गर्ने किसानहरूले पनि आफ्नो व्यवसायलाई समय–समयमा सावधानीका साथ सचेत हुनु त्यत्तिकै आवश्यक छ । चोरी–निकासीबाट आयात हुने व्यापारलाई निरुत्साहित गरी त्यस्तो व्यापार गर्नेलाई हदैसम्मको दण्ड–जरिवानाको व्यवस्था गर्ने नीति–नियम तर्जुमा गर्नुपर्ने हुन्छ, जसले गर्दा यस्ता किसिमका विसंगतिका घटनाहरू पुनः दोहोरिन सक्दैनन् ।

Source : http://karobardaily.com/news/2013/01/06

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s