आर्थिक समृद्धि र स्थायित्व

रमेश अर्याल

नेपालमा योजनाबद्ध विकासको थालनी भएको साँढे ५ दशक पूरा भएको छ। यस अवधिमा शिक्षा, स्वास्थ्य र सञ्चारको क्षेत्रमा सुधार भए पनि आर्थिक पछौटेपनबाट नेपाल माथि उठ्न सकेको छैन। अझै पनि एक चौथाई जनता गरिबीको रेखामुनि जीउन बाध्य छन्। चीन र भारत जस्ता विश्वको उदयीमान अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशतको हाराहारीमा मात्र छ। पानी परेको खण्डमा कृषि क्षेत्रमा सुधार भई आर्थिक वृद्धि हुने अर्थात् आकाशे पानी र विदेसिएका नेपालीले पठाएको रेमिट्यान्सले अर्थतन्त्रलाई जीवन दिएको छ। राजस्व संकलन उत्साहजनक भए पनि पुँजीगत रकम खर्च हुन नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन। लगानीको वातावरण बन्न नसक्दा र पार्टीपिच्छेका मजदुर युनियनका क्रियाकलापले औद्योगिक सम्बन्ध असहज भई उद्योग क्षेत्र थला परेकोे छ। फलस्वरुप गत आर्थिक वर्षमा कुल व्यापार घाटा ३८७ अर्ब ४१ करोड रूपियाँ पुगेको छ।
नेपालमा आर्थिक विकास अपेक्षित गतिमा हुन नसक्नुमा राजनीतिक अस्थिरता प्रमुख कारण हो भने उपलब्ध स्रोत साधनको सही परिचालन र उपयोग गर्ने दूरदृष्टि नहुनु अर्को कारण हो। अस्थिरता भएपछि राजनीतिक तथा प्रशासनिक तहमा दिगो र स्पष्ट सोचका साथ कार्यक्रमहरु तर्जुमा एवं कार्यान्वयन हुन सकेनन्। फलस्वरुप विकासका सम्भावना हुँदाहँुदै पनि देश पछाडि पर्यों। अतः देशमा विकास चाहने हो भने अस्थिरता, अशान्ति एवं असुरक्षाको अवस्थाबाट देशलाई मुक्त गराउन राजनीतिक दलहरुले आफ्नो र पार्टीको स्वार्थ होइन, देश र जनताको स्वार्थलाई सर्वोपरि ठान्नुपर्छ। राजनीतिक दल राजनीति केन्द्रित मात्र हुनुभएन, विकास केन्द्रित हुनुपर्छ। सत्ताका लागि कहिले फुट्ने त कहिले जुट्ने गर्नुको सट्टा देश विकासका लागि एकजुट भएर साझा दृष्टिकोण बनाउनुपर्छ। प्रतिपक्षमा बस्दासमेत सरकारले ल्याएका राम्रा कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्नुपर्छ। समयमै बजेट स्वीकृत नभए त्यसको असर देशको समग्र विकासमा पर्ने भएकाले आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडि नै निश्चित मितिमा बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्न सबै राजनीतिक दल प्रतिबद्ध हुनुपर्छ।
आर्थिक समृद्धिका लागि दीर्घकालीन सोचअनुसारको योजना हुनुपर्छ। कुन क्षेत्रमा जोड दियो भने तुलनात्मकरुपमा देशलाई फाइदा पुग्छ, त्यसको प्राथमिकीकरण गर्नुपर्छ। हामीकहाँ क्षेत्र पहिचान नगरी आयोजनाको मात्र प्राथमिकीकरण गर्ने चलन छ। यसले गर्दा सबै क्षेत्रमा कनिका छरेझैं बजेट छर्ने काम भयो। स्पष्ट देखाउन सक्नेखालको काम भएन। आयोजना तथा कार्यक्रमको छनौट काठमाडौं बसेर होइन, स्थानीय आवश्यकता र वस्तुस्थितिअनुसार मेल खाने गरी विकेन्द्रीकरणको भावनाअनुरुप तलबाट माथितर्फ हुनुपर्छ। उदाहरणका लागि डोल्पा जिल्लामा सडक पहिलो प्राथमिकता हो भने अन्य क्षेत्रमा बजेट कम गरेर भए पनि सडकमा बढी लगानी गर्नुपर्छ। योजना तर्जुमा र कार्यान्वयन गर्दा पारदर्शिता हुनुपर्छ। तोकेको लक्ष्यअनुसार काम भयो/भएन, के-के सुधार गर्नुपर्छ भन्ने थाहा पाउन अनुगमन र मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाउनुपर्छ। अनुगमन गर्ने भन्दैमा गएको जेठ महिनामा हुम्लामा गरिवी निवारण कोषबाट सञ्चालित कार्यक्रमको अनुगमन गर्न सरकारी कर्मचारी र राजनीतिक दलका पदाधिकारीलाई हेलिकोप्टर चार्टर गरी सदरमुकामबाट एक दिन परको गाँउमा लगेजस्तो हुनुभएन। भैंसीपालन, बाख्रा साटासाट जस्ता सामान्य काम गर्ने तर हेलिकोप्टरबाट अनुगमन गराउने विकासको मोडेलचाहिँ हुनुभएन।
