विश्वको सफल सहकारी स्पेनको ‘मोन्द्रागोन’

October 18, 2012
जुन समुदायमा पीडा, दुःख, कष्ट र अभाव हुन्छ, त्यहाँका सदस्य एकजुट भएर स्थापना गरेको सहकारी सफल, सक्षम र दिगो रूपमा सञ्चालन भएको पाइएको छ । त्यसैले त भनिन्छ– सहकारी रहरले होइन, बाध्यताले खोलिन्छ । तर, हामीकहाँ सहकारी खोल्नु एउटा रहर (फेशन) भएको छ र समावेशीको नाममा सहकारीको ज्ञान नै नभएका व्यक्तिले त्यसको नेतृत्व लिन खोज्नु एउटा पेशा नै भएको छ । यही कारणले पनि नेपालको सहकारी आन्दोलनले अपेक्षित गति लिन सकेको छैन ।

यसै सन्दर्भमा यस लेखमा विश्वका सफल सहकारीमध्ये एक स्पेनको मोन्द्रागोन सहकारी संस्थाको चर्चा गर्ने चेष्टा गरिएको छ । यस सहकारीको इतिहास र कार्यबाट केही हदसम्म मात्र नेपाल सरकार, नीतिनिर्माणमा संलग्न निकाय र सहकारी कर्मीहरूले शिक्षा लिए नेपालको सहकारी आन्दोलनको गुणात्मक विकासमा सहयोग पुग्न सक्ने अपेक्षा राख्न सकिन्छ ।

स्पेनको बास्क प्रान्तमा अवस्थित यस सहकारीको बिजारोपण सन् १९४१ मा भएको थियो । खोसे एम आरिसमेन्दिआरिएत्ता नाम भएका एक युवा क्याथोलिक पादरीको जम्मा ७ हजार जनसङ्ख्या भएको मोन्द्रागोन गाउँमा आगमन भएपछि यो सहकारीको स्थापना भएको हो । स्पेनिश गृहयुद्धपछि गरीबी, भोक, निर्वासन र तनावले गर्दा त्यस गाउँका बासिन्दाले चरम कष्ट भोगिरहेका थिए । गाउँको यस्तो अवस्था देखेर ती पादरीले सहअस्तित्वको आधारमा त्यहाँका बासिन्दालाई रोजगारी दिई जीविकोपार्जनमा सहयोग पुर्‍याउन सन् १९४३ मा प्राविधिक कलेजको स्थापना गरे । यस कलेजमा सबैका लागि समान रूपले प्रवेश खुला थियो । यस गाउँमा सहकारी संस्था खोल्नुभन्दा अघि उनले ऐक्यबद्धता र सहभागिताका आधारमा क्याथोलिक सामाजिक शिक्षासँग मेल खाने गरी युवा समुदायलाई शिक्षित बनाउन वर्षा व्यतीत गरे । यस प्रान्तमा विद्यमान गरीबीले गर्दा बहुसङ्ख्यक युवाहरू जीविकोपार्जनका लागि अन्यत्र जाने प्रचलन अत्यधिक मात्रामा थियो । जुन अवस्था नेपालको परिप्रेक्ष्यमा पनि मेल खान्छ ।

सहकारी भावनालाई मूर्तरूप दिनकै निम्ति पादरीले प्राविधिक शिक्षालय खोलेका थिए । यही शिक्षालयलाई आधार बनाएर उनले एउटा सानो स्टोभ बनाउने कारखाना पनि स्थापना गरे । सहकारीमार्फत व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने पूँजीको जोहो गर्न उनले स्थानीय व्यक्तिहरूलाई ससानो बचत गर्न प्रेरित गरे । समूहमा जम्मा गरिएको त्यही बचतलाई पूँजी बनाई उनले पपुलर लेबर बैङ्क नामको सहकारी बैङ्क स्थापना गरे । बैङ्कका प्रणेताहरूले बास्क प्रान्तमा बसोवास गर्ने व्यक्तिहरूलाई स्थानीय कच्चापदार्थमा आधारित उद्योग स्थापना गर्न लगाए । त्यसपछि युवाहरूलाई आफ्नै गाउँमा टिकाइराख्न यो मात्र उचित मार्ग हो भनी अह्वान गरे । मोन्द्रागन गाउँमा श्रमिककै स्वामित्वमा औद्योगिक एकाइ स्थापना गरियो र पछि गएर यसका सेवाहरू बास्क प्रान्तभरि नै विस्तार भयो । यो सहकारीबाट आर्जित मुनाफाको केही अंश श्रमिकहरू र केही अंश पूँजीगत कोषमा बाँडियो भने केही अंश सामुदायिक विकासका लागि सामाजिक कोषमा छुट्ट्याइयो ।

