मदन खरेल : आन्तरिकमा नौ र अन्तरराष्ट्रियमा सातओटा जहाज पुर्‍याउँछु

मदन खरेल : आन्तरिकमा नौ र अन्तरराष्ट्रियमा सातओटा जहाज पुर्‍याउँछु
December 9, 2012

मदन खरेल
महाप्रबन्धक, नेपाल वायुसेवा निगम

आन्तरिकमा नौ र अन्तरराष्ट्रियमा सातओटा जहाज पुर्‍याउँछु

नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रबन्धक मदन खरेल उत्कृष्ट कार्यक्षमता भएका व्यक्ति मानिन्छन् । सरकारले खुला प्रतिस्पर्धाबाट आगामी ४ वर्षका लागि निगमको महाप्रबन्धक पदमा नियुक्त गरेका खरेलसँग निगममै २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका खरेल काठमाडौं कलङ्कीका स्थायी बासिन्दा हुन् । अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका खरेलले निगमको चीनको शाङ्घाई कार्यालयमा ४ वर्ष र दुबईमा ३ वर्ष कण्ट्री मेनेजरको पदमा समेत काम गरेका थिए । उनले निगमको विमानस्थल कार्यालयमा पनि डेढ वर्ष प्रमुख स्टेशन म्यानेजर भएर काम गरेका छन् । पछिल्लो समय निगमको कमर्शियल डाइरेक्टरका रूपमा काम गरेका खरेल नेपालमा रहेका अन्तरराष्ट्रिय वायुसेवाका प्रतिनिधि संस्था बोर्ड अफ एयरलाइन्स रिप्रिजेण्टेटिभका अध्यक्ष पनि हुन् । निगमको आगामी कार्ययोजना र सुदृढीकरणका विषयमा केन्द्रित रहेर आर्थिक अभियानका राजु बास्कोटाले खरेलसँग गरेको कुराकानीको सार :

निगममै साढे दुई दशक बिताएर त्यही संस्थाको महाप्रबन्धकको जिम्मेवारी पाउनुभएको छ । निगमलाई सुदृढ पार्न तपार्इंको योजना के छ ?

निगम जहाज कम्पनी भएकाले यसलाई आवश्यक पर्ने नयाँ जहाज खरीद गर्नु नै मेरो पहिलो योजना हो । जहाज आइसकेपछि त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने योजना पनि मैले बनाएको छु । हामीसँग ५४–५५ वर्षको हवाईसेवा सञ्चालनको अनुभव छ । यो संस्थालाई आधुनिक किसिमले सञ्चालन गर्नु चुनौतीपूर्ण त छ तर नयाँ जहाज ल्याएपछि सफलता हासिल गर्न सक्नेमा म विश्वस्त छु । यसका लागि आन्तरिक र बाह्य उडानका निम्ति प्रयोग हुने जहाज ल्याउन प्रक्रिया धेरै नै अगाडि बढिसकेको छ ।

कतिओटा नयाँ जहाज खरीद गर्ने योजना बनाउनुभएको छ ?

५ देखि ७ वर्षभित्रमा अन्तरराष्ट्रिय उडानका निम्ति वाइड र न्यारोबडी गरी कम्तीमा पाँचओटा जहाज किन्नुपर्छ । हामीसँग अन्तरराष्ट्रिय उडानका लागि हाल दुईओटामात्र जहाज छन् । त्यसो हुँदा हामीले चाहेजति र गर्नुपर्नेजति अन्तरराष्ट्रिय हवाई उडान गर्न सकेका छैनौं । त्यसैले ७ वर्षभित्रमा अन्तरराष्ट्रिय उडान गर्न सक्ने सातैओटा जहाज पुर्‍याउने योजना बनाएको छु । आन्तरिक उडानका लागि पनि नौओटा जहाज हुनुपर्छ । यसमा दुईओटा सुगम गन्तव्य (ट्रङ्क रूटमा) र बाँकी दुर्गम क्षेत्रमा लैजाने योजना बनाएको छु । यो योजनालाई कार्यान्वयन गर्न मैले इञ्जिनीयरिङ, अपरेशनलगायतको स्पष्ट कार्ययोजना पनि बनाएको छु ।

यसअघि महाप्रबन्धक पद नै अप्ठ्यारो ठाउँका रूपमा परिचित थियो । त्यसलाई कसरी सामना गर्नुहुन्छ ?

