२२ करोडको स्याउ बिक्री

२२ करोडको स्याउ बिक्री

-सौर्य समाचार

पोखरा, २४ मंसिर । यो वर्ष बोटबाटै व्यापारीले स्याउ किनेपछि मुस्ताङका किसान दंग भएका छन् । बगैँचाबाटै व्यापारीले प्रतिकिलो ५५ देखि ६५ रुपियाँसम्म स्याउ खरिद गरेको किसान बताउँछन् । यो वर्ष मुस्ताङका किसानले २२ करोड रुपियाँभन्दा बढीको स्याउ बिक्री गरेको वरिष्ठ कृषि विकास अधिकृत रेवतीरमण पौडेलले बताए ।
मार्फा गाविसका किसान मुटुक गुरुङले यो वर्ष मात्रै ७२ लाख रुपियाँको स्याउ बिक्री गरेर जिल्लामै नयाँ कीर्तिमान कायम गरेका छन् । डेढ सयभन्दा बढी रोपनीमा उनले स्याउ लगाएका थिए ।
मार्फा गाविसकै अर्का किसान नरबहादुर हिराचनले ३० देखि ३५ लाखको स्याउ बिक्री गरेका छन् । अस्सीदेखि ९० रोपनी जमिनमा स्याउ लगाएका उनी यो वर्ष तुषारोले स्याउ बिगारेको बताउँछन् ।
टुकुचेका इन्द्रबहादुर तुलाचनले ६५ रोपनीमा ३ सय बोट लगाएर १३ लाख कमाएका छन् । आफ्नो बगैँचामा दुई हजार स्याउका नयाँबोट थपेकाले अर्को वर्षदेखि उत्पादन बढ्दै जाने उनले दाबी गरे ।
म्याग्दीको भिरकाटे भन्ने ठाउँमा मुस्ताङ जाने सडक बिग्रेर तीन महिनासम्म गाडी चल्न नसकेपछि जिल्लामा उत्पादन भएको स्याउ ढुवानी हुन सक्दैन कि भनेर किसान चिन्तित थिए । तर दुई महिनाअघि बाटो बनेपछि सडक यातायात सुचारु भएर स्याउ बिक्री भएको छ ।
विदेशबाट आयात गरिएको स्याउको दाँजोमा  मुस्ताङको स्याउ निकै रसिलो र स्वादिष्ट हुने भएकाले यो पोखरा, बागलुङलगायत सहरका उपभोक्ताको पहिलो रोजाइ हुने गर्छ । मुस्ताङमा अहिले चार हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ । जिल्लामा स्याउ लगाउने कृषियोग्य सात सय आठ हेक्टर जमिनमध्ये तीन सय  हेक्टरमा स्याउ लगाइएको छ ।
गत वर्ष मुस्ताङका किसानले तीन हजार सात सय मेट्रिक टन स्याउ उत्पादन गरेर १६ करोड ६५ लाख रुपियाँ आम्दानी भएको थियो । किसानले स्याउबाट सुकुटी, साइडर, जुस र ब्रान्डिस पनि बनाउने गर्दछन् । यी वस्तु स्वदेशी तथा विदेशी पर्यटकले खरिद गरेर आफ्नो देशमा लाने गर्दछन् । कृषि विकास कार्यालयका सक्रियतामा जिल्लाका चार ठाउँमा स्याउका बिरुवा उत्पादन गर्न नर्सरी स्थापना गरिएको छ । टुकुचेमा तीन र जोमसोम गाविसमा एक नर्सरी स्थापना गरी किसानलाई स्याउका बिरुवा सहजरूपमा उपलब्ध गराउन थालिएको छ ।
यसअघि जुम्लाबाट बिरुवा ल्याउँदा धेरै बिग्रने भएकाले मुस्ताङमै नर्सरी स्थापना गरिएको वरिष्ठ कृषि विकास अधिकृत पौडेलले बताए । खास गरेर मुस्ताङका मार्फा, टुकुचे, जोमसोम, कागबेनी र झोङ गाविस स्याउका लागि नामी छन् । जिल्लाका १६ गाविसमध्ये हुसाङ, मुक्तिनाथ, र घमी गाविसमा पनि स्याउखेती हुने गरेको छ ।

Source :http://www.souryadaily.com/2012/12/48105.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s