बलिको शास्त्रीय र व्यावहारिक पक्ष

Sunday, 04 November 2012 21:59
 

रामप्रसाद धिताल

अहिंसावादी संघ÷संस्थाहरूले शक्तिपीठहरूमा पशुबलि नदिन आह्वान गर्दै विभिन्न अभियान चलाइरहँदा यस वर्ष पनि शक्तिपीठहरूमा हजारौंको संख्या बलि दिइयो । कतिपय शक्तिपीठहरूमा सरकारको तर्फबाटै गुठीमार्फत र सर्वसाधारणले आफ्नो गच्छेअनुसारको बोका, राँगा आदि किनेर शक्तिपीठमा बलि दिएका हुन्  । नवरात्रभरि नै बलि दिने परम्परा भए पनि सप्तमी, अष्टमी र नवमीमा विशेष रूपले बलि दिने परम्परा छ । महाष्टमीको मध्यरातमा गरिने बलिदानको चर्चा शास्त्रमा विशेष रूपले गरिएको छ । दसैंघर एवं शक्तिपीठहरूमा बलि दिई प्रसाद स्वरूप मासु खाने सनातन हिन्दूहरूको परम्परा छ । बाराको गढीमाईमा दिइने बलिको चर्चा त विदेशमा समेत हुने गरेको छ ।

अरूबेला मासु नखाने तर कुलदेवताको पूजा र दसैंमा विधिपूर्वक बलि दिएको मासु मात्र खाने पनि छन् । यता, जीवहिंसा गर्न नहुने मान्यताअनुरूप अहिंसावादीहरू कुभिन्डो, घिरौंलाजस्ता वनस्पतिजन्य वस्तुहरूको बलि दिने गर्छन् । कोहीकोहीले बलि नै दिन नहुने विचार राख्दै फलफूल चढाएर पूजा आराधना गर्ने गर्छन् । त्यसैले पनि दसैंको बेला अलि बढी हिंसा र अहिंसाको वैचारिक द्वन्द्व चल्ने गर्छ, नेपाली समाजमा । निरीह पशुलाई बलि दिएर मासु खानु पाप हो, बलिप्रथाले गर्दा मन्दिर फोहोर भयो… इत्यादि भनाइका बीच पनि दसैंमा बलि दिने परम्परा चलिरहेकै देखिन्छ । भारतका कतिपय शक्तिपीठमा बलि दिने चलन देखिँदैन । अर्कोतर्फ वैष्णव, कृष्णप्रणामी, रामानुज आदि विभिन्न सम्प्रदायको प्रभावमा परेर मन्दिरमा बलि दिन नहुने आवाज उठ्दै छ । शास्त्रहरूमा जीवका लाखौं जुनी मानिएका छन् । कीरा फट्यांग्रादेखि बोटबिरुवासम्मका जुनी लिनुपर्छ, लाखौं जुनी पार गरेपछि मात्र मान्छेको जुनी पाइन्छ ।

विज्ञानतर्फ फर्केर हेर्ने हो भने पनि पशुपन्छीबाहेक पनि बोटबिरुवाहरू पनि सजीवको कोटिमै पर्छ अर्थात् तिनमा पनि प्राण हुन्छ । बोल्न, कराउन, रुन, हास्न, हिँडडुल गर्न सक्दैनन् वा उनीहरूलाई काट्दा प्राणीहरूको झैं रातो रगत आउँदैन भन्दैमा अहिंसा गरेको भन्न मिल्छ र ? हामी आफ्नो प्राण धान्न खाद्यान्नको बोट काटेर र तरकारी फलफूल काटेर वा भाँचेर खानाका रूपमा प्रयोग गर्छौं । बास कपासका लागि प्रयोग हुने वस्तुहरू पनि बोटबिरुवालार्ई हानि नपु¥याई वा हिंसा नगरी प्राप्त नै हुँदैनन् । प्राणीहरूका झैं यी व्यवहार नदेखाए पनि बीउबाट अंकुराएर टुसा लाग्ने, सूर्यको उपस्थितिमा खाना बनाएर खाने फल लाग्ने, फलबाट पुन बीउ निस्कने जस्ता प्रक्रियाले यिनीहरूमा प्राण रहेको प्रस्ट हुन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि बोटबिरुवाहरू पनि सजीव वस्तु हुन् । यिनलाई खाँदा किन हिंसा नमानिएको ? पानीको प्रयोग गर्दा वा भोजन तयार गर्दा कतिपय जीवहरू मारिन्छन् । हिजोआज पानी दूषित हुने हुनाले विभिन्न प्रकारका औषधि हालेर कीटाणु मारेर पिउने गरिन्छ । चामल, दाल र तरकारीमा लागेका कति किराहरू त नदेखेरै पकाएर खाइन्छन् पनि । वैज्ञानिक तथ्यअनुसार दूधबाट दही बन्न एक प्रकारको कीटाणु (ब्याक्टेरिया)को उपस्थिति हुनैपर्छ ।

