नेपाली बीमाक्षेत्रको सम्भावना र चुनौती

October 31, 2012
विगत एक दशकमा विकासशील देशमा बीमाशुल्क आर्जनको वृद्धिदर करीब ११ प्रतिशत रह्यो भने विकसित देशको केवल १ दशमलव ३ प्रतिशतमात्र रह्यो । चालू दशकमा पनि यही अवस्था कायम रहने अनुमान छ । विकसित देशका बीमा कम्पनीहरू विकासशील देशमा आफ्नो लगानी, प्रविधि उपयोग र बजार विस्तार गर्न उत्प्रेरित रहेका छन् । खासगरी एशियाली र ल्याटिन अमेरिकी देशहरूमा बीमाशुल्क वृद्धिदर उच्च रहेको देखिन्छ । एशिया तथा ल्याटिन अमेरिकी क्षेत्रमा मुद्रास्फीतिको न्यूनदर, नियमन तथा उदारीकरणमा स्थायित्व र व्यवसायिकता तथा बजार विस्तारको क्रममा बैङ्कासुरेन्स तथा अन्य कृषिजन्य बीमामा भएको सुधारका कारण बीमाशुल्क आर्जन र बीमाको क्षेत्र विस्तार भएको हो । यसकै कारण यस क्षेत्रमा विश्वकै बीमा बजारको आकर्षण बढेको हो ।

विकसित देशका बीमा कम्पनीभन्दा स्थानीय बीमा कम्पनीको सफलता तुलनात्मक रूपमा राम्रो देखिएकाले एशिया र ल्याटिन अमेरिकी बीमा कम्पनीहरूमा देखिएको व्यावसायिकता तथा वितरण प्रणाली निकै आशालाग्दो भएको छ । यद्यपि न्यून ब्याजदरको कारण आयमा कमी तथा पूँजीको अपर्याप्तताले बीमा क्षेत्र सङ्कटमा समेत परेको देखिन्छ । एशिया तथा ल्याटिन अमेरिकी देशहरूमा अण्डरराइटिङ नाफा अन्य क्षेत्रको तुलनामा कम देखिएको छ । त्यसैले विकासशील देशका बीमा कम्पनीहरू अनुशासित र व्यावसायिक अण्डरराइटिङमार्फत स्थिर बीमा बजारको निर्माण गरी अघि बढ्नु आवश्यक छ ।

बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि देखिए पनि बीमाको बजार पहुँच भने अत्यन्त न्यून छ । समग्र एशिया र ल्याटिन अमेरिकी क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करीब ३ प्रतिशतमात्र बीमा क्षेत्रको योगदान देखिन्छ भने विकसित देशहरूमा करीब ९ प्रतिशत देखिन्छ । खासगरी विकसित देशहरूको व्यावसायिक तथा प्रतिस्पर्धी आर्थिक वातावरण, उचित नियमन तथा नियन्त्रण, बीमा उत्पादनमा विविधीकरण र व्यवस्थित वितरण प्रणालीका कारण जीडीपीमा उल्लेख्य योगदान पुगेको हो । आर्थिक विकासका क्रममा ठूलो मात्रामा घरजग्गा, उत्पादनमूलक क्षेत्र तथा पूर्वाधार विकासमा लगानी हुने हुन्छ । यसबाट सम्बन्धित क्षेत्रका जनताको आय, सम्पत्ति तथा उपभोग क्षमतामा उल्लेखनीय वृद्धि हुन्छ । यस्तो अवस्थामा आर्थिक विकास र बीमाशुल्क आर्जनले एकअर्कामा राम्रो सहयोग पुर्‍याउन सक्छ । आर्थिक विकासले बीमाको माग बढ्ने र बीमा वृद्धिबाट हुने बचतले समग्र विकासमा सहयोग पुर्‍याएको देखिन्छ ।

