म्याद थप्ने कुरा जोक भइसक्यो

Friday, 21 December 2012 09:25 नागरिक

रुक्मांगद कटुवाललाई पराजित जर्नेल भनेको मन पर्दैन। तर २४० वर्ष पुरानो नेपाली राजसंस्था धराशायी हुँदा राजसंस्थाकै छत्रछायाँमा हुर्केको नेपाली सेनाका प्रमुख उनै थिए। त्यतिमात्र नभएर, अहिलेको अस्थीर राजनीतिसँग पनि उनी जोडिएका छन्। माओवादी नेतृत्वको सरकारले उनको फूली फुकाल्ने निर्णय नगरेको भए राजनीतिको धार यतिविध्न मोडिने थिएन भन्नेहरुको संख्या कम छैन। कटुवालले सेना प्रमुखको पदमा पुग्न अत्यधिक मेहनत र संघर्ष गरेका छन्। भाग्यले पनि उनलाई साथ दिँदै आएको छ। कटुवाल सामरिकशास्त्रका विशेषज्ञ त हुन नै, तर्कशील, बोलक्कड, अध्ययनशील अनि चलायमान व्यक्तित्वका कारण उनी सधैँ विवादमा रहन्छन्। यतिखेर पनि उनी विवादमा छन्। माओवादी पक्षका गतिविधिहरुप्रति उनका धारणा खरो र नकारात्मक छन्। सेना प्रमुखका रुपमा उनको विवादग्रस्त पृष्ठभूमिको परिप्रेक्ष्यमा वर्तमान राजनीतिबारे उनका विचार र सन्दर्भबारे किशोर नेपालसँगको वार्ता विवरण:

तपाईँ पराजित जर्नेल हो। हैन त?
म कसरी भएँ पराजित जर्नेल? तपाईँलाई यस्तो गलत कुरा कसले बतायो? यो मप्रतिको गलत धारणा हो।

 

यो गलत धारणा किन होइन भने जुन व्यवस्थाको वकालत र रक्षा गर्न खोज्नुभएको थियो, त्यो व्यवस्था नै रहेन त?
कस्तो व्यवस्था?

 

राजतन्त्र, उदार प्रजातन्त्रलाई तपाईले डिफेन्ड गर्न सक्नुभएन। तपाईँले मन नपराउनुभएको, कुनै बेला आफ्नै, तपाईंकै शब्दमा र्यानगट्याग सेना लिएर हिँडेको पार्टी अहिले सत्ताको केन्द्रमा आएर बस्यो। यो असहज समयलाई कसरी हेर्नुभएको छ?

हामी नेपाली इतिहासको कालखण्डमा अक्सर आवेशमा आएर धेरै कुरा सोच्दै नसोची बोलेर, आफ्ना लागि, आफ्नो परिवारका लागि, निर्णय लिँदा रहेछौँ। त्यो इतिहासले सत्य ठहर्याएको कुरा हो। पृथ्वीनारायण शाहले जस्तै उनका छोरा नातिले पनि त्यसरी नै सोचेको भए यो देश शायद अर्कै अवस्थामा पुग्थ्यो। त्यस्तै अर्को उदाहरण, विश्वेश्वरप्रसाद कोइरालालाई त राजाले थुनेकै हो नि त। त्यसपछि निर्वासनमा पनि जानुभएकै हो, दरवारकै कारण। त्यो हुँदाहुँदै पनि उहाँले नेपालको धेरै पछिको विचार गरेर भौगोलिक राजनीतिलाई शुद्ध लेखाजोखा गरेर, ‘राजाको गर्धन र मेरो गर्धन त एउटै अचानोमा रहेछ,’ भन्ने अभिव्यक्ति दिनुभएको थियो होला। उहाँले त्यसै त त्यो कुरा भन्नुभएको थिएन होला? उहाँ धेरैपछिको कुरा सोच्न सक्ने धेरै कम नेपालीमध्येको हुनुहुन्थ्यो। त्यसैले पनि बीपीमात्र त्यस्ता एक राजनेता हुन्, जसको फोटो मेरो घरको भित्तामा टाँसिएको छ।

 