विगतमा कार्यकारी अधिकार कसले प्रयोग गर्ने भन्नेसम्बन्धी विवाद थियो, अब त्यो अप्ठ्यारो हटेको छ । किनकी निगमको इतिहासमै पहिलोपटक नेपाल सरकारले खुला प्रतिपस्र्धाबाट योग्य व्यक्तिको छनोट गरेको छ । कार्यकारी अधिकार प्रयोग गर्ने गरी ४ वर्षका लागि महाप्रबन्धक नियुक्त गरेकाले पहिलेको जस्तो कुनै समस्या हुँदैन ।

तपार्इंले अगाडि सारेका निगम सुधारको योजना जति सान्दर्भिक छन्, त्यति नै पूरा गर्न पनि चुनौतीपूर्ण छ । तपाईंका योजनालाई कार्यान्वयनमा ल्याउन सकिएन भने समस्या झनै जटिल हुन्छ । यसलाई कसरी बुझ्नु भएको छ ?

अहिले वायुसेवा क्षेत्रको व्यापार नै अत्यन्तै चुनौतीपूर्ण छ । संसारका धेरै वायुसेवा अझै घाटामा चलेका छन् । नेपालका वायुसेवा कम्पनी पनि अधिकांश नोक्सानीमै चलेका छन्, यसैको कारण पनि नयाँ योजनाको कार्यान्वयन चुनौतीपूर्ण छ । यस क्षेत्रमा राम्रो नाफा कमाउन सकिन्छ तर हरेक दिनजसो आउने नयाँ किसिमका चुनौती र प्रतिस्पर्धालाई सामना गर्नुपर्ने हुन्छ । यो व्यवसाय हरेक दिन अवलोकन गरिरहनुपर्छ, त्यहीअनुसारको रणनीति बनाउनुपर्छ, आफूलाई खरो रूपमा नै प्रस्तुत गर्नुपर्छ । अन्तरराष्ट्रिय हवाई यातायात सङ्गठन (आयटा)ले एशियाली मुलुकमै अबको केही वर्षमा एयरलाइन्सको व्यापार अहिलेभन्दा दुई गुणा बढ्ने अनुमान गरेको छ । यसले पनि निकै राम्रो सम्भावनातर्फ इङ्गित गर्छ ।

निगम सरकारी निकाय भएकाले यसको निर्णय प्रक्रिया लामो हुन्छ, त्यसले पनि प्रतिस्पर्धामा खरो रूपमा उत्रिन समस्या आउन सक्छ नि ?

तपार्इंले ठीक कुरा उठाउनुभयो । हामीले काम गर्दा विभिन्न निकायबाट अनुमति लिनुपर्ने हुन्छ । त्यसो हुँदा बढी समय लाग्नु स्वाभाविक पनि हो । तर, त्यसलाई आवश्यकताअनुसार परिवर्तन गरेर सुधारतर्फ अगाडि बढेका छौं । प्रक्रियाभन्दा पनि हाम्रो आफ्नो प्रोडक्ट राम्रो भयो भने त्यसले प्रतिस्पर्धामा उत्रिन समस्या हुँदैन । समयमै उडान गर्ने र गुणस्तरीय सेवा दिने काम भयो भने निगमलाई निजीसँग प्रतिपस्र्धा गर्न कुनै गाह्रो छैन । निगमको लामो इतिहास, आफ्नै बजार र छवि भएकाले पनि हामीलाई अघि बढ्न त्यति गाह्रो हुँदैन ।

यसअघि बैना रकम पठाउँदा पनि जहाज खरीद प्रक्रिया बीचमै स्थगित भएको घटना ताजै छ । चीनबाट ६ ओटा जहाज ल्याउने प्रक्रिया अगाडि बढिरहेको छ । ती जहाज आउँछन् नै भन्ने आधार के छ ?

म त जहाज आउँछन् भन्नेमा पूरै आशावादी छु । चीनबाट जहाज ल्याउने विषय दुई देशका सरकारबीचको खरीद–विक्री प्रक्रिया हो । निगमको एक्लो पहलमा मात्र जहाज ल्याउन खोजिएको होइन । निगम सरकारको पूर्णस्वामित्व भएको संस्था भएकै कारण नेपाल सरकारकै पहलमा जहाज अनुदान तथा खरीद प्रक्रिया अगाडि बढेको हो । यसकै पहिलो चरणअनुसार व्यापारिक सम्झौता नै भइसकेको छ । नेपाल सरकारकै पहल र पूर्वतयारी भएर चीनले जहाज दिने प्रक्रिया अगाडि बढेको हो । अब वित्तीय सहमति भएर हस्ताक्षर गर्न मात्र बाँकी रहेकाले जहाज आउनेमा ढुक्क भए हुन्छ, आउँछ ।

चिनियाँ जहाज त आन्तरिक उडानका लागि मात्र भनिएको छ । अनि अन्तरराष्ट्रिय उडानका जहाज चाहि कहिले आउँछन् ?

