दशैं, दशा र दिशा

राजेन्द्र महर्जन

सबैजसो नेपाली महान् चाडका रुपमा दशैं मनाउँदै गर्दा एक नेपालीले आत्महत्या गरे- गरिबीका कारण दशैं मनाउन नसक्दा। माडी, चितवनमा लोहोरो र सिलौटो बनाएर जीविका चलाउँदै आएका एक दलितले गरिबीमाथि विजय प्राप्त गर्न नसकेपछि विजयादशमीको मुखैमा झुन्डिएर जीवन समाप्त पारे। १२ जना छोराछोरीका लागि दशैंको गर्जाे टार्न नसकेपछि अयोध्यापुरीका धनबहादुर परियारले मृत्यु आत्मसात् गरे। तर उनले आफ्नो शव उठाउन पनि अरुले चन्दा उठाउनुपरेको तीतो यथार्थ भने देख्नुपरेन।

गरिबीका कारण दशैं मनाउन नसक्दा आत्महत्या गरिएको घटना त सार्वजनिक भएको एउटा तथ्यमात्रै हो। दिनदिनै मृत्यु भोग्नेहरूको तीतो यथार्थ दशैंमा अझ कहालीलाग्दो हुने अवस्था उजागर भएकै छैन। दशैंमा निधारमा लगाइने अक्षताका रुपमा मात्रै चामल देख्न पाउने बालबालिका र त्यही चामल पनि तिनले टिपेर खालान् कि भन्दै चिन्तित हुने अभिभावकले दिन/रात मृत्यु भोगिरहेको तथ्यतिर राज्यको कमै ध्यान गएको छ। विजयादशमीको बेलामात्रै भात र मासु खान पाउने जीवनविरोधी दशामा परिवर्तन ल्याउन सकिएन भने महान् पर्व मानिने विजयादशमी धेरैजसो गरिब नेपालीका लागि, गरिबमा पनि गरिब दलितका लागि महादशा भएर वर्षेनि आइ नै रहनेछ।

दिन/रात मृत्यु भोगिरहेका गरिब र दलितको तीतो दशामा सुधार र परिवर्तन ‘शुभकामना’ बाट मात्रै प्राप्त हुँदैन, चाहे त्यो दशैंको बेला दिइने शुभविजयाको होस् या नयाँ वर्षमा दिइने शुभवर्षको। ‘शुभकामना’ बाटै तीतो दशामा सुधार हुने भए यो वर्षको दशैंका चार दिनमा एसएमएस शुभकामना दिने साढे दुई करोड नेपालीमा धनबहादुर परियार पनि पक्कै पर्ने थिए र उनीजस्ता गरिबले दशैं दशा भएकाले आत्महत्या गर्नुपर्ने पनि थिएन। नेपाली राज्य, राज्य नियन्त्रित संस्थान र निजी संस्थानहरूमा गरिबप्रति अलिकति मात्रै सामाजिक जिम्मेवारीको भावना छ भने तिनले तत्कालै परियार परिवारलाई दशैंमा राहत दिने थिए तर तिनीहरू त शुभकामना आदान-प्रदानमै मस्त रहे। अहिले पनि समय छ, तिनीहरूले दशैंको शुभकामनाबापत प्राप्त केही करोड रकममध्ये सानो अंशमात्रै राहतका काममा खर्चने हो भने पनि गरिब परिवारका सदस्यले आत्महत्या गर्नुपर्ने अवस्थामा कमी आउँछ।