हाम्रा पौराणिक ग्रन्थहरू पल्टाउने हो भने वास्तविक हिंसा र अहिंसाको भेद पहिल्याउन गाह्रो पर्दैन । महाभारत शान्तिपर्वमा हिंसाविना सर्वसाधारणको मात्र होइन तपस्वीको पनि प्राण अड्दैन भनिएको छ । श्रीमद्भागवत महापुराण भन्छ– हात नहुने (खसी बोका आदि) जीवहरू हात हुने (मानिस) को, खुट्टा नहुने (घाँसपात) खुट्टा हुनेहरू (गाई भैंसी) को र अरू स–साना जीव (ब्याक्टेरिया) खुट्टा नहुने (घाँसपात) जीवका आधार हुन् । जीवविना अर्को कुनै जीवको जीवन छैन (१÷१३÷४६) । वैज्ञानिकहरूले भन्ने गरेको इकोसिस्टम यो तथ्यसँग पूर्ण रूपमा मेल खान्छ, किनभने जीव नखाई जीव बाँच्दैन यस प्रक्रियाले नै वातावरणलई सन्तुलित बनाइराखेको हुन्छ । वनस्पतिजन्य पदार्थ वा कीरा फट्यांग्रा खाने माछा, माछा खाने भ्यागुता, भ्यागुता खाने सर्प सर्प खाने न्याउरीमुसा इकोसिस्टमको चक्रलाई मिलाएर एकै ठाउँमा बसेका देखिन्छन् । हाम्रो वैदिक परम्पराअनुसार शास्त्रद्वारा वैद्य मानिएको पशुलाई विधिपूर्वक बलि दिएर प्रसादका रूपमा मासुको प्रयोग गर्ने गरिन्छ । नेपाली समाजमा कुलदेवताको पूजा, शारदीय नवरात्र आदि अवसरमा शक्तिको उपासना गर्दा विधिपूर्वक बलि दिनुपर्ने विधान छ ।

वैदिक परम्परामा यज्ञयज्ञादि र श्राद्धमा समेत मासुको प्रयोग बताइएको पाउन सकिन्छ । मासुकै प्रयोग गर्न नसके पनि अनुकल्पका रूपमा हिजोआज श्राद्धमा मासुको अनुकल्प (सट्टा) का रूपमा मासुको फुलौरा प्रयोग गरिँदै आएको तथ्य कतिपयलाई थाहा नहुन सक्छ । शास्त्रमा बताइएको वा शक्तिपीठमा दिइने पशुबलि स्थानीय परम्पराअनुसार छुट्टाछुट्टै महŒवको हुन्छ, जसलाई श्रीमद्भागवत्, देवीभागवत्, मार्कण्डेयजस्ता पुराणमा प्रस्ट बताइएको छ । नवरात्रभर घरघरमा पाठ हुने दुर्गा सप्तशतीमा पनि बलिको प्रसंग आउँछ ।

