इण्टरनेटका उपभोक्ता वृद्धिसँगै राउटरको माग बढयो

कृष्ण रिजाल
चैत २१, काठमाडौं (अस)। नयाँ प्रविधिमा आधारित इण्टरनेटका उपभोक्ता वृद्धिसँगै यसमा प्रयोग हुने राउटरको माग पनि बढेको छ । ‘एडीएसएल र वाइफाई इण्टरनेटको बढ्दो प्रयोगसँगै राउटरका उपभोक्ता पनि बढेका हुन्,’ हाइटेक इञ्जिनीयरिङ प्रालिका निर्देशक निखिल बंशलले भने । उनका अनुसार हाल नेपालमा राउटरका उपभोक्ता २ लाखभन्दा बढी पुगेका छन् ।

इण्टरनेट सञ्जालका लागि घर, कार्यालय, साइबर क्याफेलगायत क्षेत्रमा राउटरको प्रयोगमा वृद्धि भएको छ । प्रविध्रि्रति मानिसको बढ्दो आकर्षणले पनि राउटरको व्यवसाय बढाइरहेको निर्देशक बंशलको भनाइ छ । हाइटेक नेपालका लागि ‘डिजिकम’ राउटरको आधिकारिक विक्रेता हो । ‘डिजिकमका राउटर प्रयोग गर्ने उपभोक्ता ६० हजारभन्दा बढी पुगेका छन्,’ उनले भने । गत वर्ष डिजिकमका करीब २५ हजार थान राउटर विक्री भएको थियो । यसवर्ष भने ३५ हजार थान राउटरको विक्री हुने हाइटेकले दाबी गरेको छ ।

हाल नेपालमा डिजिकमका एडीएसएल र ब्रोडब्याण्ड गरी दुईप्रकारका राउटरहरू उपलब्ध रहेका छन् । यस्ता राउटरहरू वायर तथा वायरलेस दुवै हुने कम्पनीले बताएको छ । केही महीनाअघि नेपाली बजारमा भित्रिएको डिजिकमको एडीइएसएल वायरलेस राउटरको माग  बढी हुने गरेको विक्रेता कम्पनी हाइटेकले बताएको छ । कम्पनीले ५४ देखि ३ सय एमबीपीएस क्षमतासम्मका वायरलेस राउटरहरू उपलब्ध गराउँदै आएको छ । हाल बजारमा उपलब्ध डिजिकमका राउटरहरूको मूल्य १ हजार ५ सयदेखि ८ हजार रुपैयाँसम्म पर्ने बंशलले बताए ।

एकभन्दा बढी कम्प्युटर वा ल्यापटपमा इण्टरनेट चलाउनका लागि नेटवर्किङको आवश्यक पर्दछ । ‘इण्टरनेट सञ्जालमा राउटर अनिवार्य भएको छ’ ओसन कम्प्युर्टस प्रालिका महाप्रबन्धक सुरेश कायस्थले भने । हाल नेपाली बजारमा डेक्सटप तथा ल्यापटपमा पनि एकैसाथ प्रयोग गर्न मिल्ने धेरै पोर्ट भएका राउटरको माग बढिरहेको उनले बताए । ओसन कम्प्युर्टस नेपालका लागि ‘सिनेट’ राउटरको आधिकारिक विक्रेता हो ।

नेपाली बाजरमा ताइवानको ब्राण्ड सिनेटका एडीएसएल तथा ब्रोडब्याण्ड दुवै राउटर उपलब्ध छन् । वायर तथा वायरलेस गरी दुई प्रकारमा उपलब्ध यस्ता राउटरहरूले उच्चगतिमा नेटवर्किङको काम गर्ने महाप्रबन्धक कायस्थले बताए । हाल नेपाली बजारमा सिनेटका ५४ देखि ३ सय एमबीपीएस क्षमताका राउटरहरू रहेका छन् । बजारमा यस्ता राउटरहरू २ हजारदेखि १० हजार रुपैयाँसम्ममा खरीद गर्न सकिने ओसन कम्प्युर्टसले बताएको छ । कम्पनीले आफ्ना करीब १ सय डिलरबाट मासिक ३ सय राउटरको विक्री गर्दै आएको छ । वार्षिक करीब १ करोड रुपैयाँको राउटर विक्री गर्ने गरेको उनले बताए ।

