अब किताबका भारी बोकाउन नपाइने

काठमाडौ, कार्तिक १२ – सरकारले निजी विद्यालय व्यवस्थापनका लागि कक्षाकोठाको आकार, विद्यार्थीले बोक्ने झोलाको तौल तथा सवारीको निश्चित दूरी कायम गर्ने गरी नयाँ निर्देशिका तयार गरेको छ । निर्देशिका तिहारअघि नै ल्याउन शिक्षा विभागले अन्तिम तयारी थालेको छ । त्यसका लागि दुईवटा छुट्टाछुट्टै कार्यशाला सकिएका छन् । केही दिनपछि हुने अन्तिम कार्यशालापछि निर्देशिकालाई अन्तिम रूप दिइने छ ।

निर्देशिका लागू भए देशभरका करिब ८ हजार निजी विद्यालय प्रभावित हुनेछन् । विभागले निर्देशिकामा तयार गरेको मापदण्ड अहिलेका ९० प्रतिशत विद्यालयले पूरा गर्न नसक्ने देखिन्छ । सहरी क्षेत्रका केही विद्यालयले मात्रै मापदण्ड पूरा गरेका छन् । अन्यको विद्यालयको भौतिक पूर्वाधार विद्यालयजस्तो बन्न सकेको छैन । विशेष गरी साना कक्षाका विद्यार्थीलाई उमेर र कक्षागत सिकाइमा आवश्यक नै नपर्ने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको अनावश्यक भार दिएको, नक्सांकन नै नगरी जथाभावी विद्यालय खोलेको, विद्यार्थी र विद्यालयको दूरी तयार हुन नसकेकामा निजीको आलोचना हुँदै आएको छ ।

प्राथमिक तथा पूर्वप्राथमिक तहका विद्यार्थीलाई निजीले उनीहरूको उमेरगत शारीरिक विकासमा प्रभाव पर्ने गरी पुस्तकको बोझ थोपर्ने गरेको शिक्षा विभागको ठम्याइ छ । अहिले आधारभूत तहका विद्यार्थी कम्तीमा ११ देखि १९ पुस्तक बोक्न बाध्य छन् । विद्यार्थीको निवास र विद्यालयको दूरी कायम नहुँदा घन्टौं सवारीमा बिताउनुपर्ने बाध्यता छ भने साना सवारीमा कोचाकोच विद्यार्थी बोक्ने गरेका छन् ।

शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले निजी विद्यालयले पोसाक, शुल्क, कक्षाकोठाको भौतिक स्वरूप आवश्यकताअनुसार पूरा गर्न नसकेकाले व्यवस्थित गर्न निर्देशिका ल्याउन लागेको बताए । ‘तिहारअघि निर्देशिकाको काम सकिने छ,’ उनले कान्तिपुरसित भने, ‘एउटा कार्यशाला गर्न बाँकी छ, त्यसको प्रतिक्रिया समेटेर निर्देशिकालाई अन्तिम रूप दिइने छ ।’ निर्देशिका तयार गर्न निजी विद्यालयका संस्थागत प्रतिनिधिसमेत सहभागी छन्् । यो कार्यान्वयन भए नयाँ निजी विद्यालय खोल्न सहज हुने छैन भने भएकाले पनि आफूलाई मापदण्डभित्र दुरुस्त राख्नुपर्ने छ ।

प्रस्तावित निर्देशिकाअनुसार विद्यालय भवन आफ्नै स्वामित्वमा भएको वा कम्तीमा ५ वर्षको भाडा सम्झौता भएको, ऐच्छिक विषयलाई समेत पुग्ने गरी छुट्टाछुट्टै कक्षाकोठा भएको, त्यस्तो कक्षा आधारभूत तहका लागि १ वर्ग मिटर र माध्यमिक तहका लागि १ दशमलव २ वर्गमिटरको, कम्तीमा १ दशमलव १ मिटर चौडाइको ढोका, तीनदेखि चार फिट आकारमा दोहोरो हावा ओहोरदोहोर हुने झ्याल तथा कक्षाकोठमा २ वटा ढोकाको व्यवस्थ्ाा भएको हुनुपर्ने छ । ‘प्रत्येक कोठामा कम्तीमा ३३ जना विद्यार्थी अटाउन सक्ने हुनुपर्ने छ,’ प्रस्तावित निर्देशिकामा भनिएको छ ।

‘कक्षाकोठाको उचाइ हिमाली क्षेत्रमा ८ फिट, उपत्यकामा ९ फिट र तराईमा कम्तीमा १० फिट अनिवार्य हुनुपर्ने छ । नयाँ बनाइने भवनको नक्सापास भूकम्प प्रतिरोधात्मक क्षमताको हुनुपर्ने छ,’ प्रस्तावित निर्देशिकामा भनिएको छ । सहरी क्षेत्रका अधिकांश स्कुल व्यक्तिगत प्रयोजनमा बनाइएका घरमा चलाइएका छन् ।

