मासु धेरै खान्छन् नेपाली

काठमाडौ, आश्विन ८ – प्रतिव्यक्ति आम्दानी कम भए पनि दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालीले धेरै मासु खान्छन् । पाकिस्तानपछि यस क्षेत्रमा बढी मासु उपभोग गर्ने मुलुकमा नेपाल रहेको विश्व खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ ।

तथ्यांकअनुसार एक नेपालीले वर्षमा औसत १० किलो मासु खान्छ । यो संख्या पाकिस्तानमा १२, श्रीलंकामा साढे ६, भारत ५, भुटान र बंगालदेश ३/३ केजी रहेको छ । पोषणका दृष्टिले सामान्यतया दैनिक २ सय ग्राम मासु आवश्यक पर्ने विज्ञहरूको भनाइ छ ।

मांसाहारी जनसंख्यामा वृद्धि, सस्तो र न्यून गुणस्तरको मासुको बढ्दो उपलब्धताका कारण जुनसुकै आर्थिक अवस्था भएका व्यक्तिको सहज पहुँच भएकाले मासुको माग बढेको कृषिविज्ञ दुर्गादत्त जोशी बताउँछन् । मम, सेकुवा, कचिला, फ्राइडलगायत काँचो मासु खाने बढ्दो प्रवृत्तिले पनि मासु उपभोग बढाएको उनको भनाइ छ ।

उपभोगमा अगाडि रहे पनि स्वदेशमा उत्पादन पर्याप्त नहुँदा ठूलो हिस्सा विदेशबाट आयात हुने गरेको छ । वाषिर्क करिब १५ अर्ब रुपैयाँको मासु आयात हुने गरेको सरकारी तथ्यांक छ । सुन, पेट्रोलियम पदार्थ र सवारी साधनपछि नेपालले मासु आयातमा सबैभन्दा बढी रकम खर्च गरेको छ ।

उपभोगसँगै आयात पनि बढ्न थालेको हो । कृषि तथा सहकारी मन्त्रालयका अनुसार वाषिर्क साढे २ लाखभन्दा बढी मासु खान प्रयोग हुने जीवित जनावर आयात हुने गरेका छन् । आर्थिक वर्ष २०६५/६६ मा २ लाख २१ हजार २ सय ८२ खसीबोका भित्रिएका थिए । यस्तै ११ हजार ६ सय ७४ राँगाभैंसी, १ हजार ७ सय ६९ सुँगुर र २ हजार ७ सय ७३ भेंडा आयात भए । चिस्याइएको मासु

(फ्राेजन मिट) को माग पनि बढ्दै गएको छ । कोल्डस्टोर र क्वारेन्टाइनको राम्रो व्यवस्था नहुँदा विदेशबाट गुणस्तरहीन मासु पनि भित्रिरहेको जोशी बताउँछन् ।

‘मासुको माग बढ्दै गएकाले अनुदान दिएर पनि पशुपालन कार्यक्रम बढाउन आवश्यक छ,’ मन्त्रालयका प्रवक्ता हरि दाहालले भने, ‘पशु प्रजनन कार्यक्रमलाई तीव्रता नदिए भविष्यमा मासुको अभाव बढ्न सक्छ ।’ स्वदेशमै मागअनुसारको उत्पादन बढाउन साना किसानलाई तालिम र आर्थिक सहुलियत दिएर सहभागी गराउनुपर्ने विज्ञको सुझाव छ ।

सामुदायिक पशुपालन कार्यक्रम सीमित जिल्लामा भएकाले त्यसलाई पनि मुलुकभरि विस्तार गर्नुपर्ने जोशी बताउँछन् ।

सरकारले चालू वर्षदेखि मासु आयातलाई विस्थापित गर्ने कार्यक्रम ल्याउने तयारी गरे पनि बजेट ढिलाइका कारण उक्त कार्यक्रम सञ्चालन हुन सकेको छैन । अर्थमन्त्री सुरेन्द्र पाण्डेले मासु आयात प्रतिस्थापन गर्ने गरी स्वदेशमा उत्पादन बढाउने योजना बजेटमा ल्याउने तयारी गरेको बताउँदै आएका छन् । तर राजनीतिक सहमति हुन नसक्दा बजेट आउन सकेको छैन । देशभित्रै मासु उत्पादन बढाएर आत्मनिर्भर बनाउन बाख्रा पालन लगायत पशुपालनमा अनुदान दिने योजना उनको थियो ।

मुलुकमा वाषिर्क २ लाख ४८ हजार ५ सय ७३ मेटि्रकटन मासु उत्पादन हुने गरेको छ । त्यसमा झन्डै ६५ प्रतिशत राँगाभैसी र २० प्रतिशत खसीबोकाको मासु उत्पादन हुन्छ । कुखुरा र सुँगुर/बंगुरको मासु उत्पादन ७/७ प्रतिशत हुने गरेको छ । कुल मासु उत्पादनमा भेंडा र हाँसको हिस्सा भने १ प्रतिशत मात्रै छ ।   

दक्षिण एसियामा बढी रहे पनि चीनको तुलनामा भने नेपालको उपभोग अवस्था झन्डै पाँच गुना कम छ । चीनको मासु उपभोग वाषिर्क करिब ५२ केजी प्रतिव्यक्ति छ । सन् १९६१ मा नेपालको प्रतिव्यक्ति उपभोग ६ दशमलव केजी र चीनको करिब ३ दशमलव ६ केजी रहेकामा चार दशक अवधिमा ह्वात्तै बढेको देखिन्छ । सामान्य महिनाको तुलनामा दसैंमा बढी मासु उपभोग हुन्छ । पशु विभागका अनुसार काठमाडौं उपत्यकामा सामान्य अवस्थामा मासिक करिब २० हजारको हाराहारीमा खसीबोका बिक्री हुने गरेकामा दसैं पर्ने असोज महिनामा ५९ हजार बिक्री हुने गरेको छ । निजी व्यवसायी भने त्योभन्दा बढी खसीबोका राजधानी भित्रने गरेको बताउँछन् ।

कुखुरामा भने नेपाल आत्मनिर्भर भई निर्यातसमेत हुने गरेको छ । दैनिक करिब ५० हजार किलो जिउँदो कुखुरा भारत निर्यात भइरहेको व्यवसायी बताउँछन् । काठमाडौं उपत्यकामा दैनिक खपत हुने करिब २ लाख किलो कुखुराको मासु पनि स्वदशमै उत्पादन भइरहेको उनीहरूको दाबी छ ।

भैंसी, भेंडा, खसीबोका र बंगुर मासु उपभोगका लागि बढी प्रयोग हुने जनावारमा पर्छन् । यी जनावारको संख्या आर्थिक वर्ष २००९/१० मा १ करोड ५४ लाख ५४ हजार पुगेको पशु विभागको तथ्यांक छ । यस्तै कुखुरा र हाँस २ करोड ४६ लाखको संख्यामा छन् । तर यी सबै पशुपक्षी मासुका लागि मात्रै नभई दूध, अण्डालगायत प्रयोजनले पनि पालिने हुँदा सबै उपभोग गरिँदैनन् ।

विश्वमा सबैभन्दा बढी मासु उपभोग गर्ने मुलुकमा डेनमार्क पर्छ । उसले प्रतिवर्ष प्रतिव्यक्ति १ सय ४६ केजी मासु उपभोग गर्छ ।

 

प्रकाशित मिति: २०६७ आश्विन ८ ०९:२४

Source : http://www.ekantipur.com/nep/2067/6/8/full-story/318280.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s