उहिलेको पो दसैँ

तीर्थबहादुर श्रेष्ठ- कान्छी औँला भाँचेर भन्थ्यौँ- दसैँ आयो, साहिँली औँला भाँचेर भन्थ्यौँ- खाउँला-पिउँला। बीचको औँलाले कहाँबाट ल्याउँला भनेर सोध्न थाल्छ। चोर औँला चिच्याउँछ- चोरी ल्याउँला। त्यसपछि बुढी औँला ‘धत् पाजी, छुट्टै बसौँला’ भन्दै छुट्टिएर बसेको टुक्का छेड्दै रमाइलो गर्थ्यौं हामी। टोलछिमेकका चारैतिर बोकाखसी म्याँम्याँ घिसार्दै लगेको दृश्य, राँगोलाई चुट्दै डोर्‍याउने केही मानिसहरू, बलियो डोरी पनि छिनाउँलाझैँ जस्तो गरेर उफ्रने भोटे भेडा लछार्दै ल्याउने लाहुरेदाइलाई भेडाको मोल बताउँदै फुर्सद नहुने, त्यस्तै च्यांग्रा पनि पटक्कै नमान्ने र जंगली स्वभावले उफ्रने आदि देखेपछि अब त दसैँको मुखमा आइपुग्यौँ भन्ने निश्चय हुन्थ्यो।
हाम्रो महाबौद्धको बहालमा नीलटाउके हाँसहरू, राता सिउर भएका कुखुराका बडेमानका भालेहरू दसैँ नै पर्खिबसेका हुन्थे। हामी टुक्का हाल्थ्यौँ- कुखुराको भालेले भन्छ, मोहनी वल (दसैँ आयो), हाँसले भन्छ, कन्हय्… कन्ह्य… (भोलि भोलि), त्यसपछि भेडा आ छु याय् (अब के गरौं) भन्दै म्याँम्याँ गर्छ। राँगोले भने नारायण… नारायण… भन्दै ईश्वर पुकार्छ रे। उता बोका विचरा आमा पुकार्दै माँ माँ गर्न थाल्छ रे। आजभोलि दसैँमा कुखुरा बासेको पनि सुन्न पाइँदैन।
दसैँ मेरा लागि दोब्बर खुसीको बेला हुन्छ किनभने मेरा जन्मदिन घटस्थापनाको तेस्रो दिन पर्छ। विक्रम संवत् १९९४ सालमा घरैमा जन्मेको थिएँ म। सुँडिनी बज्यै (अजी) ले नै डाक्टर र नर्सको काम सबै भ्याइदिने बेला थियो त्यो। अस्पतालमा सुत्केरी गराउने चलन थिएन। जे होस्, जन्मदिनको सगुनमा अन्डा (कुखुरीको फुल), माछा, मासु, दही खान भनेर पर्खिन्थ्यौँ। अन्डा खान जन्मदिन कुर्नुपर्ने बेला थियो। आजभोलिजस्तो दिनहुँ अन्डा खाने औकात हुँदैनथ्यो। अझ स्याउ र अनारजस्ता फलफूल खान त टाइफर (टाइफाइड) ज्वरोलाई कुर्नुपर्ने। अचेलको उग्र उपभोक्ता समाजलाई देख्दा मनमा लाग्छ, म बाल्यावस्था होइन, पूर्वजन्मको कुरा सम्भि्करहेछु।
कस्तो थियो होला त्यो जमाना जब मानिस आगो सल्काउने सलाई पनि किन्दैन थिए। छिमेकीहरू मकल लिएर आगोको बीउ माग्न आउँथे हाम्रो घरमा। बटुवालाई रोकेर ‘ए दाइ, खै… खै… ‘ भनेर उसको सल्केको चुरोटमा आफ्नो चुरोट सल्काउने चलन थियो। त्यसैले पो साहित्यकार केशवराज पिँडालीको ‘खै खै’ भन्ने हास्यव्यंग्यले बजार मार्‍यो। पहाडमा मानिसहरू खुकुरीको दापमा चकमक (कडा फलामको टुक्रा) लिएर हिँड्थे झुलो सल्काउन। हाम्रो घरमा बाजेले आफ्नो चस्मा घाममा तेर्स्याएर सूर्यप्रकाशद्वारा लोक्ता कागज सल्काउनुहुन्थ्यो। सलाई बचाउने अभ्यास थियो त्यो। आजभोलि बजारमा एक रुपियाँले किन्न पाइने जिनिसमा सलाईको बट्टाबाहेक सायद अरू केही पाइँदैन। त्यो पनि चिनियाँ लाइटरले प्रायः विस्थापित गरिसक्यो।
