विचार शक्ति पूजाले उब्जाएका प्रश्न

 
 

विचार

शक्ति पूजाले उब्जाएका प्रश्न

‘या देवी सर्वभूतेसु शक्तिरुपेण संस्थिता, नाम तस्यै नम तस्यै नम तस्यै नमो नमः’, दसैंको रमझम भर्खर सकियो। बडादशैं र शक्तिपूजाको महिमाले जाँदाजाँदै केही गम्भीर प्रश्न छाडेको छ। दशैंमा प्रत्येक बिहान घरघरका पूजा कोठामा यही र यस्तै श्लोक गुञ्जिरहेका थिए। त्यो पनि प्रायः पुरुष वाणीद्वारा। कतिले धर्मको पालना गरेका होलान्, कतिले परम्पराको जगेर्ना गरेका होलान्। यस्तै कतिले स्वेच्छाले यस्ता श्लोक भट्याउँदै पूजा गर्दा हुन् भने कतिले चाहिँ गर्नुपर्ने बाध्यताले मात्र। जे भए पनि दशैँको घटस्थापनादेखि दशमीका दिनसम्म सबैले यस रितलाई कायमै राख्ने गरेका छन्। पाठको अर्थ बुझ्ने र बुझेर पूजापाठ गर्नेभन्दा नबुझी भट्याउनेकै संख्या बढी भए पनि हिन्दु सनातन आस्थाले प्रेरित हाम्रो समाजमा शक्ति पूजाको महिमा उच्च छ। देवीलाई शक्ति, माया, क्षमा, सृष्टि आदि अनेकरुपमा स्थापित मान्दै उनको उपासना गर्ने हाम्रो पुरुषप्रधान समाज र यसमा विद्यमान पुरुष मानसिकता यथार्थमा भने यस तथ्यलाई आत्मसात गर्न रुचाउ”दैन।

अझ, ‘या देवी…’ श्लोक भट्याउन नभ्याउँदै स-सानो निहुँमा घरकी देवीमाथि आफनो शक्ति प्रयोग गर्न पछि पर्दैन त्यो मानसिकता। नारीलाई नै सर्वशक्तिमान ठानेर उनीबाटै आफ्ना इच्छा पूरा हुने कामना गर्दै गरिने दुर्गापूजाको विडम्वना यो छ कि सो पूजापाठ नारीले गर्न नै हुँदैन भनेर वरपरबाट खेताला नै खोजेर भए पनि पुरुषबाट गराइन्छ दुर्गापूजा र चण्डीपाठ। नारी अर्थात् जननीलाई ‘नर्कको द्वार’ ठान्ने हाम्रो अतीतका शंकराचार्यजस्ता महान् पुरुषहरूकै विचारको अनुशरण आद्योपान्त भइरहनुले पनि हाम्रो हिन्दु समाज र संस्कारको खिल्ली उडाइरहेको छ। आपतविपतमा नारीको महिमागान गर्दै उनकै शरणमा परी उनैलाई हतियार बनाएर युद्ध जित्ने अनि पछि उनैमाथि शासन गर्ने दुश्प्रवृत्ति आज पनि उस्तै छ। केवल परिवेश र प्रकृतिमात्र भिन्न हो। दस दिनसम्म नारी शक्तिको उपासना गर्ने हाम्रो समाजले व्यवहारमा पनि नारीलाई त्यस्तै स्थान दिन सकेको छ त?

पौराणिक प्रसङ्गअनुसार शुम्भ, निशुम्भ र महिसासुर जस्ता दैत्यद्वारा सताइएका देवताले नारी शक्ति अर्थात् दुर्गामाताको उपासना गरेर उनैद्वारा दैत्य नाश भएपछि कष्टमुक्त भएको सन्दर्भ एकातिर छ भने अर्कातिर विष्णुका साथकी लक्ष्मीलाई सदा उनको पाउ दाबिरहेको देखाइन्छ। यो कस्तो विरोधाभाष हो? नारी शक्ति हो या दासी? गर्भवती पत्नीलाई त्यागेर एक्लै वनमा छाडिदिने मर्यादापुरुष रामको कथायुक्त रामायण होस् या पत्नीलाई वस्तुसरी भाइभाइमा बाँड्ने, अझ जुवाको दाउमा थाप्ने महाभारतको ‘महान्’ कथा होस्, नारीको अपमानकै मात्रा बढी भेटिन्छ। नारी, शुद्र, ढोल पिट्नकै लागि हुन् भन्दै नारीलाई तल्लो दर्जामा राख्ने मनुस्मृति र गरुड पुराणदेखि अन्य पौराणिक प्रसङ्गमा पनि नारीको स्थान तल्लो तहमै देखिन्छ। यो कस्तो आदर्श संस्कार जन्माएको हो हाम्रो हिन्दु संस्कृतिले?

