दशैंका तीन दिनमा १७ हजार मेट मासु खपत हुने अनुमान

October 18, 2012
कात्तिक १, काठमाडौं । यसवर्षको फूलपाती, अष्टमी र नवमीको हरेक दिन नेपालभर ५ हजार ६ सय ४० मेट्रिक टन मासु खपत हुने खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले बताएको छ । ती दिनमा नेपालीको प्रतिव्यक्ति मासु खपत २ सय १२ ग्राम हुने विभागका वरिष्ठ अनुसन्धान अधिकृत तथा प्रवक्ता प्रमोद कोइरालाले जानकारी दिए । त्यसअनुसार २ करोड ६६ लाख नेपालीले यी तीन दिनमा दैनिक ५ हजार ६ सय ४० मेट्रिक टन मासु खपत गर्छन् । फूलपातीदेखि नवमीसम्ममका तीन दिनमा कुल १७ हजार मेट्रिक टन मासु खपत हुने यस हिसाबले देखाउँछ ।

हाल खसीबोकाको मासुको बजारभाउ प्रतिकिलो रू. ६ सय २०, कुखुराको रू. २ सय ४० तथा राँगो र बङ्गुरको मासु रू. २ सय २० रहेको मासु व्यवसायी सङ्घले जानकारी दिएको छ । दशैंमा अधिकांश नेपालीले खसीबोकाकै मासु खाने माछामासु व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष अनिल शाही बताउँछन् ।

सामान्य दिनको तुलनामा दशैंमा उपभोग हुने मासुको मात्रा सातगुणाले बढी हो । नेपाली उपभोक्ताको सामान्य मासु उपभोगदर प्रतिव्यक्ति २८ ग्राम रहेको विभागको तथ्याङ्क छ । दशैंको बेला यति धेरै उपभोग बढ्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने विभागका वरिष्ठ अनुसन्धान अधिकृत कोइराला बताउँछन् । यसमा उपभोक्ता सचेत हुनुपर्ने उनको सुझाव छ । संयुक्त राज्य अमेरिकाको पोषण विभागले दैनिक १ सयदेखि १ सय ५० ग्रामभन्दा धेरै रातो मासु खानु स्वास्थ्यका लागि हानिकारक हुने बताएको छ ।

तर, सङ्घका प्रथम उपाध्यक्ष शाहीको अनुमानमा भने यसवर्ष मासुको मूल्य बढ्ने र उपभोग घट्नेछ । उनका अनुसार यसवर्ष वाणिज्य विभागले बजारमा विक्री हुने मासुको गुणस्तर र मूल्य अनुगमन कडा गरेकाले व्यापारीहरूले खसीबोका नै कम भित्र्याउँदै छन् । यसकारण बजारमा आपूर्ति कम हुन सक्ने र मूल्य बढ्न सक्ने उनको अनुमान छ । शाहीले भने, ‘गतवर्षको तुलनामा यसवर्ष ५ देखि १० प्रतिशतसम्म खसीबोका कम विक्री हुने सम्भावना छ ।’

पछिल्लो समयमा सामान्य दिनमा नै मासुको खपत बढिरहेको शाहीले बताए । २ वर्ष अगाडिसम्म दैनिक ५ सय खसीबोका काठमाडौंमा खपत हुने गरेकोमा योवर्ष ९ सयजति पुगेको उनले अभियानलाई बताए ।

Leave a comment