जापान शैक्षिक मेला : जापान – उच्च शिक्षाको नयाँ गन्तव्य

परदेशमा पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्या बढे सँगै उनीहरुको गन्तव्यमा पनि विविधता देखिएको छ । पश्चिमा मुलुकमात्रै होइन, पछिल्लो समय पूर्वी एशियाली मुलुक जापानतर्फ पनि विद्यार्थीको आकर्षण निकै बढेको छ । यसै पृष्ठभूमिमा नेपाली विद्यार्थी–अभिभावक र जापानी शैक्षिक संस्थालाई जोड्ने सेतुका रूपमा जाल्सानले वर्षेनि शैक्षिक मेलाको आयोजना गर्दै आएको छ । यस वर्षको दुईदिने ‘दोस्रो जापान शैक्षिक मेला–२०१२’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदैछ ।

अध्ययनका लागि नेपालबाट जापान जाने विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा यसरी जापान जाने विद्यार्थीको सङ्ख्या ३० प्रतिशतले बढिरहेको जापानी भाषा विद्यालय एशोसिएशन नेपाल (जाल्सान)को तथ्याङ्कले देखएको छ । अन्तिम ५ वर्षमा मात्रै नेपालबाट ४ हजार १५ विद्यार्थी उच्चशिक्षाका लागि जापान पुगिसकेका छन् । अस्थिर राजनीति, बेरोजगारी, सुलभ ढङ्गले स्तरीय अध्ययन गर्ने अवसरहरूको सङ्कुचनजस्ता समस्याका कारण नेपाली विद्यार्थी अध्ययनका लागि जापानतर्फ आकर्षित भएको शिक्षाविद्हरूको तर्क छ ।

जापानमा बढ्दै गएको जनशक्ति अभाव र चिनियाँहरूको आप्रवासनमा कमी आउनुले पनि जापान नेपालीका लागि सजह बन्दै गएको छ । नेपालीको आत्मीयता, अनुशासन, व्यक्तित्व, जिम्मेवारी पूरा गर्ने क्षमता र भाषामा राम्रो दक्षताका कारण पनि उनीहरू जापानीमाझ लोकप्रिय बन्न सफल भएका हुन् । अध्ययनका लागि विद्यार्थी जापान पठाउने मुलुकहरूको सूचीमा नेपाल पाँचौं स्थानमा पर्छ । चीन, कोरिया, भियतनाम र ताइवानबाट धेरै विद्यार्थी पढ्नैका लागि जापान जान्छन् । पछिल्लो तथ्याङ्कअनुसार जापानी कलेजहरूलाई वार्षिक ३ लाख विदेशी विद्यार्थी आवश्यक छ । त्यहाँको युवा पुस्तामा विवाह नगर्ने र बच्चा नजन्माउने अनौठो चलन बढ्दै गएपछि सरकारले विदेशी विद्यार्थीलाई स्वागत गरिरहेको छ ।

पछिल्ला वर्षमा चीनको तीव्र आर्थिक वृद्धिले जापान जाने विद्यार्थीको सङ्ख्यालाई घटाइरहेको छ । सन् २०१० मा चीनबाट २७ हजार विद्यार्थी जापान पुगेको तथ्याङ्क थियो । सन् २०११ मा यो सङ्ख्या २२ हजारमा झरेको छ । यसले नेपाली विद्यार्थीको सङ्ख्यात्मक वृद्धि गर्न जापानलाई थप लचक बनाइदिएको छ । ओसिस ल्याङ्गोएज इन्ष्टिच्युटकी प्रिन्सिपल अकेमी होण्डा (नेपाली नाम, कुसुम पोखरेल) भन्छिन्, ‘जापानमा पुग्ने विदेशी विद्यार्थीमध्ये तुलनात्मक रूपमा नेपालीहरू बढी मन पराइएका छन् ।’

