लगानी बढाऔं र खाद्य सुरक्षा गरौं

 

सन्दर्भ : ३७औं विश्व खाद्य दिवस–२०१७

विश्नाथ खरेल
विश्व खाद्य दिवस मनाउनका लागि यस वर्ष खाद्य तथा कृषि संगठनले ‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔं, भावी बसाइसराई व्यवस्थित गरौं’ भन्ने नारा तय गरेको छ । सदस्य राष्ट्रहरुले उक्त नारालाई आधार बनाएर आ–आफ्नो देशको नारा बनाउँछन् । संयुक्त राष्ट्र संघको समन्वयमा आज (१६ अक्टोवर) विश्वभर ३७औं विश्व खाद्य दिवस मनाइँदै छ जसको नारा छ– ‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔं, भावी बसाइसराई व्यवस्थित गरौं ।’ नाराले विश्वमा जलवायु परिवर्तनसँगै कृषि र खाद्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोतर्फ विश्वका मुलुकहरूलाई सचेत बनाएको हो । संसारको सात अर्ब जनसंख्यामध्ये २५ प्रतिशत अर्थात् करिब एक अर्ब मानिसले पेटभर खान पाउँदैनन्, नेपालमा पनि २५ प्रतिशतमा भोकमरी छ । संयुक्त राष्ट्रसंघको पहलमा शून्य भोकमरी लक्ष्य र दिगो विकास लक्ष्यजस्ता कार्यक्रम नेपालमा पनि लागू छन् । तर, आकासे पानीको भरमा गरिने खेती, प्रविधि विकास र प्रसारमा कमजोरी, बीउ मलको आवश्यक, ग्रामीण विकास लगानी पहुँच कम हुने, भावी बसाइसराई आदिका व्यवस्थापनमा परेको समस्याले गर्दा धेरै चुनौतीहरु बढाएको छ । नेपालका बहुसंख्यक साना किसान छन्, यससम्बन्धी जनचेतना पनि नभएकाले किसान थप मर्कामा परेका छन् । शारीरिक विकास र तन्दुरुस्तीका लागि आवश्यक पर्ने पौष्टिक तत्वहरुको कमी भएमा शारीरिक दुर्बलताको सिकार भइन्छ । जसलाई कुपोषण अर्थात पोषणको कमी भनिन्छ । नेपालमा पाँच वर्षमुनिका करिब ५० प्रतिशत वा सोभन्दा बढी बालबालिकामा पोषणको अभाव रहेको बताइन्छ । जसका कारण उनीहरुको अकालमा मृत्युसमेत हुने गरेको छ । संसारमा बढ्दो रुपमा जनसंख्या वृद्धि भइरहेको एकातिर छ भने अर्कोतिर त्यसको लागि खाद्यान्नको आवश्यक पर्छ । त्यसको भरणपोषणका लागि खाद्यान्न नै आवश्यक पर्छ । त्यसैले होला संयुक्त राष्ट्रसंघीय खाद्य निकायले यस्तो किसिमको नाराको तय गरेको हो । संसारमा हरेक आठमध्ये एक जना अति भोका भएको राष्ट्रसंघीय खाद्य निकायहरुले २०६९ असोज २३ गते जनाएको थियो । त्यसैगरी विभिन्न सहयोग समूहले बढ्दो खाद्य मूल्यले भोकविरुद्धको युद्धमाथि नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् । सन् २०१० देखि २०१२ को बीच संसारका ८६ करोड ८० लाख मानिस भोका रहेको खाद्य असुरक्षाबारे सार्वजनिक गरिएको प्रतिवेदनमा राष्ट्रिय निकायहरुले बताएको थियो । यो संख्या पृथ्वीको कुल जनसंख्याको १२ दशमलव पाँच प्रतिशत हो । यसअघि सन् १९९०–९२ मा यो आँकडा एक अर्ब अर्थात १८ दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको थियो । पछिल्ला आँकडाको आधारमा तयार गरिएको नयाँ तथ्यांक पहिले अनुमान गरिएकोभन्दा कम छ । यसअघि सन् २०१० मा ९२ करोड ५० लाख र २००९ मा एक अर्ब २० लाख मानिस भोका हुने अनुमान गरिएको थियो । यो हाम्रा लागि राम्रो समाचार हो तैपनि अझै पनि हरेक आठमध्ये एक जना मानिस भोकै छ । भोक निर्मूलीकरणको अधिकांश सुधार सन् २००६ भन्दा अगाडि नै गरिएको हो, जुनबेला मूल्य निरन्तर रुपमा घटिरहेको थियो, तर अब मूल्य वृद्धि र आर्थिक संकटसँगै यो दिशामा थोरै मात्र उपलब्धि हासिल हुन थालेको छ । पछिल्ला केही महिनामा संसारमा खाद्यान्नको मूल्य विस्तारै बढिरहेको छ । अमेरिका, रसिया र केही मुख्य अन्न निर्यातकर्ता मुलुकमा भएको खडेरीले यसलाई बढावा गर्ने काम गरेको छ । विकासशील मुलुकहरुमा भोकाको संख्या ८५ करोड २० लाख रहेको प्रतिवेदनमा उल्लेख छ । जुन १४ दशमलव नौ प्रतिशत हो । पछिल्ला दुई दशकमा एसिया र प्रशान्तमा भोकाको संख्यामा करिब ३० प्रतिशतले कमी आएको छ । तर, यही अवधिमा अफ्रिकामा भने यसको संख्या सन् १९९०–९२ मा १७ करोड ५० लाखबाट बढेर सन् २०११–१२ मा २३ करोड ९० लाख पुगेको थियो ।
संसारमा बढिरहेको जनसंख्याको अनुपातमा खाद्य सुरक्षा खस्किँदै गएको विभिन्न सरोकारवाला निकायले जनाएका छन् । खाद्य सुरक्षा क्षेत्रमा काम गर्ने विभिन्न निकायले खाद्य अभावका कारण विश्वमा हजारौं व्यक्तिको ज्यान गइरहेको र यो संख्या अझै बढ्नसक्ने चेतावनी समेत दिएका छन् । विश्व खाद्य दिवस मनाउने क्रममा विश्वमा यो क्षेत्रमा कार्यरत विभिन्न संस्थाले प्रतिवेदन सार्वजनिक गरेका छन् । दिवसको अवसरमा नेपालमा पनि सरकारी र गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गर्ने तय गरेका छन् । खाद्य तथा कृषि संगठनले विगतको वर्षको तुलनामा विश्वमा भोका मानिसहरुको संख्या बढ्दै गएको र यो संख्या झन्डै एक अर्बको हुनसक्ने जनाएको हो । देशको कुरा गर्ने हो भने भोकमरी ग्रस्त देशको ५६औं स्थानमा रहेको छ । नेपालको कृषि क्षेत्र धेरै भए पनि यहाँको जनशक्ति पलायनलगायतका कारण यो क्षेत्रमा आश्रित हुनेहरुको संख्या घट्दै गएको जनाइएको छ । यसले उत्पादनमा कमी आउने तथा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउने आशंका बढेको सम्बन्धित क्षेत्रले बताएको छ । कृषि क्षेत्रमा आधुनिकीकरण हुन नसक्नु, सिँचाइको उचित व्यवस्था नहुनु, युवा पुस्तामा कृषि पेसाप्रति रुचि नदेखिनु, दिनपरदिन जग्गा जमिन घडेरीमा परिवर्तन हुनु, खेतीयोग्य जमिन घट्दै जानु, राज्यले कृषि क्षेत्रको विकासमा ध्यान नदिनु, खेती गर्ने किसानसँग जमिन नहुनु र खाद्यान्नको वैज्ञानिक भण्डारण गर्ने स्थानको कमीलगायतका कारणबाट नेपालमा खाद्य उत्पादनमा कमी आउन थालेको बताइएको छ । त्यसैगरी कृषि विकासका लागि खाद्यान्न उत्पादनमा सरकारको ध्यान जानुपर्ने विज्ञहरुको भनाइ रहेको पाइन्छ । विशेषगरी नेपालको तराई क्षेत्र खाद्यान्न उत्पादन हुने क्षेत्र हो । तर तराईमा पनि सहरीकरण बढेका कारण खाद्यान्न उत्पादनमा कमी आइरहेको बताइएको छ ।
पृथ्वीमा भएको विभिन्न वातावरणीय कारणले गर्दा विभिन्न सयममा त्यसमाथि मौसमी चुनौतीलाई हटाएर कम जमिनबाट बढी उत्पादन त्यो पनि दिगो विकासको अवधारणाअनुसार हासिल गर्नु अहिलेको चुनौती रहेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ । सन् २०५० सम्ममा विश्वको जनसंख्या नौ अर्ब ६० करोड पुग्ने अनुमान रहेकाले त्यो जनसंख्यालाई पुग्ने खाद्य उत्पादन गर्न मौसमअनुकूल बाली र बाली चक्रलाई समायोजन गर्नुपर्ने एफएओले जनाएको छ । खाद्य संकट कम गर्नका लागि विश्वव्यापीरुपमा मौसम परिवर्तनअनुकूलको कृषि प्रणालीको विकास गर्ने, खाद्यको दिगोपना बढाउने, अनुकूलन क्षमता बढाउने,    कम लगानीमा बढी उत्पादन वा एकै वस्तुको बहुउपायोग, जलवायु पविर्तनको असरलाई कम गर्ने र खाद्यन्नलाई खेर जान नदिने र मितव्ययी प्रयोग गर्ने  आदि जस्ता उपाय अपनाउन सके सबैका लागि खाद्य सुरक्षाको प्रत्याभूति गर्न सकिने एफएओले जनाएको छ । यसका लागि खेती तथा अन्य खाद्यजन्य वस्तुको उत्पादन तथा संकलनमा प्रत्यक्ष संलग्न ग्रामीण समुदायलाई अहिलेदेखि नै सचेत गराउनुपर्नेमा जोड दिइएको छ ।
हाम्रो देशको समस्या भनेकै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र खानेपानी हो । यी समस्याहरुमा राज्य सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ । त्यसपछिका अन्य समस्यामा क्रमिक रूपमा जिम्मेवारी विभाजन गर्नुपर्छ । जनता आजको २१औँ शताब्दीमा पनि भोकै बस्नुपर्छ । सरकार चलाउनुको र त्यसमाथि सुशासनका गफ गर्नु कुनै अर्थमा सान्दर्भिक र व्यावहारिक हँुदैन । तसर्थ राज्य राजनीतिक रूपमा भोक निवारणका लागि हरेक क्षेत्रबाट क्रियाशील हुनुपर्छ । वर्तमान अवस्थामा पनि विश्वमा सात अर्बमध्ये एक अर्बभन्दा बढी मानिस भौकै दिन बिताउन बाध्य छन्, गरिब मुलुकमा । यस पृष्ठभूमिमा खाद्यन्नप्रति राज्यको जिम्मेवारी अन्य सबै भौतिक आवश्यकताभन्दा बढी हुने कुरा निर्विवाद छ । यस्तो अवस्थामा विश्व खाद्य दिवसलाई आगामी दिनमा सार्थक बनाउँदै लैजाने चुनौती कायमै छ । पछिल्लो ४० वर्षयताकै ठूलो खडेरीका कारण गत वर्षका दुवै सिजनमा कर्णाली क्षेत्रमा अन्न उत्पादन निकै न्यून मात्रामा भयो । बाढी र सुक्खाकै कारण गत वर्ष मुुलुकभर नै धान उत्पादन घटेर ४२ लाख मेट्रिक टनमा सीमित भयो । बर्सेनि सुक्खा र बाढीका कारण समस्या बढ्दो छ । साना किसान लक्षित सचेतनामूलक कार्यक्रम, भूगोलअनुरूप प्रविधि तथा बीउ–बिजन उपलब्ध गराउने कार्यक्रम प्राथमिकताका साथ लागू गर्नुपर्ने आजको आवश्यकता रहको छ । यसैगरी गत साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण भएको बाढी, पहिरो र डुबानबाट देशका ३३ जिल्ला पूर्णरूपमा प्रभावित हुन पुगे । बाढी, पहिरो र डुबानमा परी ४३ हजार पाँच सय घर पूर्णरूपमा क्षति भएको तथा एक लाख ५८ हजार घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ । अर्कातिर विश्व खाद्य कार्यक्रमले यस विपत्तिबाट १७ लाख व्यक्ति प्रभावित भएको जनाएको छ, जसमध्ये चार लाख ६१ हजार विस्थापित भएको उल्लेख छ । उक्त विपद्का कारण एक सय ५३ जनाको ज्यान गएको, ४५ जना बेपत्ता भएको तथा ४५ जना घाइते भएको आँकडा छ । बाढी, पहिरो र डुबानका कारण कृषि बाली, पशुपन्छी र माछापालनका क्षेत्रमा तीन अर्ब ६४ करोड रुपैयाँको क्षति भएको कृषि विकास मन्त्रालयको प्रारम्भिक अनुमान छ । मन्त्रालयका अनुसार प्रकोपका कारण एक लाख २६ हजार दुई सय ८२ हेक्टरको धानखेत प्रभावित भएकोमा २५ हजार छ सय ३२ हेक्टरको धानमा क्षति पुगेको छ । यसबाहेक २९ जिल्लाका साना सिँचाइ आयोजना, कुलो तथा पानीका अन्य स्रोतहरू पूरै बिग्रे, भत्केको तथा खोलाले बहाव परिवर्तन गरेको अवस्था छ । धानबालीका लागि पानी नभई हुँदैन । अधिकांश आकाशे खेतीमा निर्भर किसानहरूको सिँचाइका लागि रहँदै आएका यस्ता साना स्रोतहरू प्रभावित हुँदा त्यसबाट पूरै बाली चक्र नै प्रभावित नहोला भन्न सकिँदैन । धानले कृषिक्षेत्रको गार्हस्थ उत्पादनमा करिब २० प्रतिशतको योगदान गर्छ भने समग्र आर्थिक वृद्धिदरमा एक प्रतिशतभन्दा अधिकको योगदान गर्ने गरेको छ । त्यसैले यस वर्ष वर्षाको प्रकोप र त्यसपछि सिँचाइमा पारेको असरले यस क्षेत्रको उत्पादन व्यापक रूपमा घट्ने प्रक्षेपण गरिएको छ ।
अन्त्यमा भन्नुपर्दा खाद्य सुरक्षा, ग्रामीण विकासमा लगानी बढाई भावी बसाइसराईलाई व्यवस्था गर्नसके पक्कै पनि ग्रामीण भेगमा बसोबास गर्ने स–साना कृषकहरुको जीवनस्तरमा सुधार आई समस्या निराकरण हुने थियो । अतः केही दिनअघि नेपालमा भोकमरीको अवस्थामा केही सुधार हुँदै गएको तर समस्या कायमै रहेको एक अध्ययन प्रतिवेदन जारी भयो । दक्षिण एसियाका देशमा नेपालको अवस्था राम्रो भए पनि खाद्य उत्पादनमा आएको गिरावट र व्यवस्थापनको अभावमा चुनौती थपिएको छ । एसियाका देशमा नेपालको अवस्था राम्रो भए पनि खाद्य उत्पादनमा आएको गिरावट र व्यवस्थापनको अभावमा चुनौती थपिएको छ । हावापानी सुहाउँदो बाली लगाउन सकेमा मात्र खाद्य सुरक्षा बढाउन सकिन्छ । जलवायु परिवर्तनअनुसार बाली लगाउने सिजन र तरिकामा पनि फेरबदल गर्न आवश्यक रहेको छ । पछिल्ला वर्षहरुमा बाढी र सुक्खाका कारण नेपालमा धान उत्पादन घट्दै गएको छ । साना किसान लक्षित चेतनामूलक कार्यक्रम, ठाउँ र हावापानीअनुसारका बीउबिजन तथा प्रविधि उपलब्ध गराउनेतर्फ सरकारले काम गरिरहेको सम्बन्धित क्षेत्रले बताएको छ । इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युडले विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा गरेको अध्ययनपछि जारी भएको ग्लोबल हंगर इन्डेक्स प्रतिवेदनमा नेपाल विश्वका एक सय १९ देशमा ७२औं स्थानमा छ । दक्षिण एसियाली देशमा नेपालको अवस्था सबैभन्दा राम्रो छ । त्यो प्रतिवेदनअनुसार नेपालका ७.८ प्रतिशत मानिस कुपोषणको अवस्थामा छन् । यस्तै पाँच वर्षमुनिका ३७.४ प्रतिशत बालबालिकाको विकासमा समस्या छ । फेरिएको मौसमी चक्रअनुसार कृषि प्रणाली र बालीलाई समायोजन गर्न नसकेमा यो अवस्था अझै बढ्दै जाने पक्का छ । बढ्दै गएको तापक्रमका कारण गरिब किसान, माझी समुदाय तथा कृषिमा आधारित समुदाय बढी प्रभावमा छन् । विश्वमा बढ्दै गएको जनसंख्या र घट्दै गएको खेतीयोग्य जमिनको आकारले खाद्य संकट चुलिँदै गएको छ । पोषणको अभावमा वा बालबालिकाको स्वास्थ्यमा समस्या आउने तथा भविष्यमा उनीहरुको कार्य क्षमतामा प्रतिकूल असर पार्ने कुरा संयुक्त राष्ट्रसंघीय विश्वखाद्य कार्यक्रमले समेत प्रष्ट पारिसकेको छ । गरिबीका कारण, पौष्टिक तत्व तथा सन्तुलित भोजन बारे अनभिज्ञता, भौगोलिक बनावटका कारण एक ठाउँबाट अर्को ठाउँमा खाद्यान्न पु¥याउन नसक्नु, आफ्नो घरको करेसाबारीमा भएका सागसब्जी, फलफूल, गेडागुडी एवं अन्य परिकारहरु अनुपात मिलाएर खान नजान्नु आदि कुपोषणका केही कारण हुन् । त्यस्तै कुपोषणका केही कारण हुन् । त्यस्तै भौगोलिक बनावट, हावापानी, आर्थिकस्तर आदिलाई ध्यान नदिई विदेशबाट आयात गरिएको महँगो खाद्य पदार्थबाट मात्र सन्तुलित भोजन प्राप्त हुन्छ भन्ने गलत धारणा रहेको पाइन्छ । सजिलोका लागि बालबालिकालाई अभिभावकले नै जंक फुड दिनाले पनि पोषणको कमी भएको पाइएको छ । यसबाट भविष्यमा कस्तो किसिमको व्यक्ति तथा समाज निर्माण होला यसै भन्न सकिन्न । त्यसैले बालबालिकालाई कुषोषणबाट जोगाउन, उनीहरुको भविष्य राम्रो बनाउन व्यक्ति, समाज र अर्थतन्त्रलाई रुपान्तरण गर्न पोषणयुक्त खानामा लगानी जरुरी छ । खाद्यान्नको स्तरलाई मूल्यांकन गर्ने हेतु प्रथम पोषण सम्मेलन सन् १९९२ मा भएको थियो भने दोस्रो सम्मेलन सन् २०१४ को नोभेम्बर १९ देखि २१ सम्म इटालीको रोममा भएको थियो । सो अन्तर्राष्ट्रिय पोषण सम्मेलन दोस्रोमा पहिलो सम्मेलनको प्रगतिको समीक्षा गर्ने आउँदो दिनको चुनौतीलाई कसरी समाधान गर्दै सुधारको बाटोमा कसरी अगाडि बढ्नेमा व्यापार छलफल गरिने भएको छ । हालको दशकमा केही राष्ट्रहरुले कुपोषणमा महत्वपूर्ण कटौती हासिल गरेका छन् । तर प्रगति असमान किसिमको छ र राम्रो पोषणका लागि राम्रो भोजन व्यवस्थापनको उपभोग गर्नुपर्ने जरुरी छ । यसको साथसाथै कुपोषण र यसका मूल कारणहरु जटिल छन् । यसका लागि धेरै क्षेत्र र अभिनेताहरुको सहयोगको जरुरी पर्दछ । त्यसकारण प्रभावकारी नियोजन, सहयोग, समन्वयको साथमा सही तथ्यांक, आम दृष्टि, कुशल प्रशासन र सबभन्दा महत्वपूर्ण राजनीतिक नेतृत्व हुनु अति आवश्यक छ ।

