घरजग्गा कारोबारमा चहलपहल

बालकृष्ण ज्ञवाली, काठमाडौं, कात्तिक १३ – साढे तीन वर्षदेखि सुस्ताएको घरजग्गा कारोबारमा हिउँदसँगै सुधार आउने संकेत देखिएको छ। लामो समयदेखि यही पेसामा आबद्ध व्यवसायीहरु पनि यसपटकको हिउँदमा कारोबार बढ्नेमा आशावादी छन्।

 

चालु आर्थिक वर्षदेखि घरजग्गा किनबेचमा आएको सुधारले आगामी हिउँदमा झनै बढ्ने संकेत गरेको हो। बैंक तथा वित्तीय संस्थाले अहिले निक्षेपमा ब्याज घटाएको र तत्काल प्रतिफल दिने अन्य सम्भावित क्षेत्र पनि नदेखिएकाले घरजग्गामा लगानी आउने देखिएको हो।

काठमाडौं उपत्यका र बाहिरका सहरी क्षेत्रमा चालु वर्षका तीन महिना (साउन-असोज) मा रजिस्टे्रसनबाट उठेको राजस्वले यो क्षेत्रमा लगानी आउन थालेको देखाएको छ। साढे तीन वर्षदेखि लगातार रुपमा घटिरहेको राजस्व यो वर्ष करिब २० प्रतिशतले बढेको छ। मध्यवर्षा र चाडबाडको महिना (साउन-असोज) मा समेत कारोबार बढेकाले हिउँदमा झनै सुधार आउने अनुमान गरिएको हो। घरजग्गा कारोबारको प्रमुख मौसम तिहारपछि (कात्तिक-जेठ ) हो।

,अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष घरजग्गा कारोबारबाट उठ्ने राजस्व २० प्रतिशतले बढेको छ,’ भूमि सुधार तथा व्यवस्थापन विभागका तथ्यांक अधिकृत राजु बस्नेतले नागरिकसँग भने। उनका अनुसार उपत्यकाका पाँच मालपोत कार्यालयहरुले अघिल्लो वर्षको भदौमा १३ करोड ६६ हजार रुपैयाँ राजस्व असुली गरेकामा यस वर्षको भदौमा १८ करोड रुपैयाँ उठाएका छन्।

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा मात्र २३ करोड १४ लाख रुपैयाँ उठेको छ। यो अघिल्लो वर्षको साउनको तुलनामा करिब दोब्बर हो। गत वर्ष १२ करोड ५२ लाख संकलन भएको थियो।

,पछिल्ला दुई वर्षलाई हेर्दा उपत्यकामा प्रति महिना करिव १२ करोड रुपैयाँ राजस्व उठेको छ। तर, साउनजस्तो वर्षातको मौसममा पनि २३ करोड राजस्व उठनु वास्तवमै कारोबारमा सुधार आएको संकेत हो,’ बस्नेतले भने।

कारोबारमा आउने सुधार असोजमा पनि नरोकिएको बस्नेतले जनाए। उनका अनुसार असोजमा पनि उपत्यकालगायत मुलुकभरका सहरी क्षेत्रमा कारोबार बढेको छ।

घरजग्गा कारोबारमा संलग्न व्यवसायीहरु पनि चालु वर्षदेखि किनबेचमा सुधार आएको बताउँछन्। ,पछिल्ला केही महिनादेखि घरजग्गा किनबेचमा सर्वसाधारणले बढी चासो दिएका छन्,’ एक दशकदेखि घरजग्गा व्यवसायमा लागेेका कोटेश्वरका व्यवसायी राजन पराजुलीले नागरिकसँग भने, ,आगामी हिउँदमा किनबेच झनै बढ्ने हाम्रो अनुमान छ।’ उनले घरजग्गा किनबेच बढे पनि मूल्य भने तत्काल बढ्न नसक्ने बताए। अघिल्ला वर्षहरुमा नचाहिँदो किसिमले मूल्य बढेकाले तत्काल भाउ बढेर किनबेच हुन सक्ने देखिँदैन,’ उनले भने।

