अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान

जब-जब प्रहरी महानिरीक्षक बढुवाको समय आउँछ, प्रहरी संगठनभित्र चरम गुटबन्दी हुने गरेको छ । रमेशचन्द ठकुरी र रवीन्द्रप्रताप शाहबीच मात्र होइन केही महिनाअघि कुवेरसिंह राना र भीष्म प्रसाईंबीच पनि ठूलै संघर्ष भएको थियो । प्रहरीको भावी नेतृत्वलाई लिएरसमेत एक वर्षअघि नै संघर्ष सुरु हुने प्रवृत्ति देखापरिसकेको छ ।
खुला रूपमा यसरी प्रहरीमा नेतृत्वका लागि संघर्षको परिपाटी भने ०५३ सालबाट सुरु भएको हो । कांग्रेस नेतृत्वको सरकारले ०५३ साल फागुनमा तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहोराले अवकाश पाएपछि वरिष्ठताका आधारमा अच्युतकृष्ण खरेललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्‍यो । यसबाट अर्का एआइजी धुव्रबहादुर प्रधान असन्तुष्ट बने । प्रहरी संगठनको नेतृत्व लिने आकांक्षा प्रधानमा पनि थियो ।
खरेल प्रहरी महानिरीक्षक भएको दुई साता पनि नबित्दै सरकार परिवर्तन भयो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए भने वामदेव गौतम गृहमन्त्री । सरकारको नेतृत्व परिवर्तनसँगै प्रहरीमा पनि नेतृत्व परिवर्तनका लागि चलखेल सुरु भयो । त्यो चलखेल महिना दिन नबित्दै सफल भयो । अर्थात्, महानिरीक्षक भएको ३६ दिनमै खरेललाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गरी प्रधानलाई महानिरीक्षक बनाइयो । तत्कालीन गृहमन्त्री गौतमको विशेष पहलमा त्यसरी प्रहरीको इतिहासमा पहिलोपटक प्रहरी महानिरीक्षकलाई सरुवा गरी अर्काे व्यक्तिलाई महानिरीक्षक बनाउने कामको सुरुवात भयो । यसबाट मिल्ने साथी रहेका खरेल र प्रधानबीचको मित्रतामा त दरार आयो नै पूरै प्रहरी संगठन नै दुई गुटमा बाँडिएको थियो । त्यही घटनायता प्रहरीमा राजनीतिक हस्तक्षेपले पनि गति लिएको थियो ।
परम्मित्रबाट शत्रु
खरेल र प्रधान ०२७ सालमा इन्सपेक्टर पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । दुवै खेलाडी पृष्ठभूमिका हुन् । खरेल त्यसवेला फुटबलको राष्ट्रिय टोलीका कप्तान थिए भने प्रधान एथलेटिक्सका राष्ट्रिय खेलाडी । त्यसवेला खुला प्रतिस्पर्धाबाटै दुवै प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यसवेला खुला प्रतिस्पर्धाबाट छनोट भइसकेपछि इन्सपेक्टर नियुक्तिको निर्णय मन्त्रिपरिषद्बाट हुने गर्दथ्यो ।
‘पढाइ सकेपछि कि व्यापार गर्नुपर्‍यो कि जागिर खानुपर्‍यो,’ खरेल सम्झन्छन्, ‘व्यापारमा रुचि थिएन त्यसकारण जागिर खानुपर्‍यो भनेर प्रहरीमा लागेको हुँ ।’ अरूले देश सेवा गर्न प्रहरी सेवामा लाग्ने गरेको बताए पनि त्यसवेला आफूले भने अन्तर्वार्तामा जागिर खानका लागि प्रहरी सेवामा आएको बताएको उनी सम्झन्छन् । अरूले देश सेवा गर्न प्रहरी सेवामा लाग्ने गरेको बताए पनि आफूले जागिरकै लागि भनेर अन्तर्वार्ता दिएको उनले बताए ।
