काठमाडौँमा सडक विस्तार अभियान : चार किमि चिल्लो, ६८ किमि धुलो

काठमाडौँमा सडक विस्तार अभियान : चार किमि चिल्लो, ६८ किमि धुलो

Sunday, 09 December 2012 08:54 नागरिक
 

उपेन्द्र लामिछाने, काठमाडौं, मंसिर २४ – सडक विस्तार अभियानअन्तर्गत राजधानीका सडकमा डोजर कुद्‍न थालेको वर्ष दिन बित्यो। २०६८ कात्तिक २५ गतेबाट सुरु भएको यस अभियानका क्रममा सरकारले ७२ किलोमिटर सडक भत्कायो तर यही अवधिमा निर्माण भने जम्माजम्मी ४ किलोमिटरमात्र भएको छ।

प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता सम्हालेपछि एकवर्षे अवधिका उपलब्धि सुनाउँदै गएको दसैंभित्रै भत्काइएका सबै सडक पिच गरिसक्ने उद्घोष गरेका थिए तर तीव्र गतिमा सडक तयार गर्ने उनको घोषणा सम्बोधनमै सीमित छ।

सहरका धेरै सडक पिच हुन बाँकी मात्र होइन, कतिपयमा ठेक्कासमेत दिइएको छैन। काम सुरु भएकामा पनि कछुवा गति छ। भत्काउने क्रम भने अझै जारी छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीका अनुसार काठमाडौं सहरका ७२ किलोमिटर सडक भत्काइसकिएको छ, थप ४३ किलोमिटर विस्तार (भत्काउने) को क्रममा छ। ‘हाम्रातर्फबाट सडक क्लियर गर्ने काम पूरा गरेका छौं,’ उनले भने, ‘निर्माणको जिम्मेवारी पाएकाले आफ्नो काम पूरा नगर्दा ढिलो भएको हो।’
भत्काउने जिम्मा प्राधिकरणको भए पनि बनाउने काम भने सडक विभाग र महानगरपालिकाको हो।

सडक निर्माण अवरुद्ध हुनुका विभिन्न कारण औंल्याउँछन् सरोकारवालाहरु। जसमध्ये एउटा हो- अदालतको कारणदेखाऊ आदेश। महानगरपालिका- ३५ मा पर्ने कान्तिपुर पब्लिकेसन्स मार्गको विस्तार कार्य यस्तै आदेशका कारण केही समयदेखि अवरुद्ध रहेको तिवारी बताउँछन्। कान्तिपुरले मापदण्डविपरीत बनेको घर किनेको र अदालती आदेश ल्याएर सडक खोल्ने अभियान रोक्ने प्रयास गरेको बताउँदै उनले भने, ‘अन्डरग्राउन्ड केवल रहेको भन्दै उसले तीन महिना समय मागेकाले दिएका हौं। उसले नभत्काए हामी भत्काउँछौं।’

कारणदेखाऊ आदेशपछि पनि चावहिलचोकको एउटा ठूलो घर भत्काएरै छाडेको उनले सुनाए।

विस्तारित सडक निर्माण कार्यको जिम्मेवारी पाएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आफ्नो भागमा परेको ७ वटा सडक विस्तार कार्यमध्ये केही सम्पन्न भएको दाबी गरेको छ। आयोजना प्रमुख श्याम खरेल भन्छन्, ‘केही सडकमा टेन्डर आह्वान बाँकी छ, केही क्षेत्रमा आधारभूत काम सम्पन्न भएको छ।’

प्राधिकरण सडक निर्माणका लागि अवरोध ‘क्लियर’ भइसकेको दाबी गर्छ, आयोजना प्रमुख खरेल ‘पूरै क्लियर नभएकाले’ काम रोकिएको बताउँछन्। ‘यी समस्या टुंगिए हामी समयमै काम सिध्याउँछौं,’ उनले भने।