यो त मेरो प्रश्नको जवाफ होइन। विषयान्तरमा लाग्नुभयो।
त्यही प्रश्नमा आउँदैछु। तपाईँले जुन प्रश्न मलाई अहिले सोधिरहनुभएको छ, मेरो मान्यता र विश्वासको कुरा पनि हो। एउटा राजनीतिक व्यवस्था कुनै जर्नेलले टिकाएर टिक्ने कुरा होइन। अहिलेको जमानामा जर्नेलले निर्णय गर्ने पनि होइन। जर्नेलले कन्भिन्स गर्न कोसिस गर्ने हो सम्बन्धित क्षेत्रका मान्छेलाई। त्यो जर्नेल कहिलेकही एक्लो बृहस्पति पनि हुन्छ। इतिहासले पनि त्यो पुष्टि गरेको छ। त्यो कुरा कतिले ग्रहण गर्छन्, कतिले गर्दैनन्, कतिले बन्द कोठाभित्र भन्छन्, कसैले केही पनि भन्न सक्दैनन्। नेपालको ती आधारभूत संरचना भत्काउनुहुँदैन भन्ने मेरो कुरा हो। त्यसका लागि जो माथि बस्छन्, जो मुख्य व्यक्ति हो, त्यसैले निर्णय गर्ने हो। मूल मान्छेले सबैको कुरा सुन्नुपर्छ, निर्णय भने आफै गर्नुपर्छ। उसले निर्णय लिन सक्दैन, कसैको कुरा नै सुन्दैन भने त्यो सुनाउनेको गल्ती हुँदैन। त्यसैको परिणाम हो यो सबै।

 

सन्दर्भलाई म अलिकति जोड्छु। अन्तरवार्ता नै गर्न बसिसकेपछि मिठो मिठो मात्र प्रश्न सोधेर हुँदैन।
सोध्नूस्, नमिठो प्रश्न नै सोध्नूस्। अचार तीतो पनि मिठो हुन्छ।

तपाईँ सह-संयोजक हुनुहुन्थ्यो राष्ट्रिय सुरक्षा परिषदको। शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ चुनाव गराउन सक्ने स्थितिमा हुनुहुन्नथ्यो। तपाईँले चुनाव क्षेत्रहरू छुट्टाएर चरणबद्धरुपमा चुनाव गर्ने सुझाव दिएको पनि हो। चुनावको प्रकृया सुरु गरौँ त्यसपछि देखाजाएगा भनेकै हो। त्यतिखेर तपाईँ जुन व्यवस्थामा हुनुहुन्थ्यो, त्यसैसँग रिसाइरहनुभएको पनि थियो। किन?
किनभने जुन हुनुपर्ने कुरा थिए, त्यो भइराखेका थिएनन्। मैले यही विषयमा सार्वजनिकरुपमा पनि भनेको छु, ‘यदि त्यसबेला म सुरक्षा संस्थाको प्रधान सेनापति भइदिएको भए न यो देशबाट राजसंस्था जान्थ्यो, न देशको यो हालत हुन्थ्यो।’ तर म निर्णायक अवस्थामा थिइन। मैले त मेरो हाकिमलाई जाने/बुझेका, सुनेका र इर्द-गिर्दका कुरा सुनाउने र आफूलाई लागेको कुरा सुझाउनेमात्र हो।

 

त्यतिबेला निर्णय लिनसक्ने ठाउँमा नभए पनि निर्णय गराउन त सक्नुहुन्थ्यो नि। होइन?
त्यसबेला नीतिहरू कसरी बन्थे भनेर त नीति बनाउनेहरूलाई पनि थाह थिएन।

 

त्यस्तो होइन भने तपाईँ पछि पश्चिममा पृतनापति भएर गएपछि तपाईँ पृतनापति कम नेता ज्यादा हुनुभयो। तपाईँले गाउँगाउँ गएर माओवादीविरुद्ध माइकिङ गर्नुभयो, भाषण गर्नुभयो। किन?
मैले माओवादीविरुद्ध होइन, प्रजातन्त्रको विरुद्ध लाग्ने जथ्थाविरुद्ध भाषण गरेको थिएँ। जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी त हामीलाई थियो नि त्यतिबेला।

 

त्यसले त केही हासिल भएन नि?
मैले अघि भने नि, एक्लो बृहस्पति सधैँ झुटो हुँदैन नि। मलाई के विश्वास छ भने सत्य सत्य नै रहन्छ। घाम लागेको बेला कसैले आँखा छोप्दैमा घाम डुब्दैन।