त्यसवेला भर्ना भएका प्रहरी अधिकारीमध्ये मोतीलाल बोहोरा पहिलो नम्बरमा थिए भने दोस्रो नम्बरमा खरेल र तेस्रो नम्बरमा प्रधान । त्यसमध्ये पनि खरेल र प्रधान भने एकदमै मिल्ने साथी थिए । प्रधानले त्यसवेलाका सबैभन्दा मिल्ने साथीको नाम लिँदा पहिलो नम्बरमा खरेलकै नाम लिने गर्छन् । ‘हामी त्यसवेला एउटै थालमा खाना खान्थ्यौँ, एउटै बेडमा सुत्थ्यौँ,’ प्रधानले सम्भिmए । पूर्वमहानिरीक्षक खरेल पनि त्यसवेलाका आफ्नो मिल्ने साथीका रूपमा प्रधानकै नाम लिन्छन् । प्रधान पहिलेदेखि नै क्षमतावान् व्यक्ति भएको उनको भनाइ छ ।
खरेल र प्रधानबीचको मित्रताले २६ वर्षसम्म निरन्तरता पायो । जब प्रहरी महानिरीक्षकमा बढुवाको प्रक्रिया सुरु भयो, त्यसपछि सम्बन्धमा दरार आएको हो । दुवै यो कुरा स्विकार्छन् पनि । प्रहरी महानिरीक्षकको पद एउटा मात्र तर दुवैजनालाई महानिरीक्षक हुनुपर्ने । त्यही आकांक्षाबाट विवाद र सम्बन्धमा चिसोपन सुरु भएको थियो ।
सरकारले वरिष्ठताका आधारमा खरेललाई नै महानिरीक्षक बनायो । वरिष्ठतामा मात्र उनी अगाडि नभएर त्यसवेला खरेल प्रहरीमा रोलमोडल व्यक्तिकै रूपमा चिनिन्थे । पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै महानिरीक्षक बनाउने चलन पनि थियो । वरिष्ठतालाई बढुवाको एक मात्र आधार मानिन्थ्यो । कतिसम्म भने अघिल्लो नम्बरमा रहेको व्यक्तिलाई सोही ब्याचका अन्यले सलाम गर्नुपथ्र्यो । लाइनमा बस्दा पनि नम्बरअनुसार बस्नुपर्ने अनुशासन थियो । त्यसकारण पनि खरेल महानिरीक्षक बनेका थिए । उता, प्रधानले पनि आफूलाई महानिरीक्षकको दाबेदारका रूपमा प्रस्तुत गरेका थिए । ‘आफूलाई मैले सबैभन्दा बेस्ट एआइजी ठानेको थिएँ, बेस्ट एआइजीलाई नै महानिरीक्षक बनाउनुपर्छ भन्ने मेरो भनाइ थियो,’ प्रधान भन्छन्, ‘तर मेरो चाहना पूरा हुन सकेन ।’
ब्ाोहोरा महानिरीक्षक हुनुभन्दा एक महिनाअघि खरेललाई सरकारले महानिरीक्षकमा बढुवा गरेको थियो । प्रहरीको नेतृत्व लिन नपाएपछि अर्काे सशस्त्र प्रहरी बल गठन गरेर आफूलाई महानिरीक्षक बनाउनुपर्ने प्रधानको प्रस्ताव थियो । माओवादी द्वन्द्व सुरु भइसकेकाले पनि अर्धसैन्य संरचनाको प्रहरी संगठन बनाउने सोच त्यसवेला सुरु भएको थियो । त्यसकारण प्रधानको प्रस्तावमा सरकार सहमत भएको पनि थियो । किनकि प्रधानलाई पनि क्षमतावान् व्यक्तिकै रूपमा लिइन्थ्यो ।
सशस्त्र प्रहरी बल गठन गरी प्रधानलाई महानिरीक्षक बनाउने तयारी हुँदै गर्दा सरकार परिवर्तन भयो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएपछि सशस्त्र प्रहरीको नभई नेपाल प्रहरीकै महानिरीक्षक बन्ने उनको आकांक्षा पूरा भयो । बढुवा भएको ३६ दिनमै खरेललाई राष्ट्रिय अनुसन्धानको प्रमुख बनाएर प्रधानलाई महानिरीक्षक बनाइयो । यसपछि उनीहरूको परम्मित्रता परमशत्रुमा परिणत भयो ।