ल्यापटपको बढ्दो प्रयोगसँगै नेपाली बजारमा वायरलेस राउटरको माग बढेको छ । ‘प्रायः ल्यापटपमा वायरलेस प्रविधि हुने भएकाले वायरलेस राउटरको माग बढेको हो’ डेल्टा इण्टरनेशनलका प्रबन्ध निर्देशक दिलीपकुमार कुण्डलियाले भने । एकैपटक थुप्रै ल्यापटप तथा कम्प्युटरमा एउटै लाइनबाट ताररहित इण्टरनेट चलाउन सकिने भएकाले वायरलेस राउटरप्रति आकर्षण बढेको उनले बताए ।

डेल्टा इण्टरनेशनलले टेण्डा ब्राण्डका राउटरहरू आधिकारिक रूपमा विक्री वितरण गर्दै आएको छ । चिनियाँ ब्राण्डको टेण्डा राउटर आधुनिक प्रविधियुक्त भएको कुण्डलियाले बताए । हाल नेपाली बजारमा टेण्डाका १ सय ५० र ३ सय एमबीपीएस क्षमताका एडीएसएल तथा ब्रोडब्याण्ड राउटरहरू उपलब्ध छन् । बजारमा १ हजारदेखि ४ हजार ५ सय रुपैयाँसम्ममा खरीद गर्न सकिने यस्ता राउटरहरू वायर र वायरलेस दुवै उपलब्ध रहेका छन् । राउटरको माग बढिरहेकाले यस वर्ष करीब १० हजार थान राउटर विक्री गर्ने डेल्टा इण्टरनेशनलले दाबी गरेको छ ।

ब्रोडलिङले शुरू गरेको मेस वाइफाई प्रविधिका इण्टरनेट उपभोक्ताको वृद्धिका कारण पनि राउटरको प्रयोग बढेको व्यवसायीहरू बताउँछन् । ‘वाइफाई प्रविधिमा आधारित इण्टरनेट सञ्जालका लागि पनि राउटर उपयोगी हुने भएकाले यसको माग बढेको हो’ ओसन कम्प्युर्टस प्रालिका महाप्रबन्धक कायस्थाले भने । यसरी नयाँनयाँ प्रविधिमा आधारित इण्टरनेट उपभोक्ताको वृद्धिसँगै राउटरको माग पनि बढेको सम्बन्धित व्यवसायीहरू बताउँछन् । हाल नेपालमा डिजिकम, जेटटीइ, टिपिलिङ, टेण्डा, सिनेट, प्लानेट, प्रोलिङ, डिलिङलगायत ब्राण्डका राउटर उपलब्ध रहेका छन् ।

पासवर्ड सेक्युरिटीका लागि कार्यक्रम
चैत २१, काठमाडौं (अस)। पासवर्डको प्रयोग र यसको महत्त्वबारे जानकारी दिने उद्देश्यले राजधानीमा एकदिने कार्यक्रम हुने भएको छ । प्रमाणीकरण नियन्त्रकको कार्यालय र कम्प्युटर एशोसिएशन अफ नेपालको (क्यान)को संयुक्त पहलमा कार्यक्रम हुन लागेको हो । सोका लागि पासवर्ड नियमावलीसमेत तयार भइसकेको छ । क्यानका अनुसार कार्यक्रममा सरकारका सचिवहरू तथा निजीक्षेत्रका उच्च व्यक्तिहरूको सहभागिता रहनेछ । कार्यक्रममा १ सय जना सहभागी हुने क्यानले जानकारी दिएको छ ।

पासवर्डको प्रयोग
एक जना साथीको इमेलको पासवर्ड केही दिनअघि चोरी भएका कारण इमेलमा आएका सबै समाचार चोरी भए । त्यसबाट उनले लेख्ने समाचारको सूचना पहिले नै अरूले पाए । यस्ता घटना हुनुको प्रमुख कारण पासवर्डको जथाभावी प्रयोग हुनु हो । अथवा, सबैतिर एउटै पासवर्ड हुनुको कारण पनि यस्ता घटना हुने गरेका छन् । आफूले अकाउण्ट खोल्नुभन्दा पहिले नै अरूले अकाउण्ट खोलेका कारण यस्तो समस्या आएको उनको भनाइ छ ।