आयोजनाले जिम्मा पाएको २२ किमिमध्ये जम्माजम्मी अढाइ किमि सडकमात्र पिच गर्न सकेको छ।

उता डिभिजन सडक कार्यालयको पनि आफ्नै गुनासो छ। इन्जिनियर बद्रीप्रसाद शर्मा भन्छन्, ‘बिजुलीको पोल हट्ने बाटो कुर्दाकुर्दै हाम्रो काम ढिलो भयो।’ केही सीप नलागेपछि कतिपय ठाउँमा त पोल नहटाइए पनि पिच गरेको दाबी उनको छ। डिभिजन कार्यालयले जिम्मा लिएको २५ साइटका करिब २१ किलोमिटर सडकमध्ये डेढ किलोमिटरमात्र पिच भएको छ। आउँदो असारभित्र बाँकी काम सक्ने शर्माको दाबी छ।

बाँडचुँड गरेर काम सिध्याउने जिम्मेवारी पाएको तेस्रो निकाय हो काठमाडौँ महानगरपालिका। यसको भागमा ८ किलोमिटर सडक बनाउने जिम्मा छ।। तर यसले एक मिटर पनि पिच गरेको छैन। किन त? निर्माण शाखाप्रमुख सञ्जयराज उपाध्याय भन्छन्, ‘हामीले कामै ढिलो पायौं, ठेकेदारलाई बल्ल जिम्मा लगाएका छौं।’

काम ढिलो हुनुमा धेरैको बहाना सडक क्लियर नहुनु भन्ने छ। निर्माणको जिम्मेवारी पाएकाहरु भन्छन्, ‘मुख्य त बिजुलीको पोल नै हो।’ नेपाल विद्युत् प्राधिकरणका मध्यक्षेत्रीय निर्देशक जुजुकाजी रञ्जित भन्छन्- सडकका घरहरु क्लियर नभएका कारण पोल सार्ने काममा ढिलाइ भयो। ‘रोड क्लियर भयो भनिन्छ तर घरको टपका कारण आकाश क्लिएर भएको हुँदैन,’ उनको गुनासो छ, ‘यस्तोमा हामी कसरी आकाशमा तार तान्न सक्छौं?’

लामो सडकमा एउटामात्र घर भत्कन बाँकी रहे पनि पोल तान्ने काम सुरु गर्न कठिनाइ पर्ने उनले सुनाए। टेन्डर भइसकेको जनाउँदै उनले पनि अन्य कार्यालयका पदाधिकारीकै शैलीमा थपे, ‘सडकका घर क्लियर हुनेबित्तिकै पोलको समस्या हट्छ।

राजधानीको सडक विस्तार प्रधानमन्त्री भट्टराईको एकमात्र गणनालायक काम हो भन्नेहरु धेरै छन्। प्रधानमन्त्री र उनको पार्टी एकीकृत माओवादीले पटि पटकपटक यसलाई प्रमुख उपलब्धि भन्दै आएको छ।

यति हुँदाहुँदै पनि भत्काइएका धुले सडक समयमा किन पिच हुन सकेनन् त? प्रधानमन्त्री कार्यालयका सचिव सचिव कृष्णहरि बास्कोटा भन्छन्, ‘केही ढिला भएको पक्कै हो तर अब तीनदेखि छ महिनाभित्र काठमाडौंको स्वरूप फेरिनेछ।’

सडक निर्माणको जिम्मेवारी पाएका तीनवटा कार्यालय, भत्काउने जिम्मेवारी पाएको प्राधिकरण र सबैबाट अवरोधकको आरोप लगाइएको विद्युत प्राधिकरणबीच कुरा बाझिए पनि बास्तोला भने त्यसलाई स्वीकार गर्न तयार छैनन्। त्यसैले समन्वय अभावबारे उनको प्रस्टीकरण छ, ‘साधनस्रोतदेखि समन्वयसम्म केही कुराको पनि अभाव छैन।’

Source :http://www.nagariknews.com/society/nation/50127-2012-12-09-03-11-43.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s