चङ्गा चेट

आकाश खुलेको छ। नीलो आकाशमा हावासँगै चङ्गाहरू वहकिन थालेका छन्। यी दृश्यहरू देख्दा लाग्छ, दसैं आयो। दसैं र चङ्गाको साइनो  गज्जबको छ। दसैं सम्झदा चङ्गा र चङ्गा सम्झँदा दसैंको झझल्को आउँछ। उडिरहेका चङ्गाहरूले दसैंमा बेग्लै रौनक प्रदान गर्छन्। चङ्गा  उडाएर मनोरञ्जन लिनेमा बालक, युवाका साथै वृद्धहरूसमेत हुन्छन्। एकले अर्काको चङ्गा चेट गर्न चल्ने होडबाजी निकै रोमाञ्चक हुन्छ।  दसैंको रंगीन वातावरणमा चङ्गा उडाउने प्रचलन विगतदेखिकै हो। जसले अहिलेसम्म निरन्तरता पाइरहेको छ। यद्यपि अहिले परम्परा धान्न  भन्दा पनि मनोरञ्जनका लागि चङ्गा उडाउनेहरू छन्। यतिवेला घरको छत, खुला चौरमा लट्टाई समातेर चङ्गा उडाउनेहरू प्रशस्तै देखिन्छन्।  कुनै विशेष अवसरमा चङ्गा उडाउने चलन नेपालमा मात्र होइन, विश्वका थुप्रै मुलुकमा छ।

विश्वमा धार्मिक, सामाजिक, वैज्ञानिक उद्देश्यका साथ मनोरञ्जन लिन पनि चङ्गा उडाइन्छ। चङ्गा उडाउनुलाई शुभकार्यका रूपमा पनि  लिइन्छ। युद्धको समय, माछा मार्न जानुपूर्व तथा अन्य परम्परागत कार्यहरूमा यसको उपयोग भएको पाइन्छ। नेपालमा चङ्गा उडाउनुलाई  धार्मिक कार्यसँग जोडेर हेर्ने गरिएको छ। वर्षायाममा धेरै पानी परिसकेको हुने र बालीनाली उठाउने समय भैसकेको हुने हुनाले पानीका राजा  इन्द्रलाई अब पानी चाहिँदैन भन्ने सन्देश दिन चङ्गा उडाउने गरिएको पाइन्छ। चङ्गा उडाए पानी पर्दैन भन्ने जनविश्वास छ।

दसैं नजिकिदै जाँदा बजारमा चङ्गा र लट्टाईको कारोबार पनि बढ्दै गएको छ। बजारमा आकर्षक चङ्गा र लट्टाई उपलब्ध छ। चङ्गा अनेकौं  किसिमका हुन्छन्। हामीकहाँ भने चतुर्भुज आकारको सामान्य चङ्गा बढी चल्छ। सिंगल लाइन, फल्याट, डिहेड्रल, सेलुयर, स्लेड, पाराफोइल,  रोटाटिङ, ड्युल लाइन, ट्रिपल लाइन, क्वाड लाइन जस्ता थुप्रै प्रकारका चङ्गा बजारमा पाइन्छ। यी चङ्गाको आकार, प्रकार र वनौटमा त्यति  धेरै फरक नहुन सक्छ। यद्यपि विश्वमा थरीथरीका चङ्गा प्रचलनमा छन्, जसको वनौट नै विचित्रको हुन्छ। हामीकहाँ वनाइने चङ्गालाई पनि  स्थानिय नाम दिइएको पाइन्छ। जस्तो-तीनधर्के चङ्गा, टाउके चङ्गा, दुइ धर्के चङ्गा, दारीवाला चङ्गा। नेपाल र भारतमा चङ्गाको चलन  जापानबाट आएको विश्वास गरिन्छ। नेपाल र भारतको चङ्गाको स्टाइल पनि करिब उस्तै छ।