कडा स्वभावका महानिरीक्षक खरेल आफ्नो सरुवालाई स्विकार्ने पक्षमा थिएनन् । उनले राष्ट्रिय अनुसन्धान प्रमुखको पद सम्हालेनन् बरु सरकारविरुद्ध अदालत गए । राष्ट्रिय अनुसन्धानमा हाजिर नभएपछि सरकारले गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै उनलाई हाजिर नभए बर्खास्त गर्नेसम्मको चेतावनी दियो । त्यसविरुद्ध पनि खरेल अदालत गए । अदालतले उनी राष्ट्रिय अनुसन्धानमा हाजिर हुन नपर्ने आदेश दियो ।
प्रहरी संगठनमा मात्र त्यसवेला राजनीतिक चलखेल थिएन । सरकार गिराउने र बनाउने खेल पनि त्यसवेला निकै चलेको थियो । चन्द नेतृत्वको सरकार करिब ६ महिनामा नै ढल्यो । सूर्यबहादुर थापा प्रधानमन्त्री भए । खुमबहादुर खड्का गृहमन्त्री । सरकार परिवर्तनसँगै त्यसको असर प्रहरी नेतृत्वमा पनि पर्‍यो । सरकारले प्रधानलाई महानिरीक्षकबाट हटायो र खरेललाई दोस्रोपटक प्रहरी महानिरीक्षक बनायो । महानिरीक्षक बन्न सफल प्रधानलाई भने ‘पोस्ट अन स्पेसल ड्युटी’ भनेर नयाँ पद सिर्जना गरी प्रहरी प्रधान कार्यालयमा दरबन्दी राखी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी तोकियो । सो निर्णयलाई खरेलले आफूमाथिको न्यायका रूपमा लिए भने प्रधान निराश भए । त्यसवेलासम्म खरेलले अदालतमा हालेको मुद्दाले किनारा पाएको थिएन । उनी पदमा पुनर्बहाली भएको झन्डै एक वर्षपछि मात्र अदालतले उनको अनुसन्धानको प्रमुखमा गरिएको सरुवा अवैध रहेको ठहर गरी पुनर्बहालीको आदेश दिएको थियो ।
दोस्रोपटक महानिरीक्षक भएपछि खरेलले तीन वर्ष प्रहरी नेतृत्व हाँके । प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी पाएका प्रधानले प्रहरी महानिरीक्षक बन्ने धोको त पूरा गरे, तर पदबाट उनको अस्वभाविक बहिर्गमन भयो । सुरक्षा सल्लाहकारको रूपमा आफूले पूरै समय बिताएको उनको भनाइ छ । तर, त्यसवेलाका प्रहरी अधिकारी भने उनले प्रधानमन्त्रीको सल्लाहकारका रूपमा काम गरेको सम्भिmएका छैनन् ।
पूर्वप्रहरी महानिरीक्षकद्वय खरेल र प्रधानबीचको यो मित्रता र दूरीको संघर्षले पदका लागि हुने लडाइँ मात्र प्रतिनिधित्व गर्दैन, यसले प्रहरी संगठनमा हुने गुटबन्दीको इतिहाससमेत बोकेको छ । त्यसवेला उच्च पदमा रहेका एक प्रहरी अधिकारीका अनुसार त्यसभन्दा अघि खुला रूपमा गुटबन्दी संगठनभित्र थिएन । तर, जब खरेल र प्रधानबीचको संघर्ष सुरु भयो, त्यसयता यो यसको मान्छे र ऊ उसको मान्छे भन्ने आरोपहरू लागे । आरोप लाग्ने मात्र होइन त्यो खुला रूपमा देखिएकै थियो । जस्तो कि प्रधान महानिरीक्षक भएपछि खरेलनिकट व्यक्तिहरूलाई ‘खेद्ने’ काम भयो भने प्रधाननिकटका प्रहरी अधिकारीहरूलाई प्रधानले पनि त्यस्तै गरेका थिए । त्यतिवेला