यही पुरातन संस्कार पछ्याउँदै हाम्रा आदिकविले पनि लेखिहाले वधू शिक्षा। त्यसपछि रुपमती, सहनशीला सुशीला, इन्दिरा जस्ता नारीपात्रहरू हाम्रो साहित्यमा जन्मे। सहनुलाई नै आफ्नो परम कर्तव्य ठान्ने आदर्श परम्पराले प्रेरित गरेर नारी अस्मिताको घाँटी निमोठ्दै गए वाल्मीकि, व्यास, मनुदेखि भानुभक्त आचार्य, गुरूप्रसाद मैनाली, भीमनिधि तिवारी अनि बालकृष्ण समजस्ता पुरुष लेखकले। त्यसैले त आजसम्म पनि ‘छोरीको जन्म हारेको कर्म’ भन्दै हरेक अत्याचारलाई चुपचाप सहँदै आइरहेका छन् हाम्रा नारीले। नसहुन् पनि कसरी? ‘पतिलाई मुख लागे लाटी हुन्छे, रिसले हेरे डेढी हुन्छे, लुकाएर खाए कुकुर्नी हुन्छे’ जस्तो स्वस्थानी सुनाउँदै वर्षेनि आदर्श बनाउँदै लगिन्छ हाम्रा छोरीबेटीलाई। हाम्रो धर्म कति निष्पक्ष? ‘पत्नीलाई कुट्ने पतिको हात भाँचिन्छ, पत्नीलाई जे पायो त्यही बोल्ने पति लाटो हुन्छ, जाँड खाएर पत्नीमाथि अन्याय गर्ने पतिलाई यमराजले तातो तेलको कराहीमा डुबाउँछन्’ जस्ता आदर्श पाठ किन घोकाइन्न हिन्दु संस्कारका युवकलाई?

नारीलाई लाग्ने थुप्रै पापहरूको चर्चा गरिए पनि पुरुषलाई लाग्ने पापको भने कुनै चर्चा छैन। पुरुषले कुनै पापै नगर्ने हो या उसले जे गर्दा पनि पाप नलाग्ने हो? त्यो त धर्मशास्त्रका रचयिताहरूलाई नै थाहा होला। सरोकारको विषय यो हो कि किन आजसम्म समाज पाप र धर्मबारे अनविज्ञ छ? हाम्रो हिन्दु धर्म संस्कारगत समाजमा पाप र धर्मको परिभाषा के हो? कुन पाप पुरुषलाई लाग्छ अनि कुन पाप स्त्रीलाई? सृष्टिको गहन दायित्व र आमा हुनुको गौरवलाई नारीको कमजोरी मान्दै रजस्वला र प्रसूति स्त्रीलाई अछुतको दर्जा दिएर अमानवीय व्यवहार गरिनाले आज पनि दुर्गम गाउँहरूमा केयौँ सृष्टिरुपा देवीले अकालमा ज्यान गुमाउनुपरेको छ। के यो पाप होइन? यस्तो पाप गर्ने छुट हाम्रो समाजलाई कसले दियो? के यसको उत्तर छ हाम्रा धर्मगुरुहरूसँग?

समाजशास्त्रीय दृष्टिबाट हेर्दा पनि प्रारम्भको मातृसत्तात्मक समाजमा पछि लैङि्गक हिसावले भेदभाव सुरु भएको देखिन्छ। शरीर संरचनाको केही कमजोरी र सन्तान उत्पादनको बाध्यात्मक परिस्थितिलाई आधार बनाएर आफूलाई सदाबहार शक्तिसम्पन्न ठान्ने पुरुष प्रवृत्तिले नारीलाई घरभित्रै सीमित पार्दै र अधिकारबिहीन बनाउँदै गए। समाज विकासको क्रमसँगसँगै नारी र पुरुषबीचको असमानता बढ्दै गएको पाइन्छ। यहाँ पनि पुरुष वर्ग अत्यन्त चतुर्याषइका साथ अघि बढेको देखिन्छ। एकातिर कोमल र कमजोर भन्दै फकाउँदै र दबाउँदै नारीको शोषण गर्ने अर्कातिर उसैलाई शोषण गर्दै पुरुष वर्ग माथि पुगेको छ। वर्तमानसम्म आइपुग्दा नारीचेतनाको विकाससँगै समाजमा यी दुई वर्गबीच ठूलो द्वन्द्व देखिएको छ।
विगतको शोषण र दमनका कारण नारी मानसिकता प्रतिशोधमा बदलिएको हुनाले सामाजिक विखण्डनको स्थिति पनि सिर्जना हुँदैछ, जसलाई सुखद् भविष्यको सङ्केत मान्न सकिँदैन। यथार्थमा हिंसा/प्रतिहिंसा, घात/प्रतिघात, घृणा र द्वन्द्व कुनै पनि समस्याको समाधान होइन। समन्वय र सहमति अनि सहकार्य नै सही समाधान हो। नवरात्रभरि देवीको उपासना गर्ने पुरुषले आफ्नै अर्धाङ्गिनीलाई जुत्ता ठान्ने मानसिकता त्याग्ने हो भने नारीलाई शक्तिका रुपमा पूजा गर्ने पुरुष मानसिकताले आफ्नै घर परिवार र समाजका नारीको शक्ति र अस्तित्व मनन गरी सहकार्यमा अग्रसर हुने हो भने दुर्गा माताको भक्ति गरेर आफूलाई धन्य ठान्ने पुत्रले आफ्नै समाजका मातृशक्तिको सम्मान गर्न सक्ने हो भने आज हाम्रो समाजका कुनै पनि नारीले यातना झेल्नुपर्ने थिएन। र, हिंसाको शिकार पनि हुनुपर्ने थिएन।
लेखक त्रिवि कीर्तिपुरका उपप्राध्यापक हुन्।

Source : http://www.nagariknews.com/opinions/98-opinion/48267-2012-10-30-06-51-26.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s