 

एउटा कुरा त मान्नुपर्यो नि, नियतिले तपाईँले जुन व्यवस्थाको सुरक्षाको जिम्मा पाउनुभएको थियो, त्यसैको अन्त्यसँग लगेर जोड्यो। तपाईँ पनि एउटा पात्र हुनुभयो।
यी आधारभूत विषयमा निर्णय भइसकेका थिए। त्यसैले ‘म भइदिएको भए!’ भनेर भनेको कारण त्यही हो।

 

तपाईँको जीवन एउटा सिपाहीको अनुशासित, मर्यादित जीवनको अभ्यास हो। उच्च शिक्षा हासिल गर्नुभएको छ। तपाईँले आफूले पाएका अवसरको सदुपयोग गर्नुभएको छ। राजनीतिमा पनि रुचि राख्नुभएको छ। हामी भविष्यको कुरा गर्नेबित्तिकै विगत बिर्सन्छौँ। तपाईं पनि बिर्सन खोज्दै हुनुहुन्छ। होइन?
मैले विगत बिर्सनूस् भनेकै छैन। यो त इतिहास भइसकेका कुरा हुन्। नबिर्सनूस्, इतिहास भनेको दोहोरिन्छ। ठाउँ-ठाउँमा त्यसो भएका पनि छन्। त्यसकारणले जे भयो त्यो नै ठिक छ वा नेपाली जनता त्यसमा खुशी छन् भन्ने होइन। भावी सन्तति सन्तुष्ट रहलान् भन्ने मलाई लाग्दैन। नेपालका नवयुवाहरूको एक दिन नेपालको भविष्यबारेमा सोचेर, विचार गरेर निर्णय लिने जत्था निस्कन्छ भन्ने मेरो विश्वास छ। किनभने समग्र नेपाली गौरवशाली नेपाली भएर बाँच्न चाहन्छन्। त्यो मेरो अटल विश्वास हो।

 

यो त राजनीतिक कुरा भयो। सबै नेताले यसै त भन्छन्।
हिजोआज तपाईँको भान्छामा खाना पकाउँदा पनि राजनीति हुन्छ। अहिलेको जमानामा राजनीति बुझ्नुभएन भनेदेखि कहाँ चल्न सकिन्छ? तपाईँलाई याद छ भने म युनिफर्ममै हुँदा पनि सार्वजनिकरुपमै भनेको छु- म राजनीति गर्दिन तर राजनीति जान्ने प्रयत्न गर्छु।

 

तपाईँले राजनीति जान्नुमात्र भएन, गर्नु पनि भयो। हैन?
तपाईँले त्यस्तो देख्नुभयो। यसरी हेर्नुस् न आजको दुनियाँमा एउटा संस्थाको हाकिम भइसकेपछि सबै कुरा थाहा पाउनै पर्यो नि। हामीले त झन् नेपालको मात्र थाह पाएर पुग्दैन। सीमापारिको पनि जानकारी राख्नु जरुरी हुन्छ।

 

तपाईँ मेरो प्रश्नबाट पन्छिन खोज्दै हुनुहुन्छ। हो?
होइन, म व्यवहारिकताको कुरा गर्दैछु। हरेक चिजलाई राजनीतिसँग जोड्नुभएन।

 

तपाईँ वास्तवमै एग्रेसिभ मान्छे हो। धेरैले तपाईँको त्यो नेचर मन पनि पराउँथे। संविधान सभाको निर्वाचन भयो। माओवादी सरकारमा पुग्यो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभयो। उहाँलाई तपाईँकै फुली किन फुकाल्नुपरेको त?
त्यो त उहाँहरूलाई नै सोध्नुपर्छ, पहिलो कुरा। दोस्रो सबैले थाहा पाएकै कुरा हो। उहाँहरूको मेनिफेस्टो पढ्नुपर्छ, शक्तिखोरको भिडियोलाई सम्झिनुपर्छ। अनि सबै कुरा छर्लंग हुन्छन्। मैले उहाँहरूलाई नै भनेको थिएँ लास्ट मिनेटसम्म पनि म सेनामै रहन्छु भनेर। उहाँहरुसँग भएका धेरै कुरा त बाहिर आएकै छैन।

 

