पुष्पा बनिन् सीएनएन हिरो (भिडियो सहित)

काठमाडौँ, मंसिर १८ (नागरिक) – जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत यो वर्षका लागि सीएनएन हिरो घोषित भएकी छिन्। नेपाली समय अनुसार आज बिहान सीएनएनले विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणाम अनुसार उनलाई सीएनएन हिरो घोषणा गरेको हो। ‘यो मेरा बच्चाहरुका लागि र यो मेरो देश नेपालको लागि’, उपाधि पाएपछि छोटो मन्तव्य व्यक्त गर्ने क्रममा भावुक हुँदै पुष्पाले भनिन्, ‘मेरो लागि भोट गर्ने र मेरो सपनामा विश्वास गर्ने सबैलाई धन्यवाद।”

‘मेरो लागि यसले धेरै अर्थ राख्छ, अझै पनि धेरै बालबालिकाहरु जेलभित्र छन्, निश्चय पनि मामुले तिमीहरु सबैलाई  बाहिर निकाल्नेछ’ उनले भनिन्। 

भिडियो हेर्नुस् –

सिएनएन हिरोको  उपाधिसँगै उनले साढे दुई लाख अमेरिकी डलर पनि पुरस्कार पाएकी छिन्। विश्वका विभिन्न देशमा रहेर समाजमा उल्लेखनीय योगदान दिनेहरुलाई सिएनएनले वर्षेनी सिएनएन हिरोको उपाधि दिँदै आएको छ। सिएनएनले शीर्ष १० जनालाई चयन गरेपछि विश्वभरबाट भएको इन्टरनेट भोटिङका आधारमा सिएनएन हिरो चयन गर्ने गरिन्छ। 

सीएनएन हिरो घोषणा हुने उनी दोस्रो नेपाली हुन्। यसअघि महिला बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला दुई वर्षअघि सीएनएन हिरो घोषित भएकी थिइन्।

पुष्पाबारे ‘नागरिक’ले  दुई वर्ष अघि छापेको फिचर –

‘नाम पुष्पा बस्नेत। उमेर २६। घर काठमाडौं। शिक्षा विषय लिएर काठमाडौं विश्वविद्यालयमा स्नातक गर्दै।’ उनको परिचयलाई यतिमै खुम्च्याउने हो भने निक्कै अपूरो हुन्छ। उनको परिचयसँग साना नानीहरूको भविष्य जोडिएको छ। ती नानीहरू जसले जेलबाहिरको संसार चिहाउने सपना सायदै राखेका थिए। तर, संयोग त्यस्तै पर्‍यो। जसले ती नानीहरूको उज्ज्वजल भविष्यलाई उनको लक्ष्यसँग ल्याएर जोडिदियो।

पाँच वर्षअघिको कुरो। उनी स्नातक तहको फिल्ड वर्कका बेला कालीमाटीस्थित प्रहरी कार्यालय पुगिन्। त्यहाँ जेल परेका अविभावकसँगै साना नानीहरू पनि थिए। लालाबालाको अवस्थाले उनको युवा मन चसक्क बिझ्यो। अमिलो मन लिएर फर्किन् उनी।

 

केही समयपछिको कुरो। बस्नेत केही साथीहरूको साथमा कक्षा छाडेर घर जान लागेका बेला कलेजले उनीमाथी कारबाही गर्‍यो। उनी एक वर्षका लागि निलम्बनमा परिन्। ‘गल्ति त मैले गरेको थिएँ,’ बस्नेतले भनिन्, ‘तर सम्झाउन सकिन्थ्यो, एक्कासी त्यस्तो निर्णय सुन्दा म निरास भएँ।’

 

 

हुन त उनलाई यसअघि नै जीवनमा निरास बनाउने दिन नआएका भने हैनन्। एसएलसीको रिजल्टको दिन। विद्यालयबाट परीक्षामा सामेल १ सय २८ विद्यार्थीमध्ये उनी १ जना मात्र फेल भएकी थिइन्। ‘बाबाआमाको उत्साहले फेरि राम्ररी पढेँ र पास भएँ,’ उनले भनिन्।

घरमा खानलाउनको कमी थिएन। उनीसँग डुल्ने, घुम्ने र रमाइलो गरी दिन बिताउने साथीहरूको पनि कमी थिएन। युवा अवस्था चन्चल मन। कलेजले गरेको निर्णयमा निरास भई कुलतमा लाग्ने सम्भावना पनि उत्तिकै थियो।

गलत सम्भावनाविपरीत उनको मस्तिष्कमा एउटा नौलो सोचले जन्म लियो – अभिभावकसँग बाध्यतावस जेलमा रहेका नानीहरू पढाउने। ‘वाह!’ उनको निरास मन एकाएक उत्साहित भएर आयो। ‘आसा र आसावाद शिरमाथि, दुर्भाग्य र निरासा पैतालामुनि’ भनेझैं उनको जीउमा आसा र उत्साह सञ्चार भयो।

‘मैले मेरो योजना आफ्ना केही साथीहरूलाई सुनाएँ,’ उनी हौसिइन्। उनी र उनको योजनाबाट प्रभावित साथीहरू मिलेर आफ्नै खल्तीबाट ६० हजार रुपैयाँ जुटाए। यसले काम सुरु गर्न उनलाई नयाँ ऊर्जा थप्यो। आर्थिक सहायता दिएपनि उनका साथीहरू सधैं उनकै बाटोमा दौडधुप गर्न भने सकेनन्। एक्ली भएर पनि उनले हिम्मत हार्ने कुरै भएन।