अर्थतन्त्रको आकार र रोजगारी सृजनाको दरभन्दा जनसङ्ख्याको वृद्धिदर निकै कम भएपछि जापानमा कामदारको अभाव पनि त्यत्तिकै छ । सामान्य कामका लागि अशिक्षित र अदक्ष कामदार भित्र्याउनुभन्दा विद्यार्थीलाई आंशिक रोजगारीको व्यवस्था गरेर जापानले राम्रो उदाहरण दिने प्रयास पनि गरेको छ । यसले विकासोन्मुख मुलुकका मध्यम वर्गीय विद्यार्थीलाई आफ्नै कमाइमा पढ्न सक्ने बलियो आधारसमेत दिएको छ ।

सन् १९०२ मा नेपालबाट ८ जना विद्यार्थी पहिलोपटक जापान पुगेका थिए । त्यसयता जापानमा नेपाली विद्यार्थीको प्रवेशले निरन्तरता पायो । सन् २००१÷०२ सम्म वार्षिक ५÷७ जनामात्रै विद्यार्थी जापान जाने गरेको जाल्सान अध्यक्ष सुनिल बज्राचार्य बताउँछन् । उनका अनुसार पछिल्लो एक दशकमा भने यो सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । अहिले कृषि, होटेल व्यवस्थापन, नर्सिङ, इञ्जिनीयरिङ, ब्यूटिसियन, अन्तरराष्ट्रिय शिक्षाजस्ता विषय अध्ययनका लागि धेरै नेपाली विद्यार्थी त्यसतर्फ जाने गरेका छन् ।

भाषा नै मूल समस्या

जापान जान सबैभन्दा बढी ध्यान पुर्‍याउनुपर्ने विषय त्यहाँको भाषा हो । जापानी बाहेकका भाषाको आम प्रयोग नहुने भएकाले त्यहाँ जानेले भाषा अध्ययनमा नै सबैभन्दा बढी मेहनत गर्नुपर्छ । ‘हिरागाना’, ‘कातागाना’, ‘खाञ्जी’ र ‘रोमाजी’ जस्ता चार लिपिमा जापानी भाषा प्रयोग हुन्छ । हिरागाना जापानीहरूको मौलिक भाषा हो भने कातागाना आयातित । यी दुवैमा ४६÷४६ वर्ण (अक्षर) हुन्छन् । जापानी भाषा शिक्षकहरूका अनुसार खाञ्जी सम्भवतः दुनियाँकै धेरै वर्ण हुने भाषामा पर्छ । ‘खाञ्जी पुरानो चिनियाँ भाषा हो,’ भाषाविद् डा. माधवप्रसाद पोखरेल भन्छन्, ‘यो भाषा जान्न स्वयम् जापानीहरूले नै १२ वर्ष अभ्यास गर्छन् ।’ उनका अनुसार चिनियाँ इतिहासमा खाञ्जीका ६० हजार वर्ण प्रयोग भएका छन् ।

जापानमा पनि ५ हजार यस्ता वर्णको प्रयोग भइएको पाइन्छ । यतिधेरै सङ्ख्यामा वर्णहरू सिक्न सजिलो छैन । तर, जापानको शिक्षा मन्त्रालयले साधारण लेखपढ जान्न लागि भनेर अत्यधिक प्रयोग हुने १ हजार ९ सय ४५ खाञ्जी वर्णको सूची बनाएको छ । २ हजार वर्षभन्दा बढीको इतिहास भएको चिनियाँ भाषा अहिलेसम्म आइपुग्दा निकै परिष्कृत भइसकेको छ । यद्यपि, जापानीहरूले पुरानो चिनियाँ भाषालाई आफ्नै ढङ्गको उच्चारण गरेर ‘जापानी खाञ्जी’ को रूपमा मौलिकता विकास गरेको भाषाशिक्षकहरू बताउँछन् । भोट–बर्मेली समूहको यो भाषामा अहिले करीब २ हजार वर्णको अधिकतम प्रयोग गरिन्छ । रोमाजीचाहिँ रोमनबाट आएको हो । जापानमा यसको प्रयोग सङ्कुचित छ । यीमध्ये जापानमा प्रचलित खाञ्जीले त्यहाँका हिरागाना र कातागानालाई समेत बिस्तारै प्रतिस्थापित गरिरहेको विज्ञहरू बताउँछन् ।