कस्तो कुरा?
यस्तै कुरा। उहाँहरूको के उद्देश्य थियो र उहाँहरूले के/के गर्न खोज्नुभएको थियो भन्ने कुरा। अहिले त धेरैलाई थाहा भइसकेकै छ उहाँहरूको उद्देश्यबारे। यसमा धेरै खोतलिराख्नु भन्दा पनि के भयो कता गयो भन्ने ठूलो कुरा हो। सबैले भनिरहेकै कुरा हो। कसैले सिधा भन्छन्, कसैले घुमाएर भन्छन्।

 

तपाईँको तत्कालीन रक्षा मन्त्रीसँग त राम्रै सम्बन्ध थियो नि। होइन र?
हो, राम्रो थियो। उहाँहरूको पार्टीसँग पनि राम्रै थियो। उहाँहरू शक्तिमा आउनुभन्दा पहिलादेखि। चुनावअघि र चुनाव भइसकेपछि पनि म आफ्नो कार्यक्षेत्रको सीमा नाघेरै गिरिजाबाबुलगायत् अरु नेता र माओवादीलाई पनि भेटेर केही कुरा कन्भिन्स गर्न गएकै हो। मैले के भनेको थिएँ भने, ‘राजालाई नहटाउनूस्। बरु खोपामा कतै लगेर राखिदिनूस्। अर्को, नेपाली सेनालाई नचलाउनूस्। यो संविधान र कानुनअन्तर्गत चल्ने संस्था हो। बरु संविधानमा केही त्रुटि भए त्यो संशोधन गरेर लैजानूस्। तेस्रो, हतियार सरकारलाई बुझाइदिनूस्। तपाईँहरू आफैँ सरकारमा हुनुहुन्छ। लडाकु केटाहरू कहाँ कहाँ जाने हुन्? कति सेनामा आउँछन्, कति प्रहरीमा जान्छन्? कतिलाई पढ्न मन लागेको होला। स्नातकसम्म पढाइदिउँ। घरबासको व्यवस्था गरिदिउँ’ भनेकै हो। उहाँहरू हुन्छ, हुन्छ भन्नुहुन्थ्यो। तर तेस्रो, चौथो कुराकानीपछि मलाई शंका लाग्न थाल्यो। जब संविधान र कानुनको कुरा आउँछ, नेपाली सेना त तयारी अवस्थामा बस्नैपर्छ। हामीले त अरू हेर्ने नै होइन, कानुनमा के छ? संविधानमा के छ? त्यसैलाई मान्ने हो। नेपाली सेनाले संविधानको आधारभूत कुरामा अडान लिएको मात्र हो। सेनाले संसारमा प्रजातन्त्रका विरुद्ध धेरै काम गरेका छन्। तर नेपाली सेनाले चाहिँ प्रजातन्त्रको पक्षमा अडान लिनुको कारण के हो भनेर बुझ्न जरुरी छ।

मेरो आफ्नै कुरा गर्ने हो भने पनि म डेढ दुई महिनामा रिटायर हुन लागेको मान्छेले किचकिच गर्नुपर्ने कुनै कारण नै थिएन। उहाँहरूले मलाई फकाउन रिटायर भएपछि अमेरिकाको राजदूत दिन्छु भन्नुभएको थियो। नमानेपछि न राति पत्र काट्नुभएको हो। योबारेमा धेरै बोलिसकें, फेरि बोल्नु उचित हुन्न।

 

ठिक छ। तपाईँ देखेर डराउनुपर्ने के पर्यो माओवादीलाई त्यस्तो?
उहाँहरूलाई शायद लाग्यो होला- यो हुन्जेलसम्म सेनामा हाम्रो हैकम चलाउन सकिँदैन। सेनालाई भातृ संगठन हुन दिनबाट यसले रोक्छ। हाम्रो भाषा शैली यसले मान्दैन भन्ने लाग्यो होला। उहाँहरूले सेनामा तीस वर्षे लगाउन खोजेकै हो नि। मलाई भनेकै हो- नयाँ मान्छे ल्याउनुपर्यो भनेर। तीस वर्षे लगाएपछि त मेरो फुल कर्नेलभन्दा माथिका त सबै जाने भए। अनि कहाँ जान्छ सेना? मलाई केही हुँदैन रे! अनि मचाहिँ घटोत्कच भएर बस्ने? त्यसैले सेनामा त्यस्तो हुँदैन भनेर मैले भनेँ।