विगत तीन दशकमा एशियाको कृषि आधारित अर्थतन्त्र औद्योगिक तथा सेवामा रूपान्तरण हुने क्रम तीव्र रहेको छ । यस अवधिमा एशियाका बहुसङ्ख्यक देशमा उत्पादनमूलक उद्योगहरूको विस्तार, केही देशमा घरेलु तथा निर्यातमूलक सेवाक्षेत्रको विस्तार भयो । र, पूर्वाधार निर्माणमा अत्यधिक लगानी तथा बढ्दो विश्व व्यापारमा सहभागिताका कारण सृजित रोजगारीको अवसर आर्थिक विकासको कारक बनेको देखिन्छ । वैयक्तिक आय बढेकाले तीव्र रूपमा सम्पत्तिको निर्माण र उपभोग क्षमतामा समेत व्यापक वृद्धि भएको देखिन्छ । यसबाट जीवन तथा निर्जीवन बीमाको माग बढ्न गई आर्थिक वृद्धिमा समेत योगदान पुगेको छ । साथै, यस क्षेत्रको उद्यमशीलतामा सकारात्मक प्रभाव परेको छ । एशियाका चीन र भारतको आर्थिक विकास र विस्तारले पूरै विश्वको ध्यान खिचेको छ । एशियाको समग्र क्षेत्रमा आएको आर्थिक नवजागरण र समृद्धि बीमाका लागि पनि निकै महत्वपूर्ण छ । चीनमा मोटरको तेस्रोपक्ष बीमा अनिवार्य गरिएकाले चीनको मोटर बीमा बजार विश्वकै ठूलो भएको छ । मुद्रास्फीति उच्च भएको अवस्थामा जीवन बीमाको मूल्य प्रस्थापनामा ह्रास आउँछ । एशियाको मुद्रास्फीतिदर हालसम्म नियन्त्रित नै रहेकाले जीवन बीमा उत्पादनहरूको विक्रीदर उच्च छ ।

अर्थतन्त्रमा मन्दी आएपछि औद्योगिक उत्पादन, मूल्यस्तर, रोजगारीजस्ता कुरामा असर पर्ने हुँदा समग्र अर्थतन्त्र सङ्कुचित हुन्छ । यस्तो स्थितिमा जीवन बीमाको बीमाशुल्क आर्जनमा समेत नकारात्मक असर पर्छ । मन्दीको स्थितिमा जीवन बीमा उत्पादनको विक्रीमा नकारात्मक स्थिति देखिनु र समर्पण मूल्य तथा बीमालेख व्यतीत हुने क्रम बढ्नु स्वाभाविकै हो । तर, मन्दीको समयमा पनि एशियाको बीमाबजारमा त्यस्तो अवस्था देखिएन । मन्दीको समयमा हायर पर्चेज कर्जाको सीमितताका कारण मोटर, घरकर्जाजस्ता क्षेत्रमा कम पूँजी उपलब्ध हुने हुँदा निर्जीवन बीमामा पनि असर पर्दछ । तर, एशियाको उदीयमान अर्थतन्त्रमा पूर्वाधार निर्माणमा भएको अत्यधिक लगानी तथा वैदेशिक लगानी बढेकाले निर्जीवन बीमा पनि कम भएको छैन । लामो समयसम्म स्थानीय बीमा कम्पनीहरूमात्र कार्यरत रहेकोमा विगत दशकमा देशहरूले खुला आर्थिक नीति अवलम्बन गरेपछि घरेलु तथा अन्तरराष्ट्रिय लगानीका बीमा कम्पनीको स्थापना उल्लेख्य बढेको छ । यसबाट व्यावसायिकता र प्रतिस्पर्धात्मकता बढेर समग्र बीमाक्षेत्र नै क्रमिक रूपमा बलियो बन्दै गइरहेको छ । एशियाका अधिकांश देश विश्व व्यापार सङ्गठनमा आबद्ध भएकाले पनि यस क्षेत्रमा बीमा र पुनर्बीमा कम्पनीको वृद्धि उल्लेख्य भएको छ ।

