शुभकामनाका अर्थहरु

किशोर नेपाल

शुभकामनाको उत्सव विजयादशमीको उपलक्ष्यमा ‘हार्दिक शुभकामना’ व्यक्त गर्दै आउने सयौं शुभकामना कार्डका बीच आएको एउटा कार्ड स्तम्भकारको मथिंगलको विशेष आकर्षण बनेको छ। नब्बेको दशकदेखि गायन क्षेत्रमा उदाएका योगेश्वर अमात्यका जोइपोइका तर्फबाट आएको त्यो कार्ड योगेश्वरको आवाज जस्तै मौलिक छ- सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया सखा। शान्ति पत्नी क्षमा पुत्र षडैते ममबान्धवाः। सत्य मेरी आमा हुन, ज्ञान पिता हुन, धर्म भाइ हो, साथी हो दया, शान्ति पत्नी हुन, क्षमा हो पुत्र – यी छ तत्व हुन मेरो परिवार! त्यसपछि योगेश्वरले भनेका छन्- यो दशैं अनि तिहारमा हाम्रो देशका सबै भ्रष्ट नेताहरुको पलायन होस् भन्ने हामी नेपालीको कामना पूरा होस्।

कस्तो आशा राखेको योगेश्वरले! त्यत्रो लोकप्रिय गायकले राखेको यस्तो जटिल आशा कहिल्यै पूरा होला त? परिवर्तनका लागि भएका एक एक आन्दोलन, एक एक क्रान्ति र एक एक विप्लवका उत्पादनका रुपमा स्थापित भएका शासकहरु भ्रष्टाचारको विम्ब र प्रतिविम्बका रुपमा स्थापित भइरहेका यो समयमा उनीहरुको पलायन सोच्नु पनि आफैंमा विडम्बना नहोला भन्न सकिँदैन। भ्रष्टाचारको मूलमा आफू सम्पन्न बन्ने आकांक्षा हुन्छ। राजनीति यही आकांक्षा तुष्टिका लागि प्रयोग भएको छ। अनादि कालमा सम्भवतः राजनीति विधिशास्त्रका रुपमा स्थापित गरिएको थियो। अहिले यो निकृष्ट व्यवसाय बनेको छ। यो व्यवसायसँग जोडिएका मानिस आफ्नो कौशलको प्रयोग आफ्नै भौतिक विकासका लागि गर्न थालेका छन्। हामी उनीहरुलाई भाग्य नियन्ता मान्न अभिशप्त छौं।
योगेश्वरको भ्रष्ट नेताहरुको पलायनको कामना पूरा हुने कुनै विन्दु भेटिँदैन अहिलेको नेपालमा। जुन देशका शासक सत्यको घाँटी रेट्छन्, जुन देशमा अज्ञानको विस्तार नै ज्ञान मानिन्छ, जुन देशमा आपसमा विद्वेष फैलाउन धर्म प्रयोग गरिन्छ, जहाँ दया व्यवसाय बन्छ, जुन देशमा शान्तिका नाममा हिंसा फैलाइन्छ, जहाँ क्षमाशीलता कलंकित हुन्छ- यस्तो समयको चापमा चेपिएको यो भूखण्डमा योगेश्वरको परिवारका रुपमा रहेका यी छ तŒवको सम्झना मात्रै पनि सुखद् अनूभूति हुन जान्छ। योगेश्वर, शौखिन नै भए पनि कलाकार हुन, सिर्जनाका स्रोत। हरेक सर्जकले आस्थाको प्रतिनिधित्व गरेको हुन्छ। यही आस्थाले नै लोभ र पाप, घृणा र इर्ष्याको दलदलमा गाडिनबाट जोगाएको छ यो देशलाई।
प्रकृतिका अद्भूत परिदृश्यहरुको संगमका रुपमा रहेको यो देशमा दशैं गरिबीको विम्ब बनेको छ। हामी समृद्ध देश हौं, समृद्ध संस्कृति हौं, हामी अनकण्टार अँध्यारोमा चम्किन्छौं र पनि हाम्रो गणना हुन्छ गरिबको देशका रुपमा। हाम्रा शासकहरुले आफ्नो सम्पन्नता कायम राख्न हामीलाई गरिबको टोपी लगाइदिएका छन्। हामी नेपाली त्यस्तो अकिन्चन जाति बनेका छौं, जसको तुलना कस्तूरी मृगसँग गर्न सकिन्छ। हामी आफूभित्रको सम्पन्न यथार्थसँग परिचित हुनै सकेका छैनौं। सन्तोष एउटा गुण हो। तर, अभावमा सन्तुष्ट रहनु अज्ञान हो। सहनशील हुनु विवेक हो। तर, चरम अन्याय चूपचाप सहनु अविवेक हो। शदियौंदेखि हामी नेपाली सन्तोषी छौं र सहनशील छौं। मिथ्याबिरुद्ध हामी कहिल्यै पनि लड्न सकेनौं। विजयका प्रतीक खोजेर त्यसैमा रमायौं। अनादिकालमा देवीले मधुकैटभ राक्षसलाई पराजित गरेपछि हजारौं मधुकैटभले जन्म लिइसकेका छन्। हजारौं रक्तवीजहरु हाम्रो धमनीमा पसेर हाम्रो शरीरको रगत चुसिसकेका छन्। हजारौं रावणले पुनर्जन्म लिइसकेका छन्। तैपनि हाम्रो धैर्यको बाँध भत्किएको छैन।
