एचआइभी नियन्त्रणको बजेट कता खर्च हुन्छ ?

एचआइभी एड्स नियन्त्रण तथा जनचेतना विस्तारका नाममा निकै मोटो रकम खर्च हुनेगरेको भए पनि संक्रमितको अवस्थामा भने खासै सुधार भएको पाइँदैन । सरकारदेखि दातृ निकायले समेत एचआइभी पीडितका लागि करोडौँ बजेट विनियोजन गरेर सहयोग जुटाउँदै आएको पाइन्छ । देशभर एचआइभी संक्रमितका नाममा अनेकखाले कार्यक्रम तयार गरेर मोटो रकम खर्च हुने पनि गरेको छ । तर, जतिसुकै मोटो रकम खर्च भए पनि संक्रमितसम्म त्यो सहयोग रकम बिरलै पुग्ने गरेको छ । दातृ निकाय र सरकारबाट विनियोजित त्यस्तो रकम कसले, कहाँ र कसरी खर्च गरिरहेको छ, सरोकारवाला निकायले चासो दिएर अनुगमन गर्ने गरेको देखिन्न । त्यसैले पनि संक्रमितका नाममा विनियोजित रकमको व्यापक दुरुपयोग हुनेगरेको छ ।
गत आर्थिक वर्षभित्र रूपन्देही जिल्लामा मात्र एचआइभी संक्रमितका नाममा विभिन्न संघ संस्थाले झन्डै दुई करोड खर्च गरेको तथ्यांक सार्वजनिक भए पनि वास्तविक संक्रमितसम्म सो रकमको सानो अंश पनि नपुगेको समाचार सार्वजनिक भएको छ । जिल्लामा एचआइभीबारे जनचेतना जगाउने, एचआइभी नियन्त्रण गर्ने, संक्रमितलाई नियमित औषधि सेवनमा सघाउने, संक्रमित बालबालिकालाई समाजमा पुनस्र्थापित गराउने तथा उनीहरूको शिक्षादीक्षामा सघाउने भन्दै त्यस्ता संघसंस्थाले करोडौँ खर्चेका छन् । उनीहरूले खर्चको विवरण पनि दिएका छन्, तर त्यति ठूलो परिमाणको रकम लक्षित व्यक्तिसम्म पुग्न भने सकेको छैन । जिल्लामा ६२ बालक र ४३ बालिका संक्रमितको तथ्यांक सार्वजनिक भएको छ । प्रौढ संक्रमितको संख्या छुट्टै छ । तर, तीमध्ये ८७ बालबालिकाको जीवन उच्च जोखिममा रहेको बताइएबाटै अनुमान गर्न सकिन्छ, संक्रमितका नाममा आएको रकम उनीहरूसम्म पुग्न सकिरहेको छैन । जिल्लाका संक्रमित बालबालिकामध्ये जम्मा २६ जनाले मात्र एन्टी रेट्रो भाइरल -एआरभी) सेवन गरिरहेको तथ्यांकले पनि झन्डै दुई करोड खर्चिए पनि वास्तविक पीडितसम्म सो रकम पुगिरहेको छैन भन्ने पुष्टि गरेको छ ।
सामान्यतः जनचेतनाको अभावमा एचआइभी संक्रमितलाई हेला र हाँसोको पात्र बनाउने गरिन्छ हाम्रो समाजमा । त्यसका लागि आवश्यक चेतना अभावले गर्दा संक्रमितले अपहेलित जीवन बाँच्नुपरिरहेको छ । एचआइभी एड्सकै कारण अभिभावक गुमाएका बालबालिकाको जीवन निकै कष्टकर रहनेमा कुनै शंका छैन । उनीहरूले न त एआरभी उपचार सेवा नै पाएका छन्, न त उचित शिक्षाको अवसर नै पाएका छन् । अभिभावकमा लागेको एचआइभी एड्सकै कारण संक्रमित बनेका बालबालिकाको जीवन उच्च जोखिममा छ । तैपनि, उनीहरूकै नाममा स्थापित संघसंस्थाले करोडौँ खर्चिंदा पनि उनीहरू भने पीडाको पीडैमा बाँचिरहेकोतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको देखिन्न । दातृ निकाय र राज्यले दिएको रकम कसले, कहाँ र कसरी खर्च गरिरहेको छ, सरोकारवाला निकायले अनुगमन गर्नु जरुरी छ ।

Source : http://www.nayapatrika.com/index.php?option=com_content&view=category&layout=blog&id=53&Itemid=59

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s