सहरी क्षेत्रमा खुला स्थानको अभाव छ। ठूला-ठूला घरहरू निर्माण भएका छन्। आकाशमा चङ्गाको संख्या पातलिँदै गएको छ। यद्यपि घरको  छतमा उक्लिएर चङ्गा उडाउने रहर भने पूरा गर्न सकिन्छ। राजधानीलगायतका सहरी क्षेत्रका छतमा चङ्गा उडाइरहेको दृश्य प्रसस्त देख्न  सकिन्छ।

इतिहास

चङ्गाको आविष्कार गौतम वुद्ध जन्मनुभन्दा चार/पाँच सय वर्षपहिले नै चीनको हान वंशमा भएको मानिन्छ। चौथो शताब्दीमा इरपुल नामक  ग्रीक वैज्ञानिकले सर्वप्रथम चङ्गाको आविष्कार गरेको कथन छ। यता चौथो शताब्दीभन्दा अघि नै एसियामा चङ्गा उडाउने खेल पर्याप्त लोकप्रिय भैसकेको मानिन्छ।

चङ्गा कति माथि उड्छ ?

अमेरिकी नागरिक हेनरी हेल्थले स्वीट्जरल्यान्डका एई सँगको सहकार्यमा सन् १९९८ मा १२ हजार ४ सय ७१ फिट माथिसम्म चङ्गा  उडाएर विश्व कीर्तिमान कायम राखेका थिए। चङ्गा कति माथिसम्म पुग्छ भन्ने कुरालाई तीन कुराले असर गर्छ। मुख्य कुरा भनेको चङ्गामा  हुने माथि उठाउने बल र आफूतिर तान्ने बल नै हो। यि दुइको समानुपातमा चङ्गाले लिने उचाइ निर्भर गर्छ।

चङ्गा चेट प्रतियोगिता

दसैंको पूर्वसन्ध्यामा क्लब हिमालयले नगरकोटमा चङ्गा चेट कार्यक्रम सम्पन्न गरेको छ। बर्सेनि हुने चङ्गा चेट प्रतियोगिताकै निरन्तरता हो  यो। क्लवले एक दशकयता यस्तो प्रतियोगिता सञ्चालन गर्दै आएको छ। ‘यसवाट परम्परा धान्ने काम त भएको छ नै’ उक्त प्रतियोगिताको  इभेन्ट म्यानेजमेन्ट गरेको संस्था विज इन्टरनेसनलका निर्देशक प्रशान्त ताम्राकार भन्छन्- ‘कर्पोरेट हाउसबीच मैत्रीपूर्ण सम्बन्ध पनि स्थापित  भएको छ।’ कार्यक्रमबाट मनोरञ्जनका साथै नगरकोट क्षेत्रको पर्यटन प्रवर्द्धनसमेत भएको उनले बताए।

यसपालिको चंगाचेट प्रतियोगितामा बैंक, उद्योग, ट्राभल एजेन्सी आदि कर्पोरेट हाउसबीच प्रतिस्पर्धा गराइएको थियो। यसमा करिब ६० जना  सहभागी थिए। प्रतियोगीले निश्चित समयसीमा भित्र चङ्गा चेट गर्नुपर्ने नियम वनाइएको थियो। उक्त समयसीमामा अन्य चङ्गा चेट गर्दै  अन्तिमसम्म टिक्न सक्नेलाई विजयी घोषणा गरिएको थियो। यसपाली लक्की ग्रुपले पहिलो स्थान हात पारेको छ। यसैगरी सूर्य नेपाल दोस्रो,  मरुती सिमेन्ट तेस्रो तथा पञ्चकन्या ग्रुप चौथो भए। प्रतियोगिताका विजेतालाई दुई जनाका लागि दुबईको राउन्ड ट्रिप, पोखरामा प्याके जसहितको एयर टिकट, नुवाकोट, बन्दीपुर प्याकेजका साथमा क्लब हिमालयमै विशेष प्याकेज प्रदान गरिएको छ। विभिन्न सांगीतिक समूहको  प्रत्यक्ष प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो।

Source : http://www.ekantipur.com/saptahik/article/?id=8749

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s