बिस्तारै औद्योगिक शिक्षालय पनि क्रमशः उच्च प्राविधिक तालीम प्रदान गर्ने पोलिटेक्निक संस्थाको रूपमा उदय भयो । हाल मोन्द्रागोन सञ्जालअन्तर्गत उच्च प्रविधियुक्त औद्योगिक निकाय, कृषि सञ्जाल, विद्यालयहरू, एउटा विश्वविद्यालय, खुद्रा पसलहरू, आवास, एउटा सहकारी बैङ्क, अनुसन्धान तथा विकास संस्था र एउटा सहकारी संस्था सञ्चालित छ । यी संस्थाले निरन्तर रूपमा कल्याणकारी लाभ र सेवा प्रदान गरिरहेका छन् । मूलतः सहकारीले विभिन्न स्तरमा सन्तुलन ल्याउने उद्देश्य राखेको छ, जसमध्ये समुदायभित्रका व्यक्तिहरू, सहकारीको सम्पूर्ण प्रणालीभित्र कुनै विशेष सहकारी, बजारको आवश्यकताअनुसार कामदार र कामदारहरूको मानवीय हित, वातावरणलाई हानि नपुग्ने गरी औद्योगिक क्रान्ति विधि यसका प्रमुख मार्ग रहेका छन् ।

सन् १९९० को उत्तरार्धतिर पपुलर लेबर बैङ्क सयौं शाखा र झण्डै १० अर्ब डलर सम्पत्ति भएको एक ठूलो बैङ्कका रूपमा उदय भयो । यस सहकारीको कुल पूँजी १० अर्ब डलरभन्दा बढी पुग्यो । यसमा कर्मचारीहरूको सङ्ख्या २६ हजार पुग्यो । सन् १९९० को उत्तरार्धमै यी सबै एकाइले आफूलाई मोन्द्रागोन कोअपरेटिभ कर्पारेटका रूपमा पुनर्गठित गरे । हाल मोन्द्रागोन कोअपरेटिभ कर्पारेट यूरोपेली सङ्घमा प्रतिस्पर्धा गर्ने सबैभन्दा ठूलो र सफल स्पेनी संस्थाका रूपमा परिचित छ ।

मोन्द्रागोन कोअपरेटिभ कर्पारेशनले आफूलाई ‘जनताका लागि जनताद्वारा स्थापित र हाम्रो सहकारी अनुभवको आधारभूत सिद्धान्तद्वारा प्रेरित’ भनी वर्णन गर्छ । यो संस्था पूर्णरूपले वातावरण र विशेषगरी सहकारी व्यवसायमार्फत रोजगार सृजना गरी प्रतिस्पर्धी सुधार र ग्राहक सन्तुष्टिद्वारा समाजमा सम्पत्तिको परिचालनमा प्रतिबद्ध रहिआएको छ । सन् २००२ मा यो संस्थाले यूरोपेली सहकारीहरूबीच ज्ञान र अनुभव साटासाट गर्ने उद्देश्यले यूरोपियन एशोसिएशन अफ कोअपरेटिभ ग्रूप्स स्थापनामा विशेष सहयोग पुर्‍याएको थियो ।

