हिमाली क्षेत्रको कृषिमा आएको परिवर्तन

October 11, 2012
गएको हप्ता म दोलाखा जिल्लाको सदरमुकाम चरिकोट पुगेको थिएँ । म विद्यार्थी हुँदा यो जिल्लामा सडक बनेको थिएन । गाउँगाउँमा विद्यालयहरू थिएनन् । पढ्नका लागि खाजासामल बोकेर पैदल यात्रा गर्दै काठमाडौं नै आउनुपथ्र्यो । अरूजस्तै मैले पनि त्यही गरेको थिएँ । तर, आज गाउँगाउँमा बाटोघाटो बनेकाले लामो यात्राका लागि पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बिहान ६ बजे पुरानो बसपार्कबाट एउटा बसमा म दोलखातिर लागेँ । यो बसको नाम नै दोलखा एक्सप्रेस थियो तर काम भने नामअनुरूप थिएन । ठाउँठाउँमा बस रोकिने अनि यात्री चढाउने ओराल्ने गरिरहन्थ्यो । यो मेरो उद्देश्यविहीन यात्रा थियो । बसको यात्रामा हुने थकाइ मेट्न गाल्ब्रेथले लेखेको पुस्तक ‘द आफ्लुएण्ट सोसाइटी’ पढेर व्यस्त बनेको थिएँ ।

बस नयाँ पुल नपुगुन्जेल मैले बसको रूटमा पर्ने बस्तीहरूको रहनसहन र क्रियाकलापमा खासै ध्यान पुर्‍याएको थिइनँ । करीब ३ वर्षअगाडि पनि म यही बाटोबाट एउटा कार्यक्रममा उक्त जिल्लाको काब्रे भन्ने गाउँमा सहभागी हुन पुगेको थिएँ । त्यसताका मैले परिवर्तनको खासै उल्लेखनीय कार्य बाटोमा देखेको थिइनँ । खाडीचौर वरिपरिका पसलहरू चाइनिज सामानले सजिसजावट थिए । व्यापारीहरूले पनि के गरून् देशमा उत्पादन प्रायः शून्य छ, चाइनामा बेनेका सामानहरू नबेचेर । यो अनौठो भने निश्चय पनि होइन । आज कुनै पनि संसारको त्यस्तो भाग छैन, जाहाँ चाइनामा बनेको सामानको खरीदविक्री नभएको होस् ।

बस मुडेतिर जाने सडकतिर मोडियो । फेरि म सोही किताब पढेर बसमा यात्रा गर्ने कोशिश गरे तर बसको यात्राले बनाउने असहजताको कारणले म किताब पढ्न असफल भएँ । मेरो ध्यान बसबाट देखिने बस्तीहरूमा केन्द्रित हुन थाल्यो । मुडे नपुगुन्जेल बाटोको वरिपरि रहेका बस्तीहरूमा खासै केही परिवर्तनको अनुभूति मलाई भएको थिएन ।

मुडे करीब ८–१० हजार फिट उचाइ भएको पहाडको टुप्पोमा रहेको बस्ती हो । यहाँका बासिन्दाको जीविकोपार्जन परापूर्वकालदेखि पशुपालन र आलुखेतीमा निर्भर रहँदै आएको थियो र आज पनि छ भन्ने तथ्यको अनुमान भूबनोट र हावापानीको आधारमा लगाउन सकिन्छ । यस ठाउँका पसलहरू आलुका धोक्रा र मौसमअनुसारको तरकारीद्वारा सजाइएका देखिन्छन् । यी वस्तुहरू यही ठाउँका उपज हुन्, आयात गरिएका भने होइनन् । यस बस्तीमा उत्पादित आलुको स्वादले बसका यात्रुबीच सर्वाधिक प्रशंसा पाइरहेको छ । यसैको कारणले होला, बसमा सवार यात्रुहरू आलु खरीद गर्न आतुर र व्यस्त रहेका थिए ।

