चीनबाट सिक्ने पाठ

चीनले नेपालको सीमा क्षेत्रमा सगरमाथाको नाममा विश्वकै अग्लो नेसनल पार्क निर्माण गरेको छ। चोमोलोङ्मा नेसनल पार्क नामको यो क्षेत्र ७८ हजार वर्ग किलिोमिटर क्षेत्रमा फैलिएको छ। जसलाई विश्वकै महत्वपूर्ण गन्तव्यस्थल बनाउने अभियानमा चीन सरकार लागिपरेको छ। त्यसो त तिब्बतलाई विश्वकै महत्वपूर्ण गन्तव्य बनाउने अभियानमा उसले यही क्षेत्रमा यसअघि पनि दुई वटा नेसनल पार्क बनाइसकेको छ।
ध्रुवसत्य कुरा हो कि सगरमाथा नेपालमा पर्छ। तर यसको फाइदा भने हामीले लिन सकिरहेका छैनौं। जबकि चीनले सगरमाथाकै नाममा अरबौं लगानी गरेको छ र पर्यटनमार्फत् वर्षेनि अरबौं डलर आर्जन गरिरहेको छ। हामी भने एकातिर आफ्नो देशमा केही स्रोत नभएको दुखेसो गर्छौं भने अर्कोतिर उपलब्ध स्रोत पनि उपयोगमा ल्याउन सकिरहेका छैनौं। सगरमाथा र जलस्रोतलाई भरपुर प्रयोग गर्न नसक्नु यसको ज्वलन्त उदाहरण हो।
चोमोलोङ्मा पार्कले नेपालसँग सीमा जोडिएको तिब्बतको सिगात्से क्षेत्रका छ जिल्लालाई समेटेको छ। जहाँ इकोलोजिकल भ्याली, सांस्कृतिक क्षेत्र, हट स्पि्रङ र आइसमा रमाउन मिल्नेगरी पार्क निर्माण गरिएको छ। पार्कले प्राकृतिक संशाधन तथा भूमिको अवैध शोषणको रोकथाम गर्ने र जैविक विविधताको संरक्षण गर्ने जानकारी पनि दिइएको छ। यसबाट थाहा हुन्छ कि चीनले पर्यटन र जैविक विविधताबीच नङ र मासुको सम्बन्ध हुन्छ भन्ने बुझेको छ र उसको रणनीति पनि यही बुझाइमा आधारित छ। जसबाट सिक्दै नेपालले पनि थुप्रै काम गर्न सक्छ।
तर नेपालले भने सगरमाथा चढ्न आउनेसँग लिने केही राजश्वमै चित्त बुझाउने गरेको छ। न सगरमाथा आरोहीलाई प्रोत्साहित गर्ने कुनै आकर्षक कार्यक्रम छ, न त पूर्वाधारहरु नै भरपर्दा छन्। यस अर्थमा हाम्रो मुलुकले सगरमाथालाई प्रयोग गर्नै सकेको छैन भन्दा पनि फरक पर्दैन। निकुञ्ज त समेट्छ नेपालले पनि, तर निकुञ्जमा हुनुपर्ने अत्यावश्यकीय पूर्वाधारसमेत तयार छैनन्। चीनले तयार पारेजस्तो हिमाली मज्जा लिने सुविधा त निकै परको कुरा। जबकि पर्यटक आकर्षित गर्न र त्यसबाट आर्जन गर्न उनीहरुको चाहनाअनुसारको पूर्वाधारमा लगानी पहिलो सर्त हुने गर्छ।
तिब्बती समुदाय, बौद्ध संस्कृति र प्राकृतिक सुन्दरताको आकर्षणले तिब्बतमा पाँच वर्षदेखि वार्षिक २० प्रतिशतले पर्यटकको संख्या बढिरहेको छ। सरकारी तथ्याङ्कअनुसार अघिल्लो वर्ष करिब ८५ लाख पर्यटकले तिब्बत भ्रमण गरेका थिए। विशाल देश, त्यहीअनुसारको लगानी र विभिन्न आकर्षणले गर्दा चीनसँग नेपालको तुलना नहोला। तर यसो भन्दैमा हामीले चाहिँ सगरमाथा क्षेत्रमा केही गर्नै पर्दैन वा गर्नै सक्दैनौं भन्ने सोच सही होइन। नेपालमा पनि उत्तिकै प्राकृतिक सुन्दरता र जाति/प्रजातिका संस्कार, रिवाज, भेषभूषा तथा रहनसहन आकर्षक छन्। सांग्रिलाको खोजीमा कुनाकाप्चा र खोँच भौतारिनेहरुलाई यहाँ प्रशस्त खुराक प्राप्त हुन सक्छ। तिनलाई भरपुर प्रयोग गर्दै अघि बढ्न सके सगरमाथा क्षेत्रको लगानीले पक्कै घाटा पार्दैन।
उपाय सजिलो छ। सगरमाथा क्षेत्रमा पुग्नेहरुले सरकारलाई बुझाउने राजश्वमात्रै त्यही क्षेत्रमा खर्चिने हो भने केही वर्षमै चीनले यो क्षेत्रमा भित्र्याउँदै गरेको पर्यटक देखेर लोभिनुपर्ने अवस्था अन्त्य हुनेछ। यसका लागि मात्र नेता र नीति निर्माता तथा उच्चपदस्थ कर्मचारीमा इच्छाशक्ति भए पुग्छ। अन्यथा पेटको नाभि थाहा नपाएर त्यसैको बास्नाले जंगलभर घुम्ने कस्तूरी मृगको नियति अझै लामो समयसम्म भोग्न यो सुन्दर मुलुक बाध्य हुनेछ।

Source : http://www.nagariknews.com/opinions/98-opinion/48225-2012-10-29-07-12-03.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s