आधारभूत आवश्यकता बन्यो प्लाष्टिक

September 25, 2012

प्लाष्टिक मानिसका लागि आधारभूत आवश्यकताजस्तै बनेको छ । अहिले हामीले लगाउने कपडा, चप्पल, चश्मादेखि कुर्सी, टेबल, बिजुलीका सामान, टेलिफोनलगायत विद्युतीय सामग्रीका साथै गाडीहरूमा समेत प्लाष्टिकको प्रयोग गरिएको हुन्छ । सजिलो, सस्तो र हलुका भएकाले प्लाष्टिकका सामग्रीको प्रयोग बढ्दै गएको छ । प्लाष्टिक चप्पल बन्न थालेपछि धेरै नेपालीका पैतालाले सहारा पाएको हो । हाल बसस्टप, पार्किङ, घर, विद्यालयलगायत छाउन प्लाष्टिक शीट पनि उपलब्ध छन् । पछिल्लो तथ्याङ्कअनुसार एउटा कारमा करीब ७५ किलोसम्म प्लाष्टिकको प्रयोग गरिएको हुन्छ । विश्वका २० भन्दा बढी मुलुकमा त कागजी नोट पनि प्लाष्टिककै प्रयोग गरिन्छ ।

हाल नेपालमा ५ सयको हाराहारीमा सानाठूला प्लाष्टिक उद्योग छन् । त्यसमा करीब २ सय उद्योग अनौपचारिक रूपमा सञ्चालित भइरहेको प्लाष्टिक उत्पादनका लागि कच्चापदार्थ आयातकर्ता कम्पनी एस्के प्रालिका प्रबन्ध निर्देशक शरदकुमार टिवडेवालाको भनाइ छ । प्रतिकूल औद्योगिक वातावरणका कारण उद्योगहरू बन्द हुने क्रम पनि बढ्दै गएको प्लाष्टिक उत्पादक सङ्घका अध्यक्ष शैलेन्द्रलाल प्रधान बताउँछन् । २५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको नेपाली प्लाष्टिक उद्योगमा हालसम्म ३० अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

आर्थिक वर्ष २०६६/६७ मा नेपालले करीब ११ अर्ब २० करोड रुपैयाँबराबरको कच्चापदार्थ (प्लाष्टिक ग्र्यानुएल्स) आयात गरेको थियो । यो वर्ष त्यो बढेर १८ अर्ब रुपैयाँ पुग्ने टिवडेवालाले बताए । हाल नेपालमा आठ एजेण्ट र अन्य ट्रेडरहरूले ग्र्यानुएल्स आयात गर्दै आएका छन् । नेपाल केही प्लाष्टिक वस्तुको उत्पादनमा आत्मनिर्भर भइसकेको छ । प्लाष्टिक झोला, प्याकेजिङ सामग्री, बोत्तल, फर्निचरलगायतमा नेपाल आत्मनिर्भर भइसकेको प्रधानले जानकारी दिए । अहिले प्लाष्टिक कुर्सी, प्याकेजिङ सामग्री निर्यातसमेत हुने गरेको उनले बताए । नेपाली बजारमा प्लाष्टिक सामग्रीको माग वर्षेनि बढ्दै गएको छ । छाना बनाउने प्लाष्टिक शीटको माग मात्र वार्षिक २० प्रतिशतले बढिरहेको व्यवसायीहरू बताउँछन् ।

चुनौती
नेपाली प्लाष्टिक उद्योगहरूले चर्को करको मार खेप्नुपरिरहेको व्यवसायीहरूको भनाइ छ । यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव पनि उत्तिकै छ । यस विषयमा अध्ययन तथा तालीमका लागि नेपालमा कुनै संस्था वा प्रतिष्ठान छैन । बढ्दो लोडशेडिङबाट पनि व्यवसायीहरू उत्तिकै आक्रान्त छन् । बिजुली आएको बेलामा पनि त्यसमा उतारचढाव बढी हुने र बीचबीचमा विद्युत् कट्ने हुँदा उद्योगीहरूले त्यसको ठूलो मूल्य खेपिरहनुपरेको टिवडेवालाले बताए । ‘उच्च तापक्रम दिएर पगालिएको प्लाष्टिक कहिलेकाहीँ अचानक विद्युत् रोकिँदा बिग्रिन्छ । यसले व्यवसायीलाई घाटामा पार्छ,’ उनले भने । विद्युत् आपूर्ति हुने समय थोरै भए पनि आपूर्ति गुणस्तरीय हुनुपर्ने उनको माग छ ।