जापान जाने विद्यार्थीले जापानी भाषासम्बन्धी विभिन्न बोर्डमा परीक्षा दिनुपर्ने हुन्छ । जापनिज ल्याङ्गुएज प्रोफिसियन्सी टेष्ट (जेएलपीटी), जे–न्याट, टप–जे, जस्ता बोर्डमा फाइभ लेभल (५० प्रतिशत अङ्क)सहित उत्तीर्ण हुनुपर्छ । अङ्ग्रेजीजस्तो प्रयोगमा नआएकाले नेपाली विद्यार्थीका लागि जापानी भाषा नितान्त नौलो र अनौठो छ । तर, नेपाली र जापानी भाषाको व्याकरण मेलखाने (क्रियापद अन्तिममा हुने), लिङ्ग र वचनको भेद नहुने भएकाले छोटो समयमा नै नेपाली विद्यार्थी जापानी भाषामा दक्ष हुन्छन् । भाषाविद्हरूका अनुसार नेपालीहरूमा शब्द उच्चारण गर्ने क्षमता बढी भएकाले पनि सिकाइमा सहयोग पुगिरहेको छ । डा. पोखरेल भन्छन्, ‘उच्चारणमा सजिलो भए पनि जापानी भाषा लेख्नचाहिँ ज्यादै कठिन छ ।’


मध्यम वर्गीयको रोजाइ

जापान जाने अधिकांश विद्यार्थी मध्यम वर्गीय परिवारका छन् । अङ्ग्रेजीमा दक्षता प्राप्त गर्न नसक्ने विद्यार्थीहरूले जापान रोजिरहेको जाल्सानका पदाधिकारीहरू बताउँछन् । यद्यपि, पछिल्ला दिनमा भने जापानको प्रविधि, त्यहाँको सभ्यता र शैक्षिकस्तरलाई ध्यान दिएर जापान जान चाहने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । जापानमा स्वतन्त्रता जत्तिकै अनुशासनको महŒव छ । जापानीहरू स्वावलम्बी छन् र अरू पनि आफु जस्तै भएको मन पराउँछन् । ‘आफ्नै जुठो आफु पखाल्ने’ जापानी सभ्यता पश्चिमाहरूमा छैन । कर्म नै देउता हो भन्ने जापानीहरू कडा शारीरिक श्रम गरिरहेका हुन्छन् । उनीहरूसँग दाँजिएर परिश्रम गर्न तिनै मध्यम वर्गीय नेपालीले सक्छन्, जो स्वदेशमा पनि शारीरिक श्रम गरेरै बाँचेका छन् । जापान जान कडा परिश्रमले मात्रै पनि पुग्दैन । त्यहाँ पुग्न लाग्ने आवश्यक खर्च (करीब रू. १२ लाख) जुटाउन सक्ने आर्थिक हैसियत पनि हुनुपर्छ । त्यसकारण जापान जाने विद्यार्थीमा मध्यम वर्गीयको बाहुल्य रहेको हो ।


प्राविधिक विषयमा आकर्षण   

जापानमा पुगेका सबै विदेशी विद्यार्थीले कम्तीमा ६ महीना त्यहाँका भाषा स्कूलहरूमा जापानी भाषाको अध्ययन गर्नुपर्छ । त्यसपछि उनीहरूले औपचारिक अध्ययनमा अवसर पाउँछन् । त्यतिबेला नेपाली विद्यार्थीहरू विश्वविद्यालयमा भन्दा प्राविधिक शिक्षालयहरूमा पुग्ने गर्छन् । विश्वविद्यालयको पठाइ केही महँगो र लामो अवधिको हुन्छ । अर्कोतिर विश्वविद्यालयमा प्रवेश पाउन नेपालीले निकै बढी मेहनत गर्नुपर्छ । यस्ता समस्याले तुलनात्मक रूपमा सस्तो, सजिलो र छोटो अवधिको प्राविधिक शिक्षामा नेपालीको आकर्षण बढेको पाइन्छ । व्यावसायिक अध्ययनमार्फत छोटो अवधिमा राम्रो कमाइ गर्नेतर्फ ध्यान तानिएपछि विश्वविद्यालयको अध्ययन गरेर उच्च तहमा पुग्ने धेरै नेपालीको सपना भने सपनामै सीमित बन्न पुगेको छ ।

