कृषिक्षेत्रमा नयाँ प्रविधि र नेपालको अवस्था

November 4, 2012

नेपालको कृषिक्षेत्रमा पहिलोपटक सर्वाधिक नयाँ अक्वा–पोनिक्स प्रविधिमा आधारित तरकारी खेती प्रणाली भित्रिएको छ । ललितपुर जिल्लाको सुनाकोठीमा नमूना ‘फार्म’का रूपमा शुरू गरिएको यो प्रविधिको खेती प्रणालीका निम्ति माटोको आवश्यकता पर्दैन । एकीकृत खेती प्रणालीका निम्ति यूरोप, अमेरिकामा समेत लोकप्रिय बन्दै गएको यो प्रविधिअनुसार पोखरी बनाएर माछा र तरकारी खेती एकैपटक गर्न सकिन्छ । थोरै जमीन हुने किसानका निम्ति यो प्रविधिको खेती निश्चय पनि ‘वरदान’ सावित हुन सक्छ । तर, ‘अक्वा–पोनिक्स’ प्रविधिमा आधारित यो खेती गर्नका निम्ति नेपाल सरकारको प्राविधिक सहयोग भने पाउन सक्ने अवस्था छैन । यो प्रविधिको सूक्ष्म ज्ञान भएका कृषि वैज्ञानिक वा प्राविधिक कृषि मन्त्रालयसँग एउटै पनि नहुनु नेपाली किसानका निम्ति सबैभन्दा ठूलो समस्या हो । रोटरी क्लब अफ पाटनको सक्रियतामा नेपाल भित्रिएको यो प्रविधिलाई आम किसानसम्म पुर्‍याउन सकिए १ रोपनी वा सोभन्दा कम जमीन हुने न्यून आर्थिक हैसियत भएका नेपाली किसानको जीवनस्तर परिवर्तन गर्न राज्यले ठूलो मेहनत गर्नुपर्दैन थियो । किनकि यो प्रविधिको खेतीबाट माटोमा गरिएको खेतीका तुलनामा झण्डै १० गुणासम्म बढी उत्पादन लिन सकिने कृषि वैज्ञानिकहरूको धारणा छ । एउटै लगानीबाट तरकारी र माछा दुवै उत्पादन हुने यो प्रविधिको मुख्य विशेषता हो ।

अक्वा पोनिक्स प्रविधिको अनुसन्धानअघि विश्वमा ‘हाइड्रो पोनिक्स’ प्रविधिमा आधारित खेती प्रणालीको विकास गरिएको थियो । हाइड्रो पोनिक्स प्रविधिबाट अहिले पनि विश्वमा धेरै मुलुकका किसानले खेती गरिरहेका छन् । चीन, श्रीलङ्का र यूरोप, अमेरिकाका किसानका निम्ति हाइड्रो पोनिक्स प्रविधि सर्वसुलभ र साधारण भइसकेको छ । तर, नेपाली किसानका निम्ति भने यो प्रविधि अझै पनि टाढाको विषय हो । अक्वा पोनिक्स प्रविधिको तुलनामा हाइड्रो पोनिक्स प्रविधिको खेती प्रणाली भने बढी खर्चालु हुन्छ । किनकि हाइड्रो पोनिक्स खेती गर्न बिरुवालाई आवश्यक पोषण तत्व बाहिरबाट पानीमा मिसाउनै पर्छ । बिरुवालाई नभई नहुने त्यस्ता पोषण तत्वहरूमा नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, सल्फरलगायत सात प्रकारका सूक्ष्म खाद्य तत्व पानीमा मिश्रण गरेपछि मात्र त्यस्तो खेती सफल हुन्छ । तर, अक्वा पोनिक्स प्रविधिको खेती प्रणालीमा यस्ता कुनै पनि तत्व बाहिरबाट पानीमा मिश्रण गर्नुपर्दैन । माछापालन र तरकारी खेती गरिने पानी एउटै हुने हुनाले बिरुवाका निम्ति आवश्यक ती सबै तत्व माछामार्फत नै पूर्ति हुन्छ । माछाले विसर्जन गरेको मलमूत्र र माछाले नखाएको दाना मिश्रित पानीबाट नै बिरुवाले आफ्ना लागि आवश्यक पोषण तत्व ग्रहण गर्ने कृषि वैज्ञानिकहरूको भनाइ छ । पानीमा अतिरिक्त पोषण तत्व बाहिरबाट निश्चय गर्नु नपर्ने भएकाले नै हाइड्रो पोनिक्स प्रविधिको तुलनामा अक्वा पोनिक्स प्रविधिको खेती प्रणाली धेरै गुणाले सस्तो पर्ने भनिएको हो । र, यस प्रविधिबाट उत्पादित तरकारी पूर्ण ‘अग्र्यानिक’ हुने वैज्ञानिकहरूको निष्कर्ष छ ।