नेपालको आर्थिक विकासलाई अग्रगति दिने क्षेत्रहरु जलस्रोत, कृषि, पर्यटन र वन हुन्। यसमध्ये जलस्रोतलाई विकासको पहिलो प्राथमिकताको क्षेत्र बनाउनुपर्छ। जलविद्युत्मा लगानी गर्नेबित्तिकै कुनाकन्दरासम्म सडक विस्तार हुन्छ, पर्यटकीय क्षेत्र वृद्धि हुन्छ, उद्योगधन्दा विस्तार हुन्छ, गाउँघरका कृषि उपजले बजार पाउँछ, रोजगारी सिर्जना हुन्छ। सरकारी तथ्याङ्कअनुसार नेपालले आर्थिक वर्ष २०६८/०६९ मा ७४ अर्ब २६ करोड रूपियाँको वस्तु तथा सेवा निर्यात गरेकामा ९२ अर्ब २५ करोडको पेट्रोलियम पदार्थमात्र आयात गरेको छ। यसरी हाम्रो निर्यातले पेट्रोलियम पदार्थ आयात गर्नसमेत नसकेको अवस्थामा पर्याप्त मात्रामा विद्युत् उत्पादन गरी उपयोग गर्ने हो र बढी भ्ाएको विद्युत् निर्यात गर्ने हो भने देशको कायापलट गर्न सकिन्छ।
जलविद्युत् आयोजना निर्माण गर्न ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसका लागि निजी क्षेत्र, समुदाय र स्थानीय निकायको सहभागिता अभिवृद्धि गर्नुपर्छ। गत वर्ष रेमिट्यान्सबाट ३ खर्ब ५९ अर्ब रुपियाँ नेपाल भित्रिएको थियो। रेमिट्यान्सबाट प्राप्त रकमको ७९ प्रतिशत दैनिक उपभोगमा, ७ प्रतिशत ऋण तिर्न, ५ प्रतिशत खरीदमा, ४ प्रतिशत शिक्षामा, २ प्रतिशत पुँजी निर्माणमा र ३ प्रतिशत अन्यमा खर्च हुने गरेको छ। दैनिक उपभोगको एक चौथाई अर्थात् ७१ अर्ब रूपियाँ प्रत्येक वर्ष जलविद्युत्मा लगानी गर्ने योजना बनाई कार्यान्वयन गर्ने हो भने करिव ४७५ मेगावाट (१ मेघावाटका लागि १५ करोड रुपियाँ) को जलविद्युत आयोजना प्रत्येक वर्ष सुरु गर्न सकिने अवस्था छ। त्यस्तै जनप्रतिनिधिविहीन अहिलेको अवस्थामा स्थानीय निकायमा अनियमितता भएको चर्चा चलिरहेको सन्दर्भमा स्थानीय निकायमा जाने रकमको प्रशासनिक, सामाजिक सुरक्षा र दैवीप्रकोपसम्बन्धी रकमबाहेक अन्य सबै रकम (करिव ३५ अर्ब) जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने हो भने त्यसबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ। जलविद्युत् आयोजनाबाट सिर्जना हुने रोजगारीले गर्दा कालान्तरमा युवाहरु खाडी मुलुकमा गई पसिना पनि बगाउनुपर्दैन।
जलस्रोतपछि कृषि, पर्यटन र वनमा जोड दिनुपर्छ। गरिबीको माखेसाङ्लोमा जकडिएका ग्रामीण क्षेत्रका जनताको जीवनस्तरमा सुधारका लागि परम्परागत, निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण र विविधीकरण गर्नुपर्छ। खाद्यान्नमा आत्मनिर्भर भई विदेशबाट खाद्यान्न आयात गर्ने अवस्था अन्त्य गर्नुपर्छ। अर्गानिक कृषि उपज उत्पादन गरी विदेश निर्यात गर्नुपर्छ। वन सम्पदा नेपालको अर्को महत्वपूर्ण सम्पदा भएकाले वृक्षारोपण गरी वनजंगलले ढाकेको क्षेत्र बढाउँदा वातावरण संरक्षण हुनुका साथै कार्वन बेचेर थुप्रै रकम प्राप्त गर्न सकिन्छ। जंगलमा पाइने जडीबुटीको संरक्षण र प्रबर्द्धन गर्दै औषधी उत्पादन गर्ने कारखाना स्थापना गरेमा ठूलो धनराशि विदेश जानबाट रोकिन्छ। नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल हो भन्नेखालको प्रचार-प्रसार स्वदेशी एवं विदेशी छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट गरेर सीमित स्थानमा मात्र फस्टाएको पर्यटन व्यवसायलाई गाउँस्तरसम्म फैलाउने हो भने विदेशी मुद्रा आर्जन, रोजगारी वृद्धि र समग्र आर्थिक विकासमा लाभ लिन सकिन्छ। स्रोत साधनले हाम्रो देश गरिब छैन। हाम्रो मानसिकता गरिब छ। हाम्रो राजनीतिक चिन्तन गरिब छ। यसमा सुधार गर्ने हो भने सन् १९६० को दशकमा हामीसँगै रहेका तर हाल विकासमा फड्को मारेका मलेसिया, दक्षिण कोरिया, थाइल्याण्ड जस्तै हामी पनि समृद्ध राष्ट्र बन्न सक्छौं।
लेखक आन्तरिक राजस्व कार्यालय, जनकपुरमा कार्यरत् छन्।

Source : http://www.nagariknews.com/opinions/98-opinion/48266-2012-10-30-06-47-59.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s