एशियाको बीमा व्यवसायको विस्तारमा बैङ्कासुरेन्सको योगदान क्रमिक रूपमा बढ्दो तथा प्रभावशाली देखिएको छ । भारत र चीनको बीमा क्षेत्र अझै पनि नियन्त्रित रहे पनि यो क्रमिक रूपमा खुकुलो बन्दै गएको छ । भारत, चीन र नेपालमा समेत स्थानीय बीमा कम्पनीहरूको वर्चस्व रहेको र यी कम्पनीहरू विदेशी बीमा कम्पनीभन्दा अगाडि रहेका छन् । स्थानीय बीमा कम्पनीले प्रयोग गर्ने सूचनाप्रविधि, जनशक्ति तथा ग्रामीण क्षेत्रसम्म फैलिएको अभिकर्ताको सञ्जाल र विश्वसनीयताका कारण तिनको प्रतिस्पर्धी क्षमता बढी रहेकाले यस क्षेत्रको बीमा उद्योगको स्थिति निकै व्यावसायिक रहेको छ । बैङ्क तथा वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्था, लघुवित्त र लघुबीमाबीचको सहकार्यका कारण एशियाका बीमा कम्पनीको पहुँच ग्रामीण क्षेत्रका सामान्य जनतासम्म विस्तार भएको छ । यसो हुँदा बीमा क्षेत्र एशियाली अर्थतन्त्रको उदीयमान र अपरिहार्य संरचनाका रूपमा विकसित भएको छ ।

नेपालले बैङ्क र बीमा व्यवसायमा निजी लगानी करीब २५ वर्षअघि नै खुला गरेको हो । भारत र चीनमा बैङ्क तथा बीमा क्षेत्रमा लगभग १५ वर्षअघि मात्र निजी लगानी खुला भएको तथा अझै पनि सरकारी नियन्त्रण कायमै छ । विश्व व्यापार सङ्गठनमा प्रवेश गर्नुअघि नै नेपालमा बैङ्क र बीमाक्षेत्रमा निजी लगानी खुला गरिएकाले नेपालका स्थानीय बैङ्क र बीमा कम्पनीको प्रभाव र पहुँच बढी हुनु स्वाभाविकै हो । यद्यपि सानो अर्थतन्त्र भएकाले स्थानीय बैङ्क र बीमा कम्पनीको बजारसमेत सीमित रहेको यथार्थ भुल्नु हुँदैन ।

भारत, चीन तथा एशियाका अन्य उदीयमान अर्थतन्त्र जीवन बीमा र स्वास्थ्य बीमा सँगसँगै कृषिबीमा, पशुबीमा, मौसम बीमा र लघुबीमातर्फ आर्कषित भएको देखिन्छ । नेपालमा पनि सहकारी क्षेत्रका सम्पत्ति, दायित्व, जीवन र स्वास्थ्य बीमा सँगसँगै लघुबीमामार्फत ग्रामीण क्षेत्रसम्म पहुँच बढाउन बीमा कम्पनीहरू सक्रिय देखिन्छन् । नेपालको राजनीतिक अस्थिरताका कारण उद्योग, व्यापार र कृषिक्षेत्रमा केही सुस्ती देखिए पनि शहरी क्षेत्रको विस्तार, विप्रेषण र आयातनिर्यात व्यापारमा वृद्धि भएका कारण बीमा उद्योगको बीमाशुल्क आय क्रमिक रूपमा बढिरहेको छ । जीवन बीमाको वार्षिक बीमाशुल्क आयमा सरदर २० प्रतिशत र निर्जीवन बीमाको बीमाशुल्क आयमा १५ प्रतिशतको वृद्धि दशकभरि नै कायम रहनु ज्यादै महत्वपूर्ण हो ।

ठूलो सङ्ख्यामा रहेका स्थानीय तथा विदशी बीमा कम्पनीहरूका लागि यो वृद्धिदर कायम राख्दै बढ्दो खर्च धान्न ग्रामीण क्षेत्रमा जानुको विकल्प छैन । सोही विकल्पअनुरूप हाल नेपालको बीमा उद्योग लघुबीमामा जाने तयार भएको स्थिति छ । नेपालमा गाउँगाउँसम्म सडक तथा सूचनाप्रविधिको सञ्जाल पुगेको, रेमिट्यान्स तथा कृषिजन्य उत्पादनहरू फलफूल खेती, तरकारी उत्पादन, पशुपालन, चिया, कफी, अलैंची तथा जडीबुटी खेतीको विस्तारका कारण सामान्यजनको उपभोग क्षमतामा सुधार भएको छ । त्यसैले लघुबीमाको सम्भावना अत्यन्त प्रबल देखिएको हो ।