Source : http://www.sulsule.com/news_details/13695/.html-740630.

Advertisements

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल

चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि चीनमा राजा सेन नुङको समयबाट सुरु भएको पाइन्छ । सुरुमा चियाको प्रयोग औषधीय गुण भएको पेयको रुपमा भएको थियो । यसैगरी चियाको खेती जापान, कोरिया, बर्मा आदि देशहरुमा विस्तार गर्नमा बौद्ध भिक्षुकहरुको बलियो हात छ भने दक्षिण एसियामा ब्रिटिशहरुले व्यवसाय प्रवद्र्धनका लागि यस खेतीको विस्तार गरेका हुन् । एफ.ए.ओ.को एक तथ्यांकअनुसार सन् २०१६ मा चियाको उत्पादन ५.३ अर्ब किलो पुगेको छ । चीनमा २.२८ अर्ब किलोउत्पादन गरी अग्रस्थानमा छ र वृद्धिदर पनि १८ प्रतिशत छ । टर्की संसारको सबैभन्दा बढी खपत गर्ने ३.३० किलो प्रतिव्यक्ति रहेको देश हो । बेलायत दोस्रो स्थानमा छ भने रसियामा पनि चियाको उपभोग बद्दो छ । त्यस्तै गरी निर्यातमा भने श्रीलंका जहिले पनि सशक्त देखिन्छ र यसमा सरकारको नीतिको ठूलो भूमिका रहेको पाइन्छ । विश्वले अहिले दैनिक करोडौं रुपैयाँको चिया पिइरहेको छ । यसरी विभिन्न देशहरुमा प्रतिवर्ष प्रतिव्यक्ति चियाको खपतमा आयरल्याण्ड, बेलायत, टर्की, इरान, भारत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड, कतार, श्रीलंका, कुवेत, सिरिया र नेपाल क्रमशः ३ किलो, २.५ किलो, २.१० किलो, १.५ किलो, ०.७० किलो, ०.३० किलो, ०.९० किलो, १.१० किलो, १.५० किलो, १.३० किलो, २.१० किलो, १.३५ किलो र ०.३५ किलो चियाको खपत रहेको देखिन्छ । त्यस्तै गरी हाम्रो देश

