विश्वस्तरीय उत्कृष्ट शैक्षिक संस्थाको

October 15th, 2012

डा. सुरेशराज शर्मा,
समाजका प्रत्येक क्षेत्रको आर्थिक विकासको गतिलाई तीव्रता दिन उपयुक्त ढाँचा र नेतृत्व दिन सक्ने, राजनीतिक व्यवस्थालाई सबल र सङ्लो राखी शासनपद्धतिलाई विश्वपरिवेशमा पत्यारलाग्दो अवस्थामा पुर्‍याउने, मुलुक हाँक्न सक्ने क्षमता भएको राजनीतिक नेतृत्व तयार पार्ने, कानुनसम्मत ढङ्गबाट सबै यन्त्रलाई सञ्चालन गर्न न्यायपालिका, सुरक्षा–व्यवस्था, कार्यपालिका, सामुदायिक विकासजस्ता सक्षम प्रशासनयन्त्रको निर्माण गर्न सघाउने र सामाजिक क्षेत्रका लागि चाहिने नेतृत्व तयार गर्ने क्षमता बोकेका उत्कृष्ट स्तरका केही शिक्षण संस्थाको खाँचो नेपालमा टड्कारो रूपमा देखिएको छ। अब पनि त्यतातिर नलागे कहिले लाग्ने ?

यस्तै कुराहरूलाई दृष्टिगत गर्दै बेलायतमा लन्डन स्कुल अफ इकोनोमिक्स, म्यान्चेस्टर विश्वविद्यालय इम्पेरियल कलेज, भारतमा दिल्ली स्कुल अफ इकोनोमिक्स, जवाहरलाल नेहरू युनिभर्सिटी, आईआईटी, आईआईएम जस्ता सयौँ सङ्ख्यामा शिक्षण संस्थाहरू बनाइएका छन्। हामीकहाँ त त्यस्ता संस्था बनाउने कामको शुरुआत नै भएको छैन, बरु काम नै नगरी फल खोज्ने प्रवृत्तिचाहिँ हामीकहाँ मौलाउँदै छ। राम्रो गर्न सिकाउने संस्कार दिनका लागि राम्रैसँग शुरुआत भएका सेडा, एनसीसी, एनएएसई जस्ता संस्थाहरू कोपिला नफक्रिँदै निमोठिईसकेका उदाहरणहरू नेपालमा थुप्रै छन्। अझै पनि हाम्रो मुख्य संयन्त्रले त्यही नै ढाँचा बोकिरहेको स्थिति छ। हार्वर्ड विश्वविद्यालयले केनेडी स्कुल अफ गभर्नेन्स र सि·ापुर विश्वविद्यालयले ली क्वान यु इन्स्टिच्युट अफ पब्लिक पोलिसी बनाउने जमर्को किन लिनुपर्‍यो भन्ने कुरा हामीले बुझ्ने बेला भएको छैन र ?

अल इन्डिया इन्स्टिच्युटको ढाँचाको एउटा संस्था नेपालमा पनि बनाइदेऊ भनेर हामीले भारतसित सहयोगको हात थाप्यौँ। हामीले पनि झन्डै ५ सय बिघा जमिनमा भौतिक पूर्वाधार सबै भएको धरानको घोपा क्याम्प उपलब्ध गरायौँ र हामी पनि यस कुरामा गम्भीरतापूर्वक लागेका छौँ भन्यौँ। तर संस्थालाई राजनीतीकरणबाट जोगाउँदै र पूर्ण स्वायत्तता दिँदै आफ्नो व्यवस्थापन क्षमता एआईआईएमएसकै हाराहारीमा पुग्न दिने दायित्व निर्वाह गर्नचाहिँ हामीले किन सकेनौँ ? आईआईटीजस्तो एउटा संस्था बनाउन गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भारतलाई आग्रह गर्नुभएको थियो र भारतले स्वीकार पनि गरेको थियो। आईआईआईटीजस्तो एउटा संस्था सुदूरपश्चिमाञ्चल भेगमा बनाइदिन शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा पनि भारतसित आग्रह गरिएको थियो, त्यो पनि भारतले बनाइदिन्छु भनेकै थियो। के त्यस्ता संस्थाहरू बनाइदिन गरिएको नेपालको आग्रह नेताहरूको विशुद्ध राजनीतिक लाभसित मात्र जोडिएका थिए ? नत्र किन बनेनन् ? अब आफैँलाई सोधौँ। व्यक्तिगत लाभकै नियतबाट संस्था बनाउन खोजिएका हुन् भने ती अवश्य पनि फस्टाउन सक्तैनन्, यो कुरा जसले पनि बुझ्न सक्छ। वीर अस्पतालमा बनेको ट्रमा सेन्टर तीन वर्षसम्म चल्न नसक्नु र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि राजनीतिकै सिकार हुन खोज्नुको कारण अझै स्पष्ट छैन र ?