निराशाबाट गाँजिएको नेपाली समाजमा शुभको कामना गर्नु नै सर्वप्रिय मानसिक खेल भएको छ। शुभकामना पूर्तिका लागि गर्नुपर्ने शुभकर्मका लागि कमै पहलकदमी भएको छ। शुभकर्मको ठेक्का वर्तमान जीवनका लागि नेताहरूको हातमा र भविष्यको जीवनका लागि देवीदेवताको हातमा सुम्पनु नै यो मानसिक खेलको विशिष्टता हो। शुभकामना साकार पार्न मानवीय पहल जरुरी छ भन्ने जान्दाजान्दै पनि यस्तो खेलमा रमाउनु नै दशैंको ठूलो सांस्कृतिक पक्ष हो। यस खेलको सबैभन्दा ठूलो संरक्षक र सञ्चालक नेपाली राज्य हुँदै आएको छ, जुन व्यावहारिकरुपमा अझै ‘सेकुलर’ (धर्मनिरपेक्ष वा लौकिक) हुन सकेको छैन। बीपी कोइरालादेखि हर्क गुरुङसम्मको भाषा सापटी लिएर भन्दा, अझै पनि ‘राष्ट्र’ बन्न नसकेको नेपाली राज्य संवैधानिकरुपमा धर्मनिरपेक्ष भए पनि व्यावहारिकरुपमा हिन्दु धर्मसापेक्ष नै छ। नेपाली राज्यले अझै पनि त्यस्ता हिन्दु धर्मका मूल्य-मान्यताका आधारमा सांस्कृतिक कर्म गर्दैछ, जसले लोक, लौकिकता, लोकतान्त्रिक पहललाई प्रोत्साहित गर्दैन, बरु शुभकर्म र मानवीय पहलको साटो शुभकामना, आशीर्वाद र चाकरीलाई नै प्रेरित गर्छ।

दशैं र राष्ट्रपतिको टीका
हुन त ‘असली हिन्दुस्थान’ बनाउने कसम खाएर गोरखा राज्य विस्तार गरेका शाहवंशीय राजाहरूको राजतन्त्र समाप्त भइसकेको छ। गोरखाली राज्यबाट नेपाली राज्य बने पनि राज्य र राज्यतन्त्रमाथि आसीन हुने पदाधिकारीहरूको हिन्दुवादी मानसिकता भने फेरिएको छैन। शाहवंशीय राजामध्येका अन्तिम राजा ज्ञानेन्द्र शाह जनताको आन्दोलनका कारण गद्दीच्युत भइसेकका छन् तर पनि उनी तेत्तीस करोड देवीदेवताको आशीर्वादले पुनः हिन्दु राजा वा हिन्दुहरूका भगवान् बन्ने दाउमा छन्। सबैभन्दा विडम्बना त धर्मनिरपेक्ष घोषणा गरिएको नेपाली राज्यका प्रमुख डा. रामवरण यादवले गद्दीच्युत राजासँग सांस्कृतिक प्रतिस्पर्धा गर्दै आफूलाई नयाँ राजाका रुपमा उभ्याउन खोज्ने नसुहाउँदो काम गरिरहेका छन्। दशैंमा आम मानिसलाई टीका लगाउने काममा भएको पूर्व राजा र वर्तमान राष्ट्रबीचको लिगलिगे दौडले लोक, लोकतन्त्र र लौकिकता (सेकुलरिज्म)लाई लोप्पा खुवाएको छ। र, गरिबी, उत्पीडन र शोषणको दशामा सुधार र परिवर्तनका लागि मानवीय पहल गर्नु जरुरी छैन, दशा मन्छाउन देवीदेवता भाके हुन्छ, अलौकिक शक्तिको आराधना गरे आशीर्वाद पाइन्छ भन्ने भावधारालाई शीतलनिवासबाट पनि प्रवाहित गरिएको छ, पहिले नारायणहिटी राजदरबारबाट गरिएझैं। यस अर्थमा गणतन्त्रमा नारायणहिटी राजदरबारका राजा शीतल निवास सरे भन्ने अर्थमा कार्टुनिस्ट रविन सायमिले राजाको हातबाट टीका लगाउन चाहने बटुवालाई राष्ट्रपतिकहाँ जाने संकेत गदै व्यंग्य गर्नु यथार्थसम्मत हुन्छ।