 

त्यो कुरालाई जे नाम दिए पनि, तपाईँको सक्रिय संलग्नता त भयो नि माओवादी आन्दोलनका विरुद्ध?
होइन। जुन बेलामा नेपालका लगभग सबै संस्था, संरचना ध्वस्त भइसकेका थिए वा पारिने तरखरमा थिए, म नेपाली सेनाको चिफ थिएँ। मेरै मात्र एउटा संस्था थियो, जसले कानुनको अडान लिएर बसेको थियो। त्यो त हुनुपर्यो नि। हैन र? मलाई अन्तिम घडीसम्म पनि त्यो लागिरह्यो र म छोड्दिन नै भनेर बसेको हुँ। संविधानमै सल्लाह सहमति भनेर लेखेको छ नि हैन र? ती सबैलाई बिर्सेर, राति राति निर्णय गर्ने? प्रधानमन्त्रीको एकल आदेश। राष्ट्रपतिलाई समेत छलेर। कानुनविरुद्ध, संविधानविरुद्ध गैसकेपछि मैले मान्नुपर्छ भन्ने मलाई लागेन। मैले धेरैपटक बोलेको कुरालाई तपाईँले फेरि रिपिट गर्न लगाइरहनुभएको छ। पुरानो घाउ कोट्याउनुहुँदैन। भोलि के हुन्छ भन्ने कुरा गरौँ न।

 

एउटा रिटायर्ड पराजित जर्नेलको हिसाबले, शिक्षित नेपालीको हिसाबले भोलि के हुन्छ जस्तो लाग्छ? भन्नूस् न त?
म पराजित होइन। कसरी तपाईँ त्यो भन्न सक्नुहुन्छ?

 

२४० वर्ष पुरानो राजसंस्था कत्राककुत्रुक्क भएर ढल्दा तपाईँ नै हुनुहुन्थ्यो नि सेनाको कमान्डमा?
म एक जनाले गरेर के हुन्छ? तपाईँ त्यो विचार गर्नूस् न। जसले त्यो बेला निर्णय लिनुपर्ने थियो, त्यसलाई सोध्नूस् न। त्यसबेलाका दरबारका मान्छेलाई भन्नूस् न। नेपाली सेनाले केमात्रै गरेन? अनुसन्धान गर्नूस्, विश्लेषण गर्नूस्। सेरेमोनियल किङको कुरा कहाँबाट आयो? त्यसपछि बेबी किङको कुरा कहाँबाट आयो? पत्ता लगाउनूस्। कहीँ केही नभएपछि के नेपाली सेनाले जनता मार्दै हिँड्ने? हामीलाई नेपाली जनताले ख्वाएर राखेको उनीहरूलाई नै मार्न हो त?

 

तपाईँले राजा ज्ञानेन्द्रले दिएको एक्सनको आदेश मान्नुभएन भन्ने चर्चा छ नि?
कसैले भनेको मान्ने/नमान्ने कुरै होइन। संविधान र कानुनको आदेश मान्ने हो। संविधान टेकेर नेपालीको अहित कसैले गर्न खोज्छ भने म मान्दिन। मेरो एउटैमात्र धारणा के थियो भने राजतन्त्र र प्रजातन्त्र सँगसँगै जानुपर्छ नेपालको सन्दर्भमा।

 

त्यसो हुन सकेन, किन?
मैले कसरी भनौँ त्यो त। कहिलेकाहीँ त मलाई के लाग्छ भने नेपालीहरू हतारमा निर्णय गर्छन् र फुर्सदमा पछुताउँछन्।

 

तपाईँले आफ्नो पार्टमा पनि त केही गर्नुपर्थ्यो नि?
आर्मीको काम कन्भिन्स गराउनेमात्र हो नेपालको हकमा यो गर्दा राम्रो होला भनेर। डिसिजन गर्ने त अरू नै हो नि। आर्मीले त्यो भएन भनेर जनतालाई घरघरमा गएर कुट्दै पिट्दै हिँड्ने जमाना होइन नि यो।

 