सरकारी पक्षबाट पूर्वाधार विकासमा हुने ठूलो लगानीसमेत बीमाका लागि आकर्षण भएको छ । पर्यटन उद्योगको विस्तारका कारण ग्रामीण क्षेत्रका जनताको आयमा वृद्धि भएको छ भने शिक्षाको विकासले जनचेतना समेत बढेको छ । यसकारण पनि लघुबीमाको सम्भावना बढेको हो । छोटो समयमै जीवन तथा निर्जीवन बीमाका नयाँनयाँ उत्पादनहरू बजारमा आउने क्रम बढेको तथा बैङ्कासुरेन्समार्फत नयाँ वितरण प्रणालीको समेत शुरुआत भएकाले बीमाको विकास र विस्तार अझै सहज हुने आशा गर्न सकिन्छ ।

नेपालको बीमा उद्योगका चुनौतीहरू पनि कम छैनन् । नेपालको अर्थतन्त्रको तुलनामा २५ ओटा बीमा कम्पनीको उपस्थितिले अस्वस्थ्य प्रतिस्पर्धालाई नै बढावा दिन्छ । बीमा क्षेत्रमा प्रतिस्पर्धात्मक प्रणालीबाट जनशक्ति आपूर्ति गर्ने परिपाटी कमजोर छ । बीमा क्षेत्र व्यापारिक, औद्योगिक घरानाका आफन्त भर्ती गर्ने केन्द्रका रूपमा विकास हुँदै गएको छ । यही विकृतिका कारण व्यावसायिक जनशक्तिको कमी टड्कारो देखिएको हो । नियामक निकाय व्यावसायिक र चुस्त हुन नसक्दा पनि यस क्षेत्रको नियमनभन्दा अव्यावसायिक नियन्त्रण केही बढी नै देखिएको छ ।

बीमा कम्पनीले प्रयोग गर्ने सञ्चार प्रविधि बैङ्कहरुको तुलनामा कमजोर छ, जसले गर्दा राम्रो अण्डरराइटिङ प्रणाली कायम हुन सकेको छैन । देशभित्र पुनर्बीमा कम्पनी नभएकाले ठूलो बीमाङ्कको जीवन तथा निर्जीवन बीमा प्रस्ताव कार्यान्वयन गर्न बढी समय लाग्छ । तर, विदेशी बीमा कम्पनीहरूको चुस्त निर्णय क्षमताका कारण यसबाट दीर्घकालमा स्थानीय बीमा कम्पनीको साखमा धक्का पुग्ने खतरा पनि हुन्छ । बीमा उद्योग अन्तरराष्ट्रिय सम्बन्ध र सम्पर्कबाट सञ्चालित हुने हुँदा ज्ञान, प्रविधि र व्यावसायिकताको सीमा यसको विकासमा बाधक हुन सक्छ । नेपालमा बीमा उद्योग हेर्ने छुट्टै निकाय छैन । अर्थ मन्त्रालयको एउटा शाखाले यति ठूलो क्षेत्रलाई निगरानी गर्न सम्भव छैन ।

यस क्षेत्रबाट वर्षेनि अर्बौंको राजस्व प्राप्त हुने भए तापनि सरकारले यसलाई त्यति महत्व नदिएकाले केही व्यक्तिको सनकमा यो उद्योग च्यापिएको छ । मुलुकको महत्वपूर्ण वित्तीय निकायका रूपमा यसको विकास हुन अपरिहार्य भएकाले यस उद्योगको विकास र विस्तारका लागि व्यावसायिक दृष्टिकोणबाट हस्तक्षेप गरी अघि बढ्नु आजको आवश्यकता हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s