‘डग फाइट’ भन्दा रमाइलो ‘चंगा चेट’

Saturday, 20 October 2012 21:07
‘चंगा चेट’ दसैंमा खेलिने रमाइलो खेल हो । बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका मानिस दसैंंमा चंगा उडाउन पाउदा हुरुक्कै हुन्छन् । दसैंंसँगको नाताबाट पनि यसको प्राचीनता प्रस्ट हुन्छ । चंगा मनोरञ्जनको पुरानो र गजबको संस्कृति हो । आधुनिक हलिउड फिल्मका ‘डग फाइट’ (फाइटर प्लेनहरू बीचको घम्साघम्सी) दृश्यभन्दा पनि रोचक हुन्छ, ‘चंगा चेट’ । लामो पुच्छर हालेर सरर उडाउने सिकारुको रहर होस् या अनुभवीको चेट पठाउने होड, चंगामा डुबेर आकाशको सयर गर्दै स्वर्गीय आनन्द अनुभूति गर्छन् चंगाबाज । यो खेलमा चंगा उडाउने खेलाडीको प्रतिनिधित्व चंगाले गर्छ । प्रतिस्पर्धीहरू चंगा चेट पठाएर जितको स्वाद चाख्छन् । अनि ‘चे…ट’को भाकामा उल्लास व्यक्त गर्छन् ।

यसो गरे मात्रै दसैंमा खाएको मासु पच्ने बताउँछन् चंगाबाजहरू । चंगा उडाउन धागो, लट्टाईका साथमा चंगा उडाउने व्यक्तिमा लगन, धैर्य र अनुभव पनि आवश्यक हुन्छ । चंगा सामान्यतया कागजको पन्नामा बाँसको सिन्का वा काठको लट्ठीको फ्रेम लगाएर बनाइएको एउटा पाता हो । यसमा झ्यार्की लगाएपछि चंगा उडाउनलायक हुन्छ । चंगामा दुइटा सिन्काको प्रयोग गरिएको हुन्छ । ठाडो रहने चंगाको सिन्कोलाई त्वा कछी भनिन्छ भने तेर्सो पैmलिएर रहने बांगो सिन्कालाई भाताँ कछी भनिन्छ । साधारणतया चंगाका तीन प्रकार हुन्छन् ः सामान्य, फाइटर र फेन्सी चंगा । चारपाटे आकारका कागज वा प्लास्टिकका चंगाहरूलाई साधारण कोटिमा राख्न सकिन्छ ।

फाइटर चंगाहरू चारपाटे नभएर अलि चौडा हुन्छन् । यी चंगाहरू बढी चक्कर काट्ने हुन्छन् र मोड्न सजिलो हुन्छ । चंगा चेट गर्नेहरूको पहिलो रोजाइमा पर्छ, यस प्रकारको चंगा । हेर्दा राम्रो, झिलिमिली, विविध आकार र आकृतिका चंगाहरू फेन्सी चंगा हुन् । यी चंगाहरू महँगा पनि हुन्छन् । तीन रुपैयाँका बटरफ्लाईदेखि ३ सय ५० रुपैयाँ पर्ने इगल चंगासम्मका फेन्सी चंगाहरू पाइन्छन् । पानी परे पनि चंगा उडाउनुको मज्जालाई निरन्तर कायम गर्ने ‘वाटर प्रुफ’ चंगाहरू पनि पाइन्छन् । यी चंगा अन्यको तुलनामा महँगा हुन्छन् । न्यूनतम पनि २ सय ५० रुपैयाँ पर्ने यस प्रकारका चंगा १२ सयसम्म पर्ने हुन्छन् । पानी परे पनि उडाउन मिल्ने यस प्रकारको चंगा विशेष प्रकारको कपडाबाट बनेको हुन्छ ।