खरेलनिकट मानिने उपेन्द्रकान्त अर्याल -हाल डिआइजी)लाई प्रधानले दार्चुलामा सरुवा गरे । त्यस्तै खरेल पुनर्बहाली भएपछि प्रधानले उपत्यकाका प्रमुख इकाइमा इन्चार्ज दिएका व्यक्तिहरूलाई खरेलले तत्कालै सरुवा गरेका थिए । ‘तलदेखि माथिसम्मै गुटबन्दीले व्यापकता पाएको थियो,’ त्यसवेला खरेलनिकट रहेका एक प्रहरी अधिकारी सम्झन्छन् । शारदाप्रसाद पराजुली, रवीन्द्रप्रताप शाह, कुमार कोइराला, भरत जिसीजस्ता प्रहरी अधिकारी खरेलको गुटमा थिए । आमोद गुरुङ, दिलीप श्रेष्ठ, किरण गौतमलगायतका व्यक्ति भने प्रधानको गुटमा थिए ।
खरेल र प्रधानकै संघर्षका वेलादेखि नै खुला रूपमा गुटबन्दी सुरु भएको प्रहरी अधिकारीहरूको भनाइ छ । तर, आइजिपी हटाउने, आफ्ना मान्छेलाई बनाउने त्यो खेलमा प्रहरी अधिकारीको दोषभन्दा राजनीतिक हस्तक्षेप प्रमुख कारण रहेको धेरैको भनाइ छ । खासगरी तत्कालीन गृहमन्त्री वामदेव गौतमले प्रहरीमा चरम राजनीतिक हस्तक्षेप सुरु गरेको प्रहरी अधिकारीहरूको दाबी छ ।
खरेल र प्रधान दुवै क्षमतावान् भएकाले पनि त्यसवेला नेतृत्वका लागि धेरै संघर्ष भएको थियो । ‘यदि त्यसवेला सरकारले प्रधानलाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनाएर खरेललाई महानिरीक्षक बनाएको भए सबैभन्दा राम्रो निर्णय हुन्थ्यो,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘त्यसो भएको खण्डमा राष्ट्रिय अनुसन्धान विभाग पनि धेरै बलियो हुन्थ्यो र प्रहरी संगठनमा पनि यति धेरै राजनीति हुने थिएन ।’
पूर्वप्रहरी महानिरीक्षकका रूपमा अहिले नाम लिनुपर्दा पहिलो नम्बरमा धेरैले खरेलको नै नाम लिने गर्दछन् । प्रहरी संगठनमा पनि उनलाई रोलमोडल व्यक्तिका रूपमा लिने गरिन्छ । तर, कतिपय प्रहरी अधिकारी भने एआइजी हँुदासम्म खरेल एकदमै राम्रो भएको र महानिरीक्षक भएपछि भने निष्पक्ष र पारदर्शी हुन नसकेको आरोप लगाउने गरेका छन् । खासगरी दोस्रोपटक महानिरीक्षक भएपछि उनको कामको ‘स्पि्रट’ घटेको धेरैको भनाइ छ ।
तर, पूर्वमहानिरीक्षक खरेल भने आफू सकेसम्म निष्पक्ष र पारदर्शी बनेको दाबी गर्छन् । ‘जनतालाई न्याय दिने कुरामा र संगठनलाई अहित हुने गरी मैले कहिल्यै सम्झौता गरिनँ,’ खरेल भन्छन्, ‘तर कहिलेकाहीँ निर्णय गर्दा गल्ती पनि भएका हुनसक्छन् ।’
आफ्नो पालाबाट प्रहरीमा गुटबन्दी सुरु भएको कुरा भने उनी स्वीकार गर्दर्ैनन् । काम गर्दा कोही कसैको नजिक भएको र त्यसैका आधारमा गुटबन्दी भन्न नमिल्ने उनको भनाइ छ । धेरैले संगठन हितका लागि उनले लिएको अडानका कारण प्रशंसा पनि गर्छन् । ‘वास्तवमै उहाँको लिडरसिप डाइनामिक थियो,’ एक वरिष्ठ प्रहरी अधिकारी सम्झन्छन्, ‘तुरुन्त निर्णय गर्ने र आफ्नो निर्णयमा अडिग हुने उहाँका विशेष गुण हुन् ।’ तर, तुरुन्त निर्णय गर्ने उनको कमजोरीका रूपमा पनि देखापरेको कतिपयको भनाइ छ ।
