कुर्सीमुखी मानसिकता फेर्ने कि ?

राजनीति यतिबेला चरम विसंगतिमा गुज्रिरहेको छ । राजनीतिमा नैतिकताको खँडेरी लागेको छ । नैतिकतालाई बन्धक बनाएर दलका माथिल्लो तहका नेताहरू नै अनैतिक प्रतिस्पर्धामा उत्रिएका छन् । एउटाले अर्काको कुरामा असहमति जनाउनु तथा बहिष्कार र विरोध गर्नु राजनीतिक दलहरूको दिनचर्या नै भएको छ । असहमति, बहिष्कार र विरोध गर्न पाए जहाँ पनि उत्साहित भएर जाने तर सहमति, स्वीकार र समर्थन गर्नुपर्ने कुरामा भने सधैँ उदासिन हुने चरित्रकै कारण राजनीति बन्धक बनेको हो, देश दिशाहीन हुन पुगेको छ । तर, दिशाहीन देशलाई दिशा दिनुको सट्टा कुर्सीमै टाँसिन चाहने, भाषणमै आत्मरति गर्ने र मलाई मञ्चमा बोलाउँछन् कि बोलाउँदैनन् भन्ने चिन्तनमा नेता हुन्छन् । आजकल नेताका दिनहुँका क्रियाकलाप हेर्दा हाम्रो राजनीति विसंगतिको चरम भासमा फस्दै गएको आँकलन गर्न सकिन्छ ।