अन्तरराष्ट्रिय उडानका लागि पनि हाम्रो सबैभन्दा पहिलो काम नयाँ जहाज खरीद गर्ने नै हो । जहाज खरीद गर्ने ३ वर्ष अगाडिको पुरानो प्रक्रियामा जाने कि नयाँमा भन्ने विषय निगमको सञ्चालक समितिमा विचाराधीन छ । एयरबसले पनि पुरानै मूल्यमा जहाज दिने भनेको छ । एयरबसको जहाज ल्याउने वा बोइङको भन्नेमा अहिले निर्णय भइसकेको छैन । कसरी अगाडि बढ्दा जहाज छिटोभन्दा छिटो आउँछ भन्ने विषयमा निगमले अध्ययन गरिरहेको छ ।

जहाज थप्दैमा निगम बजारमा स्थापित हुन सक्ला ?

नेपालमा निजी विमान कम्पनीहरू धेरै खुलिसकेका छन् । उनीहरूले पैसा हुनेका लागि राम्रै सेवा पनि पुर्‍याएका छन् । सर्वसाधारण जनतालाई सहुलियत र सुलभ दरमा हवाईसेवा दिनु पनि निगमको दायित्व हो । त्यसैले निगमले निर्धारण गरेको भाडादरले निजीक्षेत्रको भाडादरलाई समेत नियन्त्रण गर्छ । त्यसलाई आधार बनाएर नै निजीक्षेत्रको वायुसेवाले उडान गरेका हुन्छन् । निगममा जहाज हुने हो भने यसले आफ्नै छुट्टै बजार बनाउँछ । निजीसँगको प्रतिस्पर्धाले निगमलाई कुनै समस्या पर्दैन । यदि पर्याप्त मात्रामा जहाज हुने हो भने निगमलाई स्थापित हुन कुनै समस्या हुँदैन ।

निगमले दुर्गम क्षेत्रमा सहुलियत दरमा उडान गरेर सामाजिक सेवा गर्नुपर्छ र नाफा पनि कमाउनु पर्छ । यस्तो अवस्थामा निगमले आन्तरिक उडानको घाटालाई पूर्ति गर्न र नाफा हासिल गर्न सक्ला त ?

हामीले दुर्गम क्षेत्रमा सेवा पुर्‍याउन सहुलियत दरका उडान बढाउँदै लैजानु पर्छ । साथै, पर्यटकीय र सुगम गन्तव्यका नाफामूलक क्षेत्रमा पनि उडान गर्दै जानु पर्छ । अहिले त निगमसँग जहाज नभएकै कारणले रू. २ हजार निगमको भाडादर भएको क्षेत्रमा चार्टर उडान भन्दै निजीक्षेत्रले रू. ९ हजारसम्म भाडा लिने गरेका छन् । यसर्थ, दुर्गममा हामीले पुर्‍याउने सेवा निजीक्षेत्रका लागि ‘मोनिटरिङ’ गर्ने आधार पनि हो । त्यसो भयो भने निजीले पनि धेरै भाडा लिन पाउँदैनन् । त्यसैले निगमले नाफामूलक गन्तव्यमा उडान नगर्ने भनेको होइन, जहाजको सङ्ख्या बढाएर दुवै क्षेत्रमा सेवा पुर्‍याउनुपर्छ भन्ने नै हो ।

जहाज ल्याएर उडान गर्नका लागि निगमले रूट एनलाइसिस चाहि कसरी गरेको छ ?