नेपाली राज्यका राष्ट्रपति डा. रामवरण यादव हिन्दु धर्मावलम्बी हुनु, आस्था र उपासनाका हिसाबले आस्तिक हुनु र उनका निजी आचरण गर्ने क्रममा कुनै मठमन्दिर जानु अस्वाभाविक होइन। तर एक जना राष्ट्रपतिका रुपमा गरिने यस्ता धार्मिक र सांस्कृतिक आचरणले धर्मनिरपेक्ष राज्यको धज्जी उडाउँदै आएको छ र व्यक्तिगतरुपमा पनि नेपाली कांग्रेसका महामन्त्री भइसकेका डा. यादवको प्रजातान्त्रिक राजनीतिको अधोवस्त्रलाई पनि उडाउन बाँकी राखेको छैन। सबैखाले दशा र दुर्दशा अन्त्यका लागि देवीदेवताको स्तुति गर्दै, महिषासुरको हत्या गर्ने काली, दुर्गा वा पार्वतीका अर्चना गर्दै राष्ट्रपति निवास शीतलनिवासमा प्रजाहरूलाई टीका लगाइदिनुले हिन्दु अधिराज्यकै दुर्गन्ध सञ्चार गरेको छ। र, राष्ट्रपति डा. यादवमा नयाँ राजा बन्ने सांस्कृतिक मूल्य-मान्यता जब्बरसँग गाँठो परेको तथ्यलाई उजागर गरेको छ।

‘असली हिन्दुस्थान’ र दशैं
सांस्कृतिक इतिहाससम्बन्धी लेखक प्रयागराज शर्माका अनुसार नेपालमा साँढे दुई सय वर्षसम्म कायम रहेको शाहवंशीय राजतन्त्रको धार्मिक र सांस्कृतिक आधार हिन्दु धर्म थियो। नेपालको भौगोलिक एकीकरण गरेका गोरखाली राजा पृथ्वीनारायण शाहको लक्ष्य थियो, असली हिन्दुस्थान बनाउने। त्यस लक्ष्यलाई जंगबहादुर राणाले पूरा गरेका थिए, सन् १८५४ मा मुलुकी ऐन बनाएर, जातप्रथालाई संस्थागत गरेर, हिन्दु धर्मका देवीदेवता, मठमन्दिर र चाडबाडलाई महिमामण्डित गरेर। शाहको लक्ष्य र राणाको पहललाई नेपाली राज्य चलाउन शासकहरूले हालसम्म त्याग्न सकेका छैनन्, मुख र अक्षरले जे भने पनि। उनीहरूले नेपाललाई असली हिन्दुस्थान बनाउन गरेका धार्मिक र सांस्कृतिक कसरतकै कारण आज दशैं पनि नेपालकै मुख्य चाडका रुपमा स्थापित भएको छ र दशैंसँगै अलौकिकता र पूजाअर्चनाको बाढी पनि आएको छ। तर, ‘हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमी’ को नेपथ्यमा रहेको सांस्कृतिक राजनीति विचारणीय छ।

आफूलाई हिन्दुपति भन्ने शाहवंशीय राजाहरूको राजतन्त्रअन्तर्गत स्थापित राणा शासनले मूलतः दशैंलाई राज्य र देशकै पर्वका रुपमा फैलाएको थियो। सामाजिक मानवशास्त्री डेविड गेल्नरका अनुसार राणा शासनले मुलुकी ऐनको निर्माण, दशैं पर्वको फैलावट र ब्राह्मणहरूलाई प्रोत्साहनमार्फत् हिन्दु अधिराज्य निर्माण गरेको थियो। एथ्नोग्राफीका प्रोफेसर रिचार्ड बर्घटका अनुसार दशैंकै बेला राजाहरूले ब्राह्मणबाट आशीर्वाद लिने र राजाहरूले आफ्ना भारदार, नातेदार र उच्च प्रजालाई आशीर्वाद दिने काम गर्थे, राजनीतिक-सांस्कृतिक सत्ताको अभ्यासका क्रममा। सबैभन्दा महŒवपूर्ण राज्यको कामका रुपमा राजाहरूसँग विभिन्न ठेक्कापट्टाको वार्षिक नवीकरण र सरकारी जागिरमा थमौती वा बर्खास्तीका लागि गरिने पजनी पनि दशैंमै गरिन्थ्यो। यी सबै कामका लागि शासकहरूको चाकरी गर्ने/गराउने दरबारिया संस्कृति विकास भएको तथ्य डोरबहादुर बिष्टले उल्लेख गरेका थिए।