संगठनलाई बलियो बनाउने प्रयास गर्नु खरेलको प्रशंसनीय पक्ष हो । जस्तो कि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लोकेन्द्रबहादुर चन्दका ज्वाइँलाई एसपीबाट एसएसपीमा बढुवा गर्न दबाब दिएका थिए । उनले सो आदेश अस्वीकार त गरे नै, साथै कोइरालालाई पनि आफ्नो निर्णयमा सहमत गराउन सफल भए । त्यस्तै तत्कालीन एसएसपी कृष्णप्रसाद श्रेष्ठसँग पनि उनको निकै झगडा भएको थियो । घुस्याहा र असक्षम भएको भन्दै उनले आफ्नो अवधिमा श्रेष्ठको बढुवा गरेनन् । अनावश्यक दबाब नमान्दा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्कासँग खरेलको बोलचाल नै बन्द भएको थियो । राम्रो काममा आफ्नो अडान कहिल्यै नछाडेको खरेलको दाबी छ ।
त्यसो त प्रधानले पनि संगठनको हितका लागि महत्त्वपूर्ण काम गरेका छन् । एआइजी हुँदा प्रहरी सुधार समितिको सदस्यसचिवका रूपमा उनले काम गरे । त्यस्तै महानिरीक्षक भएपछि पनि आफूले सुधारका महत्त्वपूर्ण काम गरेको उनको भनाइ छ । त्यसवेला मध्यमाञ्चलका तराईका जिल्लालाई पनि काठमाडौंमै रहेको क्षेत्रीय कार्यालयले हेर्ने गरेको थियो । तर, उनले हेटौँडामा नयाँ क्षेत्रीय कार्यालय स्थापना गराएका थिए । प्रहरीका विषयगत कार्यालयहरू उनकै पालामा स्थापना भएको थियो ।
दुवै पूर्वप्रहरी महानिरीक्षक आफूहरूले ०५३ सालको घटना बिर्सिसकेको बताउँछन् । एआइजी हँुदासम्मको जस्तो मित्रता नभए पनि आफूहरूबीच राम्रै सम्बन्ध रहेको उनीहरूको भनाइ छ । खरेल भन्छन्, ‘ऊ मेरो मिल्ने साथी थियो, अहिले पनि मिल्ने साथी हो ।’ प्रधान पनि आफूहरू राजनीतिक दाउपेचमा परेको बताउँदै दुस्मनी नभएको बताउँछन् ।
अवकाशपछि खरेल हाल स्वतन्त्र जीवन बिताइरहेका छन् भने प्रधान खेलकुद क्षेत्रको राजनीतिमा छन् । एक समय राजनीतिक पार्टीमै आबद्ध भएर राजनीतिमा लागेका उनी नेपाल ओलम्पिक कमिटीको अध्यक्ष छन् ।
खरेलले भने स्मरण लेखेका छन् । उचित समयमा प्रकाशन गर्ने उनको भनाइ छ । ‘देशका महत्त्वपूर्ण कालखण्डमा प्रमुख जिम्मेवारी लिएर काम गरेको थिएँ,’ उनी भन्छन्, ‘त्यसकारण जनतालाई सत्य कुरा दिनुपर्छ भनेर किताब लेखेको छु, उचित समयमा प्रकाशन गर्नेछु ।’
अवकाशपछि खरेलले भ्रष्टाचारको मुद्दासमेत झेल्नुपर्‍यो । तर, विशेष अदालतले उनलाई सफाइ दिइसकेको छ । पदमा रहँदा आफूले दरबारको अनुचित दबाब नमानेकाले दरबारकै निर्देशनमा त्यसवेला आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको उनको भनाइ छ ।

प्रस्तुति : नवराज मैनाली-690921

Source : http://www.nayapatrika.com/index.php?option=com_content&view=article&id=8250:2013-01-05-06-45-43&catid=39:2011-07-03-13-23-23&Itemid=55

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s