अन्तरराष्ट्रिय सहकारी महासङ्घले सन् १९९५ मा संशोधनसहित कायम गरेको सहकारीका सात सिद्धान्तको अनुशरण गर्दै संस्थाको सफलताका लागि समान उद्देश्य भएका व्यक्तिलाई संस्थाको सदस्यता खुला राखेको छ । यसैगरी संस्थालाई प्रजातान्त्रिक सङ्गठनका रूपमा निरन्तर विकास गर्दै ल्याएको छ । यो संस्था श्रमिक (कामदार)हरूको संस्था भएको हुँदा श्रमको सार्वभौमिकतालाई अक्षुण्ण राखिएको छ । संस्थामा सम्पूर्ण पूँजी श्रमिकहरूकै छ । नाफा पनि श्रमिकहरूकै निम्ति गरिन्छ । यस सिद्धान्तअन्तर्गत स्वव्यवस्थापनको प्रगतिशील विकास र व्यवसायको व्यवस्थापनमा सदस्यको सहभागिता रहेको छ । यसको अर्का मूलभूत सिद्धान्त ऐक्यबद्धता रहेको छ । यसैगरी अन्तरसहयोग, सामाजिक रूपान्तरण, विश्वव्यापीकरण, शिक्षा आदि यो सहकारीका मुख्य आधार रहेका छन् । मोन्द्रागोन सहकारी सफल भए पनि असफल भए पनि यसलाई कहिल्यै विक्री नगरिने प्रावधान राखिएको छ । बाह्य व्यक्ति वा संस्थाले यसको स्वामित्व खरीद गरी नियन्त्रण गर्न सक्दैनन् । यसले सामाजिक उत्तरदायित्वका लागि व्यवस्थापनको क्षमतालाई संरक्षण गरेको छ । साथै यसले समुदायको दीर्घकालीन हितलाई सर्वापरि राखेको छ ।

मोन्द्रागोन सहकारीको सफलताका कारण केलाएर र यी सफलताका आधारलाई नेपालको परिप्रेक्ष्यमा लागू गर्न सके बहुसङ्ख्यक श्रमिकको आर्थिक तथा सामाजिक विकासमा सहकारीले ठूलो योगदान प्रदान गर्न सक्ने देखिन्छ । हाल माओवादी लडाकूहरूमध्ये स्वैच्छिक अवकाश लिनेलाई उनीहरूको शीप, ज्ञान र दक्षताअनुरूप उनीहरूको छुट्टै सहकारी स्थापना गर्नेतर्फ सरकार, नीतिनिर्माता र सम्बन्धित निकायले पहल गरेमा यसको परिणाम अवश्य पनि सकारात्मक आउन सक्छ । अवकाशप्राप्त सबै लडाकूलाई एकजुट बनाई सहकारीमा आबद्ध गराउने कार्यतर्फ राज्य स्वयम्ले अग्रसरता लिने हो भने समाजमा शान्ति स्थापना र सामाजिक सद्भावमा पनि ठूलो योगदान पुग्न सक्ने देखिन्छ ।

अन्त्यमा, आफूले दुःखकष्ट गरी आर्जन गरेको रकमप्रति माया, अपनत्व र संरक्षणको भावना हुन्छ । तसर्थ पैसा दिएर सहकारी खोल भन्नु वास्तवमै पैसाको दुरूपयोग हो । बरु सहकारीको सफलताका लागि सरकारको समेत सहभागितामा पूर्वाधार विकासमा राज्यले सहयोग पुर्‍याएमा त्यो दिगो हुन सक्छ । यसका सम्बन्धित निकायहरूको सुदृढीकरण, सही र योग्य व्यक्तिको नियुक्ति र मनोनयनमा राज्यले ध्यान पुर्‍याउन सके नेपालमा पनि मोन्द्रागोनजस्ता सहकारी जन्माउन सकिन्छ । तर, त्यसका लागि सहकारी अभियन्ता हौं भनेर हिँड्नेहरूले लोभ, मोह, ईष्र्याजस्ता व्यक्तिगत स्वार्थलाई त्याग्नै पर्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s