रासायनिक मलको अभाव सधैं भोगिरहने नेपाली किसानका लागि तरकारी खेतीका निम्ति निश्चय पनि यो अति उत्तम प्रविधि हो । त्यसैगरी यस प्रविधिको खेतीमा कुनै पनि विषादी (औषधि) प्रयोग गर्न वर्जित छ । रासायनिक विषादी प्रयोग गरिएमा त्यसले माछालाई नोक्सानी पुर्‍याउँछ । रासायनिक मल, विषादी र बिरुवालाई चाहिने अन्य तत्व (भिटामिन)समेत आवश्यक नपर्ने भएकाले माटो वा हाइड्रो पोनिक्स प्रविधिबाट गरेको खेतीको तुलनामा अक्वा–पोनिक्स प्रविधिको खेती प्रणाली अत्यन्तै सस्तो पर्ने हुन्छ । तर, दुःखको कुरा के छ भने यस प्रविधिका बारेमा नेपालमा आजसम्म कुनै पनि अध्ययन अनुसन्धान भएको छैन, न त सरकारले नै आजसम्म यसतर्फ चासो दिएको छ । कृषिक्षेत्रमा अक्वा–पोनिक्स खेती प्रयोग विकसित मुलुकभन्दा अल्पविकसित मुलुकका निम्ति साच्चै वरदान सावित हुन सक्छ । न्यूजील्याण्डको मासे युनिभर्सिटीका प्राध्यापक निकोलस एमको प्रतिवेदनले पनि यो कुरा पुष्टि गर्छ । सन् २०१२ जनवरीमा एशियन भेजिटेबल रिसर्च एण्ड डेभलपमेण्ट सेण्टरअन्तर्गतको द वल्र्ड भेजिटेबल सेण्टरले थाइल्याण्डमा गरेको अन्तरराष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा. निकोलसले अक्वा–पोनिक्स प्रविधिको तरकारी खेतीबाट विकासोन्मुख देशले अकल्पनीय आम्दानी गर्न सक्ने बताएका थिए । निकोलसको यो प्रतिवेदनलाई सुनाकोठीमा १२ आना जमीनमा स्थापित नमूना ‘अक्वा–पोनिक्स कृषि फार्म’बाट मासिक रू. १ लाखसम्म आम्दानी लिने लक्ष्य लिइएको त्यसका सञ्चालकको भनाइले पनि पुष्टि गर्दछ । तर, यो प्रविधिको खेती विस्तार गर्न सरकारले अनुसन्धानका निम्ति पर्याप्त बजेट त छुट्ट्याउनै पर्छ, १२ आना जमीनमा यो फार्म निर्माण गर्न रू. ७ लाख लाग्ने हुनाले सामान्य किसानलाई सहुलियत ब्याजमा ऋण पनि उपलब्ध गराउनुपर्छ । अन्यथा यस्ता नवीन प्रविधिको प्रयोग नेपालका निम्ति आकाशको फल मात्र सावित हुनेछ ।

Source : http://www.abhiyan.com.np/article-editorial_19kartik2069_krishixetra#.UJiQBme_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s