हाम्रो घरमा आगोको बीउ माग्न आउने छिमेकी डबलचाको आमा (डल्ली छोरीकी आमा) मकल फुफु गर्दै आमासँग गफिन थाल्छिन् र सबै छिमेकको हालखबर बताउँछिन्। उता बाहिर सार्वजनिक धारामा टोलका सबै गाग्री बज्न थाल्छन् र महिलाको गफ, हाँसो, व्यंग्य र घोचपेचको परिवेश बन्छ। अखबारको चलन थिएन। खबर, सूचना र विज्ञापनको स्रोत नै पँधेराको गफगाफ थियो।
धेरै बेरसम्म पँधेरामा समय खर्चिने मेरी कान्छी आमासँग टोलभरिको हालखबर सञ्चित हुन्थ्यो। भात खान लहरै पिरामा बस्दा कान्छीआमाको गफमा सबै मख्ख हुन्थे। संयुक्त परिवारमा पहिले पुरुषवर्ग र केटाकेटीलाई थाल पस्किइन्थ्यो। त्यसपछि श्रीमानका जुठो थालमा आमा, कान्छीआमा, भाउजूहरू खान बस्थे। भात खाएपछि म त सधैँ गाली खान्थेँ, दाजुसँग खाएर भाउजूसँग उठ्ने लोसे’ भनेर।
दसैँ आउनुभन्दा पहिले घरमा आमाहरू आ-आफ्ना बालबच्चालाई जुकाको औषधि खुवाउने काममा लाग्थे। असनबजारको वैद्यपसलबाट प्रत्येकका लागि दुई टुक्रा पालामी (पँलास जातिको विजन) ल्याउनुहुन्थ्यो। कोसाभित्रको बीउ छोडाएर त्यसलाई सिलौटामा घोटेर पिलाएपछि अर्को कोसालाई बलियो धागोमा उनेर जन्तर लगाइदिनु हुन्थ्यो। औषधिको मात्रा नदोहोरियोस् भन्ने यो विधि निकै व्यावहारिक पनि थियो। यसै प्रकारले भोजभतेर र गुठी खाएर मान्छेको घाँटीमा पनि रातो तथा सेतो कपडाको ‘क्वखा’ माला लगाउने चलन थियो। दसैँको लंगुरबुर्जा खेलमा क्वखावाल केटा आयो भने सावधानी अपनाउनुपर्थ्यो। किनभने उसले गुठीपूजा वा भोजभतेर भ्याएर मापसे गरेको हुन्थ्यो। यस्तै मापसेको पहिचान लगाएर सवारी साधन चलाउने परम्परा चालेको भए मापसे मापन गर्ने यन्त्र सायद प्रहरीहरूलाई सायद चाहिँदैनथ्यो होला आजभोलि।
जुकाका औषधिका अतिरिक्त अरू अनेकौँ घरायसी औषधि आमाले सेवन गराउने चलन थियो। पिसाब पोल्यो भने चौलानीपानीमा मिश्री मिसाएर ख्वाउनुहुन्थ्यो। चिनीको चलन उति थिएन। सख्खर र मिश्री चल्तीमा हुन्थ्यो। सिस्नोले पोले आफ्नै सिँगान दल्नुपर्थ्यो। बारुलाले टोकेमा फलाम घोटेर लगाइदिनुहुन्थ्यो। हाँडी आएमा मकै भुट्ने हाँडीको कालो दलिदिनुहुन्थ्यो। घाउखटिरामा बेसार-तेल ज्यादै प्रचलित औषधि थियो। रुघाखोकीमा सुठो, पिपला, सिधेनुन, बेसार बेस्मारी पकाएर पिलाउनुहुन्थ्यो। रक्तमासी आउँ परेमा मिश्री र सोपको काँढा ख्वाउनुहुन्थ्यो हामी केटाकेटीहरूलाई। तर, कसैको आँखाको परेलाको डिलमा अन्धो वा अन्नो आयो भने हामी पाँच-सात वर्षका केटाले निको पार्नुपर्थ्यो। आमाको उपचार विधिअनुसार एकपल्ट मलाई भर्‍याङमा उभ्याएर कट्टु खोलिदिनुभयो। मेरो लिंग समाएर हाम्रो छिमेकको निनी (फुपू) को आँखामा दल्न थाल्नुभयो। दिदीबहिनी सबै हाहाहा गरेर हाँस्ने, म भने लाजले भुतुक्क र निरीह। उपचार पनि कति अचम्मको। निको हुने होला त यसरी?