कसिदै आत्मीयता र सामाजिक सम्बन्ध

सरकारी तहमा नेपालले दुईपक्षीय सम्बन्ध स्थापित गरेको पुरानो मुलुक हो, जापान । नेपाललाई निःस्वार्थ सहयोग गरिरहने र सबैभन्दा ठूलो दातृमुलुक भएर पनि होला नेपालीहरू जापानलाई माया गर्छन् । जापानीहरू पनि नेपालीलाई असल मित्रको रूपमा लिन्छन् ।

दोस्रो विश्वयुद्धपछि जापानीहरूले मनैदेखि शान्ति चाहन थाले । बौद्धधर्मको प्रभाव र शान्तिको चाहना दुवै पक्ष नेपालसँग जोडियो, गौतम बुद्धको जन्मस्थल भएकाले । अहिले पनि त्यहाँको जेठोपुस्ताले नेपालीलाई श्रद्धाको आँखाले हेर्ने गरेको जानकारहरू बताउँछन् । पछिल्लो समय त्यहाँ पुग्ने विद्यार्थीले नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई भावनात्मक रूपले बढाइरहेका छन् । युवापुस्तामा बढ्दै गएको प्रेम र विवाहको सम्बन्धले दुई देशबीच सामाजिक, सांस्कृतिक पक्षलाई जोडिरहेको छ ।

जापानी केटीहरू नेपाली केटालाई ज्यादै मन पराउँछन् । ‘प्रेम हुनलाई केही कारण वा विशेषता चाहिँदो रहेनछ,’ नेपालीसँग विवाह गरेर हाल नेपालमै रहेकी योसी एमी भन्छिन्, ‘नेपालीको उदार दिल र अटुट विश्वासले नै जापानी केटीहरूको मन जितिरहेको छ ।’ उनका अनुसार जापानी केटाहरू प्रेमभन्दा कामलाई बढी महŒव दिने र विवाह गर्न हिचकिचाउने गर्छन् । तर, नेपालीहरू कामभन्दा बढी प्रेमलाई महत्व दिन्छन्, जसले नारी हृदयलाई निरन्तर आकर्षित गरिरहेको छ । जापानी केटीहरू पनि ज्यादै विश्वासिला र फरासिला हुन्छन् । उनीहरूमा सम्बन्ध विच्छेदको ‘लत’ लागेको छैन । साथीलाई आदर र विश्वास बराबर गर्ने र हृदयदेखि नै माया गर्ने भएकाले नेपाली पुरूषहरू उनीहरूसँग खुशी हुन्छन् ।

अरू पनि छन् फाइदा

जापानमा पढ्न गएका धेरै नेपालीले त्यहाँको सभ्यता र प्रविधिलाई नेपाल भित्र्याइरहेका छन् । कृषिको व्यवसायीकरणका लागि जापानी प्रविधि तुलनात्मक रूपमा बढी फलदायी बनिरहेको छ । माछा, फलफुल र नगदेबालीमा जापानी प्रविधिको प्रयोग बढ्न थालेको छ । अहिले जापानमा रहेका कतिपय नेपाली विद्यार्थीले नेपालका विभिन्न समस्या र त्यसको समाधनमा केन्द्रित भएर गरिरहेको शोध हाम्रा लागि बहुउपयोगी हुन सक्छ । पूर्वाधार निर्माण तथा आर्थिक, सामाजिक रूपान्तरणका सम्भाव्यता एवम् मोडलहरूका बारेमा तयार भइरहेका त्यस्ता शोधले नेपालका भावी योजना तर्जुमालाई महत्वपूर्ण योगदान गर्नेछ ।
Source : http://www.abhiyan.com.np/article-product_13ashoj2069_japan

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s