चियापानको सन्देश

हरेक वर्षझैं यसपालि पनि दसैं, तिहार र छठको शुभकामना आदानप्रदान गर्न भनेर नेपाली कांग्रेस र एमालेले चियापान कार्यक्रमको आयोजना गरे । सोमबार र मंगलबार भएका चियापान कार्यक्रममा प्रमुख पार्टीका शीर्ष नेताहरू र ठूलो संख्यामा अरू नेता कार्यकर्ता सरिक भए । सबै नेताहरूले राजनीतिक गतिरोध अन्त्य गर्न राष्ट्रिय सहमति आवश्यक भएको बताउँदै मिलेर जानुपर्छ, त्यसबाहेक विकल्प छैन भनेर पुरानै राग अलापे । सारमा भन्नुपर्दा विगतमा जस्तै औपचारिकता पूरा गर्ने कुरामै चियापान सीमित रह्यो । निश्चय पनि प्रमुख पार्टीहरूले गर्ने चियापान कार्यक्रमको महत्त्व छ । यसले संस्कृति र राजनीतिलाई जोड्दै विभिन्न पार्टीका नेता कार्यकर्तालाई एकै जमघटमा ल्याइदिन्छ । फरक दर्शन र पृष्ठभूमि भएका नेताहरूबीच आपसी सद्भाव कायम गर्न यस्तो जमघट सहयोगीसिद्ध हुन्छ । तर यतिबेला आपसी सद्भाव र सहमतिको नक्कली राग अलापेर समय खेर फाल्ने बेला होइन । मुलुक दिनदिनै गम्भीर संकटतर्फ उन्मुख भइरहँदा प्रमुख नेताहरूले सार्थक निर्णय गर्नसक्नुपर्छ र यस्ता चियापान कार्यक्रमले त्यस्तो निर्णय गर्ने आधार तयार पार्न सक्नुपर्छ । यस अर्थमा यसपालिका चियापान कार्यक्रम पनि सार्थक हुन सकेनन् ।

दलहरूले आयोजना गर्ने चियापान कार्यक्रमको मूल उद्देश्य राजनीतिक सद्भाव र सहमति नै हो । राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि बीपी कोइरालाले ०३५ सालमा पहिलो पटक दसैंको कोजाग्रत पूणिर्माका दिन चियापान कार्यक्रमको आयोजना गरेका थिए । आठवर्षे भारत निर्वासनबाट फर्केका कोइराला समानता, स्वतन्त्रता, प्रजातन्त्रका लागि द्वैष र रिसराग नराखी मेलमिलाप र आपसी सद्भाव आवश्यक रहेको सन्देश दिन चाहन्थे । त्यही सन्देश दिन उनले चाबहिलस्थित तारिणीप्रसाद कोइरालाको निवासमा चियापानको आयोजना गरेका थिए । ०३९ मा बीपीको देहवसानपछि यस्तो चियापान समारोह अर्को नेता गणेशमान सिंहले आयोजना गर्न थाले । उनीपछि कृष्णप्रसाद भट्टराईले निरन्तरता दिए भने उनको राजनीतिक निस्त्रिmयतापछि गिरिजाप्रसाद कोइरालाले चियापान संस्कृतिलाई जीवित राख्दै आएका थिए । दुवै नेताको निधनपछि अहिले कांग्रेसले त्यही परम्परालाई निरन्तरता दिँदै आएको छ ।

एमालेको चियापान परम्परा भने कांग्रेसको जति पुरानो छैन यद्यपि राजनीतिक क्षेत्रमा हुर्किएको द्वन्द्व निवारण र सद्भावको कामना यसको पनि उद्देश्य हो । ०५२ मा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीले पहिलो पटक आफू प्रधानमन्त्री भएका बेला दसैंको अवसर पारेर महाराजगन्जस्थित निवासमा चियापान कार्यक्रमको आयोजना गरेका थिए । एमालेले त्यही परम्परालाई हालसम्म पछ्याउँदै निरन्तरता दिएको छ । चियापानमा देखिने नेता-कार्यकर्ता र शुभेच्छुकको यो बाक्लो उपस्थितिले राजनीतिक सहिष्णुता र भाइचारालाई निश्चित रूपमा बढाउँछ । यो  सकारात्मक हो । सँगसँगै राजनीतिक नेतृत्वले चियापानलाई औपचारिक जमघटको रूपमा मात्रै नलिई यसबाट सुदृढ सम्बन्धलाई सहमति र सहकार्यको वातावरण निर्माणका लागि उपयोग गर्न सक्नुपर्छ ।

मुलुक संविधानसभाको ताजा जनादेश कि पुनःस्थापना भन्ने बहस र विवादमा छ । यो विवाद र बहसलाई अब धेरै नतन्काई एउटा निष्कर्षमा पुग्न ढिलो भइसकेको छ । अन्यथा संक्रमण थप बढेर मुलुकले प्राप्त गरेको एउटा महत्त्वपूर्ण अवसर गुम्नसक्छ । अहिले प्राप्त उपलब्धि त्यत्तिकै आएको होइन, यसमा हजारांै जनताको रगत पसिना मिसिएको छ । तसर्थ, प्राप्त उपलब्धिलाई संस्थागत गर्ने दायित्वबाट हाम्रो राजनीतिक नेतृत्व विमुख हुनुहुन्न । त्यसका लागि यस्ता चिया जमघटलाई उपलब्धिमूलक बनाउने चातुर्य नेताहरूमा हुनुपर्छ । अहिलेको गतिरोधको अन्त्य र मुलुकको समग्र भविष्य अबको राजनीतिक बाटो कता जान्छ भन्नेमा निर्भर रहेकाले नेताहरूले सुझबुझ पुर्‍याउन आवश्यक छ । मुलुकको भविष्यसँग गाँसिएका र पूरा हुन नसकेका ऐतिहासिक कार्यभार पूरा गर्ने दायित्व बोेकेको हाम्रो राजनीतिक चियापान कार्यक्रमलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नलिई सहमति र सद्भावको संस्कृतिका रूपमा व्यवहारमै आत्मसात गर्नु जरुरी छ ।

Source : http://www.ekantipur.com/nep/2069/7/15/full-story/356785.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s