अब अरु कुरा गरौँ न त। तपाईँको जीवनशैली देखेर रमाइलो लाग्छ। तपाईँ चियापान समारोहदेखि सभा/सम्मेलन सबैतिर पुग्नुहुन्छ। देख्नुभएको छ, बुझ्नुभएको छ। के हुन्छ त भन्नूस् न अब?
हो, म बोलाएको ठाउँ जहाँ पनि पुग्छु। मैले केही समय पहिला हाम्रो देशमा केही वर्ष ‘केओटिक सिचुयसन’ रहन्छ भनेको छु। यो दुईवटा विचारको लडाईँ हो। यो कुरा हामीले बिर्सन चाहिरहेको छौँ। यो अवस्थामा म के भन्न चाहन्छु भने (राष्ट्रको) प्रमुख भएर बसेको व्यक्तिले यस्तो अवस्थामा, कानुनभित्र कुनै कुरा छ/छैन, संविधानभित्र छ/छैन भनेर हेरेर बस्नुहुँदैन। त्यो व्यक्तिले निर्णय लिन सक्नुपर्छ। त्यो रिस्क लिन सक्नुपर्छ। त्यो रिस्क जनताको पक्षमा हुनुपर्छ, देशको पक्षमा हुनुपर्छ।

 

तपाईँले राष्ट्रपतिलाई इंगित गर्दै हुनुहुन्छ?
त्यो राष्ट्रपतिलाई भन्नूस् या शितल निवासलाई भन्नूस्, जसलाई भन्नूस्। प्रमुख भएर बसेको मान्छेलाई नै भनिन्छ नि यस्तो कुरा। अहिले फेरि पाँच दिन म्याद थपियो। अनि त्यसपछि फेरि के? यस्तो अवस्थामा हुन्थेँ भने म निर्णय लिन्थेँ। त्यो निर्णय के हुनुपर्छ भनेदेखि मेरो विचारमा, ‘एउटा मिति तोकेर सरकार बनाउनुपर्यो । सरकारमा सबै तप्काका विद्वान्को प्रतिनिधित्व गराउनुपर्यो। पार्टीहरूलाई नै बोलाएर भन्ने हो। मैले यस्तो यस्तो गर्दैछु र यसको डेडलाइन यो हो भनेर। सरकार गठन गरेर चुनाव गराउने पहिलो कुरा। त्यससँगै संवैधानिक बाधा व्यवधान पनि हटाउँदै जानुपर्यो।’ यो खुबी अहिले देखाउन सकिएन भने हाम्रो आउने पुस्तालाई हामीले के जवाफ दिने? कतिसम्म म्याद थप्दै जाने? यो त जोक भइसक्यो।

 

पारिलो घाममा बसेर यस्तो कुरा गर्न त सजिलो छ-
तपाईँले सजिलो भन्नुभयो। यो गर्न सजिलो छैन। यस्तै बेलामा हो निर्णय लिने।

 

उहाँलाई समर्थन कसले गर्ने? सेनाले गर्छ?
सेनाले के गर्छ? सेनाले त संविधानअन्तर्गत रहेर काम गर्ने हो। सेनालाई बीचमा ल्याउनुहुँदैन। सबैले समर्थन गर्नुपर्छ।

 

त्यसरी होला र?
किन नहुने? उहाँले भन्न सक्नुपर्यो- ‘म यस्तो जोकर बनेर बसिरहन सक्दिन। यस्तो गर्छु।’ हेर्नूस्, प्रमुख व्यक्तिले निर्णय लिने भनेकै अफ्ठ्यारो बेलामा हो। अरुबेलामा त जसले लिए पनि भइहाल्यो नि। परीक्षाको घडी आएपछि परीक्षा दिने हो। कि पास भइन्छ कि फेल। केको चिन्ता?

 

राष्ट्रपतिज्यू निर्णय लिन सक्ने व्यक्ति त हो। तपाईँकै फुली रिस्टोर पनि गरेकै हो। तर, त्यतिखेर उहाँलाई ब्याकअप गर्न गिरिजाप्रसाद भन्ने शक्ति थियो। अहिले कसले गर्ने?
यो भर त पहिला आफैँले खडा गनुपर्छ। तपाईँलाई कहाँ सबै कुरा अरुले ठिक पारेर ल्याइदिन्छन् त? आफ्नो डाइनिङ टेबुल कसरी सजाउने भन्ने त तपाईँको कुरा हो नि। अरुले जे पस्केर दिन्छन् त्यही खान्छु भन्नुहुन्छ भने त अर्कै कुरा।