चंगाको नाम रङ, त्यसमा प्रयोग भएका धर्सा र आकृतिले निर्धारण गर्छ । एउटा मात्र रङ भएको चंगालाई ‘सारा’ भन्ने गरिन्छ । जस्तै, सेतोलाई ‘तुइसारा’, रातोलाई ‘रुयंगुसारा’, कालोलाई ‘हाकुसारा’, नीलोलाई ‘वाँचुसारा’ आदि । आधाआधा फरक रङ भएका चंगालाई बापात्या भनिन्छ । हालका दिनमा प्लास्टिकका फेन्सी चंगाहरू विभिन्न पन्छीका आकृतिहरूमा उपलब्ध छन् । तिनीहरूको नाम पन्छीको अंग्रेजी नामअनुसार छन् । जस्तै, पुतली आकारको चंगालाई बटरफ्लाई, चीलजस्तो चंगालाई इगल, चमेरोजस्तै देखिने चंगालाई ब्याट भन्ने चलन आएको छ । कुनैकुनै चंगा उडाउँदा आवाज आउने किसिमले पनि बनाइएको हुन्छ । पहिलेपहिले आवाज निकाल्न चंगामा शङ्खले घोट्ने चलन थियो । त्यस्तो चंगा अरू चंगाभन्दा केही महँगो पनि हुने हुन्थ्यो । त्यस खालका चंगा उडाउँदा ‘झ्यार्रझ्यार्र’ आवाज आउने र चंगा उडाउनुको छुट्टै मज्जा आउने चंगा व्यापारी ब्राउनकाजी दर्शनधारी बताउँछन् । धागो र लट्टाईविना चंगा उडान सम्भव हुँदैन । बजारमा धागो पनि विभिन्न थरीका पाइन्छन् । सस्तोमा ४५ रुपैयाँ पर्ने बन्दुकमारदेखि महँगोमा पान्डा फाइभसम्मका धागो बजारमा किन्न पाइन्छन् । ५ सय मिटरको १२ सय पर्ने पान्डा फाइभ चंगा पारखीमाझ लोकप्रिय रहेको चंगा व्यापारी दर्शनधारी बताउँछन् ।

चंगा दसैंमा उडाउने र खेलका रूपमा प्रयोग हुने खेलकुदको साधनभन्दा पनि दसैंको प्रतीकका रूपमा पनि लिन थालिएको छ । टीका र जमराजस्तै चंगा पनि दसैंको प्रतीक भइसकेको छ । यसका साथै चंगा सजावटका लागि पनि प्रयोग हुन थालेको दर्शनधारी बताउँछन् । भक्तपुर दरबार क्षेत्र परिसरमा होटल सञ्चालन गर्दै आएका भक्त प्रधान भन्छन्, ‘दसैंको पनि भयो, गेस्ट आउने सिजन पनि छ, चंगा उडाउनेभन्दा पनि होटलका कोठामा सजाउन खरिद गर्दै छु ।’

पहिलेपहिले भक्तपुरमा खपत हुने चंगा स्थानीय स्तरमै निर्माण हुन्थ्यो । तर, आजकल सबैजसो भारत र चीनबाट आयात गरिन्छ । साकोथाका ब्राउनकाजी दर्शनधारी अहिले नेपाली चंगाको पनि राम्रो माग रहेको बताउँछन् । ‘केही बूढापाकाहरू नेपाली कागजकै चंगा खोजीखोजी आउँछन्,’ उनी भन्छन्, ‘नेपाली कागजको चंगाको विदेशमा पनि माग छ ।’ विगतमा उनले बनाएको २ सयभन्दा बढी चंगा जापान र फ्रान्स लगिएका थिए ।

नेपाली कागज नै महँगो हुने भएकाले नेपाली चंगा महँगो हुन्छ । बनाउन पनि झन्झटिलो हुने भएकाले चंगा निर्माण गर्नुभन्दा भारतबाट आयात गरी बेच्दा फाइदा हुने भएकाले पनि नेपाली चंगा बिस्तारै लोप हुन थालेको व्यापारीहरू बताउँछन् । दर्शनधारीका अनुसार फूलपातीदेखि दशमीसम्म चार दिन चंगा धागोको व्यापार बढी हुन्छ ।

Source : http://www.rajdhani.com.np/index.php?option=com_content&view=article&id=3210%3A—–&catid=1%3Anational&Itemid=8&lang=en

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s