नेपालमा पनि चियाको खपत दिनहुँ बढ्दो रुपमा भएको छ । मुलुकको भौगोलिक विविधता रहेको हाम्रो देश नेपालमा नगदेबाली चियाले प्रवेश गरेको १ सय ५० वर्षभन्दा बढी भएता पनि व्यवसायिक रुपमा यस खेतीको थालनी भएको करिब ४५/५० वर्ष मात्र भएको बुझिन्छ । मुलुकका अधिकांश जनता जीविकोपार्जनको लागि कृषिकर्ममा आवद्ध रहेका छन् । जवसम्म कृषिक्षेत्रको विकास हुँदैन तवसम्म मुलुकको भाग्य कोरिन सक्दैन । कृषि क्षेत्रको दिगो विकास आवश्यकता मात्र नभई अपरिहार्य रहेको छ । यसै सन्दर्भमा चियाखेती पनि मुलुकको एक मुख्य नगदेबालीको रुपमा रहेको छ । अतः देशमा चियाखेती पूर्वको इलाम जिल्लाबाट सुरु भएको पाइन्छ ।
हाम्रो देशमा करिब डेढ शताब्दीअगाडि अर्थात् वि.सं. १९२० मा प्रवेश गरी झण्डै आधा शताब्दी पहिलेदेखि व्यावसायिक खेती गर्न सुरु गरिएको चियाखेतीले देशको निर्यात व्यापारमा प्रमुख स्थान ओगटेको पाइन्छ । यसले स्वदेशी बजारको साथसाथै अन्तर्राष्ट्रिय बजारमा समेत स्थान पाइसकेको छ । मुलुकमा आर्थिक वर्ष २०७२/०७३ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलगायत जिल्लाहरुमा करिब २७ हजार हेक्टरभन्दा बढी क्षेत्रमा खेती गरिएको चियाको उत्पादन २४ हजार मेट्रिक टनभन्दा बढी भएको अनुमान गरिन्छ । यसको साथसाथै १३ हजार मेट्रिक टनभन्दा बढी सी.टी.सी. र अर्थोडक्स चिया विदेश निर्यात भई २ अर्ब ४० करोडभन्दा बढी रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन भएको थियो । नेपाल र तिब्बतको तेस्रो अर्थात् अन्तिम युद्धपश्चात् थापाथली सन्धिका लागि सन् १८५६ मा कोलन सात्राको नेतृत्वमा आएको टोलीले जंगबहादुर राणालाई कोसेलीको रुपमा दिएको बीउबाट नेपालमा व्यावसायिक चियाखेतीको सुरुवात तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाले इलाममा र पछि सोक्तिममा रोपण गराएका थिए । त्यसैरी नै वि.सं. २०१६ मा झापाको रंगियामा चिया रोपण सुरु गरेका थिए । त्यसपछि पहाडमा भने वि.सं. २०२३ मा चिया विकास निगम स्थापनाबाट पछि कन्याम बगानको स्थापना भएको थियो । यसले व्यापकता भने वि.सं. २०३५ सालमा साना कृषकहरुले चिया विस्तार आयोजना स्थापनापश्चात् भएको थियो । वर्तमान स्थितिमा हाम्रो देशमा करिब २७ हजार हेक्टर हेक्टर क्षेत्रफलमा रोपण भई २.३० करोड किलो उत्पादन गरी करिब २.५५ अर्बको निर्यात गर्न सफल भएको छ । यस व्यवसायमा खेतीपाती गर्ने प्रत्यक्ष रुपमा ५२ हजारभन्दा बढी जना निर्भर रहेको अनुमान गरिन्छ ।
हाम्रो देशको विगत दश वर्षको चिया विरुवा रोपण तथा उत्पादन स्थितिलाई अवलोकन गर्दा आर्थिक वर्ष २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा क्रमशः १६४२०, १६५९४, १६७१८, १७१२७, १७४५१, १८१४९, १९०३६, २०१२०, २६१६५ र २७६८८ हेक्टर क्षेत्रफलमा चियाको विरुवा रोपण गरिएको थियो । त्यस्तै गरी आर्थिक वर्ष २०६३/०६४ को तुलनामा आर्थिक वर्ष २०६४/०६५, २०६४/०६५ को तुलनामा २०६५/०६६, २०६५/०६६ को तुलनामा २०६६/०६७, २०६६/०६७ को तुलनामा २०६७/०६८, २०६७/०६८ को तुलनामा २०६८/०६९, २०६८/०६९ को तुलनामा २०६९/०७०, २०६९/०७० को तुलनामा २०७०/०७१, २०७०/०७१ को तुलनामा २०७१/०७२ र २०७१/०७२ को तुलनामा २०७२/०७३ मा क्रमशः १.०६, ०.७५, २.४५, १.८९, ४.००, ४.८९, ५.६९,३०.०४ र ५.८२ प्रतिशतका दरले क्षेत्रफलमा वृद्धि भएको माथि उल्लेखित आंकडाले देखाएको छ । त्यसरी नै उत्पादनतर्फ हेर्ने हो भने आर्थिक वर्ष २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा क्रमशः १५१६७७४३, १६१२७४९०, १६२०८१२७, १६६०७५५५, १७४३७९३३, १८३०९८२४, २०५८८१४५, २१०७६३६६, २३१८६७२६ र २४२६३७४४ किलो उत्पादन भएको देखिन्छ । उत्पादनलाई प्रतिशतमा अध्ययन गर्ने हो भने आर्थिक वर्ष २०६३/०६४ को तुलनामा आर्थिक वर्ष २०६४/०६५, २०६४/०६५ को तुलनामा २०६५/०६६, २०६५/०६६ को तुलनामा २०६६/०६७, २०६६/०६७ को तुलनामा २०६७/०६८, २०६७/०६८ को तुलनामा २०६८/०६९, २०६८/०६९ को तुलनामा २०६९/०७०, २०६९/०७० को तुलनामा २०७०/०७१, २०७०/०७१ को तुलनामा २०७१/०७२ र २०७१/०७२ को तुलनामा २०७२/०७३ मा क्रमशः ६.३३, ०.५०, २.४६, ५.००, ५.००, १२.४४, २.३७, १०.०१ र ४.६४ रहेको उल्लेखित तालिकाबाट स्पष्ट देखिन्छ ।
विश्वको कुल उत्पादन र निर्यातमा नेपालको योगदान न्यून भए पनि इलाम र पूर्वाञ्चलका अन्य पहाडी जिल्लाहरुको हावापानी दार्जिलिङ्गसँग मिल्दोजुल्दो छ । देशको उत्पादनमा गुणस्तरको हुँदाहुँदै पनि अन्तर्राष्ट्रियस्तरमा स्वीकार हुने मापदण्ड अवलम्वन गर्न सकियो भने विश्व बजारमा नेपाली चियाले ठाउँ लिने संकेत प्रशस्त सम्भावना छ । यसरी विश्व बजारमा अर्गानिक चियाको माग बढ्दो छ, अर्गानिक चियाको माग नेपाली चियाको लागि राम्रो अवसर हो । अर्गानिक तथा गुणस्तरीय उत्पादनमा नै नेपाली चियाको भविष्य गाँसिएको छ । चियाखेतीमा संलग्न सबैले चिया रोपण उत्पादन प्रतिशतदेखि बजार व्यवस्थासम्म गुणस्तरमा ध्यान दिन आवश्यक छ । यसर्थ चियाको उत्पादन र क्षेत्र विस्तार मात्र होइन आन्तरिक र बाह्य बजार प्रवद्र्धनमा ध्यान दिनुपर्दछ । विकास र विस्तारको प्रशस्त सम्भावना छ । हालसम्म अन्तर्राष्ट्रिय बजारमा राम्रो परिचित भइसकेको नेपाली चियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरमा सुधार गर्दै लैजानसकेको खण्डमा स्थायी बजार र उपभोक्ता र सुरक्षित गर्न सकिने छ । यसको लागि सम्बन्धित निकाय लागिपरेको बुझिन्छ । चिया उत्पादन तथा नेपाल आत्मनर्भर मात्र होइन निर्यात व्यापार गर्न समेत सक्षम छ । खासगरी नेपालको पूर्वी क्षेत्रका जिल्लाले चिया उत्पादनको अधिकांश हिस्सा धानेको छ । इलाम र झापामा उत्पादन हुने चिया विदेश समेत निर्यात भइरहेको छ । तर, उत्पादक र चिया किसानको एक्लो प्रयासमा निर्यात भइरहे पनि कतिपय समस्यासँग जुझन भने राज्यले नै चासो दिनुपर्ने किसान र उत्पादक कम्पनीको माग छ । स्पष्ट नीति र राहतका कार्यक्रमको अभावमा आफूहरुले समस्या झेल्नुपरेको किसान र उत्पादक गुनासो गर्छन् । चिया उत्पादन बढाउन र भारतीय उत्पादकसँग प्रतिस्पर्धा गर्न सरकारले राहतका कार्यक्रम ल्याउनुपर्ने चिया किसान र उत्पादक बताउँछन । भारतले चिया उत्पादक किसानदेखि कम्पनीलाई समेत भारतले ठूलो अनुदान दिने गर्छ । यही भएर भारतीय चियासँग प्रतिस्पर्धा गर्न नेपाली उत्पादनलाई कठिन छ । यही कारण भारतबाट नेपाल आउने चिया यताको भन्दा पाँचदेखि सात रुपैयाँसम्म सस्तो हुने गरेको नेपाल चिया उत्पादक संघका भनाइ छ । तसर्थ पहाडमा उत्पादन हुने अर्थोडक्स चियाको कुल उत्पादनको ९० प्रतिशतसम्म निर्यात हुन्छ, निर्यातका मुख्य बजार रहेका राष्ट्रहरुमा जर्मन, जापान, अमेरिका, रिपब्लिका आदि रहेका छन् भने सीटीसी चिया भने मुलुकभित्रै मात्र खपत हुनुको साथसाथै छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशमा निर्यात भइरहेको छ । यस व्यवसायमा हालसम्म प्रत्यक्ष वा अप्रत्यक्षरुपमा करिब एक लाख व्यक्तिहरुले रोजगारी पाइरहेका छन् । यसरी विश्वमा सबैभन्दा बढी चिया प्रयोग गर्ने देश आयरल्याडमा प्रतिव्यक्ति प्रतिवर्ष तीन किलो चिया उपयोग गर्ने गरेको तथ्यांकले देखाएको छ भने सबैभन्दा कम उपयोग गर्नेमा संयुक्त राज्य अमेरिकामा प्रतिव्यक्ति प्रतिवर्ष शून्य दशमलव ३० किलो मात्र प्रयोग गरेको अनुमान गरिन्छ भने हाम्रो देशमा भने प्रतिव्यक्ति लगभग शून्य दशमलव ३५ किलो प्रतिव्यक्ति प्रतिवर्ष उपयोग गरेको अनुमान छ । यद्यपि सन् २०१० मा १०४ देशहरुमध्ये ८२औंमा परेको नेपाल सबैभन्दा गरिब ठहरिएका लगभग ३ करोड जनसंख्या भएको देशलाई माथि उठाउने चिया कृषिजन्य उद्योग हुनसक्छ । यसकारणले गर्दा हालैका दिनमा विश्वबजारमा माग बढ्दै गएको हुँदा हाम्रो चियाखेतीको उत्पादन तेस्रो मुलुकतर्फ निकासिका कारण समेत कृषकहरु यसतर्फ आकर्षित भएको पाइएको छ ।
हाम्रो देशमा विगत दश वर्षमा चिया निर्यात तथा आयात स्थितिलाई अवलोकन गर्दा आर्थिक वर्ष २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा क्रमशः ७०००, ८६००, ८८८९, ८४९८, १०५३३, ११०६१, १०७०९, ११३९६, ११५८५ र १३२८९ मेट्रिक टन निर्यात भएको थियो भने सोही अवधिमा क्रमशः ७३४२८५, ९०२१२२, ११६०५९३, ११९५३१९, १५४९८९१, १६२७५८९, २०४३२२०, २०२९४३९, २७२८८०० र २४००११९ हजार रुपैयाँ बराबरको चिया विभिन्न देशमा निर्यात भएको सम्बन्धित क्षेत्रको तथ्यांकमा उल्लेखित गरिएको छ । त्यस्तैगरी दश वर्षको अन्तरालमा विभिन्न मुलुकहरुबाट नेपाल आयात भएको विभिन्न प्रकारका चियाको स्थितिलाई अवलोकन गर्दा आर्थिक वर्ष २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा क्रमशः १९००, १३१२३, ९६२४, ३६११६, ४०८०४, ४७८०१, ५७५१६, ५५७७०, ४०८०४ र ६७९७१ हजार रुपैयाँमा बराबरको विभिन्न किसिमको चियाहरु आयात भएको सम्बन्धित निकायले जनाएको छ ।
समग्रमा भन्नुपर्दा गत आर्थिक वर्षमा देशभर २ करोड ३१ लाख किलो चिया उत्पादन भएको चिया तथा चिया विकास बोर्डले जनाएको छ । मुलुकमा विशेषतः गरी तीन प्रजातिको चियाखेती गरिन्छ । आसामी,  कम्बोडियाली   प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ । त्यसरी नै अर्को चिनियाँ प्रजातिको चिया मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद झन्डै विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो रहेको पाइन्छ । दार्जिलिङकै आसपासमा रहेको इलामको हावापानी र भूबनोट पनि दार्जिलिङकै जस्तो भएकाले यस्तो समानता देखिएको जानकार सूत्रहरूले बताउँदै आएका छन् । यस्ता कतिपय चिया पारखीहरू त हाम्रो जस्तो देशको जैविक विविधता तथा विशिष्ट भूबनोटले गर्दा खासखालको चिया दार्जिलिङको भन्दा पनि उत्कृष्ट रहेको विश्वास गर्छन् । चिया क्षेत्रले छोटो अवधिमै निकै ठूलो फड्को मारिसकेको अवस्था विद्यमान छ । विगतदेखि हालसम्मको स्थितिलाई अवलोकन गर्ने हो भने आर्थिक वर्ष २०५३/०५४ मा ३ हजार ५ सय हेक्टरभन्दा कम रहेको चिया रोपणक्षेत्र आज आएर १९ हजार ३६ हेक्टर पुगेको छ । यो दुई दशक भन्दा पनि कम अवधिमा हामी चिया आयात गर्ने मुलुकबाट आत्मनिर्भर भई चिया निर्यात गर्ने अवस्थामा पुगेको सम्बन्धित क्षेत्रको निष्कर्ष रहेको छ । त्यस्तैगरी नेपाली चियाको उत्पादन र व्यापार पनि फस्टाउँदो नै छ । हाम्रा उत्पादनहरू युरोपका बजारहरूमा विशिष्ट  चियाको रूपमा विव्रmी हुन थालिसकेका छन् । योे चिया र चिया उद्योग प्रत्येक वर्ष ठूलो हुँदै गएको छ । नेपालमा चियाखेतीको क्षेत्रफल विस्तारका साथै उत्पादनमा पनि वृद्धि हुँदै गएको देखिन्छ । देशमा चिया किसानका आयश्रोत वृद्धि गर्न सकिने व्यापक सम्भावना भएको हुँदा यसको खेती विस्तारमा किसानहरु लालयित रहेका छन् । चियाखेती हुने जिल्लाहरु बढ्दै गएको एकातिर छ भने अर्कोतिर हेर्ने हो भने विकास क्षेत्रमध्ये पूर्वाञ्चल क्षेत्रको पहाडी जिल्लाहरुमा चियाखेतीका लागि बढी उपर्युक्त भएको कारण यहाँ चियाको क्षेत्रफलमा व्यापक विस्तार भएको छ । पहिले इलाम जिल्लामा मात्र सिमित भएकोमा हाल पूर्वाञ्चल विकास क्षेत्रको अरु पहाडी जिल्लाहरु खेती हुँदै गएको छ । त्यस्तै गरी मध्यमाञ्चल  र पश्चिमाञ्चल जिल्लाहरुमा व्यापक विस्तार भएर गएको छ ।

