रमणीय रामसार

माइपोखरी (इलाम), कार्तिक २५ – तीन वर्षअघि पूर्वको प्रसिद्ध धार्मिकस्थल माइपोखरी रामसार क्षेत्रमा सूचीकृत भएपछि स्वदेशी र विदेशीको आगमन बढेको छ । मुलुकभरका ९ मध्ये पहाडी क्षेत्रको एक मात्र यो रामसार क्षेत्रमा जाने बाटो राम्रो नहुँदा रुटका गाडी चल्दैनन् । नियमित गाडी नहुँदा यातायातका साधनले जथाभावी पैसा असुल्छन् । बाटो खनेको झन्डै ५ दशक बित्दा पनि पिचको त कुरै छाडौं, ग्राभेलसमेत हुन सकेको छैन ।

 

झन्डै १ घन्टा बिम्ब्लाटे बजारमा खोजेपछि एउटा दूध बोक्ने गाडी  भेटियो । ३ हजार रुपैयाँ तिर्ने भएपछि त्यो गाडी माइपोखरी जान सहमत भयो । जमुना गाविसको एक परिवारसँग मिलेर त्यतातिर जाने भइयो । पछाडि र हुटमा दूधका क्यान टनाटन बोकेको साइड हेर्ने ऐनासमेत नभएको त्यो थोत्रे गाडी मेचीमार्गलाई छाडेर दायाँतिर मोडियो । करिब ८ सय मिटर पर पुगेपछि गाडी धूलो उडाउँदै र उफार्दै अघि बढ्यो । ‘यति धेरै पर्यटक पुग्ने ठाउँमा जाने सडकको हालत यस्तो छ,’ दुई जनाको क्षमता भएको सिटमा तीन जनासम्म कोच्चिएर यात्रा गरिरहेकी मञ्जु खनाल आफ्नै सुरमा भन्दै थिइन््, ‘बाटो राम्रो भए पर्यटकलाई कति सुविस्ता हुने थियो । गन्तव्यमा छिट्टै पुगिन्थ्यो । १२ किलोमिटर बाटो बनाउन त त्यति समस्या हुनु नपर्ने सरकारलाई ।’

अप्ठ्यारै बाटो भए पनि इलामेली पौरख नियाल्दै हिंड्दा निकै आनन्द अनुभूति हुने । खाली जग्गा कतै छैन । अलंैची, चिया, अदुवा, खुर्सानी लगायतका नगदेबाली जताततै लगाइएका छन् । जति माथि गयो उति आनन्द लाग्ने दृश्य । बस्तीको बीचबाट गएको बाटो । धेरैको घरको आँगनैबाट गाडी गुड्ने । चिटिक्क परेका घर । सबैजसोका घर वरिपरि फूल रोपिएका । हेर्दै सम्पन्न लाग्ने जीवनशैली । मौसम सफा भएकाले धेरै टाढासम्मका दृश्य सजिलै देखिने । झन्डै एक घन्टा गुडेपछि माइपोखरी पुगियो ।

माइपोखरी छिर्ने गेटे छेउमै होटल व्यवसाय गर्दै आएका माइपोखरी धार्मिक वन समूहका कोषाध्यक्ष ङमिा दोर्जे शेर्पाले पनि बाटोकै समस्या सुनाए । ‘पचास वर्ष भयो बाटो खनेको, उनले भने, ‘तर कहिल्यै पिच भएन ।’ १२ किलोमिटरमध्ये ८ सय मिटर मात्रै पिच भएको छ । अरू ठाउँमा ग्राभेलसमेत भएको छैन । कतै-कतै सोलिङ गरिएको छ । ती ठाउँमा गाडीले यात्रुलाई थचारिदिंदा झन् असुविधा छ । अहिलेसम्म गाडी रुटमा चलाइएको छैन । यात्रुले रिजर्भ गरेर लैजानुपर्छ । यसो गर्दा गाडीवालाले मनोमानी भाडा लिने गरेका छन् । गाडी कतिबेला आउने-जाने ठेगान छैन । पाइने नपाइने पनि निश्चित छैन । नपाएमा सदरमुकाम र्झन ३ घन्टा पैदल यात्रा गर्नुपर्छ । ‘बाटो राम्रो भए गाडी रेगुलर चल्छ, शेर्पाले भने, ‘तर बन्ने पो कहिले हो ? सधैं बजेट छुट्याए पनि तलतिरै सिध्याउँछन् ।’

खासगरी ठूलो एकादशीमा यहाँ भक्तजनको घुइँचो लाग्छ । त्यसबाहेक दर्शनार्थी दिनहुँ पनि आइरहन्छन् । ९ कुने पोखरीका हरेक कुनामा माइभगवतीको पूजा हुन्छ । पूर्वको प्रसिद्ध यो सिमसार क्षेत्र २०६५ कात्तिक १२ मा रामसार क्षेत्रमा सूचीकृत भयो । त्यसयता स्वदेशी, भारतीय र बंगाली पर्यटक बढेको शेर्पाले बताए ।