नेपाल एयरलाइन्स राष्ट्रिय ध्वजावहाक वायुसेवा भए पनि यसले ओगटेको बजार क्षेत्र भने अत्यन्त न्यून छ । त्यसो हुँदा तत्काल कुनै पनि रूट एनलाइसिस गर्नु जरुरी देखिँदैन । किन कि हामीले उडान गर्दै आएका गन्तव्यमा उडान बढाउन पनि कम्तीमा चार–पाँचओटा जहाज आवश्यक भइसकेको छ । अन्तरराष्ट्रिय उडानमा पनि बाहिरबाट आइरहेका एयरलाइन्सले नै निगमको जहाजको आवश्यकता देखाइरहेका छन् । जहाज नभएकैले भएका गन्तव्य तथा उडान सङ्ख्या घट्दै गएका छन् । अहिले उडान बढाउनेबाहेकका नयाँ क्षेत्रको अध्ययन गर्न पनि हामीलाई कुनै समस्या पर्दैन । अन्य मुलुकको अन्तरराष्ट्रिय उडानलाई नै हेर्ने हो भने कुल उडानको ४० देखि ६० प्रतिशत बजारहिस्सा राष्ट्रिय ध्वजावाहकको हुन्छ । हाम्रोमा भने विदेशी वायुसेवाले दैनिक २८/३० ओटा उडान गर्दा पनि निगमले भने मुस्किलले दुईओटा मात्र गर्छ । हामी पनि कम्तीमा ४० प्रतिशत बजारहिस्सा पुर्‍याउने लक्ष्य लिएर अगाडि बढ्छौं ।

निगमले विगतमा आन्तरिक उडानतर्फ २० ओटा र अन्तरराष्ट्रियमा चारओटासम्म जहाज उडाएको थियो । अहिले ती सबै जहाज घटेर दुवै सेक्टरमा दुई/दुईओटा मात्र उडिरहेका छन् । निगमले शाखा कहिलेसम्म पुनःप्राप्ति गर्न सक्ला ?

त्यतिबेला निगमसँग प्रतिस्पर्धा गर्ने जहाज कम्पनी नै कम थिए । त्यतिबेला भारतबाट एयर इण्डियामात्र आउँथ्यो । त्यसबेला जनशक्ति र इन्धन सस्तो थियो भने भाडा पनि राम्रो थियो । अहिले त्यो अवस्था छैन । हरेक सामान महँगो छ तर भाडा सस्तो छ । यस्तो अवस्थामा पुरानो शाख पुनःप्राप्ति गर्नु निकै चुनौतीपूर्ण छ । ४–५ वर्षको योजनाले त्यसो हुन सक्दैन । त्यसका लागि दीर्घकालीन रूपमा योजना बनाउँदै जानु पर्छ । संसारमा सबैभन्दा बढी सम्भावना भएको क्षेत्र नै वायुसेवाको व्यापार हो । अन्य वस्तु उत्पादन गरेर बेच्नुभन्दा वायुसेवाको व्यापार गर्नु कयौं गुणा प्रभावकारी, सहज र फाइदाजनक छ । त्यसैले हामीले पुरानो साख फर्काउने मात्रै होइन, त्यसभन्दा पनि राम्रो गर्न सक्छौं । तर, त्यसका लागि समय लाग्छ ।

निगमका पाइलट आकर्षक सेवा र सुविधाको लोभमा निजी कम्पनीतर्फ आकर्षित भइरहेका छन् । पाइलटहरूलाई निगममै टिकाउने कुनै योजना छन् ?

सेवा र सुविधा आकर्षक दिएर निजीक्षेत्रले पाइलट लैजाने गरकाले निगममा पाइलट नटिकेको कुरामा कुनै शङ्का छैन । हामी आफै प्रतिस्पर्धी बन्न नसकेको र राष्ट्रिय ध्वजावाहकमा काम गर्दा हुनुपर्ने उच्च मनोबल दिलाउन नसकेको अवस्थामा त्यसो हुनु स्वाभाविक पनि हो । बजारमा राम्रो माग भएका र क्षमता भएकालाई यहीँ बसिराख भनेर रोक्नु न्यायसङ्गत पनि हुँदैन । निगममा पाइलटहरूलाई टिकाइराख्नका लागि अरूसरहकै सेवासुविधा दिने र प्रतिष्ठा हासिल गर्ने काम हुनुपर्छ । राष्ट्रिय ध्वजावाहकमा काम गरेको भनेर गर्व गर्न सक्ने र राम्रो पारिश्रमिक पनि पाउने अवस्था सृजना गर्न सक्ने हो भने समस्या समाधान हुन्छ ।

जहाज ल्याएर व्यापार बढाउनुको साटो सिनामङ्गलमा नयाँ भवन बनाएर व्यापार गर्नेतर्फ लाग्नुभयो नि ?