Source : https://wordpress.com/post/bnkharel.wordpress.com/2560-740820.

महिलाको प्रतिनिधित्वमा दलहरुकै कन्जुस्याइँ

विश्वनाथ खरेल

नेपालको नयाँ संविधानको धारा ३८(४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरेको छ। यो त्यस्तो मौलिक हक हो, जसका आधारमा नेपालका महिला आफ्नो जनसंख्याको अनुपातमा राज्यको हरेक अंगमा सहभागी हुनसक्छन्। यसरी देश, समाज, राष्ट्र विकासका लागि महिला–पुरुषको बराबरी जिम्मेवारी छ। जबसम्म महिलालाई पछाडि पार्न खोजिन्छ, तबसम्म समाज र राष्ट्रको विकास सम्भव छैन। तर दलहरू महिला सक्षम छैनन्, अयोग्य छन् भनी पन्छाउने काम गरिरहेका छन्।

आफ्ना कार्यकर्तालाई सक्षम, योग्य बनाउन नसक्नुमा दलहरूकै दोष होइन र ? त्यस्तै गरी संविधानले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत उपस्थिति अनिवार्य गरेको छ। संसद्मा सदस्यसमेत एक तिहाइ महिला हुनुपर्छ। दलित, जनजाति, आदिवासी, मधेसी, मुस्लिम समुदायको समेत प्रतिनिधित्व गराउनुपर्छ। तर राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनबाट प्रतिस्पर्धा गराएर नभई समानुपातिकबाट मात्रै प्रतिनिधित्व गराउन खोजेको देखिन्छ।

हाम्रो मुलुकको विगतमा भएको सहभागिता र राज्यका सबै निकायमा महिला सहभागिताका दृष्टिले देशको नयाँ संविधानलाई हेर्ने हो भने नेपालको संविधान विश्वमै गर्व गर्नलायकको संविधानका रूपमा देखिन्छ। त्यसो त भर्खरै म्याद सकिएको संसद्मा २९ दशमलव ५ प्रतिशत महिला सहभागिता हुनुका नाताले संसद्मा सबैभन्दा धेरै महिला सहभागिता भएको मुलुकमा हाम्रो देश आजको मितिमा विश्वकै ४८ औँ स्थानमा गणना भइरहेको स्थिति थियो। यस हिसाबले हेर्दा लोकतान्त्रिक गणतन्त्र आएको एक दशककै समयावधिमा संसद्मा महिला सहभागिताको मामिलामा हाम्रो देशले गणतन्त्र भारत तथा संयुक्त राज्य अमेरिकालाई समेत उछिनेको छ। स्मरणीय छ, विश्वको सबैभन्दा ठूलो संसदीय लोकतन्त्र रहेको मुलुक भारतको संसद्मा अहिले केवल ११ दशमलव ८ प्रतिशत महिला रहेका छन् भने विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकामा १९ दशमलव ४ प्रतिशत मात्र महिला सांसद रहेका छन्। चीनजस्तो विश्वको दोस्रो ठूलो अर्थतन्त्रसहितको विकसित समाजवादी मुलुकमा समेत केवल २४ दशमलव २ प्रतिशत महिला त्यहाँको जनप्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन्।

नेपालले यति छिट्टै ती सबैलाई महिला प्रतिनिधित्वमा उछिन्नु ऐतिहासिक उपलब्धि हो। हाम्रो देशको संविधानले संघीय संसद् र प्रदेशसभामा महिला प्रतिनिधित्व ३३ प्रतिशत अनिवार्य गरेको छ। संविधानले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीबाट दलहरूले ३३ प्रतिशत महिला प्रतिनिधिको संख्या निर्वाचित गराउन नसके समानुपातिक प्रणालीबाट पुर्याउनुपर्नेछ। प्रत्यक्षमा महिलाको उम्मेदवारी निराशाजनक छ। देशभर प्रतिनिधिसभाका लागि १ सय ४४ र प्रदेशसभाका लागि २ सय ३२ जना महिला उम्मेदवार छन्। बढी उम्मेदवार निर्वाचित गराउन सक्ने ठानिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाटै महिलाको उम्मेदवारी न्यून छ। उनीहरूले समानुपातिकतर्फ भने झन्डै ६० प्रतिशत महिला उम्मेदवार खडा गरेका छन्। यसरी प्रत्यक्षतर्फ महिला उम्मेदवार नै निर्वाचित हुने पक्का हुँदैन। महिला उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने गरी निर्वाचित क्षेत्र नै आरक्षित गर्न माग भएको भए पनि यस्तो संवैधानिक⁄कानुनी व्यवस्था भएन। अन्ततः दलहरूले समानुपातिक प्रणालीबाट ३३ प्रतिशत पुर्याउने गरी महिलाको संख्या बढाएका छन्। यसरी आगामी संघीय संसद् तथा प्रतिनिधिसभामा संविधानले तोकेअनुसारको महिला प्रतिनिधित्व हुने भएको छ। संविधानले प्रत्यक्ष र समानुपातिक सदस्यको हैसियतमा विभेद गरेको छैन। समानुपातिक सदस्य पनि जनमतबाटै चुनिने हो। यसरी प्रतिनिधित्व सुनिश्चितताका हिसाबले यो निकै सकारात्मक हो। स्थानीय तहमा पनि कानुनी व्यवस्थाअनुसार अनिवार्य प्रतिनिधित्व भएको छ। अब प्रदेशदेखि केन्द्रसम्मै महिला प्रतिनिधिको सम्मानजनक उपस्थिति हुनेछ।