उनको मनले त हिँड्ने बाटो समाइहाल्यो। तर त्यो बाटोमा पाइला चाल्न त्यति सहज भने थिएन। आफ्ना सन्तानलाई हत्पति कसैको जिम्मामा छोड्न कारागारभित्रका जोकोहीलाई गाह्रो थियो। ‘त्यसमाथि अल्लारे केटी म, कसले पत्याउने?’ उनी सम्झन्छिन्, ‘कारागारकी नाइके दिदीलाई भन्न लगाएर बल्लबल्ल ४ जना बालबालिकाबाट काम सुरु गरेँ।’

 

 

 आठ महिनादेखि १८ महिनासम्मका ती चार केटाकेटीलाई सम्हाल्न उनलाई सहज भने थिएन। दिनभरि तिनैलाई भुलाउने, खेलाउने, खाना ख्वाउने गर्थिन्। साँझ परेपछि फेरि कारागारमै पुर्‍याउन जान्थिन् उनी।

बिस्तारै उनको सफल प्रयासले केटाकेटीका अभिभावकका मन पग्लन थाल्यो। एक-दुई-तीन गर्दै पुष्पाको काखमा ३० भन्दा धेरै नानी खेल्न आए। यता नानीहरू थपिँदै जान्थे, उता उनको साथमा रहेको पैसा सकिँदै जान्थ्यो। उनलाई दिनानुदिन खुसी र बेचैनीले एकैपट अंगाल्न आयो। ‘सबैले मेरो नानी लैदेऊ भन्दा खुसी हुन्थेँ,’ पुष्पा मलिन भइन्, ‘उनीहरूलाई कसरी गाँस जुटाउने भन्ने चिन्ताले मन निक्कै पिरोल्थ्यो।’

सोखका लागि भोजभतेरमा ठूलो रकम खर्चने सहरमा धेरै भेटिन्छन्। त्यसैका निम्ति लाखौं खर्च गर्न हिच्किचाउँदैनन् पनि। तर असहाय लालाबालाका निम्ति एक रुपैयाँ झर्नलाग्दा तिनैका हात काँप्छ।’मलाई निक्कै बिडम्बना लाग्छ,’ पुष्पा दुखेसो पोख्छिन्, ‘साना असहाय नानीहरूलाई असल मान्छे नबनाएसम्म देश सुध्रँदैन भन्ने सबैले बुझ्नुपर्छ।’ त्यो पुष्पाले बेलैमा बुझिन्। थोरै मात्र मान्छेहरू – जसको ठूलो हृदय हुन्छ, उनीहरू नै पुष्पाको जाँगरमा हौसलाको ताली पिट्न आए।

काम हेर्न उनको दैलो पुगेकाहरू कसैले खाना जुटाइदिन्थे त कसैले पढाइ खर्च। बढ्दै गएका केटाकेटीको जेलबाहिरकै संसारमा रमाउने चाहना थियो। चौबीसै घण्टा उनीहरू पुष्पाको सामिप्यतामा लुटपुटिन चाहन्थे। केही सिक्न चाहन्थे। केही बन्न चाहन्थे। अब भने काखबाट ओर्लेर हुर्कंदै गरेका केटाकेटीलाई उनले आफूसँगै राख्न थालिन्। उनीहरूलाई नियम बनाएर पढाउने, खेलाउने, घुम्न लैजाने, नैतिक ज्ञान सिकाउने यस्तै दिनचर्या रह्यो उनको।

उनले खोलेको ‘पूर्वबाल विकास केन्द्र’ मा आफ्ना सन्तानलाई लगेर पढाइदेऊ भन्ने खबर पोखरा, नेपालगन्जदेखि पनि आउन थाल्यो। ‘तर चाहँदा चाहँदै पनि मैले धेरैलाई समेट्न सकिनँ,’ उनले भनिन्।

अरूका लालाबाला। लोट्लान्, चोटपटक लाग्ला, एक्कासी दुर्घटनामा पो पर्छन् कि? उनलाई निक्कै चिन्ता लाग्छ। ‘रातमा यिनीहरूकै आसपास पल्टने गर्छु,’ नानीहरूतिर आँखा सोझ्याउँदै उनी भन्छिन्, ‘यिनकै भविष्यबारे सोचेर बस्छु।’

सानो उमेरमा धेरै बोझ बोकेको भन्दै उनका अभिभावक बेलाबेला गुनासो गर्न पुग्छन्। तर साना नानीहरूले ‘मामु’ भनेर बोलाउँदा उनलाई आफू निक्कै जिम्मेवार भैसकेको महसुस हुन्छ।

यस्तै खुसी र आत्मसन्तुष्टिका बलले उनी अगाडि बढ्दैछिन्। आश्रित बालबालिका बिरामी पर्दा भने उनलाई चर्को समस्याको गाँठोले कस्छ। केही हप्ता अघि मात्र दुई केटाकेटीको अप्रेसन गर्न अभिभावकले पहिराइदिएको हातको बाला बेच्न पर्‍यो उनले। ‘अब केही पाइनँ भने यो पनि बेच्छु,’ बाँकी रहेको बाला देखाउँदै उनी भन्छिन्, ‘मलाई यिनको भविष्यभन्दा प्यारो अरू केही छैन।’

साना नानीहरूको भविष्य उन्नु नसा भैसकेको छ। अब यो कामबाट हात झिक्छु भन्ने उनले सपनामा पनि सोचेकी छैनन्। ठूला-ठूला कारागार भएका जिल्लामा यस्तै केन्द्र खोल्ने उनको इच्छा छ। ‘तर दिर्घकालीन स्रोत नभई खोलेर हुँदैन,’ उनी भन्छिन्, ‘साना नानीहरू भोका र अशिक्षित भए भने त्यसले यो मन धेरै पिरोल्छ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s