पछिल्ला दिनमा प्लाष्टिक र वातावरणबीचको सम्बन्ध निकै विवादित बन्दै गएको छ । सडक, खोलानाला, पार्क, राजमार्गलगायत सार्वजनिक स्थलहरू प्लाष्टिककै कारण कुरूप बन्दै गएका छन् । प्लाष्टिककै कारण ढल अवरुद्ध भएर सडक दुर्गन्धित हुने गरेको छ । अर्कातर्फ प्लाष्टिक जलाउँदा बढी कार्बन उत्सर्जन हुने गरेको छ । र, यी सबैको दोष प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्लाष्टिक उद्योगहरूमाथि लाग्ने गरेको छ । तर, व्यवसायीहरू यस्तो आरोपको प्रतिवाद गर्छन् । ‘प्लाष्टिक आफैमा समस्या होइन । यसले उद्योग तथा समाजका विभिन्न क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । हामीले त्यसको उचित व्यवस्थापन गर्न मात्र नजानेको हो,’ टिवडेवालाले भने । कतिपय राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले आफ्नो वार्षिक कार्ययोजनामै प्लाष्टिकको प्रयोग नगर्न प्रोत्साहन गर्ने अभियान चलाएका छन् ।

प्लाष्टिकका सामान उत्पादकहरूले भने त्यस्तो कार्यलाई कमाई खाने मेलोको संज्ञा दिने गरेका छन् । खाद्यपदार्थ राख्न प्रयोग हुने र अन्य प्लाष्टिक फरक हुने गरेको वातावरण तथा जनस्वास्थ्य संस्थाका प्राविधिक सल्लाहकार भूषण तुलाधरको भनाइ छ । प्लाष्टिक पेट्रोलियम पदार्थबाट बन्ने हुनाले यसको प्रयोग सजगताका साथ गनुपर्ने उनले सुझाव दिए । प्लाष्टिकका सबै सामानको प्रयोगलाई गलत भन्नुभन्दा यसका झोलाको प्रयोग सही तरीकाले गर्नुपर्ने उनको भनाइ छ । प्लाष्टिकका सामग्रीको प्रयोग अनिवार्यजस्तै भएको अवस्थामा यसको प्रयोगलाई वातावरणीय दृष्टिले गलत भनेर परिभाषित गर्न नहुने तुलाधरको तर्क छ । पोलिथिनका झोलाजस्ता एकपटक प्रयोग हुने सामानको प्रयोगचाहिँ सही तरीकाले गर्नुपर्ने उनले सुझाव दिए । ‘स्वास्थ्य क्षेत्रमा नै प्लाष्टिकको अधिक प्रयोग हुने गरेको छ,’ उनले भने ।

प्रतिवर्ष प्रतिव्यक्ति १८ देखि ५० केजी प्लाष्टिक खपत गर्ने मुलुकमा त्यति समस्या छैन, जति मात्र आधा केजी मात्र खपत गर्ने हाम्रोजस्तो मुलुकमा छ । यहाँ पनि प्लाष्टिकका अन्य सामग्रीका कारण नभई पोलिथिन झोलाले मात्र यस्तो समस्या निम्त्याएको टिवडेवालाको भनाइ छ । उनी भन्छन्, ‘हामी बिहान उठेपछि लगाउने चप्पल, दाँत माभ्ने ब्रसदेखि हामी बस्ने कुर्सी, कम्प्युटर, गाडी, कपडा, चश्मालगायत सबैमा प्लाष्टिक छ । त्यसले त कुनै समस्या निम्त्याएको छैन ।’ पोलिथिन झोलाकै कारण समग्र प्लाष्टिक उद्योगले आरोप खेप्नुपरेको उनको भनाइ छ । सबैले प्लाष्टिक झोलालाई सङ्कलन गर्ने र बाहिर नफाल्ने हो भने पनि आधा समस्या समाधान हुन्छ । सुइरो कार्यक्रम, प्लाष्टिक, धातुजन्य र कुहिने खालका वस्तु छुट्टाछुट्टै राख्ने अभ्यासको पालना सबैले गर्नुपर्छ ।

विकसित मुलुकमा प्लाष्टिकबाट उत्पन्न हुने समस्यालाई ध्यान दिएर यसको प्रयोगका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम शुरू भएका छन् । तर, विकासोन्मुख देशमा भने प्लाष्टिकको प्रयोगपछि उत्पन्न हुने असरबारे केही वास्ता गरिएको पाइँदैन । त्यसैले पनि समस्या बढ्दै गएको हो । रिसाइक्लिङ उद्योगको स्थापनामा सरकारले पहल थाल्नु पनि उत्तिकै जरुरी छ । सरकारले स्वीकृति र सहयोग दिएमा निजीक्षेत्र रिसाइक्लिङ उद्योग चलाउन तयार रहेको व्यवसायीहरूको भनाइ छ ।

Source : http://www.abhiyan.com.np/article-product_9ashoj2069_aadharvut#.UJiInme_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s