दसैँको सबैभन्दा जटिल पक्ष रक्सी पार्नु र भेडा काट्नु हुन्थ्यो मेरा लागि। चंगा उडाउन त हामी अनेक तरिका अपनाइहाल्थ्यौँ। भेडा किन्न जानु, त्यसलाई घिच्याइल्याउनु र मार हान्नु दसैँको मूल विषय र विशेषता थियो। टुँडिखेल र रानीपोखरी आसपासमा भोटेहरूले भेडाका बथान ल्याएका हुन्थे। थाक्सेले ‘दर बस्यो बीस रुपियाँ’ भनेपछि भेडा छान्न बगालभित्र मानिस छिर्थे। डँडालो छामेर मोटो जन्तुलाई जुरुक्क उचालेर जोखना गर्ने चलन थियो। आफूले छानेका जन्तुलाई समाई चाँदीका मोहर खनखन गनेर जमिनमा लङ कसेपछि भोटेदाइ ‘पुगेन थप’ भन्दै कराउँथे। चमचमाउँदो चाँदीका मोहरहरूका गुच्छा देखेपछि दंग पर्दै मोलतोल छिनिन्थ्यो। कागजको नोट चल्तीका थिएनन्। चारवटा मोहरका माथि पाँचौँ मोहर खप्ट्याइएका मोहरपुञ्ज लहरै गनेर भोटेदाइ रुपियाँ कुम्ल्याउनुहुन्थ्यो र हामी भेडा घिच्याउन थाल्थ्यौँ।
घरमा आएपछि भेडाको म्याँम्याँले दसैँलाई थर्काउने काम गर्थ्यो। हिमाली लेकबाट कति दिनको हिँडाइपछि काठमाडौँ पुगेका होलान्। हामीसँग डराउने, उफ्रने र थर्कने त्यो भेडा थकित भएर फूँफूँ सास फेरेको हामी परैबाट हेथ्यौँ। निरीह नीलानीला चम्किला आँखाका नानीहरू ठूल्ठूला सिङको आडमा त्रसित देखिन्थे। बाहिर सडकमा जेठादाइ भेडा मार हान्ने सिपाहीदाइको खोजीमा हुन्थ्यो। पहाडी डालको अग्लो लाठेलाई देख्यो भने सोधिहाल्थे, ‘ए दाइ रिफेल हो?’ रिफेल सिपाही भनेपछि सायद राइफल पल्टनका सिपाही भन्ने बुझ्नुपर्थ्यो। त्यति बेला सिपाहीहरू डेराडेरामा बस्थे। ब्यारेक वा छाउनी थिएन। कवाजको बेलामात्र टुँडिखेल जान्थे। त्यसैले टोलटोलमा सिपाही भेटिन्थे। भेडा मार हान्न सिपाहीलाई निम्त्याइन्थ्यो। मेरो घरमा भेडा मार हान्ने बडेमानको त्यो खुकरी अझै छ। वर्षौँदेखि बर्सेनि कुभिन्डोमात्र काटेर जीवन बिताउँदै छ त्यो। खिया पनि लागिसक्यो, पचासाँै वर्ष जो बितिसक्यो मार हान्न पाएको छैन, त्यस विचरा खुकुरीले।
भेडा काटेको दिन पुच्छर पोलिखाने अधिकार हामी केटाकेटीलाई हुन्थ्यो। वर्षौँपछि जागिरको सिलसिलामा जडिबुटी अध्ययनार्थ लेक पाटन घुम्न जाँदा भेडाकै बगालसँग गोठगोठमा सुत्नुपर्थ्यो। दसैँमा पोलेर खाएको भेडाको पुच्छरमा त्यो हिमाली ज्यान फुत्रुफुत्रु हल्लेको देखेर बेलाबेला थुचुक्क बसेर पछुतो पनि गरेँ। हामी दूरदराजका यी लेकाली सुधो पशुलाई खेद्दै सहर लगेर दसैँको दानवलाई विनाश गर्ने नाममा कहीँ आफैँ दानव बनिरहेका छैनौँ?