विश्वका यस्ता थोरै मुलुकमा मात्र प्रगतिशील संवैधानिक व्यवस्था रहेको छ। परन्तु यो तथ्य पनि विश्वसामु लुकाउन मिल्दैन कि माथिको संविधानको व्यवस्थासित ठाडै बाझिने गरी नेपालको नयाँ संविधान २०७२ को धारा ८४ (८) ले भने संघीय प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व कम्तीमा ३३ प्रतिशत हुनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था गरेको छ। ठीक त्यस्तै व्यवस्था संविधानको धारा १७६ (९) ले प्रदेशसभाको निर्वाचनका लागि पनि गरेको छ। मौलिक हकअन्तर्गत राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशी सहभागिता भनेपछि त्यसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा महिलाको जनसंख्याको अनुपातमा सहभागिता सुनिश्चित गरिसकेकोमा व्यवस्थापिकाको गठनसम्बन्धी संवैधानिक व्यवस्थाले त्यसलाई घटाएर ३३ प्रतिशतमा झार्नु विरोधाभासी कुरो हो। तर नेपाली महिलाले हरेक तहको व्यवस्थापिकामा कम्तीमा ३३ प्रतिशतभन्दा कम महिला सहभागिता अब उप्रान्त नहुने कुराको संवैधानिक सुनिश्चितता ठानेर यो प्रावधानमा चित्त बुझाए। तथापि नेपालको नयाँ संविधानको विश्वमै गर्व गर्नलायकको यो विषयवस्तुलाई व्यवहारमा उतार्दा प्रमुख भनिएका दलहरूले संघीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दिएको उम्मेदवारीले लाजमर्दो बनाइदिएको छ। पहिलो र दोस्रो चरणको प्रतिनिधिसभाको चुनावमा प्रमुख भनिएका तीन दल– नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फका जम्मा १६५ निर्वाचन क्षेत्रमा खाली १८ महिलाको मात्रै उम्मेदवारी पेस गरेका छन्। यो भनेको जम्माजम्मी १० दशमलव ८ प्रतिशत मात्र हो अर्थात् संविधानमा कबोलेको थोरैमा ३३ प्रतिशतको तुलनामा तीन भागमा एक भाग मात्र। पहिलो चरणको ३७ निर्वाचन क्षेत्रमा यी तीन दलबाट केवल ३ जनाको उम्मेदवारी परेको छ भने दोस्रो चरणको १ सय २८ निर्वाचन क्षेत्रमा खाली १५ जनाको मात्र। बरु त्योभन्दा राम्रो महिला सहभागिताको उदाहरण साना दलमा भेटिन्छ। यसभित्र पस्ने हो भने आश्चर्य त यो देखिन्छ कि कुल १८ जनाको उम्मेदवारीमा दक्षिणपन्थी भनिएको नेपाली कांग्रेस एक्लैको ९ जनाको उम्मेदवारी देखिन्छ भने महिला मुक्तिको झन्डा धेरै पहिलेदेखि उठाई आएको वामपन्थी दल एमालेको जम्मा ५ जना र माओवादी केन्द्रको ४ जनाको उम्मेदवारी देखिन्छ। दुबैको जोड्दा वामपन्थी गठबन्धनको ९ जना त पुग्छ, अझ राष्ट्रिय जनमोर्चाको समेत जोड्दा वामपन्थी गठबन्धनको कांग्रेसको भन्दा पनि बढी हुन्छ। तर ठूला वामपन्थी दलमध्ये हरेकको उम्मेदवारीमा महिलाको सहभागिताको लागि जुन खालको उदाहरणीय उदारता हुनुपथ्र्याे, त्यो भने देखिएन।

देशको राजनीतिक परिवेशलाई नियालेर हेर्ने हो भने, २०७४ को प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दलहरूले अत्यन्तै थोरै महिलालाई मात्र उम्मेदवार बनाएका छन्। संघीय संसद्मा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने संवैधानिक प्रावधान भए पनि दलहरूले महिलालाई टिकट दिन हदैसम्मको कन्जुस्याइँ गरेका छन्। यो राजनीतिक दलहरूबाट गरिएको लैंगिक विभेद हो। राजनीतिक दलहरूले महिलालाई भोटबैंकमा मात्र सीमित पार्न खोजेको देखिन्छ। उदार प्रजातान्त्रिक सिद्धान्त बोकेको नेपाली कांग्रेसले पनि महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन कन्जुस्याइँ गरेको छ। यो हुनुमा अझै पनि पितृसत्तात्मक सोच कायमै रहेकाले महिलालाई प्रत्यक्षतर्फ कम उठाइएको राजनीतिक विश्लेषकहरुको भनाइ एकातिर छ भने अर्कोतिर चुनाव भड्किलो अर्थात् करोडौं खर्च गरी पैसाको खोलो बगाउनुपर्ने, बढीभन्दा बढी समय खटिनुपर्ने यी विविध कारणहरुले गर्दा महिला उम्मेदवार कम भएको भन्ने अर्का थरीका राजनीतिक विश्लेषकहरुको भनाइ रहेको पनि पाइन्छ। साँच्चै भन्ने हो भने, आधा आकाश ढाक्ने महिलाहरुको प्रतिनिधित्व राज्यको लागि ज्यादै न्यून देखिएको छ।

देशमा भएका प्रत्येक परिवर्तनमा महिलाको सक्रिय भूमिका थियो। यसैको प्रतिफल देशमा लोकतन्त्र आयो, संविधान बन्यो। संविधानमा अधिकार पनि सुनिश्चित भयो। तर त्यो अधिकार प्राप्ति गर्ने बाटो भने महिलाका लागि सहज देखिएन। महिलाको अधिकारलाई राजनीतिक दलका नेताहरूले कुण्ठित पार्न खोजिरहेको देखिन्छ। यसको मूल कारण राजनीतिक दलका नेताहरूको संकीर्ण सोच हो। यसले महिलाको त्याग र बलिदानको अपमान गरेको छ। अब राजनीतिक दलहरू सच्चिन जरुरी छ। महिलालाई अघि बढाउन उदारता देखाउनुपर्छ। यसरी राजनीतिक दलहरूले ६ महिनाअघि भएको स्थानीय निर्वाचनमा महिलालाई उपप्रमुखमा सीमित गर्दै थोरै स्थानीय तहमा मात्र प्रमुखमा टिकट दिएका थिए। संविधानले प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था गरेकाले दलहरू महिलालाई उपप्रमुखमा पनि उठाउन बाध्य भएका थिए। निर्वाचित महिलाले स्थानीय तहमा सक्षमताका साथ आफ्नो जिम्मेवारी बहन गरिरहेका छन्। अहिले राष्ट्रप्रमुख नै महिला छिन्। केही अघिसम्म व्यवस्थापिका संसद्मा सभामुख र न्यायपालिकाको नेतृत्वमा महिला थिए। उनीहरूले क्षमता देखाएकै हुन्। तर पनि महिलाहरुको अधिकारलाई दलका नेताहरूले कुण्ठित पार्न खोजिरहेको देखिन्छ। यसको मूल कारण नेताहरूको संकीर्ण सोच नै हो।

Source : http://www.newsofnepal.com/2017/11/16/66190/740730.

बालाचतुर्दशी र यसको सांस्कृतिक पक्ष

सन्दर्भ : शतबीज छर्ने पर्व

विश्वनाथ खरेल

प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीमा पर्ने बालाचतुदर्शी पनि नेपाली जनजीवनमा एउटा महत्वपूर्ण र आफ्नै मौलिकता बोकेको पर्व हो । बालाचतुर्दशीको सम्बन्ध पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणले वर्णन गरेका छन् । हिमवत्खण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराबारे के बताइएको छ भने मृगरूप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिंड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा एउटा धानको गेडा छरेको पनि एक रती सुवर्ण छरेको बराबर हुन्छ भनी हरिणेश्वर शिवजीले आकाशमार्गबाट बताएको भनी हाम्रो शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

शतबीज त्यस वर्ष दिवंगत भएका आफन्तको चिर शान्ति, मंगल र पुण्यको कामना गरी बन क्षेत्रमा छर्ने चलन छ । यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चतुर्थी गरी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ । शतबीज छर्ने पर्वको परम्परा कहिलेबाट बस्यो भन्ने जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक वनमा आई अत्यन्त आकर्षक मृगरूप धारण गरी बसेको वषौँवर्ष बितेको पत्तै भएन । माता पार्वतीलगायत समस्त देवीदेवताहरूलाई ज्यादै पिर पा¥यो । भोलेबाबा कहाँ हुनुहुन्छ भनी दिव्यदृष्टिले हेर्दा त भगवान् मृगरूप धारण गरी पशुपति क्षेत्रमा वन विहार गरिरहनुभएको देवी पार्वतीले थाहा पाउनुभयो । शिवरूपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले थाहा पाउनुभयो, शिवरूपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको बीज छर्नुभयो । केही हप्तापछि छरिएका बीउहरू उम्रिएर हरियो घाँस भए पछि घाँस देखेर मृगहरू लेभिएर आउन थाले आएका मृगमध्ये मृगरूपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा सुरुआत भएको शतबीज छर्ने प्रथा कालान्तरमा जीवन संस्कृति बन्यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहनेछ ।

शतबीज भन्नाले खास गरी शय चिजका गेडागुडीहरू भन्ने बुझिन्छ । यी शतबीजमा प्रयोग गरिने अन्नहरूमा गहुँ, सरस्र्यूँ, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरू पर्दछन् । शतबीज छर्न नेपालका विभिन्न भागहरू लगायत मित्रराष्ट्र भारतबाट समेत पशुपतिनाथको मन्दिरमा घुइँचो लाग्ने गर्दछ । मानिसहरू आउँछन् त्रयोदशीका दिन महाद्विप बाली पशुपति वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिँड्छन् । यस दिन टाढा जान असमर्थ कतिपयले नजिकको तीर्थ स्थल मन्दिर, देवालयमा गई शिव प्रार्थना गरी रातभर जाग्राम बस्ने प्रचलन पनि छ । शतबीज छरिसकेपछि खिर, फलाहार, दही, च्युरा, पुलाउ इत्यादि मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन–कीर्तन गाइने परम्परा नेपाली समाजमा छ । हाम्रो समाजमा दुई थरी विश्वास बोकेका मानिसहरूको शतबीज छर्ने प्रचलन छ ।

एकथरी अघिल्ला वर्षहरूमा आफ्नो परिवारजनको स्वर्गारोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबीज छदैं चिरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशाले गर्दछन् । सार्वजनिक रूपले शतबीज छर्ने अघिल्लो दिन अर्थात् मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई किमती गरगहना पहिराइन्छ । सक्कली एकमुखे रुद्राक्ष, नागमणिजस्ता वस्तुहरू ढुकुटीबाट झिकिन्छन् । त्यसरी झिकिएका वस्तुहरू मार्ग कृष्ण औंसीको दिन भण्डारमा पुनः राखिन्छन् । बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतबीज छरिन्छ । जसलाई ‘कएन्या’ भनिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबीज छर्ने कार्य समाप्त हुन्छ । बालाचर्तुदशीको दिनदेखि पशुपतिनाथलाई तातो पानीले गराइन्छ । चैत्र कृष्ण चतुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ । शतबीज छर्दा महत्व बुझ्नेहरू सबेरै वाग्मतीमा नुहाएर ‘सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते’ भनी मन्त्र पढ्छन् ।

शतबीज छर्नेहरूको घुइँचोसँगै काठमाडौं उपत्यकामा जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो । यस दिन बौद्धधर्मावलम्बीहरू स्वयम्भूमा शतबीज छर्न धाउने गर्छन् । पितृहरूको नाममा लामा, शेर्पा, तामाङ, गुरुङ आदि जनजातिहरूले अन्न, फलफूल छर्ने गरेको पाइन्छ । सो दिन देवताहरूको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनहिरूको छ । देवताहरूको पनि देवता पशुपतिनाथको दर्शन गरिसकेपछि उपत्यकाभित्र रहेका महत्वपूर्ण मन्दिरहरूमा पनि दर्शनार्थीको ीभड लाग्ने गर्दछ । मार्ग कृष्ण त्रयोदशीको साँझदेखि पशुपतिनाथको सेरोफेरो र कैलाश डाँडाको मृगस्थलीमा मानिसको रेलो लाग्न थाल्छ । पसलेहरू सकेसम्म राम्रो ठाउँ ओगटेर पाल हाली बजार बसाल्न थाल्छन् । अनि अरू यात्रुहरू जहाँजहाँ मिल्छन्, त्यहीँत्यहीँ आफ्ना डफ्फाका साथ आसन बसाउँछन् साँझ पर्दा सम्ममा कैलाशको चौरमा खुट्टो राख्न पनि मुस्किलले पाइने स्थिति हुन्छ । साँझ परेपछि धार्मिक अनुष्ठान सुरु हुन्छ ।

