खेतीबाट मासिक ७० हजार

मिहिनेत र लगनसाथ काम गर्ने हो भने दुर्गम क्षेत्रमा पनि कृषिबाट राम्रो कमाइ गर्न सकिन्छ।

बिहीबार , ७ मंसीर २०६९ ११:४४ एम

ल्हाक्पा शेर्पा भन्छन्, “हाम्रा वरपर थुप्रै सम्भावना छन्। तिनको सही उपयोग गर्ने हो भने बेरोजगार हुने चिन्तै रहँदैन।”

सोलुखुम्बु गार्मा–८, मेमारका ४२ वर्षीय किसान ल्हाक्पा शेर्पा (हे. तस्वीर) यो दुर्गम ठाउँमा खेती गरेर महीनाको रु.७० हजार कमाउँछन्। २०६६ सालदेखि व्यावसायिक खेती गर्न थालेका उनले ७० रोपनी जग्गामा तरकारी, फलफूल, जडीबुटी खेती र पशुपालनसँगै प्राङ्गारिक मल उत्पादन, प्लास्टिक टनेल निर्माण, खाल्डे नर्सरी, संरक्षण पोखरी, थोपा र फिरफिरे सिंचाइ जस्ता कृषिलाई आधुनिक र वातावरण मैत्री बनाउने काम गरेका छन्।

एसएलसी उत्तीर्ण ल्हाक्पाले विदेशमा रोजगारीका प्रशस्त अवसर पाएका थिए, तर स्वदेशमै केही गरेर देखाउने चाहनाले उनलाई यो ठाउँमा पुर्‍यायो। उनी भन्छन्, “हाम्रा वरपर थुप्रै सम्भावना छन्। तिनको सही उपयोग गर्ने हो भने बेरोजगार हुने चिन्तै रहँदैन।” उनले ग्रीन हाउस प्रविधिबाट टनेलमा काउली, बन्दा, मुला, गोलभेंडा, फर्सी लगायतका मौसमी–बेमौसमी तरकारी उत्पादन गरेका छन्। उनका बारी र पाखामा किम्बु, स्याउ, नास्पाती, चिया, बेसार, अदुवा, बासनादार धुपी, बोझो र क्यान्सर रोगमा उपयोगी मानिने लोंठसल्लो जस्ता फलफूल, नगदेबाली र जडीबुटी पनि उत्पादन हुन्छन्। खोर र गोठमा ५०–६० बाख्राका साथै गाई, गोरु, भैंसी छन्। सदरमुकामबाट चार किलोमिटरको दूरीमा हुने उनका उत्पादन जिल्लाका सल्लेरी र नेलेमा लाग्ने हाटबजारका साथै स्थानीय बजारमा बिक्री हुन्छन्। यातायात सुविधाको अभावमा बाहिर लैजान नसकिएकोले आफ्नो क्षमता अनुसार उत्पादन गर्न नपाएको उनको गुनासो छ।

ल्हाक्पा खेर जाने पातपतिङ्गर, घाँसपात, घुरान आदिलाई व्यवस्थित ढङ्गले थुपारेर खाल्डोमा पुरी प्राङ्गारिक मल बनाउँछन्। यसबाट कृषि उत्पादनमा वृद्धि हुने र वातावरण पनि स्वच्छ रहने उनको तर्क छ। खाल्डे प्रविधिबाट नर्सरी राख्दा बिरुवा छिटो–छिटो बढेका र चिसोबाट जोगिएका छन्। सिंचाइको लागि पानी जम्मा हुने संरक्षण पोखरीमा माछा पनि हुर्किरहेका छन्। थोपा र फिरफिरे प्रविधिले बोटबिरुवालाई हानि नगर्ने तथा पानी फारो हुने गरी सिंचाइ गर्न सघाउ पुर्‍याएको छ। करीब १५ रोपनी जग्गामा निजी वन सञ्चालन गरेका ल्हाक्पा इन्धनका लागि दाउराको खपत कम गर्न ब्रिकेट कोइला समेत बनाउँछन्।

ल्हाक्पाको लोभलाग्दो बारी र हरियो वन बाटो हिंड्ने मानिसहरूलाई पनि हेरिरहुँ लाग्ने बनेका छन्। जिल्लाको लागि कृषि अनुसन्धान केन्द्र नै बनेको उनको बारीमा जेटिए पढिरहेका विद्यार्थीहरू सिक्न आउँछन्। श्रीमती र बहिनीको सहयोगमा कृषिमा लागेका ल्हाक्पाको सकुञ्जेल यही काम गर्ने विचार छ। उनी बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खटेर काम गर्छन्। गाँस, बास र कपास दिने उत्कृष्ट पेशा कृषि अपनाउन पाएकोमा खुशी व्यक्त गर्दै उनी भन्छन्, “यसैबाट पाँच जनाको परिवार राम्रोसँग पालनपोषण गरेको छु, दुई छोराछोरीलाई उचित शिक्षा दिलाउन सकेको छु। सोलखुम्बु जिल्लाको कृषिलाई माथि उठाउने उद्देश्यले व्यवस्थित खेती शुरू गरेको हुँ र यसबाट मसँगै जिल्लावासीहरू पनि लाभान्वित भइरहेका छन्।”

जिल्लामा यो स्तरमा सागसब्जी र तरकारी उत्पादन गर्न थालेका ल्हाक्पाले नै हो। हिजो आफूकहाँ आलुबाहेक केही हुँदैन भन्नेहरू पनि अहिले उनको कामबाट आकर्षित भएर तरकारी र नगदेबालीमा रुचि देखाउन थालेका छन्। ल्हाक्पाले गरेको देखेरै आफू पनि यतातिर लागेको बताउने उनका छिमेकी हरिकुमार श्रेष्ठ भन्छन्, “उहाँ हाम्रा लागि उदाहरण हुनुहुन्छ। केको खेती कसरी गर्ने भनेर हामीलाई सल्लाह–सुझ्ाव दिने गर्नुहुन्छ।” जिल्ला कृषि विकास कार्यालयबाट ‘अगुवा कृषक’ घोषित ल्हाक्पा शेर्पालाई कार्यालयका प्राविधिक सहायक भोलानाथ घिमिरे जिल्लाको परम्परागत कृषि प्रणालीमा नवीनता भर्दै वैज्ञानिक कृषि प्रणालीको सुरुआत गरेको श्रेय दिन्छन्।

स्थानीयस्तरमा हुने विभिन्न कृषि प्रतियोगितामा पटक–पटक विजयी ल्हाक्पा जिल्लामा कार्यरत विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) लगायतका संस्थामा कृषि सल्लाहकार समेत छन्। डब्ल्यूडब्ल्यूएफको सहयोगमा दूधकोशी उपवेसिन आयोजनाले उनलाई टनेल बनाउने सामग्री र कृषि औजारमा केही सहयोग गरेको छ।

-शोभा अधिकारी
 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s