उपत्यकालगायत मुलुकका अधिकांश क्षेत्रमा अस्वभाविक रुपमा घरजग्गाको मूल्य बढेपछि राष्ट्र बैंकले २०६६ पुसमा घरजग्गा, अपार्टमेन्ट र हाउजिङ क्षेत्रको लगानीमा सीमा तोकेको थियो। यो निर्देशनपछि बैंकहरुले लगानी घटाउँदा घरजग्गाको कारोबार ८० प्रतिशत र मूल्य (ठाउँ हेरेर) ४० प्रतिशतसम्मले घटेको थियो।

बैंकले लगानी रोक्दा घटेको कारोबार फेरि थप्दा बढ्न लागेको व्यवसायी बताउँछन्। अहिले बैंक तथा वित्तीय संस्थाले आवास कर्जाको ब्याज घटाएर लगानी गर्न सुरु गरेका छन्। उनीहरुले दैनिकजसो ब्याज घटाएका सूचना जारी गरिरहेका छन्। पहिले १७ प्रतिशतसम्म पुगेको आवास कर्जा अहिले १० प्रतिशतमा झरेको छ। ,ठूला जग्गा प्लटिङ गर्ने व्यवसायीका लागि अहिले पनि बैंकले कर्जा उपलब्ध गराएका छैनन्,’ बालाजुका व्यवसायी श्याम मैनालीले भने, ,आवासका लागि स-सानो कर्जा दिन थालेका छन्।’ उनका अनुसार यही कर्जाका कारण साना र टुक्रे जग्गाको बिक्री बढेको छ।

,ठूला व्यवसायी र सर्वसाधारणले बैंक कर्जा तिर्न केही मूल्य घटाएर घरजग्गा बेचेकाले पनि कारोबार बढेको बस्नेत बताउँछन्। ,अहिले धेरै व्यवसायी र केही सर्वसाधारणको घरजग्गा लिलामीमा चढेको छ। दिनहुँ पत्रपत्रिकामा लिलामीका सूचनाहरु प्रकाशित भइरहेका छन्। लिलामीमा राखेका घरजग्गा बिक्री हुँदा पनि कारोबार बढेको हो,’ मैनालीले भने।

बस्नेतका अनुसार उपत्यकाबाहेक झापा, सुनसरी, मोरङ, मकवानपुर, चितवन, रुपन्देही, नेपालगन्ज, कन्चनपुरजस्ता तराईका सहरी क्षेत्र र कास्कीमा पनि केही समययता कारोबार बढेको छ। यस्तै, सहरोन्मुख पहाडी जिल्लामा पनि किनबेच बढिरहेको छ।

अर्कोतिर अहिले घरजग्गाको मूल्य केही घटेको र अब थप नघट्ने अनुमान गरी सर्वसाधारणले किन्न थालेको पराजुलीले बताए। ,पछि नाफा गर्न नभई आवासका लागि घरजग्गा किने सर्वसाधारण अहिले बढेका छन्, उनले भने, ,मूल्य घट्ला र किनौँला भन्नेहरु अब बिस्तारै सक्रिय हुन थालेका छन्।’ पराजुलीले हिउँदमा यो क्रम झनै बढ्ने बताए।

विभागका बस्नेतले काठमाडौंमा सुधार देखिए पनि बाहिरका जिल्लामा गत माघ-फागुनदेखि नै सुधार देखिएको बताए। पहिले उपत्यकामा घरजग्गाको कारोबार र मूल्य अस्वाभाविक बढेपछि तराईमा सरेको थियो। अहिले तराईबाट सुधार क्रम उपत्यकामा आएको छ।

Source : http://www.nagariknews.com/economy/consumer/48209-2012-10-29-03-38-23.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s