एकातिर परिवारका मूली वा जिम्मेवार व्यक्तिहरू पशुपतिको मूल बत्तीबाट पितृका नाउँको दियो वा महाद्विप, जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भर्ने अर्कातिर मादल र बाँसुरीको तालमा नाँच्ने पनि हुन्छन् । अनि केही धार्मिक प्रवृत्तिका रसिक पाकाहरू पनि बैंसको स्मृतिमा भजन, चुड्का, कीर्तन आदि गरेर कठोर रातको पीडालाई केही मत्थर बनाउने प्रयत्न गर्छन् । त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रातझैँ सुनिन्छ । कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुकजस्तो गाढा अन्धकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहेझैँ देखिन्छ । अनि चतुर्दशीको दिनचाँहि बिहान सबेरै महादीप वा दीप लगेर वाग्मतीमा सेलाइन्छ र मानिसहरू नुहाइधुवाइ पशुपतिनाथको पूजा गरी शतबीज छर्ने कार्य गर्दछन् ।

हाम्रो समाजमा आ–आफ्नै संस्कृति छन् । त्यसैगरी हाम्रो समाजमा भने प्राचीनकालदेखि नै मानिआएको धर्मसंस्कृतिलाई नै महत्व दिइएको पाइन्छ । यी विभिन्न धार्मिक कार्यमध्ये शतबीज छर्ने पनि एक महत्वपूर्ण कार्य हो । त्यसैले, गर्दा हिन्दूधर्मालम्बीहरू शतबीज छर्ने कार्यमा सधै लालयित रहेको पाइन्छ । यस कार्यको लागि त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खास गरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छ र श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ । यो पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो र हिन्दू धर्मावलम्बीहरूले यसलाई बढो हर्षोल्लासका साथ मनाइने गरेको पाइन्छ । धार्मिक आस्था तथा परम्पराको विश्वासको आधारमा नै शतबीज छर्ने कार्य गर्ने गरिन्छ । यसबाट सबैको कल्याण हुन्छ ।

Source : http://www.souryadaily.com/2017/11/160296.html/740730.

हरिबोधिनी एकादशीको महिमा

biswonath

विश्वनाथ खरेल

हरेक वर्षमा शुक्ल र कृष्ण पक्ष गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुई वटाका दरले पर्ने हुन्छ । हाम्रो समाजमा १२ महिनाको एक वर्ष मानिन्छ र प्रत्येक महिनामा दुई वटा एकादशी पर्छन् । यस हिसाबबाट एक वर्षमा २४ वटा एकादशी हुन्छ । यी एकादशीको नाम यस प्रकार छ ः बरूथिनी, मोहिनी, अपरा, निर्जला, योगिनी, हरिशयनी, कामिका, पुत्रदा, अजा, पद्मा, इन्दिरा, पापांकुशा, रमा, हरिबोधिनी, उत्पन्ना, मोक्षदा, सफला, पुत्रदा, षट्तिला, भीमा, विजया, आमलकी, पापमोचनी, कामदा एकादशी हुन । त्यस्तैगरी प्रत्येक साढे २ वर्षपछि एउटा अधिकमास अर्थात् पुरुषोत्तम महिना पर्छ र सो साल १३ महिनाको एक वर्ष मानिन्छ । त्यतिबेला दुइटा एकादशी पद्मिनी र परमा थप हुने भएकाले मलमास परेको सालमा जम्मा जम्मी २६ वटा एकादशी पर्न आउँछन् । प्रत्येक एकादशीको आफ्नो अलग नाम र परिचय छ भने सबैको भिन्नाभिन्नै व्रत उपवासको फल तोकिएको पाइन्छ । त्यसमध्ये हरिबोधिनी एकादशी पनि एक हो । यस वर्षको कात्तिक १४ गते यो एकादशी परेको छ । तुलसीको विवाह गर्ने एकादशी पनि भनिन्छ यस दिनलाई । सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रात ः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदय अघि त्रयोदशी तिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य एक हजार वटा एकादशीको पुण्य एकै दिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौँ अश्वमेध यज्ञ गरको फल समेत पाइने हुन्छ । शुक्लपक्ष पुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो । शुक्ल पक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्वादशीमा रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । यस्तो नक्षत्र विशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा एक हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ । कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिन पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ । फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । कात्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास छ । यसलाई ठूली एकादशीको रूपमा मान्ने गरिन्छ । ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ । सम्भव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नाम­सङ्कीर्तन गर्नाले भगवान् विष्णु अत्यन्त प्रसन्न हुने विश्वास छ । विवाहादि समस्त माङ्गलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर सङ्कल्प गर्ने चलन छ । अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबन्ध हरिबोधिनी  एकादशीका दिन समाप्त हुन्छ त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनः प्रारम्भ हुन्छन् । पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी­माहात्म्यका अनुसार हरिबोधिनी एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भष्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त बैकुण्ठ पुग्छ । यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जे जस्तो जप­तप, स्नान­दान, होमादि गर्छन् ती सबै अक्षय फलदायक हुन पुग्छन् ।
समग्रमा भन्नुपर्दा एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो । यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन छ । विष्णुले वृन्दासित छल गरेको जब सत्य कुरो चाल पाइन, तिनले विष्णुलाई श्राप दिइन । वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसैबेला त्यहाँ प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले चिनिने छ । त्यस दिनदेखि के मान्यता छ भने कात्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको गराउनाले कन्या दानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवान् सरह प्रसन्नता प्राप्त हुन्छ । यस व्रतको प्रभाव मनको दृढ सङ्कल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्मपरायण र सात्विक भावको विकास हो । सत्य, धर्म, सदाचारले व्यक्ति, समूह, समुदाय र समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ । वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकले पनि अनुसन्धान, अध्ययन गर्दैछन् । काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन् । उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बन्ने हुन्छ– कारण मानिसलाई आवश्यक मुक्ति प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट सम्भव छ । एकादशीव्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ । यसर्थ चोरी, हिंसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ । तुलसीको महìव जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी, पीपलको महìव पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरूका लागि जीवनको हृदयभैmँँ महìव रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ । हरिबोधिनीमा सो तुलसीलाई सङ्कल्पसमेतको अनुष्ठानमा विष्णु भगवान्संँग विवाह गराइन्छ । यसै विवाह कर्मले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ तर अनौठो चलन चतुर्मास अन्तर्गत विजया दशमी पर्वको एकादशीलाई पापांकुशा तथा गिद्धे एकादशी भनी मासु खाने र खुवाइने गरिन्छ । एकादशी र औँसीमा हिन्दुले मासु खान वर्जित तथा निषेध नै गरिए पनि व्यवहारमा चलाइएको यो मान्यतालाई हिन्दु धर्मको लचकता वा व्यावहारिक कठिनाइ खुकुलो पार्न पण्डितले आफूखुशी चलाएको कदम मान्ने ? अझै स्पष्ट हुन सकेको छैन । कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिनदेखि क्षीर सागरमा शयन गरेका भगवान् विष्णु चार महिनापछि यसै एकादशीका दिन निद्राबाट ब्युँझन्छन् भनिन्छ । फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ ।

प्रकाशित मिति: २०७४/७/११-GOPA

Source : http://gorkhapatraonline.com/news/46963

रोम शहर, एकदिनमा बनेको होइन

सुन्दर भेटिकन शहरको सेन्ट पिटर स्क्वायर

पुष्करलाल श्रेष्ठ ।

इटलीको राजधानी रोम शहरबारे एउटा कथन छ, ‘रोम शहर एकदिनमा बनेको होइन।’ यो फ्रेन्च कहावत कहिले र कुन बेलादेखि भन्न थालिएको स्पष्ट नभए पनि साँच्चिकै रोम शहर बन्नचाहिँ झन्डै २ सय ७६ वर्ष लागेको थियो। ३ हजार वर्ष पुरानो रोम शहर घुमिसकेपछि ‘यति विशाल कला कौशल र सुन्दर वास्तुकलाले भरिपूर्ण यो शहर बन्न मात्र २ सय ७६ वर्षले पुग्यो होला त ?’ सबैको मनमा उठ्ने प्रश्न हो यो।

रोमुलस र रेमस नामका दुई जुम्ल्याहा दाजुभाइको सोचअनुसार बनाइएको मानिने रोम शहर बनाउने क्रममा दाजुभाइबीच नै विवाद भएपछि रोमुलसले भाइ रेमसलाई मारेर आफ्नै नामबाट रोम शहरको नामाकरण गरेको किम्बदन्ती छ। तर यी दाजुभाइको जन्म स्यालबाट भएको भनिएकाले यो कसैको परिकल्पना मात्र भएको अनुमान लगाउन सकिन्छ। जसको सोचले बनाइएको भए पनि जुन धैर्यताले रोम शहर बनाइएको देखिन्छ, त्यसलाई हेर्दा यो शहरलाई धेरै चोटि बनाउँदै–बिगार्दै गरेको अनुभूतिचाहिँ गर्न सकिन्छ।

नक्सा हेर्दा ठ्याक्कै जुत्ताको आकार देखिने इटलीले ३ लाख १ हजार ३ सय ३८ वर्गकिलोमिटर क्षेत्रफल ढाकेको छ। नेपाल र भारतको जस्तै इटलीको पनि फ्रान्स, स्वीजरल्यान्ड, अस्ट्रिया, स्लोभेनिया, सानमेरिनो र भ्याटिकन सिटीसँगको सिमाना खुल्ला छ। लामो इतिहास भएको रोमन साम्राज्यले बनाएको इटलीको जनसंख्या अहिले झन्डै ६ करोड १० लाख पुगिसकेको छ। तैपनि देशअनुसार जनसंख्या नपुगेको भनी इटलीमा एकजना भन्दा बढी बच्चा जन्माउनेलाई पुरस्कारको व्यवस्था गरिएको छ।
सन् १९१४ मा शुरु भएको पहिलो विश्वयुद्धमा जितेको उन्मादमा दोस्रो विश्वयुद्धमा हाम्फाल्दा इटलीले नराम्ररी पराजय भोग्नुपरेको थियो।

रोमन साम्राज्यमा बनेको ऐतिहासिक कालोसियम स्टेडियम अगाडि लेखक

पहिलो विश्वयुद्धमा इटली जिते पनि यसले झन्डै १२ लाख सेनाहरू गुमाउनुपरेको थियो। दोस्रो विश्वयुद्धमा भने हारे पनि इटलीले मात्र ६ लाख ७० हजार सेना गुमाएको थियो। पहिलो विश्वयुद्धमा अमेरिका, बेलायत र फ्रान्ससँग मिलेर इटलीले जर्मनी, अस्ट्रिया र हँगेरीविरुद्ध युद्धमा लडेको थियो। तर दोस्रो विश्वयुद्धमा यसको ठीक विपरीत जर्मनी र जापानसँग मिलेर अमेरिका, बेलायत, फ्रान्स र तत्कालीन सोभियत युनियनसँग दुश्मनी मोल्दा इटलीले नराम्रो पराजय भोग्नुपरेको थियो।

