बजेटको तयारी र विरोध

गत असारमा अर्थमन्त्रीद्वारा प्रस्तुत गरिएको चौमासिक बजेटको समयसीमा कार्तिक मसान्तमा सकिने भएको छ । बजेटको समय सीमा सकियो भने त्यसलाई निरन्तरता दिनु जरुरी हुन्छ । अन्यथा आर्थिक कामकाज ठप्प हुन पुग्छ । त्यसैले वर्तमान सत्ताघटकको गठबन्धनले आगामी असारसम्मकै लागि बजेट ल्याउने तयारी गरेको छ । सरकारको यो तयारीलाई अन्य दलले भने समर्थन जनाएका छैनन् । उनीहरूको भनाइ चौमासिक नै बजेट ल्याउनुपर्ने र त्यो पनि सबै दलको सहमतिमा हुनुपर्ने रहेको छ । त्यसैले पूर्ण बजेट पारित हुन्छ हुँदैन त्यो भन्न सकिने अवस्था छैन । तर, कार्तिक मसान्तभित्र बजेट ल्याउन भने अनिवार्यजस्तै भएको छ । बजेट समयमा जारी भएन भने त्यसको मार विकास निर्माणमा त पर्ने नै छ, साधारणतर्फको बजेट नभएर कर्मचारीले तलब खान पनि नपाउने अवस्था उत्पन्न हुनजान्छ । वास्तवमा देशमा हाहाकार नै मच्चिन्छ ।
आंशिक बजेट सबै कुरामा अधुरो हुन्छ । कतिपय कामहरू वर्ष दिनमात्र हैन, लामो समयसम्म सञ्चालन भएका हुन्छन् । ठूला प्रोजेक्टहरूमा प्याकेजपिच्छे बजेट निकासा दिनुपर्ने हुन्छ । अन्यथा हर्जाना भर्नुपर्छ । विदेशी निकायले निर्माण गर्न थालेका योजना होस् वा आन्तरिक रूपमा निर्माण हुन लागेका योजनाहरू होऊन् तिनमा बजेट प्रवाह रोकिनु हुँदैन । कर्मचारीको तलब पनि महिनौंपिच्छे वितरण गर्नैपर्ने हुन्छ । यस्तो वास्तविकता रहँदारहँदै पनि बजेटलाई कहिले तृतीयांश र कहिले चतुर्थांश बजेटमात्र ल्याउन दवाव दिने तथा पूर्ण बजेट ल्याउन नदिने कारण भने बेग्लै छ । जसको नेतृत्वमा सरकार बन्छ त्यसले आफ्नो योजनासहित बजेट तर्जुमा गर्छ । त्यस्ता योजना लोककल्याणकारी भए भने बजेटको कारणबाट सरकार वा पार्टी लोकप्रिय हुने भएकोले प्रतिपक्षले त्यस्ता कार्यक्रमलाई समर्थन गर्दैनन् । यो रोग पहिले पनि थियो र अहिले पनि यथावत छ । वास्तवमा यो कुनियत हो । राम्रो योजना जसले ल्याए पनि सम्मान गर्नुपर्छ । बजेट जसले ल्याउँछ त्यसले आम निर्वाचनमा पनि प्रभाव पार्न सक्छ । आखिरी पूँजीवादी समाजमा बजेट जारी गर्नेले आफ्नो अनुकूलको बनाउनु अनौठो विषय हैन ।
जसको जस्तो स्वार्थ रहे तापनि बजेट मुलुक सञ्चालन गर्नको लागि अति आवश्यक आर्थिक अंग हो । जसले बजेट जारी गरे पनि राष्ट्र र जनतालाई सर्वोपरी मानेर योजना बनाउनु पर्ने हुन्छ । त्यसको लागि दवाव दिनु पर्छ न कि बजेट ल्याउनै नदिएर रोक्ने काम गर्नु । नेताहरूका, पार्टीहरूका आ–आफ्ना राजनैतिक स्वार्थ होलान्, सत्ता स्वार्थहरू होलान्, संघर्षहरू गरिएलान्, परन्तु बजेटलाई प्रभाव पार्ने गरी आन्दोलन गरिनुहुँदैन । बजेटलाई निरन्तर प्रवाह गर्न दिइनु पर्छ । बजेटमाथिको राजनीतिलाई परित्याग गर्नुपर्छ । तबमात्र आम जनतासम्म बजेट पुग्न सक्छ । विकास निर्माणका काममा अवरोध उत्पन्न हुँदैन । जनताका रोजगारी निरन्तर चलिरहन पाउँछन् । आर्थिक कार्यक्रमहरू बनाउन सजिलो हुन्छ । यो कुरालाई ध्यानमा राखेरमात्र विरोध गर्नुपर्छ । विरोधको लागि विरोध गर्ने काम गरियो भने त्यसले आम जनतामा संकट ल्याउँछ । त्यस्तो संकटले सबैलाई समस्यामा धकेल्छ । यो कुरा बुझ्नु आवश्यक छ ।

Source : http://dainikpatra.com/wordpress/?p=2012-11-01

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s