माइपोखरी सिमसार जैविक विविधतामा धनी छ । समुद्री सतहबाट करिब २१ सय मिटर उचाइको यहाँ समशीतोष्ण हावापानी पाइन्छ । बढीमा १८ डिग्री र कम्तीमा २ डिग्री सेल्सियस तापक्रम पुग्छ । जंगल क्षेत्रसहित यो क्षेत्र ९० हेक्टरमा फैलेको छ । त्यसमध्ये २ हेक्टर सिमसार क्षेत्र छ । बाँकी ठाउँमा घना जंगल छ । लौठ सल्ल्ाा, सुनाखरी, गलैंचे झ्याउ जस्ता अन्तर्राष्ट्रिय महत्त्वका वनस्पति यहाँ पाइन्छन् । सुलुत्त बढेका रूख कलमी गरेर मिलाएका जस्ता देखिन्छन् । ती रूख हेर्दा मनमोहक देखिन्छन् । वनस्पति, चराचुरुंगीको चिरीबिरी सुन्दै जंगल सफारी गर्दा बेग्लै आनन्द हुन्छ । वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार यस क्षेत्रमा २ सय प्रजातिका फूल फुल्ने बिरुवा छन् । ३ प्रजातिका चाप, ४ थरी गुराँस र ६२ थरीका जडीबुटी पत्ता लागेका छन् । रूखका हाँगामाथि फस्टाउने विभिन्न थरीका सुनाखरीले धार्मिक वनलाई आकर्षक बनाएका छन् ।

यो क्षेत्र जलचर, नभचर र स्थलचरको बासस्थान हो । धार्मिक वन समूहको तथ्यांकअनुसार यस क्षेत्रमा ३ प्रजातिका माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिका सरिसृप र १४ प्रजातिका स्तनधारी पाइन्छन् । ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यागट्याग पाहा, रूख भ्यागुतो जस्ता उभयचर प्रसस्तै पाइन्छन् । हरियो छेपारो, चंखे सर्प र विश्वमै लोपोन्मुख ओत जस्ता सरिसृपको बासस्थान पनि हो यो क्षेत्र । माइ उपत्यका धेरै चराचुरुंगीको बासस्थान भएको क्षेत्रका रूपमा चिनिन्छ । उपत्यकामा ३ सय प्रजातिका पक्षीको अभिलेख गरिएको छ । त्यसमध्ये २ सय प्रजातिकाले यही क्षेत्रमा प्रजनन् गर्छन् । बाँकीचाहिँ बाहिरबाट बेलाबेलामा आउने गर्छन् । पीतमुहार चिचिल्कोटे र सानो सिविया चरा यो सिमसार क्षेत्रमा मात्र अभिलेख गरिएको छ । काकाकुल, कालोभुँडीफोर, भुँडीफोर, हिमाली गिद्ध लगायतका चरा गर्मी याममा यहाँ आउने गर्छन् । साइबेरियादेखि श्रीलंकासम्म बसाइ सर्ने चराहरूसमेत यही क्षेत्र हुँदै आउजाउ गर्ने गरेको पाइएको छ ।

परापूर्वकालदेखि धार्मिकस्थलको रूपमा परिचित यो क्षेत्रको संस्थागत विकासको प्रयास २०५० सालबाट भएको हो । त्यही वर्ष माइपोखरी संरक्षण समिति गठन भयो भने २०५६ सालदेखि वनस्पति उद्यान बनाउन सुरु भयो ।

२०५९ मा उत्तरी क्षेत्रको विकास र पर्यटन विकासको योजना बनाइएको थियो । यहाँ रक गार्डेन, चिमाल प्रजनन् अनुसन्धान, जडीबुटी प्रदर्शनी प्लट, लौठसल्ला प्लट, अर्किड उद्यान, जडीबुटीका बिरुवा उत्पादन, डोमेस्टिकेसन तथा जर्मप्लाजम, शोभनीय बगंैचा जस्ता संरचना बनेका छन् । स्थानीयवासीका अनुसार मूलको र वषर्ाको पानी मुख्य स्रोत भएको पोखरी भने सुक्दै गएको छ । सुख्खायाममा करिब ७ मिटर गहिरो हुने पोखरी फोहोर हुँदै गएको छ भने जताततै गलैंचे झ्याउ उम्रेर पोखरीको अधिकांश भाग ढाकिसकेको छ ।

 

के हो रामसार ?

 

सन् १९७१ मा इरानको रामसार सहरमा वैज्ञानिक सम्मेलन भएको थियो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । त्यो सम्मेलनमा पारित सन्धिलाई रामसार महासन्धि भनियो । त्यही महासन्धिअनुसार अन्तर्राष्ट्रिय महत्त्वको सिमसार घोषणा भएको क्षेत्रलाई रामसार क्षेत्र भनिन थालियो । १९८७ मा नेपालले रामसार महासन्धिको सदस्यता लियो । यो महासन्धि सदस्यको सम्मेलन कोप हरेक ३ वर्षमा हुन्छ । २०६५ कात्तिक १२ गते दक्षिण कोरियामा भएको कोप सम्मेलनमा माइपोखरीलाई रामसार घोषणा गरियो । योसमेत मुलुकमा ९ वटा सिमसार रामसार क्षेत्र घोषणा भएका छन् । पहाडी क्षेत्रको यो मात्रै हो । तराईमा कोसीटप्पु, बीसहजारी ताल, जगदीशपुर रिजभ्र्वायर, घोडाघोडी र हिमाली क्षेत्रमा गोक्यो, गोसाइँकुण्ड, शे-फोक्सुन्डो र रारा ताल छन् । थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले यी क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वका मानिएका हुन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको माध्यमले सिमसारको संरक्षण गर्ने मुख्य उद्देश्य रामसार महासन्धिको छ ।
प्रकाशित मिति: २०६९ कार्तिक २५ ०९:०९

Source :Kantipur Daily

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s