प्रथम विश्वयुद्धपछि लामो समय कट्टर फासिस्टले शासन गरेको इटलीका तानाशाह बेनेटो मुसोलिनीलाई जर्मनीका अर्का तानाशाह रुडोल्फ हिटलरले समेत आदर्श मान्ने गर्थे। मुसोलिनी र हिटलरको दोस्रो विश्वयुद्धको अन्त्यसम्म निकै राम्रो मित्रता रहेको थियो। मुसोलिनीको साम्राज्य ८ सेप्टेम्बर १९४३ मा अन्त्य भएको थियो। अप्रिल १९४५ मा भागिरहेको अवस्थामा फासिस्ट विरोधीहरूले घेराबन्दीमा पारेर मुसोलिनीको हत्या गरेका थिए। दोस्रो विश्वयुद्धमा नराम्ररी हारेको पीडाले होला युरोपियन युनियन र नाटोको संस्थापक इटलीले दोस्रो विश्वयुद्धपछि आफ्नो वैदेशिक नीतिलाई निकै मैत्रीपूर्ण बनाएको छ।

यसरी इतिहास, भूगोल र संसारकै सातौं ठूलो अर्थतन्त्र रहेको युरोपकै एउटा शक्तिशाली देश इटलीको समयाभावले गर्दा इच्छा भएर पनि पहिलोपटक पुग्दा राम्रोसँग घुम्न पाएको थिइनँ। त्यसैले यसपटक लेख्ने मनसाय भएकोले लामो दिनको यात्रा नभए पनि इटलीलाई बुभ्mने किसिमले भ्रमण गरेको थिएँ। यो भ्रमणमा पनि हामीलाई अस्ट्रिया बस्ने भाइ प्रभुले साथ दिएका थिए। उनी पटक–पटक इटली आइसकेका कारण छोटो समयमा पनि धेरै कुरा बुभ्mन सहज भएको थियो। पहिलोपटक आउँदा एक्लै भएकाले हो कि जता गए पनि असहज महसुस हुन्थ्यो। एक–दुई ठाउँमा अलि ठग्ने प्रयास गरिएकाले पनि त्यस बेला खासै घुम्ने जाँगर नचलेको हो।

भेनिसमा श्रीमती राजेश्वरी श्रेष्ठसँगको रोमान्समा लेखक

५ जुन २०१७ का दिन इटलीको सारै सुन्दर ठाउँ भेनिसबाट इटलीको यात्रा प्रारम्भ गरेकाले हो कि यसपटकको इटली भ्रमण शुरुदेखि नै रोमाञ्चक बनेको थियो। युगल जोडीहरूका लागि स्वर्ग मानिने यस ठाउँमा पुग्दा ६० को उमेर छुन लागिसकेका हामीलाई समेत तन्नेरीको अनुभूति गराएको थियो। झट्ट हेर्दा समुद्रमाथि बनाइएको शहरजस्तो लाग्ने पानीको शहरको नामले विश्वप्रसिद्ध यो ठाउँमा सयभन्दा बढी टापुहरू रहेछन्। यहाँ पुगेपछि समुद्रबाट बगेर आउने सयौं नहरहरूको आनन्द लिन सकिन्छ।

भेनिसमा हिँडेर भन्दा पानीजहाज अथवा डुंगाबाट यात्रा गर्दा अझ धेरै रमाउन सकिँदो रहेछ। हिन्दी सिनेमाका चर्चित अभिनेता अमिताभ बच्चन र अभिनेत्री जिनत अमानले अभिनय गरेको सुपरहिट हिन्दी चलचित्र ‘दि गे्रट ग्याम्बलर’को गोन्डोलो डुंगामा ‘दो लब्जों कि…’ भन्ने गीतको सुटिङ गरेको भेनिसको चर्चित गोन्डोलो डुंगामा सयौं नवदम्पतीहरूले यात्रा गरिरहेको देख्दा जो–कोहीलाई पनि आफ्नो जवानीको याद दिलाउँछ। यो डुंगा चलाउने प्रायः सबै चालकहरू गीत गाउनमा पोख्त हुँदा रहेछन्। यिनीहरूले डुंगा खियाउँदै गाउने गीत सुनिरहँदा भाषा नबुझे पनि छुट्टै खालको आनन्दको अनुभूति दिलाउँछ।

कास्टिलो सान एन्जिलो

इटलीको यो भेनिस शहरमा मात्र वर्षको २ करोड पर्यटकहरू आउने गर्दछन्। यहाँ चल्ने कार्निभल जात्रा हेर्न मात्र पनि वर्षको ३० लाख पर्यटकहरू आउने गरेका छन्। भेनिसमा एक ठाउँबाट अर्को ठाउँमा जान पानीमा चल्ने ट्याक्सी र बसको प्रयोग गर्नुपर्दछ। गल्ली नै गल्लीले भरिएको भेनिसमा पैदल यात्रा गरेर हिँड्न चाहने धेरै यात्रुहरू बाटोमै अलमल भएर हराइरहेका पायौं। ग्रायन्ड क्यानल भेनिस पुगेपछि घुम्न छुटाउनै नहुने एउटा प्रमुख नहर हो। यो नहरको दायाँ–बायाँ ठडिएका १३ औंदेखि १८ औं शताब्दीमा बनेका पुराना भवनहरू हेर्नलायक छन्।

यसबाहेक भेनिसमा रियो दि पालाजो, सेन्ट मार्कस, बासिलिका अन्य छुटाउनै नहुने सुन्दर ठाउँहरू हुन्। सान मार्कोनजिक स्टिट मार्कस चर्चनजिक बनेको टावरमाथिबाट हेरेर पनि मनमोहक भेनिस शहर र समुद्रको छुट्टै आनन्द लिन सकिन्छ। बासिलिका घुमिरहँदा त्यहाँ पैसा माग्न आइरहने र सामान बेच्न आउने मानिसहरूलाई देख्दा भने काठमाडौंको वसन्तपरमा घुमिरहेका पर्यटकहरूले पाउने दुःखको याद आउँछ। प्रेमी–प्रेमिका, कलाकार र कविको भूमि भनेर चिनिने भेनिसमा २ लाख ७० हजार मानिस बसोबास गर्छन्। यस ठाउँका बारेमा पहिले नै बुझेर नजाने पर्यटकहरू असाध्यै महँगा होटलहरूको मारमा पर्न सक्ने भएकाले भेनिस घुम्नुअघि यहाँका होटल, खानेकुरा र यात्रा गर्न पायक पर्ने ठाउँको पहिल्यै योजना बनाएर घुम्नु बढी बुद्धिमानी हुने देख्दछु।

दुई दिनको भेनिस बसाइपछि चार घन्टाको ट्रेन यात्रा गर्दै हामी रोम शहर पुग्यौं। अपराह्नतिर रोम पुगेको हुनाले धेरै समय बर्बाद नगरीकन हामी होटल पुग्नेबित्तिकै खाना खाएर रोम शहर हेर्न निस्किहाल्यौं। होटलनजिकैका केही रमाइला ठाउँहरू हेर्दै रोमको मध्यभागमा बनाइएको विश्वप्रसिद्ध कोलोसियम स्टेडियम पुग्दा साँझ पर्न आँटिसकेको थियो। ढुंगैढुंगाले बनेको यो ऐतिहासिक ठाउँ ७०–७२ एडीका बादशाह भेस्पासियनले बनाएर रोमन जनतालाई उपहार दिएको इतिहासमा पढ्न पाइन्छ। पछि एडी ८० ताका बादशाह भेस्पासियनका छोरा टाइटसले यसलाई औपचारिकरूपमा सर्वसाधारणका लागि खोलेका थिए। यस रंगशालामा त्यस बेलाका लडाकूहरूलाई सय दिनसम्म खोरमा थुनेर राखेका खुंखार जंगली जनावरहरूसँग लड्न लगाइन्थ्यो।

पर्यटकहरूबाट निदकै ३ हजार युरो फाल्ने रोमको आकर्षक त्रेभी झरना

चार शताब्दीसम्म चलेको यो जंगली खेलमा निश्चितरूपमा कि लडाकू, कि जनावरको मृत्यु हुन्थ्यो। आठ वर्ष लगाएर बनाइएको यस रंगशालामा यो घृणित खेलसँगै रथहरू घुमाउने, मृत्युदण्ड पाएका मान्छेहरूलाई मार्ने, सर्कस आदि पनि देखाइने गथ्र्यो। रंगशालामा यी सबै प्रदर्शन हुन छोडेपछि बेवारिसे बन्दै गएका यहाँका कैयौं आकर्षक ढुंगाहरू जनता आपैंmले लुटेर लगेको बताइन्छ। पछि भूकम्पले पनि यसलाई ठूलो नोक्सान पार्यो। अहिले बचेखुचेका भग्नावशेष हेर्दा पनि त्यो जमानामा बनेको रोमन वास्तुकलाको आकर्षणबारे अनुमान लगाउन सकिन्छ। यो भग्नावशेष हेर्न मात्र पनि अहिले विश्वभरबाट वार्षिक ४० लाख पर्यटक ओइरिने गरेका छन्।

इटली नेपालजस्तै युरोपकै सबैभन्दा बढी भूकम्प जाने देश हो। एट्ना, स्ट्रोम्बोली र भेसुभियस नामका तीन जिउँदा ज्वालामुखीका कारण यहाँ प्रायः भूकम्प गइरहने रहेछ। सन् १६९३ मा गएको भूकम्पले यहाँ १ लाख मानिसको ज्यान लिएको थियो। त्यसै गरी सन् १९८० मा नेपल्समा गएको भूकम्पमा परी ३ हजार मानिसले ज्यान गुमाउनुपरेको थियो। संसारमै पाँचौं सबैभन्दा बढी पर्यटक आउने देशमा गनिएको इटलीमा भूकम्पको जोखिमबाट बच्ने धेरै उपायहरू अपनाइएको पाइन्छ।

युनेस्कोको तथ्यांकमा ५२ वटा हेरिटेज साइड भएको इटलीमा सन् २०१५ मा मात्र झन्डै ६ करोड पर्यटक भित्रिएको अनुमान गरिएको छ। देशको ६० प्रतिशत आम्दानी इटलीले पर्यटन उद्योगबाट गरिरहेको छ। तसर्थ यस उद्योगमा तल–माथि नहोस् भनी इटली सरकारले यहाँ झन्डै ११ लाख मानिसलाई रोजगारी दिएको छ। मानिस आपैंmले २ सय ७६ वर्ष लगाएर बनाएको इटलीमा वर्षमा ६ करोड पर्यटक आउँछन्। प्रकृतिले हलिउड स्टूडियो जस्तो सुन्दर बनाइदिएको नेपालमा राजनीतिक अस्थिरताका कारण वर्षको १० लाख पनि पर्यटक नआउने कुरा सुनेपछि त्यतिकै मन रुन्छ।

इटलीको अर्को शहर मिलान भने युरोपको छैटौं सबैभन्दा बढी पर्यटक आउने शहरमा सूचीकृत छ। कोलोसियम, पम्पे, लेककोमो, रोयल प्यालेस अफ कासेर्टा, पिटली दरबार, ओस्टिया म्युजियम इटली पुगेपछि घुम्न छुटाउन नहुने ठाउँहरू हुन्। ५० भन्दा बढी सुन्दर झरनाहरू भएको इटलीको राजधानी रोमको आकर्षक त्रेभी झरनाको सुन्दरताबाट मख्ख पर्दै दैनिक हजारौं पर्यटकले पानीमा फाल्ने सिक्काबाट मात्र दिनको ३ हजार युरो जम्मा हुने रहेछ। यहाँ जम्मा हुने सबै पैसा एकमुष्टरूपमा पछि रेडक्रसजस्ता च्यारिटी संस्थाहरूमा पठाइने गरेको छ।

