निष्ठा र राष्ट्रिय अखण्डताका पक्षधर

-कृष्ण पौडेल

समकालीन नेपाली राजनीतिलाई बेइमानी, भ्रष्टाचार र अनैतिकताले गाँजिरहेका बेला नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङको शनिबार भएको निधनको खबर सुन्ने जोकोही पनि दु:खित र मर्माहत भएका छन् । बिपी, पुष्पलाल, गणेशमान, मनमोहन र मदन भण्डारीजस्ता राजनेताको योगदानले बनेको समकालीन राजनीति यो रूपमा विकृत हुनु आपैँmमा विडम्बना हो । तामाङको अत्यन्त इमान्दार छवि, निष्ठा र सामान्य जीवनका कारण पछिल्लो समयमा उहाँले पाउनु भएको सम्मान र चर्चाले उनलाई कुनै दलविशेषको भन्दा पनि सबै नेपालीले गौरव र अनुसरणलायकको व्यक्तित्व र पहिचान स्थापित गर्नु भएको थियो । नेपाली राजनीतिमा मौलिक र अनुकरणीय पहिचान बनाएका ७८ वर्षीय तामाङले यति चाँडै र सहजरूपमा मृत्युवरण गर्नु होला भन्ने कसैले सोचेका थिएनन् । यो उमेरमा पनि फुर्तिला र जीवनका अनेकन् पहेलीमा क्रियाशील तामाङको निधन यति छिट्टै होला भन्ने लागेको थिएन । आफ्नो निधनलाई नेपाली राजनीतिका शीर्षस्थ नेतृत्वदेखि सर्वसाधारण नागरिकको पर्याप्त ध्यानाकर्षण गर्न तामाङ सफल रहेका छन् । तर, मृत्यु जस्तो अवसान र अनिवार्य सत्यलाई सबैले स्वीकार गर्नुपर्ने प्रकृतिको नियम हो । समकालीन राजनीतिको पहिलो पुस्ताको प्रतिनिधिको रूपमा रहेका तामाङले सत्ता, सुविधा, व्यक्तिगत सम्पत्ति र प्रचारलाई कहिल्यै प्राथमिकता दिएनन् । ५५ वर्ष राजनीतिमा रहेर कांग्रेसलाई सांगठनिक र वैचारिक नेतृत्व दिएका तामाङ एक परिपक्व राजनेताको पदयात्रामा अघि बढिरहेका थिए । दल, जात र भूगोल विशेषभन्दा माथि उठेर मुलुकको राष्ट्रिय एकता, हित र अखण्डताको पक्षमा गरेको वकालत र पहरेदारीको प्रयत्नका कारण आम नागरिकबीच उनी लोकप्रिय रहे । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति सम्भावित उम्मेदवारीलाई समेत अस्वीकार गरेका तामाङ पछिल्ला दिनहरूमा भावी प्रधानमन्त्रीको रूपमा चर्चामा पनि रहे ।
दोलखाको झुलेमा वि.सं. १९९२ मा जन्मनुभएका तामाङको शिक्षादीक्षा भारतको खर्साङमा भएको थियो । त्यही केही समय शिक्षण पेशा गरेका उनी ००७ सालको नेपाली क्रान्तिबाट प्रभावित भएर ०१४ सालबाट कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशील रहनु भयो । ०१७ मा ६ महिना जेल बसेका तामाङले बिपी कोइरालासँग भारतमा निर्वासित जीवन बिताए । प्रारम्भमा भारतमा रहेर नेपाली सीमा क्षेत्रबाट पञ्चायती निरंकुशताविरुद्ध सशस्त्र आन्दोलन संयोजन गरेका तामाङले बंगलादेशको स्वतन्त्रताको आन्दोलनमा समेत सहयोग पुर्‍याएका थिए । राष्ट्रिय मेलमिलाप र शान्तिपूर्ण आन्दोलनमा आफूलाई परिवर्तन गरेका तामाङले ०२९ देखि पाँच वर्ष नख्खु जेलमा बन्दी जीवन बिताए । अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनको पक्षमा पार्टीलाई उभ्याउँदै तामाङ शान्ति र लोकतन्त्रको पक्षधरको रूपमा निरन्तर सक्रिय रहे । ०४५ देखि कांग्रेसको केन्द्रीय सदस्य बनेका तामाङ प्रतिनिधिसभाका सांसद र कानुन तथा न्यायमन्त्री पनि भए । कांग्रेसको पछिल्लो महाधिवेशनमा सभापतिको प्रत्यासी पनि बनेका थिए र सुशील कोइरालासँगको प्रतिस्पर्धामा उनले अत्यन्त थोरै मत हासिल गरेका थिए । प्रतिस्पर्धामा उनले मत कति ल्याएभन्दा पनि उनको उम्मेदवारी केका लागि भन्ने कुरा महत्त्वपूर्ण थियो । नेपाली राजनीतिमा व्याप्त परम्परागत र सामन्ती संस्कारप्रति धावा बोल्दै उनले पार्टी र समाज रूपान्तरण अभ्यासको दृढतापूर्वक अगुवाई गरे । झण्डै १५ वर्षदेखि पूर्वसांसद तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको घरमा बसिरहेका तामाङको जीवनशैली त्यागी र विलासिताभन्दा टाढा रहेको छ । झण्डै ४० वर्षदेखि एकल जीवन बिताइरहेका तामाङ आफ्ना लागि भान्सादेखि घरायसी धन्दासमेत आपैँm गर्थे । परिवार, आफन्त र सम्पत्तिको मोहबाट मुक्त तामाङ नेपाली राजनीतिमा शालीनता, लोभरहित र आग्रहरहित व्यक्तित्वको सजीव तस्बिर हो ।
अध्ययनशील नेता तामाङलाई वौद्धिक र दार्शनिक व्यक्तित्वको रूपमा पनि लिइन्छ । जस्तोसुकै अवस्था र परिस्थितिमा समान व्यवहार गर्ने उनको सर्वप्रिय शैली थियो । उनको अर्को विशिष्ट पहिचान भनेको मुलुकलाई जातीय रूपमा विभाजन र त्यसले सिर्जना गर्ने सामाजिक महारोगविरुद्धको निष्ठा हो । ०६२/६३ को जनक्रान्ति र परिवर्तित राज्यव्यवस्थालाई सही तवरबाट व्यवस्थापन गर्ने आँट, तत्परता र नेतृत्व कौशलताको अभावले मुलुक ग्रसित भएको छ । मुलुकको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानप्रति आँखा चिम्लिएर एकल जातीय पहिचानको नाममा जातीय विद्वेष र नेपाली समाजलाई विभिन्न नाममा विभाजित गर्ने विषाक्त बिचारहरू देखा परे । ठूलो भनिएको पार्टी एमाओवादीले गैरजिम्मेवारीपूर्ण ढंगबाट जातीय विभाजनको बिउ रोपेर जनभावना भड्काउने कार्यमा आफूलाई उद्धत बनायो । नेकपा (एमाले) का उपाध्यक्ष अशोक राईलगायत ठूला दलका ठूला भनिएका नेताहरू जातीय राज्यको पक्षमा उभिएर मुलुकलाई विभाजित गर्ने उदघोष पनि गरे । राज्यको सबै तहतप्काका नागरिकलाई राजनीतिक, आर्थिक र सामाजिक हिसाबले निर्वाध रूपमा समावेशी बनाएर परिवर्तन र आम नागरिकको भावना मुताविक शान्ति, संविधान र राज्यको सार्थक पुन:संरचनाको गुरुत्तर दायित्वप्रति आँखा चिम्लिएर नेताहरू गैरजिम्मेवारी र अकर्मण्यताको बन्दी बने । परिणामत: नेपाली जनताको ६ दशक लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानसभाको पनि अवसान भयो । संविधानसभालाई अन्तत: परिणामविहीन बनाउने विषय जातीय मुद्धा नै भयो । नेपाली समाजमा सीमान्तीकृत समुदायको रूपमा रहेका तामाङ अर्थात एक महत्त्वपूर्ण जनजाति समुदायको नेता भएर पनि उहाँ कहिल्यै बिचलित र बहकिनु भएन ।  मुलुकभित्र जातीय दुन्दुभी चलिरहेका बखत उहाँ बहुजातीय पहिचानयुक्त राज्य निर्माणको पक्षमा उभिएर आफूलाई कुनै जातविशेषभन्दा पनि सबै नेपालीको साझा र असल नेताको रूपमा उभ्याउनु भयो ।