कुनै सम्प्रदाय वा व्यक्तिविशेषले सोच्ने गरेको र गर्ने गरेको जस्तो केवल मुखको स्वादका लागि मात्र पशुलाई बलि परम्परा चलेको होइन । कुनै पनि प्राणीको हिंसा नगर्नु भन्ने सनातन हिन्दू धर्मको मूल सन्देश भए पनि रूखबाट खसेका पात वा ढुंगा माटोजस्ता निर्जीव वस्तु खाएर जीवनयापन गर्न नसकिने हुनाले शास्त्रले बताएका जीवन यात्रामा आवश्यक पर्नेभन्दा बढी मोजमज्जाका लागि हिंसा नगर्नू भन्ने सार हो । समाजको अध्ययन गर्ने हो भने मानिसले आफू जे खान्छ आफ्ने आराध्यदेवलाई त्यही चढाउँछ । मासु नखानेहरू फलफूल चढाउँछन् । हाम्रा कतिपय जनजातिहरूमा मासु, जाँड रक्सीजस्ता पदार्थ पनि चढाउने चलन छ । धान भिœयाएपछि आफूले उपभोग गर्नुअघि देवीदेवता पितृलाई अर्पण गरेर मात्र आफूले खान्छ । हाम्रो समाजमा धान भिœयाएपछि कात्तिक मंसिरमा न्वागी खाने र नागञ्चमीमा चढाएपछि हरियो मकै खाने भन्ने छ ।

यसैकारण व्यावहारिक रूपले हेर्ने हो भने मासु खानेले उसका देवीदेवतालाई मासु चढाएको हो । आफूले उपभोग गर्नुअघि देवीदेवतालाई चढाएर प्रसाद मानेर खाएको हो । श्रुति, स्मृतिमा आफूले खाने पदार्थ देवपितृलाई अर्पण गरेर खानुपर्ने बताइएका छन् । देवीभागवत्को २६ अध्याययको ३२ औं श्लोकले भन्छ–  जो मांसाहारी छ उसले पशुबलि दिन हुन्छ । राँगो, बोका, बँदेल बलिका लागि विशेष मानिएका छन् । मासुकै लागि भनेर नेपालमा कृषकहरूलाई पशुपालनतर्फ आकर्षित गर्न थालिएको धेरै वर्ष भयो । केही समयअघिको एउटा टेलिभिजन बहसलाई आधार मान्ने हो भने पनि नेपालमा गरिने पशुपालनले नेपालको मासुको मागलाई धान्न सक्दैन । वर्षमा १५ अर्बबराबरको मासु आयात हुने गरेको छ । यसबाट पनि मासुको मोह कत्ति रहेछ भन्ने अनुमान गर्न सकिन्छ ।

दसैंको गर्जो टार्नकै लागि खसीबोका जोगाएर राख्ने गरेको पनि देखिन्छ । दसैंका लागि खसीबोका तिब्बततिरबाट ल्याइने चलन भए पनि गाउँघरमा पालिएका खसीबोकाले दसैंमा बजारको माग पूरा गर्छ । खसीबोका आदि पशुपालन गरेर आयआर्जन गर्दै आएका हजारौं÷लाखौं मानिसको आयआर्जनमा कस्तो किसिमको असर पर्ला ? यो पनि सोचनीय छ । मुलुकमा फस्टाइरहेको कुखुरा बाख्रा, बगुंरपालन आदि व्यवसाय के होला ? मन्दिर शक्तिपीठमा बलि रोक्दैमा मानिसले मासु खान छोड्ला ? रह्यो बलि दिने परम्पराले गर्दा मन्दिर दसैंमा जानै नहुने भयो, पर्यटक घटे भन्ने कुरा त्यसका लागि भक्तजनहरू हिंसा नहुने राम, कृष्ण बुद्धजस्ता देवदेवीका मन्दिर, चैत्य गएर शान्ति लिन सक्ने तथ्य त छँदै छ । मन्दिर पर्यटनस्थल कदापि होइन, सम्बन्धित धर्मसंस्कृतिको आस्थाको केन्द्र हो । कुनै पनि मन्दिर वा शक्तिपीठ कुन उद्देश्यले बनेका छन् भन्ने कुरा महŒवपूर्ण हो ।

Source : http://www.rajdhani.com.np/index.php?option=com_content&view=article&id=3486%3A—-&catid=27%3A2012-06-28-14-57-25&Itemid=17&lang=en

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s