सांस्कृतिक साम्राज्य
दशैंसँग जोडिएको अर्को पक्ष हो, गैरहिन्दु धर्मावलम्बीहरूमा जोरजबर्जस्ती गरी दशैं मनाउन बाध्य पारिएको ऐतिहासिक तथ्य। गोरखाली राज्यसँग लामो समयसम्म द्वन्द्वमा रहेका पूर्वका राई र लिम्बूमाथि दशैं लादिएको तथ्य अहिले बिर्सन थालिएको छ। हिन्दु अधिराज्य विस्तार र सुदृढीकरणका लागि गरिएको यस्तो सांस्कृतिक अतिक्रमणका कारण गैरहिन्दु धर्म र संस्कृतिमाथि अत्याचार भएको तथ्य विचारणीय छ।

समाजशास्त्री चैतन्य मिश्रका अनुसार नेपालमा दशैंको प्रवल पक्ष भनेको हिन्दु राज्यको संवैधानिकता र त्यसअन्तर्गत परिचालन गरिने शक्तिशाली सांस्कृतिक साम्राज्यवाद हो। हुन त लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै हिन्दु राज्यको संवैधानिकता समाप्त पारिए पनि राज्यका अंगअंगमा त्यसको रगत बगिरहेको तथ्य राष्ट्रपतिबाट भएको टीकाटालो र राज्यबाट दिइएका लामो बिदा अनि सरकारी कर्मचारीको दशैं खर्चबाट अझै झल्किन्छ नै। मिश्रका अनुसार विगतमा बडादशैंमा राजाको सन्देशदेखि लिएर कार्यालय-विद्यालयको लामो छुट्टी, राज्य संरक्षित बलि र बढाइँ, दरबारदेखि मन्त्रीसम्मको टीकाका लामो टिभी प्रसारण आदि अन्य धर्म र धर्मावलम्बीमाथि साँधिएका शक्तिशाली अस्त्र हुन्। दशैंको नाममा राज्यले चलाउने यो धर्म-अस्त्र समस्त देशवासी हिन्दुका विजय र वैभवका लागि होइन, शासन चलाउने पाखण्डका रुपमा विकसित हुँदै आएको छ। यी दुवै वास्तविकतातर्फ हिन्दु र गैरहिन्दु सबैले ध्यान पुर्याकउनु र यिनको विरोध गर्नु अत्यन्त आवश्यक छ।

नेपाललाई हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष लोकतान्त्रिक राष्ट्र बनाउने हो भने नेपाली राज्यले विगतका धार्मिक अत्याचारमा क्षमा माग्नु, नेपालका सबै धर्म, भाषा र जातिका संस्कृतिलाई न्याय र समताको आँखाले हेर्नु र व्यवहार गर्नु जरुरी हुन्छ। तर, राज्य चलाउने सत्तापक्षी र विपक्षी नेताहरूको ध्यान कुर्सीमा मात्रै टाँसिएको बेला दशैं, देवीदेवता, धर्मबारे लोकतान्त्रिक र लौकिक चिन्तनको आशा गर्न सकिँदैन, जसरी देवीदेवताजस्ता अलौकिक शक्तिको अर्चना र आशीर्वादको भरमा वर्तमान दशामा सुधार र परिवर्तनको आस गर्न सकिँदैन। यस अर्थमा वर्तमान जीवनको दशामा सुधार र परिवर्तनका लागि जनताको लौकिक र लोकतान्त्रिक पहल नै वैज्ञानिक दिशा हुनसक्छ। अन्यथा, देवीदेवताको मूर्ति र मन्दिर बनाउने धनबहादुर परियारजस्ता गरिब दलितले दुर्दशाका कारण जीवन त्याग्नुपर्ने बाध्यता आइलागिरहन्छ र उनीहरूलाई देवीदेवताका आशीर्वादले कहिले पनि बचाउने छैनन्।

Source : http://www.nagariknews.com/opinions/98-opinion/48251-2012-10-30-01-04-24.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s