दसैँको पूर्वसन्ध्यामा निर्वाचन आयोगले भावी निर्वाचनका सन्दर्भमा छलफल गर्न बोलाएको बैठकमा केही राजनीतिक दलका नेताले निर्वाचन आयोगको बैठक कक्षमै होहल्ला मच्चाए । आसन ग्रहण र बस्ने ठाउँका विषयबाट सुरु भएको सो विवादमा नेताहरू बीच अगाडिको कुर्सीमा को बस्ने र पछाडिको कुर्सीमा को बस्ने भन्ने विषयमा एक अर्का बीच घँचेडाघँचेड नै चल्यो । यस्ता समाचार बाहिर आउँदा ती एक आपसमा धकेलाधकेल गर्ने नेतामा हीनताबोध भएन । बरु, कुर्सीमा अस्तित्व दाबी गर्न पाएकोमा उनीहरूले विजयको सास फेरे ।
गत महिना नेपाली कांग्रेसका सभापति सुशील कोइराला सम्मिलित एउटा कार्यक्रममा आफूलाई मञ्चमा आसन नगराएको भन्दै कांग्रेसकै एकजना कार्यकर्ताले सभापति कोइरालामाथि नै आक्रमण गरे । ठीक त्यही दिन मोफसलमा भएको एउटा कार्यक्रममा राजनीतिक दलका जिल्लास्तरका नेताले आफूलाई नाम बोलाएर मञ्चमा आसन ग्रहण नगराएको भन्दै सो कार्यक्रम बहिष्कार नै गरेको घोषणा गरेको समाचार आयो । केही सञ्चारकर्मीले कार्यक्रमको समाचारभन्दा पनि कार्यक्रम बहिष्कार भएको समाचारलाई चाहिँ बढी प्राथमिकता दिएर छापे ।
कतिपय कार्यक्रमा दलका केन्द्रीय नेतालाई बोलाइयो भने उक्त नेताले आफू आउने नआउने निर्णय गर्नु अगाडि अर्को दलबाट चाहिँ को–को नेता आउने हो बुझ्नु भनेर आफ्ना सहयोगीलाई खोजखबर गर्न लगाउँछ । अर्को दलको पनि समकक्षी नेता चाहिने रे दलका नेतालाई कार्यक्रममा जान । जनताका अगाडि उभिन नेतालाई हीनताबोध हुन्छ, अर्को दलको नेताका अगाडि उभिन चाहिँ छाती फूल्दो रहेछ । अर्को दलको नेता र समाचार माध्यमका अगाडि मञ्चमा बसेर भाषण गर्न पाए आफूलाई ठूलो नेता ठान्ने र कुनै कार्यक्रममा जनताका माझमा बसेर सहभागी हुन चाहिँ हीनताबोध गर्ने नेतालाई नेता भन्न पर्ने हो कि के भन्न पर्ने त्यसको परिभाषा राजनीतिशास्त्रमा छैन । नेता जनतासँग बस्छ कि जनताभन्दा माथि मञ्चमा बस्छ ? त्यो स्वयं नेताले जान्ने कुरा हो ।
अब, सन्दर्भ चुनावतिरको । आगामी चुनाव कसरी सम्पन्न गर्ने भन्ने विषयमा भएको बैठकमा कुर्सीयुद्ध भए पनि चुनावमा भने नेतालाई कुर्सी र मञ्च नभए पनि फरक पर्दैन । विगतका चुनावहरूको अनुभवले यही कुरा देखाउँछ । अरू बेला कुर्सी र मञ्च बिना जनताका बीचमा बस्न हीनताबोध भए पनि चुनावका बेला चाहिँ जनताका बीचमा बस्न नेतालाई कुनै हीनताबोध हुँदैन । किनभने, उसलाई जनताको भोट लिनु छ, नेताको स्वार्थ गाँसिएको हुन्छ चुनावमा । स्वार्थ पूर्ति गर्नका लागि नेता जति पनि झुक्न तयार हुन्छ तर जनताका लागि एक इञ्च झुक्ने र एक मिनेट धैर्य गर्ने समय नेतालाई छैन । चुनावका बेला राजनीतिक दलका नेताहरू जनताका घरदैलोमा पुगेर मतदान गर्न योग्य वयस्कलाई मात्र होइन भोट हाल्ने योग्यता नै नपुगेका बालबालिकादेखि मतदान केन्द्रसम्म पुग्नै नसक्ने बृद्धबृद्धा सुतेका बेडसम्म पुग्छन् । धनुष्टंकार नमस्कार गर्नेदेखि लिएर हात मिलाउन र सञ्चोविसञ्चोको कुरा सोध्न पनि पछि पर्दैनन् । पाँचवर्ष अगाडि मृत्यु भैसकेका मानिसको छोरालाई भेटेर तपार्इंको बुबालाई दुई महिना अगाडि भेटेको थिएँ अहिले सञ्चो विसञ्चो के छ ? भनेर नेताले जनतासँग बनावटी कुरा गरेको भन्ने सम्मका घटना चुनावताका सुन्नमा आएका थिए । ‘काम परुञ्जेल भाँडो त्यसपछि ….’ भने भैँm चुनावमा चाहिँ जनतासँग जबर्जस्ती सम्बन्ध र साइनो गाँस्न नेता माहिर हुन्छन् तर चुनाव सकिएदेखि अर्को चुनाव नआएसम्म भने नेताले जनता चिन्दैनन् । जनताका छेउमा बस्न रुचाउँदैनन् । सके सत्तामा बस्ने नसके छातीमा ब्याच टाँसेर मञ्चमा बस्ने, त्यो पनि नपाए बहिष्कार र विमतिको दिनचर्यामा रमाउँछन् आजका नेताहरू ।
हाम्रा नेताको चरित्र साह्रै विचित्रको छ । यस्तो लाग्छ कि चित्र–विचित्रको चरित्र प्रदर्शन गर्न सकेकैले नेता हुन सकेको हो । नेताको चुनावमा एउटा चरित्र हुन्छ चुनाव सकिएपछि अर्कै चरित्र हुन्छ । सत्तामा बस्दा एउटा चरित्र र सत्ताबाहिर अर्को चरित्र । चुनाव जिते एउटा चरित्र र चुनाव हारे अर्को चरित्र । कहिले आफूले अरूलाई बहिष्कार गर्ने चरित्र कहिले अरूद्धारा आपैँm बहिष्कृत हुनुपर्ने चरित्र । छेपारे चरित्र भनिन्छ यस्तो चरित्रलाई । तर, अब छेपारोको किन अपमान गर्नु त्यसैले त अब नेताहरूको यो चरित्रलाई पनि ‘नेता चरित्र’ भनी विभूषित गर्नुपर्ने भएको छ ।
जनताको नाम जोडेर जतिसुकै सहमति, असहमति, बहिष्कार, स्वीकार, विरोध, समर्थन भएका छन् ती सबै सत्तासँग जोडिएका छन् । फरक यति हो कि यस्ता काम कहिले नेताले गर्छन् कहिले कार्यकर्ताले । कार्यकर्ताले गरे पनि आखिर ती सबै नेताद्वारा प्रशिक्षित कार्यकर्ता नै हुन् । पथप्रदर्शक सबै माथिल्लो तहका नेता नै हुन् । तर, नेताका लागि कहिलेकाहिँ विडम्बना यो हुन पुगिदिन्छ कि अरू माथि मुक्का वर्षाऊ भनेर प्रशिक्षित गरेका आफ्ना कार्यकर्ताले आपैँmमाथि मुक्का बजारिदिन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई माओवादी विस्तारित बैठकमा आफ्नै कार्यकर्ताले कुर्सी प्रहार गर्नेदेखि लिएर झलनाथ खनाललाई एकजना सर्वसाधारणले झापड हान्नेसम्मका र केपी ओलीको मूक बहिष्कारदेखि लिएर सुशील कोइरालाई आफ्नै कार्यकताले चौकोस प्रहार गरेसम्मका सबै घटना सत्ता, मञ्च, कुर्सी र भत्ताका प्रतिबिम्ब हुन् । कार्यकर्तालाई आफूले सही दिशा निर्देश गर्न नसकेका परिणति हुन् ।
बहिष्कार, विरोध र असहमति पनि सबै ढिलो चाँडो सत्ता राजनीतिकै पूर्वअभ्यास हुन् । यदाकदा नेताहरू प्रति जनताका आक्रोश पनि होलान् तर मूलत: कार्यकर्तालाई गलत प्रशिक्षणका परिणति पनि हुन् । आफ्ना कार्यकर्तालाई अरूमाथि प्रहार गर्न उत्साहित गर्दा एकदिन त्यो कार्यकर्ताले आफूमाथि पनि प्रहार गर्छ भन्ने सामान्य बुझाई पनि हुन नसक्दाका उपज हुन् । दलका कार्यकर्ताका यस्ता क्रियाकलापबाट स्वाभाविक रूपमा नेताहरू जनताको नजरमा गिर्दै छन् । दलहरू भनेका जनताका अभिभावक हुन् । अविभावकले जस्तो सिकायो अरूले त्यही सिक्ने हुँदा जिम्मेवार दलहरूले बहिष्कार, विरोध र असहमतिलाई तिलाञ्जली दिई स्वीकार, समर्थन र सहमतिको संस्कृतिलाई भित्र्याउन अब ढिला हुन लागिसक्यो । त्यसैले अब मानसिकता परिवर्तन गर्ने हो कि ?

-डा. टीकाराम पोखरेल

Source : http://www.souryadaily.com/2012/10/42458.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s