मुडेबाट केही मिनेटको सवारपछि दोलाखा जिल्लाको खरिढुङ्गा पुगियो । केही वर्षअगाडि यस ठाउँमा भारतीय सहयोगमा एउटा म्याग्नेसाइट उद्योगको स्थापना भएको थियो । उद्योगको स्थापनापछि दोलखावासी विशेषगरी स्थानीय बासिन्दाले यस उद्योगमा प्रशस्त रोजगारी पाएका थिए । यसबाट उनीहरूको रोजीरोटीमा ठूलो सहयोग मिलेको थियो । तर, केही समय सञ्चालनमा आएपछि यो उद्योग बन्द भएछ । केही वर्षअगाडि हराभरा खरिढुङ्गा आज उजाड हुन पुगेछ । यस भेगका मानिसहरू यो उद्योग बन्द भएपछि बेरोजगार बनेका रहेछन्, जसले उनीहरूको रोजीरोटीमा धक्का पुर्‍याएको सहजै अनुमान लगाउन सकिन्छ । आयोजनाहरू विनाउद्देश्य शुरू हुने र बन्द हुने मेरा लागि अनौठो भए पनि नेपालका लागि सामान्य नै हो । यो मेरो त्यस ठाउँमा भएको परिवर्तनको पहिलो अनुभूति थियो ।

खरिढुङ्गापश्चात् सडकको दायाँबायाँ दुवैतिर छिटपुट मावन बस्ती रहेछ । म्याग्नेसाइट उद्योग पलायन भए पनि यहाँको बस्ती त्यति धेरै प्रभावित भएको रहेनछ । बस्ती पातलो र सानो अनि जमीनको क्षेत्रफल फराकिलो भएकाले यस क्षेत्रको बस्तीमा उल्लेखनीय प्रभाव नपरेको हुन सक्छ । यस भेगका सबै घरपरिवार पाखोबारीका हिसाबले धनी भएको अनुमान लगाउन सकिन्छ ।

बाटोको दायाँबायाँ रहेका यी बस्तीहरू हराभरा थिए । प्रत्येक घरको वरिपरिका बारीका पाटाहरूमा हरियाली देखिन्छ । आलु बालीपछि यस भेगका किसानले तरकारी खेती गर्दारहेछन् । बन्दाकोभीका लहलहाउँदा बोटले बारीका पाटाहरू नै हरिया देखिएका रहेछन् । केही वर्षअगाडि उजाड र मरूभूमि देखिने यी बस्तीहरू आज हराभरा भएका रहेछन् । खेतीमा भएको यो परिवर्तनले किसानहरूको आम्दानी उल्लेख्य बढेको अनुमान सबैले सहजै लगाउन सकिन्छ । र, यो खेतीपातीमा भएको परिवर्तन मेरा लागि दोस्रो परिवर्तनको अनुभूति थियो ।

यो उत्सुकतालाई मत्थर गराउन बसमा सवार त्यस भेगका एकजना किसानसँग मैले यस भेगका मानिसहरूको आम्दानीमा परिवर्तन आएको छ भनेर उत्सुकका साथ प्रश्न गरेँ । उनको उत्तर सकारात्मक थियो– ‘मानिसहरूको व्यवसायमा विविधीकरण भएको छ । कोही व्यापार गर्छन् भने कोही खेतीपातीमा संलग्न छन् । खेतीपातीमा पनि विविधीकरण भएको कारणले मानिसहरूको आकर्षण खेतीमा बढेको छ । आलु परम्परागत रूपमा जीवन निर्वाह गर्ने खेती भए पनि बाटोघाटोका कारणले व्यावसायिक हुन पुगेको छ । बाटोघाटोको सुविधा र काठमाडौंसम्मको पहुँच सहज भएकाले किसानहरूमा तरकारी खेतीप्रतिको आकर्षण बढेको छ । यस क्षेत्रमा उत्पादित आलुको गुणस्तरका कारण यसको बजार विस्तारमा ठूलो सहयोग मिलेको छ । यसले तरकारी र आलुको खेतीमा व्यावसायिकता ल्याएको छ । किसानहरूद्वारा उत्पादितमध्ये ६० प्रतिशत आलु विक्रीवितरण गर्दछन् । यसले यहाँका बसिन्दाहरूको आम्दानीमा वृद्धि गराएको छ । एक गाँस खाने र एउटा झुम्रो लगाउने समस्याबाट यहाँका बासिन्दा मुक्त भएका छन् । रहनसहन र जीवनशैलीमा परिवर्तन आएको छ । तर, युवाहरूको विदेशिने प्रवृत्तिले खेतीपातीमा आवश्यक पर्ने जनशक्तिको अभाव भइरहेको छ ।’