वास्तवमा नेता तामाङ नेपाली राजनीतिका एक अनुकरणीय र विशिष्ट धरोहर हुन् । उनले राजनीतिक नेतृत्वमा हुनुपर्ने गुणहरूको प्रतिमूर्तिको रूपमा आफूलाई उभ्याए । असल नेता हुन वा नेतृत्वको कौशलताको परीक्षण केवल निर्वाचन वा त्यसबाट प्राप्त विजय मात्रै सबै कुरा होइन रहेछ भन्ने कुरा पनि तामाङले प्रमाणित गरिदिए । उनले सीमान्तीकृत समुदाय यो वा त्यो जातको नभनी अधिकार र स्रोतसाधनमाथिको पहँुच स्थापित गर्नुपर्ने विचार प्रस्तुत गरे । आज मुलुकलाई यो वा त्यो नाममा विभाजित, अनिर्णित र बन्दी बनाउने अनि पछाडि धकेल्ने प्रयत्न गर्नेहरूले नेता तामाङबाट सिक्नुपर्ने धेरै कुरा छन् । राजनीतिलाई व्यवसाय बनाउने, आफ्नो स्वार्थपूर्तिका लागि मुलुकलाई बन्धक बनाउने, व्यक्तिगत सम्पत्ति आर्जन र अपत्यारिलो विलासी जीवनशैलीका अभिलाषी र भोगीहरूले तामाङलाई गुरु थाप्नुपर्छ । राजनीतिलाई इमान्दार र स्वयंसेवाको अभ्यासको रूपमा र नेतृत्वलाई स्वच्छ, गतिशील र प्रतिबद्ध बनाउन चाहनेहरूले उहाँको आदर्शलाई सम्मान र अनुकरण गर्न सक्नुपर्छ । शायद उहाँ बाँचिरहेका भए भविष्यमा कुनै न कुनै महत्त्वपूर्ण जिम्मेवारी पाउने सम्भावना थियो । राष्ट्रपति वा प्रधानमन्त्री भएर मुलुकको वर्तमान संक्रमणकालीन परिवेश र विभिन्न हिसाबले विभाजित मानसिकताको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, सबै नागरिकले मेरो देश भनेर गौरव गर्ने गरी राज्यको सार्थक पुन:संरचना गर्ने अनि आर्थिक समृद्धिको यात्रालाई व्यवस्थित गर्ने कार्यदिशा अघि बढ्न सक्थ्यो होला । तामाङको भौतिक उपस्थितिको यो अनुमान केवल भावनामै सीमित रह्यो नै । अबको मुख्य काम भनेको उहाँको आदर्श र व्यक्तित्वबाट सिकेर नेपाली राजनीतिलाई सङ्ल्याउने र निकास दिनु नै हो । मुलुकको वस्तुगत अवस्था, उहाँले दिएको सुझाव, एमालेको दृढ अडान, र आम नागरिकको चाहनाबमोजिम बहुजातीय र पहिचानयुक्त पुन:संरचना नै अहिलेको आवश्यकता हो । वर्तमान अन्योलपूर्ण अवस्थाको अन्त्य, राष्ट्रिय सहमतिको सरकार, शान्ति र संविधानका लागि ठोस कार्यदिशासहित अघि बढ्नु नै तामाङप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुनेछ । उहाँको योगदानलाई चिरस्थायी राख्न उहाको पार्टी र राज्यले केही गर्न जरुरी छ । उहाँप्रतिको सम्मान मुलुकको बिग्रदो राजनीतिलाई सुद्धीकरण गर्ने अभियानको थालनी पनि हुनेछ ।

Source : http://www.souryadaily.com/2012/12/03.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s