कम्तीमा ५० छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, कक्षा ६ भन्दा माथिका छात्राका लागि स्यानेटरी बक्ससहितको परिवर्तन कक्ष व्यवस्था गर्न पनि निर्देशिकामा प्रस्ताव गरिएको छ । विद्यार्थी आवासगृह १ किलोमिटर पर भए विद्यालय ल्याउन छुट्टै सवारी व्यवस्था गर्न, कक्षा ६ भन्दामाथिका विद्यार्थीका लागि प्रतिविद्यार्थी ३० वर्गमिटर र तल्लो कक्षाका लागि २० वर्गमिटर आवास स्थान उपलब्ध गराउनुपर्ने पनि उल्लेख छ ।

‘चलेका विद्यालयलाई अवरोध हुँदैन, उनीहरूले सुधार्दै जान सक्छन्, नयाँ खोल्नेले पहिल्यै मापदण्ड पूरा नगरी अनुमति पाउने छैनन्,’ निर्देशक पाण्डेले भने, ‘यसले निजीलाई थप व्यवस्थित बनाउने छ भन्ने हाम्रो अपेक्षा छ ।’ विशेष गरी सबैभन्दा बढी आलोचना खेप्दै आएको अनावश्यक पाठ््यपुस्तक र शैक्षिक सामग्रीको भार काम गर्न कक्षागत आधारमा झोलाको तौल निर्धारण गरिएको छ । जसअनुसार आधारभूत तहअन्तर्गत कक्षा १-५ का विद्यार्थीका लागि ४ केजी, कक्षा ६-८ का विद्यार्थीका लागि ६ केजी र माध्यमिक तहका विद्यार्थीले ८ केजीसम्मको झोला बोक्न सक्नेछन्् ।

‘यो खाजासहितको झोलाको तौल हो,’ पाण्डेले भने, ‘अनावश्यक पाठ््यपुस्तकले मात्रै विद्यार्थीको सिकाइ हुन्छ भन्ने छैन । उमेरअनुसार उनीहरूको शारीरिक विकासलाई प्रभाव नपर्ने गरी झोलाको तौल निर्धारण गरिएको छ ।’ केही वर्षअघि भारतको केन्द्रीय विद्यालयले पनि विद्यार्थीको झोलाको तौल यस्तै तोकेको थियो । पूर्वप्राथमिक तहका विद्यार्थीले झोला बोक्नुपर्ने छैन ।

निर्देशिकाले पाठ््यक्रमले निर्धारण गरेको विषयका आधारमा पाठ्यक्रमभन्दा डेढ गुणामात्रै हुने गरी सन्दर्भ सामग्री प्रयोग गर्नुपर्ने, सरकारले स्वीकृत गरेको पाठ््यपुस्तक तथा सूचीकृत सन्दर्भ सामग्रीमात्रै लागू गर्नुपर्ने, कम्तीमा २ वर्षसम्म एउटै पाठ्यसामग्री र पाठ्यक्रम लागू गर्नुपर्ने व्यवस्था गरेको छ । अहिले निजीले बर्सेनि पाठ्यपुस्तक र सामग्री बदल्ने गरेका छन् । नयाँ प्रकाशन गृहका पाठ्यसामग्री लागू गर्दा सञ्चालक तथा पि्रन्सिपलले १५ देखि ३५ प्रतिशतसम्म कमिसन पाउने गरेका छन् । विद्यार्थी बोक्ने सवारी सुन्तला रंगको हुनुपर्ने छ । निजीले उपत्यकामा कक्षा ५ सम्मका विद्यार्थीलाई १० किलोमिटर क्षेत्रभित्र र त्यसभन्दामाथि कक्षा १० सम्मका विद्यार्थीलाई १८ किलोमिटरभित्रैबाट ल्याउन सक्ने छन् । निर्देशिका लागू भए विद्यार्थीले त्यसभन्दा लामो दूरीबाट विद्यार्थी बोक्न पाउने छैनन् ।

उपत्यका बाहिर भने यस्तो दूरी कक्षा ५ सम्मकालाई १५ किलोमिटर र त्यस माथिकालाई २५ किलोमिटर तोकिएको छ ।

निजी विद्यालयहरूको एउटा संगठन प्याब्सनका महासचिव डीके ढुंगानाले सरकारले निजीलाई कस्ने गरी निर्देशिका ल्याउन लागेको बताए । ‘सरकारी विद्यालयले नै यो मापदण्ड पूरा गर्न नसकेको अवस्थामा निजीमा लागू हुनेमा शंका छ’, उनले भने, ‘सरकारले निजीलाई सुधार्नुको सट्टा निर्देशिका ल्याएर बन्देज लगाउन खोजेको ठानेका छौं । यसले कहाँ पढ्ने विद्यार्थीको रोजाइलाई पनि प्रहार गरेको छ । मापदण्ड बनाउनु राम्रो हो, पूर्वाग्रह राखेर नियन्त्रण गर्न खोज्नु राम्रो होइन ।’

उनले ९० प्रतिशत विद्यालयले निर्देशिकाअनुसार कक्षाकोठा तथा पाठ्यपुस्तकको व्यवस्था गर्न नसक्ने दाबी गरे । ‘निर्देशिका निजी शिक्षालाई सुधार्ने खालको छैन,’ उनले भने, ‘बाटो नभएर तुइनबाट झरेर विद्यार्थीले ज्यान गुमाइरहेको नदेख्ने राज्यले निजीलाई सामान्य कुरामा कस्न खोज्नु अर्थपूर्ण छ ।’

प्रकाशित मिति: २०६९ कार्तिक १२ ०८:३६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s