पृथ्वीको यो अनकण्टार तर सर्वत्र परिचित दूर देश, अनादिकालदेखि धेरै शासकको अधीनमा रहिसक्यो। रामका रुपमा आएका ती सबै शासक रावणमा परिणत भइसके। यो क्रम अहिलेसम्म पनि टुंगिएको छैन। प्रत्येक युगमा रावण जन्मिएकै छ। प्रत्येक पलमा स्वार्थको व्याधाले हामीलाई आफ्नो तीरको निसानामा राखेकै छ। हामी जनता मनभित्र भय पालेर बाँच्न बाध्य तुल्याइएका छौं। जागृतिको नाममा भयको विस्तार गरिएको छ। हामी प्रत्येक पल आफ्नै मृत्युको बाजा बजाइरहेका छौं। धर्म, सम्प्रदाय र जातिमा विभाजित तुल्याएका छन् प्रत्येक शासकले हामीलाई। हामी आफैं आपसमा बाँडिएका छैनौं। हामीलाई शासक वर्गले भाग लगाएर बिक्रीका लागि सजाएर राखेका छन्- ठीक त्यसरी नै, जसरी दशैंमा खसी काटेर मासु भाग लगाइन्छ।
योगेश्वरले पहिचान गर्नुभएका उहाँका कुटुम्वहरु खै कहाँ छन् त अहिले? कहाँ छ सत्य? कहाँ छ ज्ञान? कहाँ छ धर्म? कहाँ छ दया? कहाँ छ शान्ति? कहाँ छ क्षमा? यी शब्द यतिखेर अमूर्त बनेका छन्। अदृश्य भएका छन् यी शब्दका अर्थ। यी शबद कतै हराएका छन् अथवा पुनर्स्थापनाका सम्भावना नियालिरहेका छन्।
विजयादशमीको शुभकामना! सुन्दर कागजमा सज्जित यी शब्द औपचारिकतामा सीमित भएका छन्। मरुभूमिमा श्रम बेचिरहेको एउटा श्रमिक नेपालीका लागि शुभकामनाको के अर्थ? दशैंको भव्यतासँग जोडिनैपर्ने बाध्यता बोकेका सामान्य नेपालीका लागि शुभकामनाको के औचित्य? एक्काइसौं शताब्दीले पहिलो पाइला चालिसक्दा पनि मध्ययुगीन व्यवहारमा बाँच्न बाध्य बनाइएका तमाम नेपालीका लागि शुभकामना तिखो काँढा होइन भन्न सकिने अवस्था नभएका बेला कसले कसलाई के भनेर शुभकामना दिने?
मिठो र पेटभर खाने, राम्रो लाउने र आङ ढाक्ने सामान्य मौलिक अधिकारबाट समेत वञ्चित तुल्याइएका हामी नेपालीका लागि दशैंको शुभकामना एउटा राम्रो व्यंग्य सावित हुन सक्छ। यति सामान्य अधिकारका लागि समेत वर्ष दिन पर्खिनुपर्ने ठूलो जनसंख्या विद्यमान भएको देशमा शुभकामना र सत्यका बीच तादात्म्य स्थापित नै हुन सक्दैन।
तैपनि शुभकामना त दिनैपर्छ। उत्सवका बेला शुभकामना आदान-प्रदानका विशिष्ट अर्थ हुन्छन्। शुभकामनाका शब्दमार्फत्, कम्तीमा पनि, हामी नेपाली एक अर्काको दुःख र सुखमा सहभागी हुन सक्छौं। एक अर्काका आकांक्षा साटासाट गर्न सक्छौं। योगेश्वरको शुभकामना अपवाद होला। यो एउटै अपवादमा नेपाली जीवनको सन्देश अंकित भएको छ। योगेश्वरका शब्द पछ्याउँदै, स्तम्भकार विनम्रतापूर्वक हामी सबै नेपालीलाई विजयादशमीको शुभकामना दिन चाहन्छ, जो अहिलेसम्म व्यक्तिगत र सार्वजनिक दुवै जीवनमा पराजित हुन बाध्य गराइएका छौं। हामी अर्थात् नेपाली। विजयादशमीको यो बेला हामी नेपाली यतिमात्र भन्न चाहन्छौं कि हाम्रो सहनशील स्वभाव र सहिष्णु व्यवहारसँग अब खेलवाड नगरियोस्। हामी जनता शासकका लागि चुनौती बन्न चाहँदैनौं। पानीले घाँटीको किलकिले ढाक्न खोज्यो भने हामी चूपचाप सहेर बस्न तयार छैनौं। योगेश्वरको गीतका अर्थ यिनै हुन्।

Source : http://www.nagariknews.com/opinions/98-opinion/48065-2012-10-22-05-16-33.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s