ती किसानको भनाइ त्यस ठाउँको रहनसहन र वातावरणले पनि पुष्टि गर्छ । घरका छानाहरू जस्तापाताले छाइएका छन् । गाह्रोको जोडाइ र बनावट सिमेण्टको छ । घरघरमा खानेपानीका धारो जोडिएको छ । घरको नजिकै चर्पी बनाइको छ । पशुपालनका लागि छुट्टै एउटा मतान (कटेरो) रहेको छ, जहाँ भैंसी, गाई, बाख्रा आदि बाँधिएको छ । यो ठाउँमा धेरै चरन भएकाले पनि यहाँका अधिकांश किसानले पशु पाल्ने गर्छन् । तर, पशुपालनको शैली हेर्दा यसले व्यावसायिकता पाएकोजस्तो देखिँदैन । जीवन निर्वाह र व्यक्तिगत प्रयोजनका लागि मात्र पशुपालन गरिएको देखिन्छ । पातलो बस्तीका कारणले यस क्षेत्रमा रहेको खेतीयोग्य जमीनको सबै भागको सदुपयोग हुन सकेको देखिँदैन । भू–उपयोगसम्बन्धी उपयुक्त नीतिको देशमा अभाव छ । जग्गाधनीहरूले आफ्नो रुचिमा जग्गाको उपयोग गरिरहेका छन् । एउटै ठाउँको जग्गा पनि केही क्षेत्र हराभरा छ भने केही क्षेत्र उजाड छ । यस परिस्थितिमा निजीक्षेत्रको प्रयासमा मात्र आलु र तरकारी उत्पादनले व्यावसायिक रूप लिन सक्ने कुराको परिकल्पना गर्न सकिँदैन । निजी क्षेत्रलाई सक्रिय र जागरुक बनाउन सरकारी क्षेत्रको पहल जरुरी छ । यस क्षेत्रको आलु र तरकारी खेतीलाई पूर्ण व्यावसायिक बनाउनका लागि सरकारले उन्नत प्रविधिको विकास गर्नुपर्छ ।

बीउविजन, उन्नत मलखाद, किसानलाई खेतीपातीका निमित्त आवश्यक पर्ने प्राविधिक परामर्श सेवा, उत्पादित वस्तुको मूल्य र न्यूनतम मूल्य निर्धारण, बजारको विकास, आवश्यक पूँजीको सहयोगका साथै संस्थागत ऋणको समेत व्यवस्था गर्नुपर्छ । यतिमात्र होइन, उपलब्ध खेतीयोग्य जमीनको उपयोगका निमित्त भू–उपयोग नीति तर्जुमा गर्न आवश्यक छ । कतिपय खेतीयोग्य जमीन किसानहरूले बँझ्याएर राख्ने प्रचलन बढ्दै गइरहेको छ । खेतीबाट राम्रो प्रतिफल दिलाउन किसानलाई सामूहिक खेतीका लागि प्रेरित गर्नुपर्छ । ठाउँ, समय र कृषिमा चाहिने आवश्यक जनशक्तिको आधारमा खेतीपातीका लागि समूह बनाउन सकिन्छ । यो कार्य सम्बन्धित सहकारीको माध्यमद्वारा गर्न वा गराउन सकिन्छ ।

समूहसमूहबीचको प्रतिस्पर्धाले उत्पादनमा वृद्धि हुन्छ । यसबाट समूहका सदस्यका लागि रोजगारीको अवसरसमेत सृजना हुन्छ । समूहका सदस्यको आम्दानीमा हुने वृद्धिले उसको परिवारको जीवनस्तरले उल्लेख्य फड्को मार्न सक्छ । यो कदमले खेतीपातीमा आवश्यक पर्ने श्रमको पूर्ति गर्न मद्दत गर्दछ । श्रम, पूँजी र उत्पादित फलको समानुपातिक वितरणका लागि सहजकर्ताको आवश्यकता पर्छ । उपयुक्त भू–उपयोग नीति लागू नगरे हाल भइरहेको ऊर्जाशील युवाहरूको विदेश पलायनले देशको सीमित खेतीयोग्य जमीन भविष्यमा बाँझै रहने तथ्यलाई नकार्न सकिँदैन । यसबाट खाद्यान्न असुरक्षा हुने कुरा सजिलै अनुमान गर्न सकिन्छ । त्यसैले नेपालीको विद्यमान कृषि नीतिमा उचित संशोधन गरी कृषिलाई व्यावसायिक बनाउन सक्नुपर्छ ।  

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s