मधुकैटवको बधमा रमाउन मासुले मात्र पुग्दैन, रक्सी पनि चाहिन्छ, हामी नेवारहरूलाई। रक्सी पार्न परिवार र छिमेकका अनुभवी महिलाहरू अघि सर्छन्। करिब एक महिना फर्मेन्टेसन अर्थात् सड्न राखेको उसिनेको कोदो, भात, थोरै चिउरा र केही सक्खर मिसिएको ‘कः’ पकाएपछि त्यसको वाष्प अर्थात् अर्क पदार्थ जम्मा गरेर रक्सी बन्छ। तामाको फोँसीमाथि माटोको भाडो ‘पोटासी’ थपक्क जडेको हुन्छ। पोटासीको पिँधमा चक्का प्वाल हुन्छ र त्यसको वरिपरि ससाना प्वालहरू हुन्छन्। पोटासीभित्र रक्सी थाप्ने ‘गुलु’ हुन्छ। पोटासीमाथि तामाको चोसो परेको बाटाले छोपिएको हुन्छ। त्यस बाटामा चिसो पानी फेर्दै गयो भने फोसीबाट उम्लेर वाफ बनेको अर्क बाटामा चिसिएर रक्सीको थोपा बनेर गुलुमा झर्न थाल्छ। पानी कतिपल्ट फेरियो वा पानी बोक्दा दिदीभाउजूहरूको कति पसिना बग्यो, त्यसको हिसाब हुँदैन। बाहिर धाराको पानी बोकेर तीन/चार तलामाथि बुइँगलसम्म महिला पानी बोक्थे। कसैको घरमा पनि आजभोलिको जस्तो पानीको टंकी थिएन, ऊ बेला। त्यस अर्थमा महिलाका पसिना हुन् नेवारी ऐला। आजभोलि विभिन्न रेस्टुराँले पनि ऐला बेच्न थालेका छन्। अमेरिकी टेलिभिजन च्यानल सीएनएनले हालै गरेको सर्वेक्षणअनुसार हाम्रो ऐला विश्वका ५० उत्तम पेय पदार्थको कोटीमा पर्न गएको छ। अब परम्परागत ज्ञानको बौद्धिक अधिकार सुनिश्चित गर्ने बेला भयो भन्ने संकेत पनि हो यो।
नेवारको घरमा दसैँलाई मोहनी भनिन्छ। दसैँमा लगाउने मोहनीको कालो टीका र साथमा विभिन्न परिकारका मासु र टिकनबजी (टिकन गाउँको चिउरा), साग, अचार र दहीको स्वाद भुलेर पनि भुल्न सकिँदैन। चंगाको रमझमले डढेको अनुहार पनि दसैँको उपहार हो। बिजुली, टेलिफोन वा तारको जालोमा नअल्भि्कएको आकाशभरि रंगीचंगी चंगाहरू अझै आँखाको नानीमा नाच्छन्। लंगुरबुर्जा खेलमा हारजितको मारलाई समेत सम्झेर ल्याउँदा उहिलेको दसैँ पो दसैँ, अहिलेको दसैँ के दसैँ भन्न मन लागिरहेछ।

Source : http://www.nagariknews.com/saturday/48000-2012-10-20-11-52-42.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s