फ्रान्सको सिमानामा रहेको १५ हजार ७ सय ७१ फिट अग्लो माउन्ट ब्लायन्क नामको सेतो हिमाल पनि इटलीको एउटा पर्यटकीय आकर्षणको केन्द्र हो। वर्षको चौध बिलियन कप एक्स्प्रेसो कफी खपत हुने इटलीको विश्वप्रसिद्ध कफीको स्वाद लिन पनि यहाँ प्रशस्तै पर्यटक आउने गरेका छन्। स्पेनजस्तै खानामा नाम चलेका पिजा, पास्ता आदि खान पनि त्यत्तिकै पर्यटक ओइरिएका देखिन्छन्। इटलीमा सन् १८६० देखि नै पिजा बनाएर खान थालिएको अनुमान गरिन्छ। इटलीमा दिनहुँ ५ सय प्रकारका पास्ताका परिकार तयार हुने गरेको छ।

इटली युरोपको चौथो धेरै जनसंख्या भएको देश भए पनि मृत्युदर कम हुन थालेपछि यहाँ युवायुवतीभन्दा वृद्धवृद्धाहरूको संख्या बढिरहेको छ। जापान र जर्मनीपछि संसारमै सबैभन्दा बढी वृद्धहरू भएको देश हो इटली। युरोपका अन्य देशहरूमा जस्तै इटलीमा पनि शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाइएको छ। इटलीमा कम्तीमा ६ देखि १६ वर्षको उमेरसम्म अनिवार्य पढ्नुपर्दछ। यहाँ अंग्रेजी, हिसाब, इतिहास, इटालियन भाषा, समाजशास्त्र, मानवशास्त्र अनिवार्यरूपमा पढ्नुपर्ने विषयहरू हुन्। शिक्षामा धेरै महत्व दिए पनि इटलीका विश्वविद्यालयहरू भने विश्वमा उत्कृष्ट सयभित्र पनि पर्न सकेका छैनन्।

संसारको आठौं गुणस्तरीय जीवन बिताउने भाग्यमानी इटली संसारको सातौं ठूलो अर्थतन्त्र भएको देश पनि हो। मिश्रित अर्थतन्त्र प्रणाली भएको इटली विश्वको आठौं ठूलो औद्योगिक देश हो। आठ लाखभन्दा बढी मानिसलाई रोजगार दिने यहाँका अटोमोबाइल कम्पनीहरूले उत्पादन गर्ने फियट, अल्फा रोमियो, माजाराती, आबार्ट, लम्बोगिनी, पगानी, फरारी गाडीहरू विश्वमै गुणस्तरीय र प्रसिद्ध मानिन्छन्। विश्वका ठूला कवि, कलाकार मात्र नभई इटलीले नाम चलेका वैज्ञानिकहरू पनि जन्माएका छन्। इटलीका वैज्ञानिक सान्टोरियोले सन् १६१२ मै थर्मामिटरको आविष्कार गरिसकेका थिए। यसै गरी सन् १८०० मा संसारमा पहिलोचोटि ब्याट्रीको आविष्कार पनि इटलीमै भएको थियो।

दोस्रो विश्वयुद्धमा नराम्रोसँग हारेको कारणले हो कि इटलीले सेनाको लागि वार्षिक झन्डै ३६ बिलियन अर्थात् ३६ अर्ब नेपाली रुपियाँ खर्च गर्दछ। इटली अहिले संसारकै दशौं ठूलो सेना भएको देश हो। सन् १९५५ मा संयुक्त राष्ट्र संघमा प्रवेश गरेको इटलीका सेना सोमालिया, अल्बानिया, बोस्निया, इराक, लेबनानलगायत थुप्रै द्वन्द्वग्रस्त देशमा शान्ति स्थापनार्थ खटिएका छन्।

जनयुद्ध सक्नेबित्तिकै आएको गणतन्त्रपछि इटलीमा पनि नेपालमा जस्तै राजालाई हटाइएको थियो। देशको प्रमुख पदमा राष्ट्रपति रहे पनि कार्यकारी अधिकारचाहिँ प्रधानमन्त्रीकै हातमा हुन्छ। इटलीमा राष्ट्रपति एकपटकका लागि मात्र सात वर्षका निम्ति चुनिन्छन्। राष्ट्रपति र प्रधानमन्त्री दुईवटै संसद्बाट चुनिने इटलीलाई फुटबलको देश भनेर पनि चिनिन्छ। यहाँका मानिसको रगत–रगतमा फुटबल दौडिरहेको हुन्छ भनिन्छ। हुन पनि इटलीले सन् १९३४, १९३८, १९८२ र सन् २००६ मा गरी चारपटक विश्वकप फुटबल जितिसकेको छ। यसबाट पनि थाहा पाउन सकिन्छ कि इटालियनहरू फुटबलमा कति पागल छन् भन्ने कुरा। यसबाहेक इटली गाडी र मोटरसाइकल रेस ग्रायन्ड प्रिक्समा पनि संसारमै सबैभन्दा अगाडि रहेको पाइन्छ। संसारमा सबैभन्दा पुरानो र नाम चलेको फर्मुला वन रेसको टिम इभेन्टमा इटलीले २ सय २८ पटक जितेर नयाँ रेकर्ड कायम गरिसकेको छ।

भिक्टोरिया इमोनियल दरबार

इटली सम्पन्न भएर पनि युरोपका अरु मुलुकजस्तो व्यवस्थित भने रहेनछ्। यहाँ होटलभित्र खाना खाइरहे पनि सामान बेच्नेहरूको कचकचले शान्तसँग खानसमेत दिँदैनन्। हेर्दा बंगाली र भारतीय मूलका देखिने यी खुद्रे व्यापारीहरूलाई जति भने पनि नटेर्ने। आश्चर्यको कुरो त आफ्नो रेस्टुरेन्टभित्र बसेर शान्तसँग खाइरहेका ग्राहकहरूलाई अनाहक दुःख दिइरहेको देख्दा पनि रेस्टरेन्ट मालिकले उनीहरूलाई धपाएर नपठाउने। शायद कमिसनको चक्करले पनि होला।

हामीले आफ्नो भ्रमण इटलीबाट सीधै जर्मनीका लागि राखेका थियौं। युरोपको सबै ठाउँमा ठीक समयमा ट्रेन जाने भएकोले हामी निर्धारित समयभन्दा एक घन्टाअघि नै ट्रेन स्टेसन पुगिसकेका थियौं। रोमको ट्रेन स्टेसन असाध्यै भीड हुने र यस स्तम्भकारको घुँडामा आइरहेको स्वास्थ्य समस्याले गर्दा पनि कुनै जोखिम नमोल्ने हिसाबले हामी एक घन्टाअघि नै ट्रेन स्टेसन पुगिसकेका थियौं। साधारणतया युरोपको ट्रेन स्टेसनमा ट्रेन हिँड्ने समयको कम्तीमा पनि आधा घन्टाअगाडि नै डिजिटल बोर्डमा प्लेटफर्म नम्बर दिइसकेको हुन्थ्यो। तर, त्यति भीडभाड हुने रोमको ट्रेन स्टेसनमा पाँच मिनेटअगाडिसम्म पनि हाम्रो प्लेटफर्म नम्बर नदेखाउँदा हामी तीनैजना पसिनाले चिट्चिट् भइसकेका थियौं।

तीन मिनेटअगाडि प्लेटफर्म नम्बर आउँदा हामीलाई निकै कुदाकुद गर्नुपरेको थियो। हस्याङफस्याङ गर्दै हाम्रो डिब्बामा पुगेर बस्न नभ्याउँदै ट्रेन हिँड्यो। एक सेकेन्ड ढिलो भएको भए पनि हाम्रो बिजोग हुने रहेछ।

सँगै प्रभु भाइ नभएको भए हाम्रो बलबुताले मात्र नभ्याउने रहेछ भन्दै हामी बूढाबूढीले लामो सास फेर्यौं। यति मात्रको दुःखले कहाँ पुग्थ्यो ? झन्डै १६ घन्टाको ट्रेन यात्रामा फेरि एकाबिहानै अस्ट्रियाको साल्जबर्गमा पुगेर अनावश्यकरूपमा चार घन्टा ट्रेन रोकेर राखिदियो। हामी बिहान ८ बजे जर्मनी पुग्नुपर्ने ठाउँमा दिउँसो १२ बजे मात्र जर्मनी पुग्न सक्यौं। धन्न अस्ट्रियामा टिकट किनेको हुनाले इटलीले गल्ती गर्दा पनि अस्ट्रियाको ट्रेनले हाम्रो ट्रेनको टिकट भाडा फिर्ता दियो। इटली र अस्ट्रियाबीचको व्यवस्थापन र जिम्मेवारीमा यति धेरै फरक पायौं। यो घटनाले पनि अस्ट्रिया त्यत्तिकै संसारको नम्बर एक राम्रो देश बनेको रहेनछ भनी अनुभूति गरायो।

अर्को कुरो, युरोपमा सबैभन्दा बढी माफियाहरूको चलखेल हुने भएकोले युरोपका अरु मुलुकमा जस्तो इटलीमा बेलुकी एक्लै घुम्न जान पनि डर भइरहने। आँट गरेर निक्लिहाले पनि निकै सिँगारपटार गरेर सडकमा ढुकिरहेकी महिलाहरूबाट हैरान भइरहनुपर्ने अर्को समस्या इटलीमा देख्यौं। आपूmभन्दा डब्बल अग्ला चुरोट च्यापेर बसिरहेका महिलाहरूको डरले नै हामीले बेलुकी शहर घुम्ने योजना त्याग्नुपरेको थियो।

जेसुकै भए पनि संसारकै सबैभन्दा सानो भ्याटिकन देश रोमसँगै जोडिएकाले रोममा पुग्दा थप एउटा अर्को सुन्दर देशमा पुगेको अनुभूतिचाहिँ गराउँदो रहेछ। क्रिश्चियन धर्मका सबैभन्दा ठूलो गुरु पोप जोन पालले शासन गर्ने संसारकै सबैभन्दा सानो यो देशलाई मात्र एउटै ढोकाले बन्द गर्न सकिन्छ। यस देशको आफ्नै छुट्टै टेलिफोन कम्पनी, रेडियो, टिभी र हुलाक टिकट चल्छ। यहाँ घुम्न निस्कँदा दायाँ–बायाँ विभिन्न राष्ट्रहरूका राजदूतावास पनि देख्न सकिन्छ।

मात्र शून्य दशमलव ४ वर्गकिलोमिटरको यो देशको रक्षार्थ स्वीजरल्यान्डले तालिमप्राप्त सैनिक गार्डहरू उपलब्ध गराएको छ।

विश्वकै सबैभन्दा अद्भूत मानिएको भ्याटिकन चर्चको रक्षार्थ स्वीजरल्यान्डले उपलब्ध गराएका छुट्टै पहिरनमा उभिएका गार्डहरूलाई हामी यहाँ देख्न सक्छौं। यो चर्चभित्र जान घन्टौं लाइनमा बस्नुपरे पनि अनुशासित पर्यटकहरूका कारण लाइन बस्दा नियास्रो भने पटक्कै लाग्दैन। सुन्दर चर्चलाई क्यामरामा कैद गर्दागर्दै कुन बेला चर्चभित्र छिर्ने ढोका आयो पत्तै पाइँदैन।

Source : http://www.newsofnepal.com/2017/10/24/61917/