राष्ट्रको उच्च ओहोदामा बसेको व्यक्तिसँग हरेक कुराको जानकारी हुनुपर्छ। अब के भन्ने प्लान हुनुपर्छ। यो भएन भने यो गर्छु, यो भएन भने यो गर्छु। सबै प्लान हरदम रेडी हुनुपर्छ। केही पनि नभएको सामान्य अवस्थामा पनि प्लान बनाइरहनुपर्छ। कुनै राष्ट्रसँग यस्तो प्लान भएन भने यस्तै हुन्छ। मैले अघि नै भनेको थिएँ। जे पर्छ, टर्छ भन्ने मानसिकताले नै हामीलाई यहाँसम्म, यो अन्धकारसम्म ल्याइपुर्याएको हो। हामी नेपालीहरू अल्पविचार गर्दा रहेछौँ भन्ने नै त हो नि। राष्ट्रपतिजीले यो यो कारणले बाबु हो, मैले यो गरेँ भने त भइहाल्छ। जनताले बुझ्नुपर्ने हो। उनीहरूले बुझ्छन्। एजेन्डामा कुरा गर्यो भने बुझिहाल्छन् नि।

 

के हो त त्यो एजेन्डा?
हामी यसरी हेरौँ न। हाम्रो नेताहरूले विभिन्न रिसोर्टमा गएर बैठक बसेर को प्रधानमन्त्री हुने भन्ने कुराको छलफल गरेको हामीलाई थाहा छ। के कहिले यिनीहरूले दार्चुलामा कसरी खाद्यान्न पुर्याउने, डोल्पामा तातो कपडा छ कि छैन, हुम्लामा औषधीको व्यवस्था के छ भनेर छलफल गरेका छन्? अथवा नेपालको पानी नीति यो, सुरक्षा नीति यो, परराष्ट्र नीति यो हुन्छ भनेर कहिले छलफल गरेका छन्? यो राष्ट्रको मूल नीति नै छैन। राष्ट्रिय सुरक्षा नीति छैन। यी आधारभूत कुराको एजेन्डा बनाउनुपर्छ।

 

ल राष्ट्रपतिले निर्णय लिनुभयो रे। यसका रिपर्केसनहरू के के हुन सक्छन् त?
राष्ट्रपतिलाई धम्की नआएको होइन नि। पहिला पनि आएको थियो। अहिले पनि एक दुईजना चिच्याउलान्। त्यसले के हुन्छ र? रामराज्यको जमानामा पनि त रामका विरुद्ध मान्छे निक्लेका थिए नि। होइन र? यो कलियुगमा दुई/चारथरी निस्कन्छन्। तर, के त्यसो भन्दैमा डराएर लुकेर बस्ने त? विरोध कसको हुँदैन? त्यही त हो प्रजातन्त्र भनेको। खाली विरोध कति सही कति गलत भन्ने न हो। त्यो जनताले निर्क्यौल गरिहाल्छ नि। जनताले बुझिसके।

हामीलाई चाहिएको त संविधान हो। संविधान लेख्न के गर्नुपर्छ, गर्नुपर्यो। ६०१ को जमात जम्मा पारेरमात्र संविधान लेखिँदैन रहेछ, त्यो त देखिइहाल्यो। तपाईँले र मैले संविधान लेखेर लेखिने भए विश्वनाथ उपाध्याय, अम्बेडकर, जेफर्सन किन चाहिए?

 

तपाईँ एउटा कुरामा कत्तिको ख्याल गर्नुहुन्छ? हामीकहाँ राजा छउन्जेल माथिको आदेश भन्थे। माथि हेर्नुपर्छ भन्थे। अहिले पनि त्यो माथि हेर्ने परम्परा टुटेन। माथि कहाँ छ?
मैले तपाईँको कुरा बुझेँ। तपाईँले केलाई इंगित गर्दै हुनुहुन्छ मलाई थाहा छ। म तपाईँलाई के कुरा राख्छु भने त्यतिबेला पनि राष्ट्रपतिमाथि र मलाई पनि दोषारोपण भएका छन्। माथि कसले भन्छ? जोसँग खुबी छैन, त्यसैले भन्ने हो। जो म नेपाली हुँ भनेर गौरव गर्दैन र अरूको मुख ताक्छ, त्यस्तोले भन्ने हो। जसलाई म गर्न सक्दिन जस्तो लाग्छ, त्यसैले अरूको घर धाउँछ।

