अर्को मंसिरबाट राष्ट्रिय परिचयपत्र

Wednesday, 28 November 2012 11:01 नागरिक

अर्जुन सुवेदी, काठमाडौं, मंसिर १३ – आगामी मंसिरभित्रै नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र वितरण थालिसक्ने गरी सरकारले प्राविधिक तयारी अघि बढाएको छ।
सबै नागरिकको व्यक्तिगत विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समावेश गर्दै परिचय नम्बर प्रदान गर्ने गरी राष्ट्रिय कार्ड वितरण गर्न लागिएको हो। सरकारले मेसिनले पढ्न सक्ने (मेसिन रिडेबल) कार्डका रूपमा राष्ट्रिय परिचयपत्र छाप्ने उपकरण खरिदको टेन्डर प्रक्रिया थालिसकेको छ।

‘आगामी मंसिरदेखि नै सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र ‘स्मार्ट कार्ड’ वितरण गर्नसक्ने गरी टेन्डर प्रक्रिया अघि बढाइएको छ,’ गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका प्रमुख कार्यकारी निर्देशक तुलसीप्रसाद गौतमले भने, ‘अब एसियाली विकास बैंक (एडिबी) बाट बोलपत्र अनुमोदन भएपछि दुई साताभित्रै टेन्डर सूचना प्रकाशित हुन्छ।’

 

 उनले जतिसक्दो छिटो उपकरण खरिद गरी स्मार्ट कार्ड वितरण गर्न मिल्नेगरी केन्द्रले बोलपत्रसम्बन्धी कागजात एसियाली विकास बैंक मुख्यालयमा पठाइएको बताए। उनका अनुसार असारसम्ममा उपकरण उपलब्ध गराउने कम्पनी छनौट भइसक्नेछ।

कार्यकारी प्रमुख गौतमका अनुसार एडिबीको सहयोगमा ‘पाइलट परियोजनाका रूपमा’ केन्द्रले सुरुमै इन्टरनेट सुविधा भएका दुई निर्वाचन क्षेत्रका झन्डै एक लाख १० हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्नेछ। जसमा उपकरण खरिद, पाइलट प्रोजेक्ट र तालिमका लागि एडिबीले झन्डै ८० लाख डलर उपलब्ध गराउनेछ। त्यसबाहेक सम्पूर्ण जिल्लामा १६ वर्ष नाघेका झन्डै एक करोड २५ लाखभन्दा बढी नागरिकलाई परिचयपत्र वितरणका लागि चाहिने रकमका लागि विश्व बैंक लगायत दातृ निकायसँग छलफल भइरहेको गौतमले बताए। उनका अनुसार एक व्यक्तिका लागि परिचयपत्र तयार हुँदा झन्डै दुई डलर खर्च हुन्छ।

फोटो, हस्ताक्षर, औंठाछापलगायत सम्पूर्ण व्यक्तिगत विवरणसहितको ‘एटिएम कार्ड’ आकारकै कार्डको नमुना गृहमन्त्रालयले मन्त्रिपरिषदमा पठाइसकेको छ। गौतमका अनुसार केन्द्रले निर्वाचन आयोगसँग समन्वय गरी आयोगले संकलन गरेको विद्युतीय मतदाता नामावलीमा भएका विवरणलाई प्रयोग गर्नेछ। जसअन्तर्गत आयोगले १ करोड ८ लाख विद्युतीय मतदाता नामावली संकलन गरिसकेको छ। विद्युतीय मतदाता नामावली संकलन गर्ने बेलामै फोटो, व्यक्तिगत विवरण, औंठाछाप, हस्ताक्षर लगायत विवरण संकलन गरिसकेको छ। ‘आयोगले संकलन गरेका विवरण नै हामीले राष्ट्रिय परिचयपत्रका लागि प्रयोग गर्छाैं,’ गौतमले भने, ‘त्यसबाहेक विदेशमा रहेका कारण छुटेका नेपालीले पनि कार्ड लिन सक्छन्।’ उनले तीन चरणमा पाँच वर्षभित्र देशभरका १६ वर्ष उमेर पूरा भएका सबैलाई विद्युतीय कार्ड वितरण गरिसक्ने बताए। नेटवर्किङ सिस्टमबाट उक्त कार्ड देशभरका तोकिएका सरकारी कार्यालयमा प्रयोग हुनेछ।

केन्द्रका अनुसार हाल राष्ट्रिय परिचयपत्रका लागि सरकारले सबै जिल्लामा नेटवर्किङ, क्षेत्रीय, जिल्ला र केन्द्रमा आवश्यक यन्त्र एवं उपकरण जडान, व्यक्तिगत विवरण प्रशोधन केन्द्र निर्माणको काम भइरहेको छ। निर्वाचन आयोगले संकलन गरेको विद्युतीय मतदाता विवरणमा केन्द्रले प्रशोधन तथा जिल्ला प्रशासन, मालपोत, कर कार्यालय लगायत निकायसँग रहेका विवरण एकीकृत गरी प्रशोधन गर्ने काम भइरहेको केन्द्रले जनाएको छ।
उनका अनुसार ‘स्मार्ट कार्ड’ साइजको परिचयपत्रमा सबै नागरिकलाई नदोहोरिने गरी परिचय नम्बर दिइनेछ। त्यही नम्बरका आधारमा व्यक्तिको सबै विवरण रेकर्ड रहनेछ। जुन कार्ड अख्तियार प्राप्त निकायमा ‘स्विप’ गर्दा ऊसँग सम्बन्धित सबैखाले व्यक्तिगत विवरण समावेश हुन्छ। राहदानी लिँदा, मालपोतमा जग्गा पास गर्ने लगायत कामका लागि उसको व्यक्तिगत विवरण कार्डमा समावेश गरिनेछ। तोकिएको प्रयोजनका लागि बाहेक सबै व्यक्तिगत सूचना गोप्य राखिने र अरूको कार्ड दुरुपयोग नहोस् भनेर सुरक्षाका धेरै तरिका अपनाइने गौतमले बताए। केन्द्रका अनुसार कार्ड जारी भएपछि नागरिकले कार्डबाटै निश्चित उमेर पुगेकाको संख्या थाहा पाउन सकिने र त्यो विवरण उपलब्ध गराएर त्यसैका आधारमा मतदान गर्न पाउनेछन्।

गृह प्रवक्ता शंकर कोइरालाले क्रमशः नागरिकताको सट्टा यो परिचयपत्र प्रयोगमा ल्याइने बताए। उनले यो परिचयपत्र जारी भएपछि अर्काको नाउँमा हुने जालसाजी, करछली नियन्त्रणमा सघाउ पुग्ने बताए। ‘बाहकको औंठाछाप नै भएपछि अर्काको नाउँमा जालसाजी गर्ने डर हुँदैन,’ कोइरालाले भने, ‘परिचय नम्बरमा उसले देशका सबै ठाउँबाट लिएको सेवा अपडेट हुने भएकाले कसले के गर्‍यो कार्डबाटै सजिलै पत्ता लगाउन सकिन्छ।’
निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारले विद्युतीय मतदाता नामावली संकलन गर्ने बेला सबै विवरण संकलन गरिएको बताए। ‘हामीले संकलन गरेको विवरणको प्रयोजन हाललाई मतदानका लागि मात्रै हो,’ आयुक्त यादवले भने, ‘सरकारले निर्णय गरे अन्य कामका लागि पनि प्रयोगमा आउन सक्छ।’

Source : http://www.nagariknews.com/infotech/49541-2012-11-28-02-28-06.html

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s