पासवर्ड अकाउण्ट खोल्ने चाबी हो, जुन तपाइंसँग मात्र हुन्छ र हुनु पनि पर्छ । तपाईंसँग मात्र भएमा यो सुरक्षित हुन्छ । हामीमध्ये कतिपयले आफ्नो पासवर्ड अरूलाई पनि थाहा दिने गर्छन् । तर, यसबाट कतिसम्म हानि हुन्छ भन्ने कुरा भने सबैले बुझ्नु आवश्यक छ । कहिलेकाहीँ इमेलमा आउने अनावश्यक इमेलहरू यसैका कारक हुन् । पासवर्डको गलत प्रयोगले यस्ता इमेलहरू आउने गर्छन् । कतिपय समयमा आफूले जान्दाजान्दै पनि यस्ता गल्तीहरू हुने गर्छन् । त्यसकारण पासवर्डको प्रयोगबारे बुझ्नु आवश्यक छ ।

हामीमध्ये धेरैले फेसबूक, ट्वीटर, इमेललगायतका अकाउण्टमा एउटै पासवर्डको प्रयोग गर्छौं, जसले गर्दा कुनै एक गल्तीले सबै अकाउण्ट ह्याक हुने सम्भावना हुन्छ । त्यसैले फरक-फरक पासवर्ड प्रयोग गर्नुपर्छ । यसो गर्दा एक अकाउण्ट बन्द भएमा पनि अर्को अकाउण्टलाई फरक पर्दैन । यसबाट गोप्य सूचनाहरू बचाउन सकिन्छ । अहिले दैनिक ५ देखि ६ ओटासम्म साइबरसम्बन्धी उजुरी आउने गरेको हनुमानढोका प्रहरी साइबर अपराध नियन्त्रक कार्यालय स्रोतले बताएको छ । स्रोतका अनुसार दैनिक आउने यस्ता उजुरीहरूमा अकाउण्ट ह्याक भएको र साइबरबाट मानहानी भएको हुने गरेका छन् । यसको प्रमुख कारण पासवर्डको गलत प्रयोग देखिएको छ ।

पासवर्डको प्रयोग कसरी गर्ने ?
अकाउण्ट सुरक्षित गर्नका लागि पासवर्डलाई समय समयमा परिवर्तन गर्नु आवश्यक छ । हामीमध्ये धेरैजसो प्रयोगकर्ताले एकपटक पासवर्ड बनाइसकेपछि लामो समयसम्म एउटैले काम चलाइरहेका हुन्छौं । कम्प्युटर एशोसिएशन अफ नेपालका महासचिव नारायण न्यौपाने सके ३ महीना वा प्रत्येक ६ महीनामा पासवर्ड परिवर्तन गर्नुपर्ने बताउँछन् । त्यस्तै, पासवर्ड बनाउँदा सकेसम्म अरूले अनुमान गर्न नसक्ने खालको हुनुपर्छ । जस्तै एउटै पासवर्डमा अङ्क, कुनै पनि चिन्ह र अक्षरको सकेसम्म प्रयोग गर्नु राम्रो हुन्छ । यसो गर्दा सजिलै पासवर्ड चोरी हुने सम्भावना कम हुन्छ । चाहे त्यो इमेल होस् वा कुनै पनि एटीएमको पिन नम्बर, अनलाइनबाट बैङ्किङ सेवा लिनेहरूले समय-समयमा आफ्नो पासवर्ड पनि परिवर्तन गर्नुपर्ने हुन्छ । पासवर्ड बनाउँदा कुनै व्यक्तिको नाम, थर, आफू पढेको क्याम्पस वा स्कूल, काम गर्ने संस्था वा कुनै ठाउँको नामबाट राख्नु राम्रो मानिँदैन । त्यसैले, सकेसम्म अरूले अनुमान गर्न नसक्ने र थाहा नपाउने पासवर्ड राख्नुपर्छ ।

Admin 2011-04-05

Source : http://www.abhiyan.com.np/article-suchana_prabidhi_22_chaitra#.UJiCT2e_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s