 

भारतका तत्कालीन सेनाध्यक्ष दीपक कपुरसँग तपाईँको सुमधुर सम्बन्धको चर्चा खूब चल्यो नि?
दीपक कपुरसँग मात्र होइन, धेरैसँग मेरो राम्रो सम्बन्ध छ। मैले चार वर्ष बेसिक कोर्स भारतमा गरेको हुँ। सबै मेरा साथी हुन्। त्यो स्वाभाविक कुरा हो। त्यसो भन्दैमा मेरो घरको निर्णय उहाँहरूबाट गराउने होइन नि। उहाँहरूले पनि कहिल्यै यसो गर भन्नुभएन। उहाँहरूलाई थाहा छ यसले मान्दैन भनेर। छिमेकीलाई किन दोष दिने? आफ्नो घर तह लाउन नसक्ने अनि तपाईँले बिगारेको भन्न मिल्छ? म यो विश्वास गर्दिन। न उत्तरले गर्छ, न दक्षिणले।

 

राष्ट्रपतिले केही निर्णय लिन सक्नुभएन भने के हुन्छ?
राष्ट्रपतिले केही न केही निर्णय त लिनैपर्छ। ठिक छ, संविधानमा ठ्याक्कै यसो गर्ने भनेर लेखेको नहोला। तर, नेपाल र नेपाली जनतालाई मेरो कानुनी प्रावधानभित्र छैन भनेर त्यसै छाड्न मिल्छ? मिल्दैन। त्यो जिम्मेवारी लिन सक्ने आँट हुनुपर्छ।

 

तपाईँले राष्ट्रपतिलाई यो कुरा भन्नुभएको छ?
मैले धेरै पल्ट भनेको छु। उहाँले मलाई जहिले पनि सल्लाह विमर्श गर्न बोलाउनुभएको छ। मैले भनेको छु। मैले उहाँलाई के के भनें भन्ने सबै त भन्न मिल्दैन। तर, प्लानिङ र प्रिपेरेसनको कुरा भनेको छु।

 

सबै दलका नेताहरूसँग पनि तपाईँको भेट भइरहन्छ। यिनीहरूको कुराबाट के निष्कर्ष निकाल्नुभएको छ तपाईँले?
अहिले सबैलाई प्रचण्डजीले मूर्ख बनाइरहनुभएको छ। र, अरू मूर्ख बनिरहेका छन्। सबैभन्दा दुःखको कुरा नै यही हो। नेताहरूसँग निर्णय गर्ने क्षमता नै छैन। केवल गुनासोमात्र छ। जबकि निर्णायक शक्ति उहाँहरू नै हो। अहिलेको सन्दर्भमा नेपालको राजनीतिमा सहमति र सहकार्यको विकल्प नै छैन। त्यो हुनैपर्छ।
माओवादीले जितेर आएपछि जसरी जितेर आए पनि आर्मीले सलाम गरेको होइन? जिम्मी कार्टरले पनि निष्पक्ष चुनाव जिते भनेर भनेकै हुन्।

 

कार्टरले नभनेको भए सलाम गर्नुहुन्नथ्यो?
चुनावमा माओवादीको विजयलाई अन्य राजनीतिक दलले पनि स्वीकारेका हुन् नि त। उनीहरूले स्वीकारेको कुराको विरोध गर्ने भन्ने त प्रश्नै आउँदैन। हामीले नेपाली भएर सोच्नै छोडिदियौँ। हामीले के भन्दैछौँ भन्दा पनि अरुले के भन्दैछन्मा हाम्रो बढी ध्यान छ।

 

अब कसरी अगाडि बढ्ने त?
राष्ट्रपतिले भए जति सबै राजनीतिक दललाई बोलाउनुपर्यो र भन्नुपर्यो्- अब यसरी भएन। तपाईँहरू कि प्रधानमन्त्री दिनूस्। नत्र म प्रधानमन्त्री चयन गर्छु। चुनाव गरौँ। जे हुन्छ, चुनावले टुंगो लगाउँछ। यति नगरी केही पनि हुनेवाला मचाहिँ देख्दिन।
(सहयोगी स्वरूप आचार्य)

Source : http://www.nagariknews.com/interview/97-political-interviews/50749-2012-12-21-04-06-27.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s