वास्तवमा एयरलाइन्सको मुख्य काम घर बनाउने, भाडामा लगाउने वा अतिरिक्त काम गरेर एयरलाइन्स चलाउने होइन । तर, एयरलाइन्सले होटल खोल्ने वा घर बनाएर भाडामा लगाउने काम गर्नै हुन्न भन्ने पनि होइन । वास्तवमा अहिले हामीले आफूसँग भएको जग्गाको सदुपयोग गर्नका लागि घर बनाउन खोजेका हौं । कि त्यो जग्गा बेच्नुपर्‍यो, होइन भने भएको स्रोत र सम्पत्तिको प्रयोग गर्नुपर्‍यो भनेर दोस्रो विकल्प रोजेका हौं ।

निगमको व्यवस्थापन नै कमजोर छ, आन्तरिक सुधार नै पहिलो आवश्यकता हो भन्ने कुरा कर्मचारीबाट नै आइरहेको छ । यस विषयमा के भन्नुहुन्छ ?

व्यवस्थापन भनेको एकपटक सुधार गरेर मात्र ‘ल अब ठीक भयो’ भन्ने चीज होइन । यो त हरेक दिन र प्रत्येक मिनेट राम्रो हुनुपर्छ । १ वर्ष अगाडिको अनुमानले भोलिको दिन चल्दैन । २० वर्ष अगाडि भएको प्रविधि अहिले परिवर्तन भइसकेको छ । यसर्थ, प्रविधिको सुधार र नयाँ आविष्कार भएअनुसार हामीले काम गर्नुपर्छ । व्यवस्थापनलाई हरेक दिन चुस्त बनाउनुपर्छ । नेपाल एयरलाइन्स वास्तवमा धेरै क्षेत्रका सक्षम व्यक्तिहरूको थलो हो । तिनीहरूबीचको राम्रो समन्वयबाट राम्रो व्यवस्थापन दिन सकिन्छ । निगमको व्यवस्थापनमा केही कमजोरी भएका हुन सक्छन् । त्यसमा सुधार गर्दै लैजानु महत्वपूर्ण कुरा हो ।

निगमलाई निजीकरणका लागि २ वर्षअघि नै प्रक्रिया अगाडि बढाइसकिएको थियो । त्यो विषय कहा पुगेको छ ?

निजीकरण हुनेबित्तिकै हरेक कुरामा सुधार हुन्छ भन्ने कुरामा म सहमत छैन । निजीकरण हुँदा निर्णय प्रक्रिया चुस्तदुरुस्त हुन्छ । त्यसले प्रक्रियागत रूपमा काम गर्न सहज र कम समयमा नै हुन्छ भन्नु ठीक कुरा पनि हो । तर, सबै निजीसंस्थाहरूले राम्रो गरेका पनि छैनन् । सरकारी संस्थाहरू सबै असफल भएका छन् भन्नु पनि गलत हो । नेपालका केही सार्वजनिक संस्थामा समस्या आउँदा सबै खराब नै भए भन्नु उचित होइन । अर्कातर्फ सरकारी संस्थानले जसरी काम गर्न सक्छ, त्यो निजी कम्पनीले गर्न सक्दैन । उदाहरणका लागि निगमले गर्ने भाडादर निर्धारणले निजीक्षेत्रलाई मोनिटरिङ गर्छ । त्यस्तै, विदेशी क्षेत्रमा आफ्नो पहुँच राम्रो बनाउन पनि सरकारी वायुसेवा कम्पनी आवश्यक छ । यसर्थ, निगमलाई निजीकरण गर्नुभन्दा पनि सरकारी संयन्त्रबाट मात्रै सञ्चालन गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

सर्वसाधारणमा रहेको राष्ट्रियताप्रतिको मोहलाई निगमले कसरी प्रयोग गर्न सक्छ ?

हामीले अहिले जहाज थपिहालेको अवस्थामा नाफा कमाउन कम्तीमा पनि २ वर्ष लाग्छ । खासगरी सर्वसाधारण जनतालाई राष्ट्रिय उत्पादनप्रतिको मोह छ । जसरी नेपाल टेलिकमप्रति जनताको विश्वास छ, त्यसैगरी निगमले पनि जनतालाई राम्रो सेवा दिएर नै विश्वास जित्न सक्छ । यसैका लागि सरकारले सहुलियत उडान दिने र थोरै नाफामा पनि धेरै सुविधा दिने गरेको छ । यसलाई बढाउँदै जान्छौं ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s