शिक्षण संस्था कुनै पनि मुलुकका मस्तिष्क हुन्, मुटु हुन्, सर्वोपरि महत्त्वका संस्था हुन्। यी कुराको पहिचान भएको नेतृत्वको जमात तयार पार्न नसक्ने हो वा नजुर्मुराउने हो भने अहिलेका पिँढीका हामी सबैले कमण्डलु बोकेर काशीवासतिर गए हुुन्छ। यहाँको निर्मल पानीलाई धमिल्याएरै छाड्छौँ, यहाँका जनतालाई हाम्रो पछि लागेर हिँड्ने दास बनाएरै छाड्छौँ, हामी जे गर्न पनि विदेशतिर मुख ताक्ने अवस्थाबाट मुलुकलाई मुक्त हुने अवस्था आउनै दिँदैनौँ भन्ने मनस्थितिमा सधैँ बसिरहनुभन्दा त्यो नै राम्रो विकल्प हो भन्ने ठहरमा अब हामीले पुग्नै पर्छ।

के त्रिभुवन विश्वविद्यालयअन्तर्गतका इन्स्टिच्युट अफ मेडिसिन र इन्स्टिच्युट अफ इन्जिनियरिङ गन्तव्य ठाउँसम्म पुगिसके भन्ने निष्कर्ष हाम्रो हो त ? के त्यहाँ विश्वस्तरका प्राध्यापकहरूले नयाँ पिँढीमा आशा र भरोसाको सन्देश दिन सकिरहेका छन् त ? के त्यहाँ बाहिरी जगत्ले पत्याउन सक्ने स्तरको अनुसन्धान भइरहेको छ त ? के त्यहाँबाट निस्केका उत्पादनले मुलुकको स्वास्थ्य र भौतिक निर्माणको हैसियतलाई विश्वस्तरमा पुर्‍याउन सकेका छन् त ? छैनन् भने अझै ती संस्थाहरूले पूर्णता पाएका छैनन्, यात्रा अझै बाँकी छ भन्ने कुरा छर्ल· हुँदैन र ? ती संस्थालाई एआईआईएमएस वा आईआईटीको पङ्तिमा पुर्‍याउन धेरै बाँकी छ। पूर्वाधार बनाउन बाँकी छ। जनशक्तिको स्तर पुर्‍याउन बाँकी छ। त्यहाँबाट निस्किएका प्रतिफलहरू विश्वस्तरका छन् भनेर विश्वले पत्याउने हैसियतमा पुर्‍याउन बाँकी छ। मुलुकका शिक्षण संस्थाहरूलाई हामीले पूर्णता दिनै पर्छ, तर यही काम गर्न ढिलो भइसकेको छ।

विश्वस्तरको संस्थामा पुग्ने अठोट गरेर बीस वर्षपहिले काठमाडौँ विश्वविद्यालयको स्थापना भयो। स्पष्ट दिशा चाहिन्छ, त्यसमा संलग्न हुनेहरूमा पूर्ण प्रतिबद्धता र समर्पणभाव चाहिन्छ, गर्न लागेको कुरा पूरा गर्न सकिन्छ भन्ने आत्मबल चाहिन्छ, आर्थिक स्रोतका लागि सरकार अघि सरे मात्र सम्भव छ, विदेशबाट प्रचुर मात्रामा आर्थिक सहयोग पाए मात्र अगाडि बढ्न सकिन्छ भन्ने मनस्थितिलाई हटाई पृथक् किसिमबाट पनि सहयोग जुटाउन सकिन्छ भन्ने विश्वास लिएर हामीले अघि बढ्ने सड्ढल्प गर्‍यौँ। विश्वस्तरीय गुणात्मक शिक्षा प्रदान गर्नु हाम्रो उद्देश्य थियो।

त्यस बेला हाम्रो हातमा केही पनि थिएन, सरकारको आश्वासन वा प्रतिबद्धता पनि थिएन। विदेशी दातृसंस्थाको ठूलो आड पनि थिएन। बाहिरको राजनीतिक वातावरण पनि स्थीर प्रकारको थिएन। भौतिक पूर्वाधारको निर्माणका लागि र वैज्ञानिक उपकरणहरूको सङ्ग्रहका लागि धनराशी पनि थिएन। अझ महत्त्वपूर्ण कुरा त पूर्ण योग्यता र प्रतिबद्धता भएका फ्याकल्टीको सशक्त जमात तयार पार्ने गाह्रो काम थियो। सरकारले तयार पारेका मान्छेहरू छोड्न सरकार नचाहने, त्रिभुवन विश्वविद्यालयले तयार पारेका जनशक्ति उपलब्ध गराउन त्यो विश्वविद्यालय पनि नचाहने, राम्रो योग्यता हुने अधिकांश नेपालीहरू विदेशबाट नफर्कने, कोही–कोही फर्के पनि बढी आकर्षक सेवा–सुविधा पाउने आईएनजीओमा काम गर्न रुचाउने अवस्था थियो। त्यस्तो बेलामा काठमाडौँ विश्वविद्यालयलाई कसले दक्ष जनशक्तिको जमात तयार पार्न मद्दत गर्ला भन्ने पक्ष नै पत्याउन सबैभन्दा गाह्रो पर्ने पक्ष थियो। त्यति भएर पनि सरकारले हामीमाथि विश्वास गरेको थियो।

काठमाडौँ विश्वविद्यालयले शुरु गरेका कार्यक्रमहरूको स्तर गुणात्मक शिक्षा र सफल नेतृत्वको विकासका लागि उच्च रहेको स्थितिमा पनि यहाँबाट विदेश जान खोज्ने र सक्नेहरूलाई सरकारले धमाधम विदेशी मुद्राको सटही सुविधा दिँदै बाहिर पढ्न जान ‘नो अब्जेक्सन लेटर’ दिइरहेको थियो र नेपालले विश्व व्यापार स·ठनमा प्रवेश गरेपछि बाहिरका विश्वविद्यालयहरूलाई पनि यहाँ क्याम्पस खोल्न दिएर झनै प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुर्‍याइदिएको थियो। यस्तो परिवेशमा यसका अगाडि ज्यादै गम्भीर चुनौतीहरू थिए।

चुनौती पार गर्ने क्रममा यस विश्वविद्यालयले धेरै सङ्घर्ष गर्नुपर्‍यो। विश्वविद्यालयका कुलपतिसमेत रहेका देशका प्रधानमन्त्रीको निर्देशनअनुसार यसले थुप्रै मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने अभिभारा बोक्नुपर्‍यो, तर यसको आफ्नै मेडिकल कलेज बनाउन यसलाई सघाउने तत्परता भने सरकारले देखाउन सकेन। सातवटा मेडिकल कलेजको शैक्षिक गुणस्तरको जिम्मा लिने, आफ्नै मेडिकल कलेजको स्थापना गर्ने, त्यहाँ पढाउनका लागि झन्डै १०० जनाभन्दा बढी सङ्ख्याका पूर्ण योग्यताका शिक्षक तयार गर्ने जिम्मा यसका अगाडि तेर्सिएका थिए। त्यस्तै प्राय- सबै नयाँ विषयका इन्जिनियरिङ र विज्ञान विधामा बायोटेक्नोलोजी, इन्भाइरोन्मेन्टल साइन्स, इन्भाइरोन्मेन्टल इन्जिनियरिङ, फार्मेसी, नेचुरल साइन्सेज आदि विषयका स्नातक र स्नातकोत्तर तहको पढाइ नेपालमा नै पहिलोपटक शुरु गर्ने, व्यवस्थापन विषयमा एमबीए, ईएमबीए, एमफिल तहका कार्यक्रमहरू चलाउनेसम्मको जिम्मेवारी यही संस्थाले बोक्न पुग्यो। ती काम कति कठिन थिए र कति जोखिमपूर्ण प्रकृतिका थिए, त्यसका महत्त्वसम्म सरकारले बुझिदिन सकेन।

बीस वर्षको अवधिमा काठमाडौँ विश्वविद्यालयले हासिल गरेका उपलब्धिहरूको इमानदारीपूर्वक मूल्याड्ढन गर्ने हो भने यसले विश्वस्तरीय संस्था बन्नका लागि देखेको सपना असम्भव देखिँदैन। यस संस्थालाई नेपालले विश्वमा उदाहरण देखाउन सक्ने विश्वस्तरीय, उत्कृष्ट र पूर्णताप्राप्त शैक्षिक संस्था बनाउन आवश्यक भएको मात्र होइन, ढिलो नै भइसकेको छ।

Source : http://www.newsofnepal.com/non/newsdetail.php?id=68059

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s